बीपीका चिकित्सक कमिशनको लोभमा विरामीको जाँच बाहिर पठाउदै

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल प्रशासनले कुनै पनि बहानामा विरामीको जाँच बाहिर नपठाउन लिखित निर्देशन दिएपनि पालना नभएको पाइएको छ ।
प्रतिष्ठानका चिकित्सकहरुले अस्पतालन प्रशासनको निर्देशनलाई वेवास्ता गर्दै अहिले पनि विरामीहरुलाई विभिन्न जाँच गर्न निजी स्वास्थ्य संस्थाहरुमा रेफर गर्ने गरेका छन् । चिकित्सकहरुले कमिशनको लोभमा प्रतिष्ठानलाई आर्थिकरुपमा धरासायी बनाएको भन्दै त्यसविरुद्ध अभियान थालेको प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजले बिहिबार आकस्मिकरुपमा अनुगमन गर्दा पुनः चिकित्सकहरुको करतुत फेला परेको हो । अनुगमनको क्रममा सर्जरी विभागका प्रमुख एवं चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष प्रा.डा.सि.एस.अग्रवाल र फेमिलि मेडिसिन विभागका डा. प्रमिन्द्र प्रसाद गुप्ताले प्रतिष्ठानबाहिरका निजी जाँच केन्द्रमा जाँचको लागि विरामीलाई पठाएको फेला परेको समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङले बताए ।
समाजले भदौ १ गतेदेखि प्रतिष्ठानभित्र सम्भव हुने जाँचहरु बाहिर पठाउन प्रतिबन्ध लगाउने भन्दै चिकित्सकहरुको कमिशन प्रवृत्तिविरुद्ध भण्डाफोर अभियान थालेको थियो । साउन ३१ गते प्रतिष्ठान बाहिर खुलेका निजी क्लिनिक एवं जाँच केन्द्रहरुमा अनुगमन गर्दा प्रतिष्ठानका करिब आधा दर्जन नाम चलेका तथा वरिष्ठ चिकित्सकहरुले विरामीलाई बाहिर जाच गर्न पठाउने गरेको खुलेको थियो । त्यसघटनापछि अस्पताल निर्देशकले सर्कुलर जारी गर्दै प्रतिष्ठानभित्र सम्भव भएको जाँचहरु बाहिर नपठाउन सबै विभागहरुलाई निर्देशन दिएका थिए । ‘अस्पताल प्रशासनको निर्देशनको कुनै औचित्य नै भएन, प्रतिष्ठानको वरिष्ठ कहलिएका डाक्टरहरुले नै कमिशनको लोभमा विरामीलाई बाहिर पठाउन छाडेको रहेनछ’–अध्यक्ष तामाङले भने–‘अब एक्सनमै जानुपर्ने भयो, कारबाहीको लागि भोली लिखितरुपमा अस्पताल प्रशासनलाई बुझाउछौं, उसले नगरे हामी नै कारबाहीमा उत्रन्छौं ।’
प्रतिष्ठानमा सम्पूर्ण ल्याव टेष्ट, इको, इन्डोस्कोपी, सि.टि.स्क्यान, अल्ट्रासाउण्ड तथा एक्स रेलगायत सेवाहरु उपलब्ध भएपनि चिकित्सकहरुले विभिन्न वहानामा विरामीहरुलाई अन्यत्र जाँचको लागि पठाउने गरेका छन् । चिकित्सकहरुले बीपी नजिकै खुलेको धरान इमेजिङ एण्ड रिसर्च सेन्टर, बुढासुब्बा डाईगोनोष्टिक सेन्टरमा जाँचको लागि पठाउने गरेका छन् । ती सेन्टरहरुमा विरामी जाँचमा पठाएवापत चिकित्सकहरुले एकमुष्ट कमिशन पाउने गरेका छन् । बिहिबार अनुगमनको क्रममा सर्जरी विभागमा प्रमुख डा. सि.एस. अग्रवालले धरान १५ का विनोद श्रेष्ठलाई रगत जाँच गराउन बुढासुब्बा डाईगोनोष्टिक सेन्टरमा र एक्सरे तथा आई.यु.भी. गराउन धरान इमेजिङमा पठाएको भेटिएको थियो । यस्तै, दर्वेसा ८, मोरङका जेजिस सोरेनलाई पनि डा. अग्रवालले बुढासुब्बामा रगत जाँच गर्न पठाएका थिए । उनलाई भने पछि कर्मचारी कल्याण समाजले प्रतिष्ठानमै जाँच गर्न पठाइदिएका थिए ।
यसैगरि, फेमिलि मेडिशिन विभागका डा. प्रमिन्द्र गुप्ताले धरान १६ की हर्कमाया रम्जेललाई रगत जाँच गराउन बुढासुब्बा डाइगोनोष्टिक सेन्टरमा पठाएको भेटिएको थियो । रगतको विभिन्न जाँच गराउन ३ हजार भन्दा बढी खर्च लाग्ने भएपछि एक हजार पैसा तिरेर बाँकी ऋण खोज्नु परेको हर्कमायाका श्रीमान लोकबहादुरले गुनासो पोखे । पीडितसहित समाजको अनुगमन टोलीले डा. गुप्तालाई कार्यस्थलमा गएर सोधपुछ गर्दा भुल भएको भन्दै अब यस्तो काम नगर्ने प्रतिवद्धता जनाएको अनुगमन टोलीले जनाएको छ ।
अस्पतालले विरामीको सुविधाको लागि केही महिनाअघिदेखि ल्याबको समय तालिका पनि विस्तार गरिसकेको छ भने बिहान ११ बजेसम्मको सेम्पल कलेक्सनको रिपोर्ट त्यही दिन बेलुकासम्म दिने व्यवस्था गरेको छ । पहिला दिउँसो १ बजेपछि २ बजेसम्म ल्याब वन्द हुने गरेपनि अचेल त्यो समयमा पनि सेवा दिइन्छ भने साँझ ८ बजेसम्म ल्याब खुल्लै रहन्छ । ल्याबमा परीक्षण हुने रगत, खकार, दिसा, पिसाब र एक्सरेलगायतको परीक्षणहरु बिहान एघार बजेसम्म बुझएकोमा त्यसैदिन बेलुकासम्म उपलब्ध हुन्छ । तरपनि चिकित्सकहरुले कमिशनको लोभमा विरामीहरुलाई सामान्य रगत जाँच गराउन पनि बाहिर पठाउन छाडेका छैनन् । यसले प्रतिष्ठानको आम्दानी बाहिरिएको र आर्थिकरुपमा धारासायी बन्नलागेको समाजका अध्यक्ष तामाङ चिन्ता व्यक्त गर्छन् ।
अस्पताल सहायक निर्देशक डा.गुरु खनालले कर्मचारी कल्याण समाजको पहल प्रतिष्ठानलाई बचाउन भएको भन्दै अस्पताल प्रशासनले पनि निगरानी बढाइरहेको बताए । ‘पुर्णरुपमा बन्द गर्ने जिम्मेवारी हाम्रो हो, हरसम्भव प्रयास गरिरहेका छौं’–सहायक निर्देशक खनालले भने–‘आजको बिषयमा के गर्ने भनेर व्यावस्थापनले छलफल गर्नेछ ।’

Comments