बुढासुब्बा गोल्डकपमा अफ्रिकन युनाइटेड च्याम्पियन(फोटोफिचर)


धरान । १६ औं अन्र्तराष्ट्रिय बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि अफ्रिकन युनाइटेड क्लबले जितेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सहारा क्लब पोखरालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउदै अफ्रिकन युनाइटेड च्याम्पियन बनेको हो ।
 निर्धारित समयको खेल र थप गरिएको १० मिनेटमा पनि दुवै टिमबाट निर्णायक गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरमार्फत भएको थियो । टाइबेकरमा सहाराका दुई खेलाडी गोल गर्न चुकेपछि अफ्रिकन युनाइटेडले उपाधि उचाल्यो । अफ्रिकन युनाइटेडका गोलकिपर विनय श्रेष्ठले सहाराका अनिल ओझा र विजय गुरुङको प्रहारलाई रोकेका थिए । सहाराका सुमन लामा, भुपाल गुरुङ र गोलकिपर सागर गुरुङले मात्रै गोल गर्न सके । अफ्रिकन युनाइटेडका सेसोको, अकिन बाबातुडो, मुम्बारा र पिटर टाइब्रेकरमा गोल गरेपछि उपाधि पक्का भयो । 

अफ्रिकन युनाइटेड बुढासुब्बामा च्याम्पियन बनेको यो दोस्रो पटक हो । यसअघि, ०६२ को आठौं सँस्करणमा पनि अफ्रिकनले उपाधि जितेको थियो । अफ्रिकन युनाइटेडका प्रशिक्षक सुगन ताण्डुकारले खेल ५०÷५० भएकोमा चित्त बुझाउदै टाइब्रकेरमा गोलकिपर विनयको सही जजमेन्टले जित दिलाएको बताए । ‘खेल सहाराले पनि राम्रो खेल्यो, तर आज टाइब्रेकरमा हाम्रो भाग्य रहेछ, विनयले पनि राम्रो सेभ गर्यो’–प्रशिक्षक ताण्डुकारले भने । सहाराका प्रशिक्षक किरण श्रेष्ठले अघिल्ला दुई खेल भन्दा फाइनलमा राम्रो प्रर्दशन गरेपनि टाइब्रेकरमा दुर्भाग्यवश हार्नुपरेको बताए । ‘पहिला टाइब्रेकरमा नै जित्यौं, तर फाइनलमा लक्की सावित भएन’–उनले भने । 

विजेता अफ्रिकन युनाइडेटले च्याम्पियन ट्रफीसँगै नगद ३ लाख २५ हजार हात पार्यो भने उपविजेता सहाराले नगद १ लाख ६२ हजार ५ सयमै चित्त बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी अफ्रिकन युनाइटेडका गोलकिपर विनय श्रेष्ठ घोषित हुदै यामाहा मोटरसाइकल हात पारे । उनी फाइनल खेलका म्यान अफ दि म्याच पनि घोषित हुदै नगद १० हजार थापे । अफ्रिकनका सिसोको वेष्ट डिफेन्स र प्रशिक्षक सुगन ताण्डुकार वेष्ट प्रशिक्षक घोषित हुदै जनही नगद १० हजार पाए । सहाराका गोलकिपर सागर गुरुङ वेष्ट गोलकिपर घोषित भए भने सहाराकै हेमन गुरुङ वेष्ट मिडफिल्डर, विजय गुरुङ वेष्ट स्ट्राइकर घोषित हुदै जनही नगद १० हजार हात पारे । प्रतियोगितामा समान २ गोल गरेका सहाराका सुमन लामा र अफ्रिकन युनाइटेडका सगुनले हाइ स्कोररको पुरस्कार राशी जनही १० हजारको दरले बाँडे । विजेता तथा उपविजेता टिमका खेलाडी एवं पुरस्कृत खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष किसोर राई, प्रमुख अतिथि एवं एन्फाका केन्द्रीय अध्यक्ष गणेश थापा, पूर्वक्षेत्रीय प्रहरी प्रमुख डिआइजी नवराज सिलवाललगायतले पुरस्कार वितरण गरेका थिए ।


























Comments