विदेशको अनुभव स्वदेशमा पोख्दै


धरान । दाङ जिल्लाको राप्ती प्राविधिक शिक्षालयमा पशुपालन÷स्वास्थ्य(जे.टि.ए.) अध्ययन सकेपछि मिन घर्ति मगरलाई स्वदेशमा नै थुप्रै अवसर थियो । तर, उनी राम्रो आम्दानी हुने देखेर पशु स्वास्थ्य सहायक पदमा सन् २००२ मा साउदी अरब पुगे ।
साउदीको अल साफी डायरी फर्ममा उनले १२ बर्ष बिताए । उनी काम गरेको यो फर्म विश्वमा किर्तिमानी फर्म हो, जहाँ होलेष्टिन जातको ४० हजार गाई छन् । प्रतिदिन ८ लाख लिटर दुध उत्पादन हुन्छ । यो फर्ममा काम गरिरहदा उनको तीन तहसम्म पदोन्नति भयो । आम्दानी पनि राम्रो थियो । तर, त्यहाँको काम गराई र अनुभवले उनलाई आफ्नै देशमा गएर केही गर्न प्रेरित गरिरहन्थ्यो । जसको कारण उनी सन् २०१३ को फेब्रअरीमा घर फर्किए ।

स्वदेश फिरेको दुई महिनासम्म मात्रै उनी दाङको तुलसिपुरस्थित घरमा बसे । त्यसपछि उनी अग्र्यानिक खेतीमा काम गर्ने शिवशक्ति वायो प्लान्टिकमा रहेर कृर्षि क्षेत्रमा अध्ययन, अनुसन्धानमा जुटे । राप्ती प्राविधिकमा पढ्दा उनले पहिलो बर्ष कृर्षि पनि पढेका थिए । करिब ९ महिना पूर्वका विभिन्न जिल्लाको ग्रामिण क्षेत्रमा बिताएका उनी गएको असारदेखि भने सुनसरीको विष्णुपादुका ५ स्थित के एण्ड के लाइभष्टक एग्रिकल्चर रिसर्च सेन्टरमा रहेर विदेशको आफ्नो अनुभवलाई साट्दैछन् । सन्टेरको व्यवस्थापक रहेका उनी प्रशासनमा मात्रै होइन, पशु स्वास्थ्य, पोषण(न्युट्रिशन) र कृत्रिम गर्भाधानको काम पनि गर्छन् । यी तिनै काममा दक्ष हुनुमा साउदी अरबको अल साफीमा काम गर्दाको अनुभव भएको उनी बताउछन् । ‘मैले यहाँ त २७ महिना एनिमल हेल्थ पढेको मात्रै थिएँ, तर साउदीमा गएपछि धेरै कामको अनुभव लिनसके’–उनी भन्छन्–‘विदेशमा त्यत्रो काम गरे, कमाई पनि भयो तर अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने चाहनाले फर्किए ।’
उनले अल साफीमा काम गर्दा विभिन्न २६ मुलुकका विज्ञहरुसँगै बसेर काम गर्ने अवसर पनि पाएका थिए । जसले उनलाई धेरै ज्ञान र अनुभव दिलयो । पशुको उपचार गर्न स्वास्थ्य सहायकमा साउदी पुगेका उनी त्यही ज्ञान र अनुभवले पदोन्नति हुदै पोषणमा पनि काम गर्ने अवसर पाए भने पछिल्लो बर्ष पदोन्नति भएर कृत्रिम गर्भाधान प्राविधिककोरुपमा पनि काम गर्ने अवसर पाए । अहिले उनले चाहेजस्तै ठाउँमा काम गर्ने अवसर पाएका छन् । के एण्ड केमा उनले विदेशमा सिकेको ज्ञान र अनुभवलाई भरपुर उपयोग गरिरहेका छन् । ‘मैले विश्वस्तरको फर्ममा काम गरेको अनुभव छ, त्यसलाई आफ्नै देशमा पनि लागु गराउने प्रयत्न गर्दैछु’–उनले भने–‘यो कम्पनीलाई लगानीकर्ताले पूर्वक्षेत्रकै नमुना बनाउने लक्ष्य राखेका छन्, म काम गरेर देखाउछुँ ।’

धरानका युवा व्यावसायी लोक खापुङ्ग र घनेन्द्र कार्कीले खरीद गरेको करिब ८ बिघा जमिनमा हाल उन्नत जातको गाई, बंगुर र बाख्रा पालन शुरु गरिएको छ । त्यहाँ उनले उपचारसँगै कृत्रिम गर्भाधान गरिसकेका छन् भने बंगुरका दाना(पोषण त्तत्व) पनि उत्पादन गर्दैछन् । चाडै नै गाईको दाना पनि त्यही उत्पादन गर्ने उनको योजना छ । ‘गाईको कृत्रिम गर्भाधान गरिसकेका छौं, गाइको दाना पनि उत्पादन गछांै । ग्रिनहाउस चाडै बनाउछौं र अग्र्यानिक खेती पनि शुरु गछौं’–उनले भने–‘म चौबिसै घण्टा यही हुन्छ, यो सेन्टरको विकास कसरी गर्ने भनेर सोच्छुँ, काम गर्छु । हात सिप छ भने कोही पनि बेरोजगार भएर बस्नुपदैन ।’ दुध दुहुने मेशिन झिकाउदैछन् भने गाईलाई बस्न सहज हुने म्याट पनि ल्याउन लगोको उनले बताए । के एण्ड केलाई कृर्षि र पशुपालनको क्षेत्रमा अध्ययन, अनुसन्धान केन्द्रकोरुपमा विकास गर्दै कृर्षि पर्यटनको केन्द्र बनाउने उनले परिकल्पना गरेका छन् । ‘दुध र घ्यु उत्पादन शुरु भइसक्यो, हिजोआज मानिसहरु यो सेन्टर हेर्न आउन थालिसकेका छन्’–उनले भने ।



Comments