वास्तविक छुटे, नक्कली सुकुम्बासीले फारम भरे


धरान । सेउती खोला किनारमा बसेको धरान १५ गणतान्त्रिक टोलका चन्द्रबहादुर बिकलाई कहिले खोलाले सताउछ, कहिले प्रशासनले । सुख खोज्दै भोजपुरबाट परिवारसहित धरान झरेका उनी चार बर्षदेखि सेउती बगरमा बसिरहेका छन् । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका बिकले सरकारले सुकुम्बासी, भुमिहिनलाई जग्गा दिने, लालपूर्जा बाड्ने खबर सुनेर मंगलबार नगरपालिका पुगे । तर, ढिलाई भएको भन्दै उनले फारम दर्ता गर्नै पाएनन् ।
निराश मुद्रामा नगरपालिका परिसरमा भेटिएका उनले गुनासो पोख्दै भने–‘जग्गा पाउने खबर सुनेर आएको थिएँ, तर फारम बुझाउनै पाइन ।’ बिकसँगै नगरपालिकामा निराश मुद्रामा भेटिएका धरान १३, स्वास्तिका मार्गका पदमबहादुर राईले पनि फारम भर्नबाट बञ्चित भए । कतिपय छरछिमेक र घरजग्गावालाहरुले फारम भरिसक्दा पनि उनले म्याद सकिने साँझ मात्रै थाह पाए । भोलीपल्ट(मंगलबार) नगरपालिकामा पुग्दा उनी पनि निराश बने । ‘ज्याला मजदुरी गर्नेले कहाँ के भइरहेको छ थाहै पाएनौं’–ढिलाई भएकोमा चुकचुकाउद ६९ बर्षीय राईले भने–‘नम्बरीमा घरजग्गा हुनेले भरिसकेछन्, तर हामी जस्तो सुकुम्बासीले भर्न पाएनौं ।’
सुकुम्बासी समस्या समाधान समितिले भुमिहिन, सुकुम्बासीहरुलाई जग्गाको स्वमित्व दिलाउन लागत फारम लिए पनि बिक र राईजस्ता अधिकतर वास्तविक सुकुम्बासीहरुले भने फारम भर्न नपाएको गुनासो गरेका छन् । तर, यही समयमा मौकाको फाइदा उठाउदै नम्बरी घरजग्गा भएका धेरैले भने सुकुम्बासी र अव्यवस्थित बसोबासका नाममा फारम भरेको उनीहरुको भनाई छ । यद्यपी, कतिपय सुकुम्बासीहरुले धनीपुर्जा पाउने विश्वास नगरेर फारम नभरेको र कतिपयले भने फारम भर्नेबारे समयमा नै सुचनासमेत नपाउदा भर्नबाट बञ्चित हुनुपरेको हो ।
नेपाल बसोबास बस्ती संरक्षण समाजले समितिको अर्कमण्यता र सुचना प्रवाहमा ढिलाई गर्दा धेरै वास्तविक भुमिहिन, सुकुम्बासीहरु फारम भर्नबाट बञ्चित भएको दाबी गरेको छ । ‘धेरैले फाइदा उठाएको छ, वास्तविक सुकुम्बासीहरुले भने फारम भर्नै पाएनन्’–नेपाल बसोबास बस्ती संरक्षण समाजको नगर सचिव एवं जिल्ला सदस्य सुवास राईले भने–‘सुकुम्बासी समितिले फारम त भर्ने हो नि भन्र्दै वास्ता गरेन, असोज २५ तिर सुचना जारी गरेपनि धरान क्षेत्रमा १७ दिनपछि मात्रै बैठक बस्यो, फारम छाप्दा र वडा वडामा पुर्याउदा ढिलाई भयो । धेरैले समयमै सुचना पनि पाएनन् ।’
सचिव राईका अनुसार जिल्लाभरिका कम्तीमा ३० प्रतिशत वास्तविक भुमिहिन सुकुम्बासीहरु फारम भर्नबाट बञ्चित भएका छन् भने धरान क्षेत्रबाट मात्रै १० प्रतिशत सुकुम्बासीहरु बञ्चित भएको उनको भनाई छ । यसपटक अन्य ठाउँमा नम्बरीमा घरजग्गा भएर पनि सुकुम्बासीमा जग्गा भए अव्यवस्थित भन्दै फारम भर्न पाउने व्यवस्था गरिएकोले धेरैले झुटो फारम भरेको उनले बताए । ‘सबैभन्दा धेरै अव्यवस्थितमा फारम भरेका छन्, धरानमा भर्खर गाभिएको पाँचकन्या क्षेत्रको वडा २०, २१ र २३ मा भरेको फारमअनुसार जग्गा बाड्ने हो भने प्रत्येक पाइला पिच्छे जग्गा बाड्नुपर्छ’–राईले भने ।
सुकुम्बासी समस्या समाधान समितिले तीन प्रकारमा फारम भर्न सुचना जारी गरेको थियो । परिवारको नाममा जग्गा नभएको तर ऐलानीमा बसोबास गरेकोले सुकुम्बासी भनेर फारम भर्नुपर्ने थियो भने कहीकतै घरजग्गा नभएकोले भुमिहिन भनेर र अन्त ठाउँमा जग्गा भएर पनि ऐलानीमा बसोबास गरेकोले अव्यवस्थितमा फारम भर्न पाउने जनाएको थियो । यही मापदण्डको फाइदा उठाउदै नम्बरी जग्गाको छेऊमा ऐलानी परेको अधिकतर व्यक्तिले पनि अव्यवस्थित बसोबासमा फारम भरेको सुकुम्बासी नेताहरुको भनाई छ । ‘कहाँ कति जना बस्छन्, को बस्छन् भन्ने हामीलाई सबै थाह छ, तर यसपाली हामीले चिन्दै नचिनेका मानिसहरु आएर फारम भरेका छन्’–संरक्षण समाजका नगर अध्यक्ष आइत लिम्बूले भने–‘हामीले वास्तविक सुकुम्बासी छुट्ने भए, समय थप गरौं भन्दा मानेनन् ।’
जिल्ला सुकुम्बासी समस्या समाधान समितिका अध्यक्ष खेमराज पोख्रेलले केही दिनपछि मात्रै जिल्लामा के कतिले फारम भर्यो भन्ने तथ्यांक आउने खुलाउदै वास्तविक हुन् वा होइनन् भन्ने छानबिन पछि पत्ता लाग्ने बताए । ‘पच्चिस हजारदेखि ३० हजारको बीचमा फारम भरेको अनुमान गरेका छौं, निवेदन लिदै गर्दा वास्तविक, अवास्तविक हेरेनौं’–पोख्रेलले भने–‘पछि प्राप्त कागजपत्र, प्रमाणको आधारमा सम्बन्धित नगरपालिका, गाविसलाई भेरिफाइ गर्न पठाउछौं, परिचपय पत्र दिइसकेपछि फिल्डमा जान्छौं । झुटो विवरण देखिएमा दिइसकेको जग्गा फिता पनि गर्न सकिन्छ ।’


Comments