धरानमा ‘ग्रिन सिटी, क्लिन सिटी’को अभियान


धरान । सफा शहरको परिचय बनाएको धरान उपमहानगरपालिकालाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ नागरिकस्तरबाट ‘ग्रिन सिटी, क्लिन सिटी’ अभियान शुरु गरिएको छ । लायन्स क्लब अफ धरान बुढासुब्बाले ‘ग्रिन सिटी, क्लिन सिटी’को अवधारणा तयार गरेर अभियान शुरु गरेको हो ।
यो अभियानलाई अझ वृहत बनाउन र मुर्तरुप दिन लायन्सले उपमहानगरपालिकालाई गुरुयोजना तयार गर्नसमेत सुझाएको छ । यसबारेमा उपमहानगरसँग पनि छलफल र समन्वय भइरहेको लायन्सले जनाएको छ । ‘धरानले पर्यटनबाट आफुलाई स्थापित गर्नसक्ने धेरै सम्भावनाहरु छन्, यसको लागि पनि ग्रिन सिटी, क्लिन सिटी अभियानले थप मद्दत पुर्याउनेछ’–लायन्सका अध्यक्ष देव सुब्बाले भने–‘यो हामीले शुरुवात गरेपनि नागरिकस्तरकै अभियान हो, धरानभित्र रहेको वातावरण, शिक्षा, सरसफाई क्षेत्रमा सक्रिय सामाजिक संघसंस्थाहरुसँग सहकार्य गरेर अघि बढ्नेछौं ।’
अभियानको शुरुवात गर्दै लायन्सले शनिबार धरान १५ स्थित निराजन मार्गमा अढाई सय वटा अशोकको विरुवा रोपेको छ भने निराजन कल्याण मसाज, निराजन मार्ग उपभोक्ता समितिलगायतसँग समन्वय गरेर ती विरुवाको संरक्षण पनि आफैले गर्ने घोषणा गरेको छ । धरानमा रहेका अन्य ३ वटा लायन्स क्लबसँग सहकार्य गरेर बार्षिकरुपमा कम्तीमा एक हजार बोटविरुवा रोपेर संरक्षण पनि गर्ने लायन्स क्लब अफ धरान बुढासुब्बाले जनाएको छ । शहरको सडक पैदल यात्री मैत्री हुनुपर्ने र सडक किनारमा विरुवा रोप्न प्रोत्साहित गर्नुपर्ने अवधारणा पनि लायन्सले अघि सारेको छ । विश्वविद्यालय, कलेज र विद्यालयहरुमा वोटानिकल गार्डेन वा वालमैत्री फुलवारी हुनुपर्ने, हरेक वडामा वाल उद्यान र वृद्धवृद्धाहरुको लागि पार्क बनाउनुपर्ने, हरियालीयुक्त मिनि चिडियाघर, सर्दु र सेउती किनारमा तटबन्ध गरेर कटान रोक्न वृक्षरोपण गर्नुपर्ने, फोहोरमैला व्यवस्थापन एवं विर्सजनको लागि पनि अभियान चलाउनुपर्नेलगायत लायन्सले अवधारणा अघि सारेको छ ।
यो अवधारणलाई मुर्तरुप दिन उपमहानगरपालिकालाई गुरुयोजना बनाएर सबै संघसंस्थालाई समेट्न सुझाव दिएको र संस्थागतरुपमा भने अभियान शुरु गरेको लायन्सको भनाई छ । गुरुयोजना बनेमा एडिबिको खानेपानी परियोजनाअन्र्तगत समाजिक र वातावरण क्षेत्रको बजेट गुरुयोजनाअन्र्तगतबाट नै खर्च गर्न सकिनेछ भने सरकारले धरानलाई हरित शहर बनाउने घोषणा गरेअनुरुपको बजेट पनि गुरुयोजनाअन्र्तगतबाटै खर्च गर्न सहज हुने लायन्सको धारणा छ । ‘गुरुयोजना बनेपछि हामी पनि त्यसअन्र्तगत रहेर काम गर्नेछौं, त्यतिञ्जेल भने विभिन्न संघसंस्था, स्थानीयसँग समन्वय गरेर ग्रिन सिटी, क्लिब सिटी अभियानलाई अघिबढाइरहन्छौं । हरेक संघसंस्थाले वृक्षरोपण र संरक्षण होस भन्ने चाहन्छौं’–अध्यक्ष सुब्बाले भने ।
लायन्सले हरेक शैक्षिक संस्था एवं विद्यालयहरुमा बोटानिकल गार्डेन बनुन् भन्ने उद्देश्यले एक सरकारी र एक निजी स्कुल छनौट गरेर नमुना कार्यक्रम लागु गर्ने पनि घोषणा गरेको छ । निजी स्कुलतर्फ धरान १९ स्थित आवर होम स्कुल छनौट गरेर बोटानिकल गार्डेन तयार गर्न मंगलबार विभिन्न जातको विरुवा रोपिएको लायन्सले जनाएको छ । चाडै सरकारी स्कुल पनि छनौट गरेर वृक्षरोपण गरिने र अन्य स्कुलहरुलाई पनि प्रोत्साहन गरिने लायन्यको भनाई छ । ‘वन कार्यालयसँग समन्वय गरेर आवर होममा शिरिष, खयर, मसला, रक्तचन्दन, रुद्राक्षलगायत विभिन्न जातको विरुवा रोपिएको छ, अर्को सरकारी स्कुल पनि चाडै छनौट गरेर रोप्छौं र संरक्षणमा पनि ध्यान दिन्छौं’–अध्यक्ष सुब्बाले भने–‘अन्य स्कुललाई पनि बोटानिकल गार्डेनको लागि प्रोत्साहन र सहयोग गछांै ।’








Comments