धरानमा उप–निर्वाचन होला !?

धरान,साउन १६ । दुई साताअघि प्रमुख तारा सुब्बाको असामयिक निधन भएपछि शोकमा डुबेको धरान सामान्य अवस्थामा फर्कदैछ । प्रमुखविहिन भएको धरान उपमहानगरपालिकामा अब प्रमुख को बन्लान् भन्ने चर्चाले पनि धरान तातिदै गएको छ ।
सामाजिक सञ्जाल र चिया पसलहरुमा पनि अब धरानको प्रमुख को होला भन्ने वहस हुन थालेको छ । तर, निर्वाचन होला कि नहोला ? भए कहिले हुन्छ ? सबैमा अन्यौल छ । नेपालको संविधान २०७२ र स्थानीय तह निर्वाचन ऐन २०७३ ले गाउँ तथा नगरका प्रमुख उपप्रमुख, अध्यक्ष वा उपाध्यक्षको पद रिक्त भएमा निर्वाचन आयोगले उपनिर्वाचन गर्ने स्पष्ट व्यवस्था गरेको छ । यो कानुनी व्यवस्थाले उपनिर्वाचन हुने प्रायःनिश्चित छ । तर, उपनिर्वाचन कहिले गर्ने भनेर सरकार र निर्वाचन आयोगमा भर पर्ने कानुनका जानकारहरु बताउछन् । उपनिर्वाचन गर्दा रिक्त रहेको देशभरीको स्थानीय तहको लागि तयारी गर्नुपर्ने भएकोले पनि समय लाग्नसक्ने उनीहरुको भनाई छ । प्रदेश नं १ मा धरान उपमानगर प्रमुखविहिन छ भने संखुवासभाको मकालु गाउँपालिका पनि अध्यक्षविहिन छ । करिब ७ महिनाअघि जीप दुर्घटनामा त्यहाँका अध्यक्षको निधन भएको थियो । धरानमा भने वडा नं ७ का अध्यक्ष भुवनराज मोक्तानको पनि निधन भएको थियो ।

अघिल्लो व्यवस्थापिका संसदको विधायन समिति सदस्यसमेत रहेका पुर्वसांसद रेवतीरमण भण्डारी संविधान र स्थानीय तह निर्वाचन ऐनमा एक बर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिको लागि रिक्त पदको लागि उपनिर्वाचनद्धारा पुर्ति हुने व्यवस्था रहेको बताउछन् । तर, यसको लागि सरकार र निर्वाचन आयोगबीच समन्वय भएर उपनिर्वाचनको मिति घोषणा हुनुपर्ने उनको भनाई छ । ‘स्थानीय तहको पद रिक्त भएमा एक बर्षभन्दा बढी समय बाँकी छ भने उपनिर्वाचनद्धारा पदपुर्ति हुने व्यवस्था कानुनमा प्रष्ट छ, अर्को ऐन नियमावलीको आवश्यता छैन । तर कहिले चुनाव गर्ने भनेर सरकारले समन्वय गरेर मिति तोक्नुपर्छ, र आयोगले तयारी थाल्छ,’हाल १ नं प्रदेश सरकारको कानुन मस्यौदा समितिका संयोजकसमेत रहेका भण्डारीले भने,‘चुनाव त गराउनुपर्छ । प्रमुख र उपप्रमुखलाई छुट्टाछुट्टै दायित्व र जिम्मेवारी छ, चुनाव नगर्दा काम, कारबाहीमा अफ्ठ्यारो पर्छ । स्थानीय तह पनि आफैमा सरकार भएकोले प्रमुखविहिन भएर लामो समय जानसक्दैन ।’
नेपालको संविधान २०७२ को भाग १७ मा स्थानीय कार्यपालिकासम्बन्धी व्यवस्थामा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्षको एक बर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा उपधारा ७ वमोजिम पद रिक्त हुन गएमा बाँकी अवधिका लागि रिक्त पदको पुर्ति उपनिर्वाचनद्धारा हुनेछ भन्ने उल्लेख छ । संविधानमा यही व्यवस्था नगरको प्रमुख र उपप्रमुखको लागि पनि गरिएको छ । यस्तै, स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ को उपदफा २ मा अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखको पदावधि समाप्त नहुदै निजको पद रिक्त भएमा बाँकी पदावधिको लागि आयोगले उपनिर्वाचन गर्ने व्यवस्था गरेको छ । ‘तर एक बर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन गरिने छैन,’ऐनमा भनिएको छ ।
जिल्ला निर्वाचन कार्यालय सुनसरीका निर्वाचन अधिकारी भक्तबहादुर भटराई उपनिर्वाचन हुने कानुनी व्यवस्था भएपनि सरकार र निर्वाचन आयोगबीच समन्वय भएर घोषणा भएपछि मात्र उपनिर्वाचन हुने बताउछन् । केही महिनाअघि आयोगले ७७ वटै जिल्लामा स्थानीय तहको रिक्त पदबारे विवरण माग गरेका उनी बताउछन् । त्यसबेला धरानका प्रमुखको निधन भएको थिएन । साउन १ मा प्रमुखको निधन भएपछि पुनः आयोगमा जानकारी पठाउनको लागि धरानमा पत्र पठाएको उनले बताए । ‘धरानबाट पत्र आएपछि आयोगमा पत्रसहित पठाउछौं,’उनले भने । संविधान र निर्वाचन ऐनमा नगरको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षको रिक्त पदको उपनिर्वाचन गर्नेबारे प्रष्ट भएपनि वडा अध्यक्षको बिषयमा उल्लेख नभएकोले चुनाव नहुने भटराईले बताए । उनले भने,‘उपनिर्वाचन हुने पद अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुखको मात्र छ, अरुको बिषयमा बोलेको छैन, त्यसैले वडाअध्यक्षको चुनाव हुदैन । वरिष्ठ सदस्यबाट नै वडा सञ्चालन हुन्छ ।’ संघीय सरकार, प्रदेश र स्थानीय तह(धरान)मा एउटै पार्टीको नेतृत्व भएकोले राजीतिकरुपमा दबाब पुग्दा उपनिर्वाचन चाडो हुनसक्ने उनले बताए । 

                                          नेकपा शोकमै, कांग्रेस संगठन विस्तारमा 

धरानका प्रमुख तारा सुब्बा गत बर्ष असार १४ गतेको स्थानीय तह निर्वाचनमा एमालेबाट निवार्चित भएका थिए । त्यसबेला उनको प्रतिद्धन्दी कांग्रेसका तिलक राई र माओवादी केन्द्रका अबइन्द्र बेघा थिए । अहिले एमाले र माओवादी केन्द्र एकता भई नेपाल कम्प्युनिष्ट पार्टी(नेकपा) बनिसकेको छ । प्रमुख सुब्बाको निधनले नेकपा अझै पनि शोकमा छ ।
सुब्बाको निधन भएको दुई साता मात्र पुगेकोले नेकपाले प्रमुखको उपनिर्वाचन गर्नेबारे औपचारिक वा अनौपचारिकरुपमा छलफल नगरेको एमालेका सुनसरी जिल्ला अध्यक्ष रमेश बस्नेत बताउछन् । ‘उपनिर्वाचन हुने निश्चित छ, तर हाम्रो सिंगो पार्टी,कार्यकर्ता अझै शोकमा नै छौं । त्यसैले चुनावको हतारोमा हामी छैनौं, यो बिषय प्रवेश गराएको छैनौं,’बस्नेतले भने,‘सरकार र निर्वाचन आयोगले तयारी शुरु गर्यो भने मात्र हामी पनि चुनाव र उम्मेदवारबारे बहस, छलफलमा जान्छौं ।’
नेकपा शोकमा रहेपनि प्रमुख प्रतिपक्षी कांग्रेसले भने आन्तरिकरुपमा संगठन विस्तार, भेला गर्दै चुनावको तयारीमा जुटिसकेको छ । कांग्रेसका जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र गोले तामाङले गएको निर्वाचनमा हार व्यहोरेपछि समिक्षा गर्दै अर्को निर्वाचनको लागि शुरुवातदेखि नै संगठनलाई मजवुत गर्ने अभियान थालिएको बताए । ‘गत बर्ष चुनाव हारेपछि नै अर्को चुनावको तयारी स्वरुप संगठन चुस्तदुरुस्त बनाउने, संगठन विस्तार गर्ने, असझदारीलाई मेलमिलापबाट टुंग्याउने अभियान चलाइरहका छौं,’कांग्रेसबाट प्रमुखको उम्मेद्वारमा चर्चामा रहेका तामाङले भने,‘प्रमुखको निधन पनि हाम्रो अभियानलाई झनै गति दिनुपर्ने देखियो, प्रमुखको उपनिर्वाचनको तयारीमा छौं भनेर बुझ्दा पनि भयो ।’





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे