विजयपुरमा पानीटंकी विवाद:दुई स्थानमा विकल्प प्रस्ताव

धरान,बैशाख ५ । खानेपानी आयोजनाअन्र्तगत पञ्चकन्या सबसिस्टमको विवाद समाधान गर्न गठित समितिमार्पmत विजयपुरको रिजर्ब वेयर(पानीटंकी)को विकल्पमा २ ठाउँ प्रस्ताव गरिएको छ । यद्यपी, समितिले दुवै विकल्पमध्ये कुन उपयुक्त हो वा होइन भन्ने निर्णय भने गरेको छैन ।
इञ्जिनियर भगवान सुब्बाले स्थलगत अध्ययन गरेर दिएको दुई विकल्पसहितको प्रतिवेदनलाई ठोस निर्णय नगरिकनै समितिले मंगलबार उपमहानगरपालिकालाई बुझाएको हो । उक्त प्रतिवेदनमा धरान १३ स्थित गौरामार्गलाई पहिलो विकल्पकोरुपमा उल्लेख गरिएको छ भने दोस्रो विकल्पकोरुपमा पञ्चकन्या मन्दिर छेऊको खानेपानी संस्थानको हालको रिजर्व वेयर भएको स्थानलाई अघि सारिएको छ । समितिले ईञ्जनियरको प्रतिवेदनलाई ‘प्राविधिक बिषय’ भन्दै जस्ताको तस्तै उपमहानगरलाई बुझाएको हो । ‘समितिमा इञ्जिनियरको रिपोर्टबारे छलफलै गरिएन । त्यो प्राविधिक कुरा हो, जे छ त्यो नै नगरपालिकामा बुझायौं,’उपमहानगरपालिकाको तर्फबाट समितिमा सदस्य रहेका इन्द्र राईले भने ।
समितिमा रहेका संघर्ष समितिका प्रतिनिधिहरुले खानेपानी संस्थानबाट अवकास पाइसकेका ईञ्जिनियर सुब्बालाई ल्याएर वैकल्पिक स्थानको स्थलगत अध्ययन गराएका थिए । ईञ्जनियर सुब्बाको प्रतिवेदनमा गौरामार्ग ६ सय ३१ मिटर उचाईमा रहेको र त्यो हाल विजयपरमा बन्न लागेको स्थानभन्दा ११ मिटर उचाईमा भएको उल्लेख छ । पञ्चकन्या सबसिस्टमको लागि फु्रेसस्थित सम्पवेलबाट विजुलीको माध्यमबाट पम्पिङ गर्नुपर्ने भएकोले विजयपुरमा बन्ने टंकीभन्दा गौरामार्गको दुरी कम हुने पनि उल्लेख छ । यद्यपी, विजयपुरको स्थानभन्दा ११ मिटर उचाईमा रहेकोले धेरै पम्पिङ गर्नुपर्ने र वितरणको मुख्य लाइन पनि लामो हुनसक्ने भनिएको छ । आयोजनालाई मितव्ययी बनाउन विगतको पम्पलाईन उपयोग गर्न सकिने पनि प्रतिवेदनमा खुलाइएको छ । यस्तै, दोस्रो विकल्पमा अघि सारिएको पञ्चकया मन्दिर दक्षिणको संस्थानको पानीटंकीलाई नै उपयोग गर्न अघि सारेको छ । यो स्थान ५ सय ७४ मिटर उचाईमा रहेको छ । हाल संस्थानले सोही सानो क्षमताको टंकीबाट विजयपुरबासीलाई पानी वितरण गरिरहेको छ ।
ऐतिहासिक एवं पुरात्तात्विक विजयपुर दरबार क्षेत्र पर्ने भन्दै आयोजनाले निर्माण गर्न लागेको खानेपानी टंकी लामो समयदेखि विवादित छ । सोही विवाद समाधान गर्न चैत १७ गते उपमहानगरपालिका र विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको ५-५ जना प्रतिनिधि राखेर समिति गठन गरिएको थियो । यो समितिको प्रतिवेदन आएसँगै पञ्चकन्या सबसिस्टमबारे ३ खालको प्रतिवेदन भएको छ । खानेपानी आयोजनाको आफ्नै प्रतिवेदन छ भने विवाद चर्केपछि यसअघि चार किरातसहित बनेको प्राविधिक समितिको पनि एउटा रिपोर्ट उपमहानगरपालिकामा छ ।
................................

                                         ‘पहिलो विकल्प कार्यान्वयन गरौं’

विवाद समाधान समितिले उपमहानगरलाई बुझाएको प्रतिवेदनबारे संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै पहिलो विकल्पमा जान उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ । संघर्ष समितिका संयोजक थाङसाङ लावतीले विवाद समाधान समितिले दिएको विकल्पमध्ये पहिलो विकल्प उपयुक्त भएकोले उपमहानगर र खानेपानी आयोजनाले त्यसलाई कार्यान्वयन गर्नुपर्ने धारणा राखे । संघर्ष समितिका सदस्य अमर इजमले प्रतिवेदनको बिषयमा प्राविधिकसहित बसेर वहृत छलफल गरिने बताए । ‘हाम्रो प्राथमिकता पहिलो विकल्पमा नै हो, पहिलो हुदा हुदै दोस्रो विकल्पमा जान सकिदैन,’इजमले भने । अर्का सदस्य देव सुब्बाले आफुहरुले पानीटंकी बनाउनै नहुने नभनेको तर विजयपुरको ऐतिहासिकतालाई संरक्षण गर्दै विकल्प खोजेर बनाउनुपर्ने माग गरिएको बताए ।
धरान १३,स्थित गौरा मार्गमा टंकी बनाउन स्थानीय मदन राईले आवश्यक २ कट्ठा जग्गा निःशुल्क उपलब्ध गराउने घोषणा गरिसकेका छन् । जग्गा दिन तत्पर हुने राई खानेपानीका अनुभवी प्राविधिक पनि हुन । उनी २ बर्षअघिसम्म खानेपानी संस्थान धरानमा कार्यरत थिए । उनी अवकाश भइसके पनि संस्थानले बेला बेला उनलाई समस्या हुदा बोलाउने गरेको छ । एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा धरानमा सञ्चालनमा रहेको खानेपानी आयोजनाले गत बर्ष पञ्चकन्या सिस्टमको लागि विजयपुर क्षेत्रमा १ सय १७ वटा रुखहरु काटेपछि विरोध शुरु भएको थियो । विवाद चर्किएपछि विकल्प खोज्न प्राविधिक समिति गठन भएपनि विकल्प भनिएको स्थान उपयुक्त नभएको प्रतिवेदन आएपछि चार किरात संस्थाले १८ बुँदे सहमति गर्दै पानीटंकी बनाउन सहमति दिएको थियो । तर, लिम्बुवानजन्य पार्टीसहित पहिचान पक्षधर भनिएको संगठनहरुले सहमतिको विरोध जनाएको थियो । चैत पहिलो साता टंकी खन्न थालिएपछि संघर्ष समिति पक्षले जेसिबि तोडफोड गरिदिएपछि झडपसमेत भएको थियो ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे