बीपी प्रतिष्ठानमा बेथिती:विना प्रतिस्पर्धा किड जिलाई जग्गा र भवन लिजमा

धरान,बैशाख ५ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले प्रतिष्ठान हाताभित्र विना प्रतिस्पर्धा भारतीय फ्रेन्चाईजी किडजी मन्टेश्वरी ठुलो क्षेत्रफल न्युन भाडादरमा उपलब्ध गराएको खुलेको छ ।
प्रतिष्ठानका पदाधिकारीसँगको निकट सम्बन्ध र मिलेमतोमा विना प्रतिस्पर्धा न्युन भाडादरमा किडजीले भवन र ठुलो क्षेत्रफल जग्गा हात पार्न सफल भएको हो । प्रतिस्पर्धा विनै व्यापारिक उद्देश्यका संस्था भित्र्याउदा प्रतिष्ठानले पाउनसक्ने ठुलो आम्दानी गुमाइरहेको छ । प्रतिष्ठानभित्र किड जि विगत २ बर्षदेखि सञ्चालनमा आएको हो । यसलाई पुर्व उपकुलपति डा.बीपी दासले विना प्रतिस्पर्धा प्रतिष्ठानमा भित्र्याएका हुन् । प्रतिष्ठानमा व्यापारीक उद्देश्यका लागि कुनै पनि संस्थालाई त्यहाँको भवन वा जग्गा लिजमा दिनुपर्ने भए टेण्डर प्रक्रिया गरिन्छ । तर, किड जि मन्टेश्वरीको हकमा भने यो नियम तथा प्रक्रिया पालना गरिएन । कतिसम्म भने कार्यकारिणी समितिबाट पनि निर्णय नगरी पुर्वउपकुलपतिको एकल निर्णयमा किड जिले प्रतिष्ठानमा ठाउँ पाएको हो ।
स्रोतका अनुसार पुर्वउपकुपति दाससँगको निटक सम्बन्ध भएका सुमित साह किड जिका सञ्चालक हुन् । दास र उनको निकट सम्बन्धकै कारणले किड जीले विना प्रतिस्पर्धा न्युन भाडा दरमा प्रतिष्ठानमा ठाउँ पाएको हो । प्रतिष्ठानको करिब ५ कट्ठा जमिन, २ वटा भवन र निरन्तर पानीको सुविधा किड जीले पाएको छ । यसवापत भने उसले मात्र मासिक १० हजार रुपैया प्रतिष्ठानलाई बुझाउछ । पहुँच र सम्बन्धकै कारण सञ्चालक साहले पनि प्रतिष्ठानमा आवास सुविधा(क्वार्टर) समेत पाएका छन्, जबकी यहीका चिकित्सकहरुले क्वार्टर पाइरहेको छैन । त्यसवापत उनले मासिक ५ हजार मात्र प्रतिष्ठानलाई बुझाउछन् । ‘किड जि खुला प्रतिस्पर्धाबाट आएको होइन, ब्याक डोरबाट छिराइएको हो । यसमा यहाँका पहुँचवालाहरुको लगानी छ, आफन्तहरुले रोजगारी पाएका छन्,’प्रतिष्ठानका एक कार्यकारिणी समिति सदस्यले भने,‘त्यत्रो जमिन, घरको भाडा पनि ज्यादै न्युन छ ।’
प्रतिष्ठानका चिकित्सक, कर्मचारीका छोराछोरीलाई मन्टेश्वरी शिक्षा दिलाउन भन्दै किड जीलाई बीपीमा ठाउँ दिइएको हो । यसअघि प्रतिष्ठानमा शिक्षाको व्यावस्था हुदै नभएको होइन । प्रतिष्ठान हाताभित्रै त्यहाँका चिकित्सक, कर्मचारीहरुको छोराछोरी पढाउन दिल्ली पब्लिक स्कुल सञ्चालनमा छ भने मन्टेश्वरीको व्यावस्था पनि छ । प्रतिष्ठान हाताभित्र डिपोट उच्चमावि पनि छ । प्रतिष्ठानका वर्तमान उपकुलपति डा.राजकुमार रौनियार किड जीको बिषय अख्तियारमा विचाराधिन भएको भन्दै प्रतिक्रिया दिन चाहदैनन् । यद्यपी उनले आफु उपकुलपति हुनुअघि नै किड जिलाई बीपीमा विनाप्रतिस्पर्धा लिजमा दिएको भने खुलाए । उनले संक्षिप्त प्रतिक्रिया दिदै भने,‘म भिसि हुनुअघि नै किड जिलाई ठाउँ दिइएको रहेछ, यो बिषय अख्तियारमा भएकोले केही बोल्दिन ।’ प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले पनि किड जिबारे पुर्व उपकुलपति दासले निर्णय गरेर ५ बर्षको लागि दिइएको बताए । ‘पहिलाको भिसिले निर्णय गरेको हो । भवन जीर्ण थियो, किड जि आफैले मर्मतसम्भार गर्ने गरि ५ बर्षको दिएको हो, २ बर्ष त बितिसक्यो,’रजिष्टार श्रेष्ठले भने ।
किड जीलाई विना प्रतिस्पर्धा प्रतिष्ठानमा ठाउँ दिएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको थियो । तर, अख्तियारलाई समेत प्रभावमा पार्न सफल भएपछि प्रतिष्ठानको नयाँ नेतृत्वले पनि रोक्न सकेन । स्थानीय राजनीतिक दलका नेता र भारतीय दुतावासमार्फत अख्तियारलाई दबाब र प्रभावमा पारेर अनुसन्धानलाई तुहाउन यसका सञ्चालकहरु सफल भएको चर्चा छ । अख्तियरका क्षेत्रीय प्रमुख प्रदिप कोइरालाले आफु भर्खर आएको बताउदै किड जिको उजुरी र अनुसन्धानको बिषयमा बुझेर मात्र भन्न सक्ने बताए । ‘यो बिषयमा के भएको हो, बुझेर मात्र भोली भन्नसक्छु,’उनले भने । किड जि भारतको ठुलो व्यापारिक घराना इसेल ग्रुपको कम्पनी हो । यसको अध्यक्ष डा. सुवास चन्द्र हाल राज्यसभामा सांसद छन् । उनी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निटक सम्बन्ध छ । इसेल गु्रपको जि मिडियासहितको टेक्नोलोजी, मनोरञ्जन, शिक्षा, प्याकेजिङ कम्पनी,पुर्वाधारलगायत विभिन्न क्षेत्रका थुप्रै कम्पनीहरु छन् ।
..........................................................

              उच्च पदाधिकारी र कर्मचारीको अदृष्य लगानी 

किड जिको मुख्य सञ्चालक सुमित साह देखिए पनि यसमा प्रतिष्ठानका पदाधिकारी, उच्च पदस्थ कर्मचारीहरुको अदृष्य लगानी भएको त्यहीका कर्मचारीहरुको दाबी छ । प्रतिष्ठान स्रोतका अनुसार सोझै किड जि सञ्चालनको अनुमति दिएका पुर्वउपकुलपति दास अदृष्य लगानीकर्ता(पार्टनर) हुन् भने उनका भतिज राकेश दासको पनि किड जीमा लागनी छ । उनी प्रतिष्ठानमा कम्प्युटर शाखा प्रमुख हुन् ।
यस्तै, प्रतिष्ठानकै पुर्वकर्मचारी सरस्वती श्रेष्ठ किड जिकी प्रिन्सिपल हुन् । उनले केही बर्षअघि प्रतिष्ठानबाट राजिनामा दिएकी थिइन् । उनी प्रतिष्ठानका प्रशासनका डेपुटि मेनेजर सागर ताम्राकारका श्रीमति हुन् । प्रतिष्ठानको २०४९ मा संसदबाट बनेको प्रतिष्ठानको ऐनमा प्रतिष्ठानका शिक्षक, चिकित्सक र कर्मचारीहरुले कुनै पनि व्यावसाय गर्न नपाउने प्रष्ट छ । ‘पहुँचवालाको लगानी छ, आफन्तले रोजगारी पाएको छ, त्यसैले गैरकानुनी कामहरु नरोकिएको हो,’प्रशासनकै एक कर्मचारी भन्छन् । प्रतिष्ठानभित्र धमाधम भित्रिएका व्यापारिक लगानीकर्ता एवं व्यापारको बिषयमा पदाधिकारीहरु मौनता साध्नुमा अदृष्य लगानी र आर्थिक लाभ मुख्य कारण मानिन्छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे