जाग्दैछ धरानको रंगमञ्च:‘ईङघङ’को ३५ औं इनिङ

धरान,चैत २८ । नाटक मञ्चनको मिति(फागुन २७ गते) आउनु एक दिनअघि चैत २६ मा मात्र थाह भयो, सभागृहमा राखिएको नाटक ईङघङको एउटा सेट(घर) दाउरा बनिसकेछ । त्यसको जिम्मेवारी कसैले नलिदा रंगभुमी एकेडेमी र ईङघङ टिम विलखबन्दमा पर्यो ।
एक दिन मात्र बाँकी हुदा सेट तयार हुने अवस्था थिएन । के गर्ने, कसो गर्ने हतास र तनावको बीचमा एकदिन पछि सर्यो, ईङघङको मञ्चन । फागुन २८ गतेबाट मञ्चन शुरु भएको नाटक ईङघङमाथिको संकट त्यति मात्र आइपरेन । पहिल्यै हल भाडा चुक्ता नगरेको भन्दै केही दिनपछि नियमित ४ बजेको नाटक मञ्चन हुनुअघि ताला लाग्यो । कलकारहरुले पैसा जोरजाम गरेर भाडा तिरेपछि संकट टर्यो । अनेक आरोह–अवरोह व्यहोर्दै १५ दिनसम्म नियमित २४ शो गरेर आइतबार(चैत ११ गते) समापन भएको नाटक ईङघङ ।
रंगभुमीका अध्यक्ष एवं निर्देशक विष्णु मोक्तानलाई नियमित दुई साता नाटक मञ्चन गर्ने मेलोमेसो मिलाउदाको क्षण सम्झदा जति पीडा हुन्छ, ईङघङलाई दर्शकले गरेको माया र सकारात्मक प्रतिक्रिया सम्झेर भने शान्ति मिल्छ । धरानमा नाटकको महोल बनाउन सकेकोमा उनी गर्व गर्छन् । लेखन र निर्देशनसँगै ईङघङमा अभिनयसमेत गरेका मोक्तान भन्छन्,‘हामीले पाएको सास्ती त छदैछ, तरपनि ईङघङबाट हामीले गर्व महसुस गरेका छांै । धरानमा नाटकको महौल बनायौं, भविष्यमा दर्शकको कमी हुदैन भन्ने लागेको छ ।’ दोस्रो पटक १५ दिनसम्म ईङघङ २४ पटक मञ्चन भयो भने समग्रमा ३५ आंै पटक मञ्चन भएर ईङघङले धरानको नाट्य इतिहासमा रेडर्क बनायो । गत माघ ९ गतेदेखि १५ गतेसम्म पहिलो पटक ईङघङ  ११ औं पटक मञ्चन भएको थियो ।
सृर्जनशील र मौलिकता पस्किए नाटक हेर्ने दर्शकको कमी छैन भन्ने पनि ईङघङले प्रमाणित गरेको छ । पुर्वी पहाडको लिम्बूवान गाउँको सँस्कार, सँस्कृतिलाई जीवन्तरुपमा प्रस्तुत गरेको नाटक ईङघङ जातीय छुवाछुत, अन्धविश्वास र रुढीवादी समाजविरुद्ध पनि छ । कलाकारहरुको जीवन्त अभियनले पनि दर्शकलाई पौने २ घण्टासम्म बाँध्नसक्यो । नाट्यकर्मी महासंघ, क्षेत्रीय च्याप्टरका अध्यक्ष एवं अग्रज रंगकर्मी विशाल भण्डारी अग्रज पुस्ताले गर्न नसकेको काम रंगमञ्चको तेस्रो पुस्ताले गरेर देखाएको टिप्पणी गर्छन् । ‘हामीले नाटकको मार्केट सृर्जना गर्न सकेको थिएनौं, तेस्रो पुस्ताका भाइबहिनीहरुले गरेर देखाइदिए,’भण्डारीले भने,‘हिजो हामीले नाटकलाई अर्थसँग जोड्नै सकेनौं, व्यावसायिकरण गर्न चुक्यौं । अहिले ईङघङले महौल र आधार बनाएको छ ।’
नाटकमा दिपेन्द्रसिं दर्नाल, कुमारी राई, तुलसा थापा, हरि इवाहाङ लिम्बू, प्रसिका निरौला, सोनम मगर, निश्चल कुलुङ, मिलन राई, गेबी लिम्बू, शंकर थापा र उदिप लिम्बूको अभिनय छ । दर्शकहरुको सकरात्मक प्रतिक्रियाबाट युवा कलाकारहरु पनि असाध्यै उत्साहित भएका छन् । कलाकार दर्नाल भन्छन्,‘धरानमा नाटकको महोल बनाउन सक्यौं, कलाकारहरु पनि नाटक गरेर बाँच्न सकिन्छ की भन्ने आशा जगाउन सक्यौं । असाध्यै खुशी र उत्साहित छौं ।’ चालिस र पचासको दशकमा धरान नाटकको लागि अत्यन्तै उर्बर समय थियो । त्यसबेला २ दर्जन भन्दा बढी नाट्य संस्थाहरु सक्रिय थियो भने धरानमा नियमित जसो नाटकहरु मञ्चन हुन्थे । तर, साठीको दशकपछि भने धरानको नाट्य क्षेत्र सुस्ताएको थियो । पछिल्लो केही बर्ष यता आरम्भ नाट्य डबली, थिएटर सहारा, रंगभुमीलगायतले धरानको नाटकलाई जगाउन प्रयास गरिरहेको छ । ......................................

                            अनुदार स्थानीय सरकार

कला, साहित्य क्षेत्रको विकास र प्रर्वद्धन गर्नको लागि धरान उपमहानगरपालिकाले प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । तर, २ पटक गरि ३५ शो मञ्चन भएको नाटक ईङघङलाई भने स्थानीय सरकारबाट अपेक्षित सहयोग भएन । पहिलो पटक ७ दिन मञ्चन हुदा ३ दिनको मात्र सभागृहको भाडा छुट गरिदियो भने दोस्रो पटक १५ दिन मञ्चन हुदा त कति दिनको भाडा छुट हुन्छ कि हुदैन भन्ने नै निश्चित छैन । ‘रचनात्मक, सृर्जनात्मक कामलाई त राज्यले सहयोग गरे हुन्थ्यो, हामीले असहयोग गरेको अनुभूति गर्नुपर्यो,’निर्देशक मोक्तानले भने । स्थानीय सरकार कतिसम्म अनुदार बन्यो भने नाटक मञ्चन हुदै गर्दा सभागृहमा ताला लगाइदिन नगर प्रहरीलाई निर्देशनसमेत दिएको थियो । कलाकारहरु नाटकको चिन्ता छोडेर हल भाडा तिर्न भौतारिनु परेको थियो ।
अग्रज कलाकार एवं नाटककर्मी महासंघ क्षेत्रीय च्याप्टर अध्यक्ष भण्डारी राज्यपक्ष आफ्ना कार्यकर्ताहरुको पक्षपोषणमा मात्र लागेको टिप्पणी गर्छन् । ‘अप्रत्यक्षरुपमा आफ्नो कार्यकर्ता बन अनिमात्र सहयोग गछौं भन्छ, म आफैले महसुस गरेको छुँ,’उनी भन्छन् ।

                         सधै नाटक घरको चिन्ता

धरानमा वि.स.१९९७ सालदेखि नाटक शुरु भएको इतिहास छ । तीन पुस्ता बिताएको धरानको रंगमञ्चले सधै सुविधा सम्पन्न नाटक घरको अभाव झेल्नु परिरहेको छ । ‘धरानमा नाटकको माहौल नबन्नुमा नाटकघरको अभाव मुख्य हो । अलग्गै नाटक भइदिए नियमितरुपमा नाटक मञ्चन भइरहन्थ्यो,’ईङघङका लेखक, निर्देशक विष्णु मोक्तान भन्छन्,‘नाटक घर नहुदा त्यसको व्यावस्थापनमा ठुलो आर्थिक खर्च गर्नुपरिरहेको छ ।’
नाट्यकर्मीहरुका अनुसार एउटा स्तरीय नाटक एक शो मञ्चन गर्दा करिब डेढ लाख खर्च लाग्छ । थिएटर नहुदा रंगकर्मीहरुले जीर्ण बनेको धरान ८ स्थित सभागृह हललाई नै नाटक घरको स्वरुपमा ढालेर मञ्चन गरिरहेका छन् । सभागृहमा नाटकको लागि अत्यावश्यक सेट, लाइट, साउण्ड, म्युजिक, पर्दालगायत प्राविधिक सामग्रीहरु छैन । रंगकर्मीहरुले आफ्नै पहलमा खर्च जुटाएर यी सबैको व्यावस्थापन गर्न बाध्य छन् । ‘एउटा शो गर्न डेढ लाख खर्च लाग्छ । नाटकको टिकट पनि बिक्री हुदैन, ३० हजार जति मात्र उठ्छ,’ एक बर्षको अवधिमा सभागृहमा २ वटा नाटक मञ्चन गरिसकेका आरम्भ नाट्य डबलीका अध्यक्ष गोपाल देवान भन्छन्,‘चाहे निजीस्तरबाट होस वा सरकारी, प्राविधिक पक्षको सबै सुविधा भएको थिएटर आवश्यक छ ।’
आरम्भले गत बर्ष धरान ४ स्थित देवीगाउँमा थिएटर निर्माण गर्ने भनेर सिलान्यास गरेपनि आर्थिक अभावको कारण निर्माण भएको छैन । यो भन्दा अघि २०५८ सालमा पनि धरानको अग्रणी नाट्य संस्था अनामले थिएटर बनाउन शुरु गरेको थियो । तत्कालीन धरान नगरपालिकाबाट धरान १३ मा १८ धुर जग्गा पाएपछि अनामले थिएटर निर्माण शुरु गरेको थियो । तर, अनामका नेतृत्वको मनमुटाव र विभाजनले निर्माण कार्य अलपत्र भयो । ‘थिएटर बनाउन जुटेका थियौं, तर असझदारीले बनने, हिजोको दिनमा हामीबाट थुप्रै कमीकमजोरी भएको छ । अब निर्माणमा सबै जुट्नुपर्छ,’अग्रज कलाकार भण्डारीले भने ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे