पानीटंकी विवादमा नयाँ मोड, उपयुत्त विकल्प भेटिएको ईञ्जिनियरको ठहर,जग्गाधनी निःशुल्क दिन तयार

धरान,चैत २९ । खानेपानी आयोजनाअन्र्तगत पञ्चकन्या सबसिस्टमको विजयपुर दरबार क्षेत्रमा रिजर्ब वेयर(खानेपानी टंकी) निर्माण विवाद सुल्झाउन गठित विवाद समाधान समितिको म्याद थप भएको छ ।
समितिको म्याद चैत २७ गते सकिएपनि आवश्यक काम तथा प्रतिवेदन बुझाउने काम बाँकी रहेको भन्दै बैशाख ३ गतेसम्मको लागि म्याद थप भएको हो । समितिमा रहेका उपमहानगरपालिका र संघर्ष समितिका प्रतिनिधिहरुबीच बुधबार बिहान भएको संयुक्त वैठकले बैशाख ३ गतेसम्मको लागि म्याद थप गरेको हो । ‘बैठकले समितिको म्याद ३ गतेसम्मलाई थपेका छौं, हामी उचित विकल्प खोजेर विवाद अन्त्य गर्न चाहन्छौं,’समितिका सदस्य अमर इजमले भने,‘विकल्प खोज्न समिति गठन भएको हो, हामी उचित विकल्पसहित विवादलाई समाधान गर्ने पक्षमा छौं ।’
करिब १० दिनअघि(चैत १६ गते) उपमहानगरपालिका र विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिबीच भएको वार्ताले १० सदस्यीय समिति गठन गरेको थियो । विवाद समाधान गर्न गठित समितिमा दुवैतर्फबाट ५÷५ जना सदस्य छन् । समितिका सदस्य एवं वडा नं १४ का अध्यक्ष कृष्ण भटराईले पनि संघर्ष समितिकोतर्फबाट प्राविधिक अध्ययनको काम बाँकी रहेको भनेपछि ३ गतेसम्मको लागि म्याद थपिएको खुलाए । ‘स्थलगत निरीक्षण, अध्ययनको काम बाँकी नै छ भनेपछि र प्रतिवेदन राम्रो आओस भनेर समय थपिएको हो,’उनले भने । संरक्षण गरिनुपर्ने ऐतिहासिक, पुरात्तात्विक दरबार क्षेत्रमा पानीटंकी बनाउन नहुने भन्दै संघर्ष समितिले विकल्प खोज्न माग गर्दै आएको थियो । चार किरात संस्थासँग उपमहानगरले २ कट्ठा क्षेत्रमा टंकी बनाएर संरक्षण गर्ने खाकासहित १८ बुँदे सहमति गरेको थियो । संघर्ष समितिले भने सहमतिमा टंकी निर्माण गर्ने बुँदाको विरोध गर्दै आएको छ ।
यसैबीच, बुधबारदेखि काठमाण्डौंबाट इञ्जिनियर ल्याएर पानीटंकीको वैकल्पिक ठाउँहरुको अध्ययन शुरु गरेको संघर्ष समितिले जनाएको छ । इञ्जिनियर भगवान सुब्बासहितको संघर्ष समिति पक्षधर टोलीले फुस्रे सब सिस्टम, स्वास्तिका गौरा मार्गको २ वटा जग्गा, आयोजनाले टंकी बनाउन लागेको स्थान, संस्थानको विजयपुरस्थित टंकीसहितको ठाउँहरुको स्थलगत अध्ययन गरेको हो । ‘विकल्पकोरुपमा इञ्जिनियरसहित गएर हेर्यौं, स्वास्तिका गौरामार्गको जग्गा उपयुक्त देखियो । जग्गाधनीले पनि द्धन्द अन्त हुन्छ र विजयपुरको ऐतिहासिकता जोगिन्छ भने निःशुल्क जग्गा दिन्छु भन्नुभएको छ,’सचिव प्रदिप नोयोङले भने,‘प्रतिवेदन आएपछि ३ गते अगावै १० जनासहित आयोजनाको इञ्जिनियरलाई पनि राखेर छलफल गछौं ।’
इञ्जिनियर सुब्बाका अनुसार उचित विकल्पकोरुपमा देखिएको स्वास्तिका गौरा मार्गको ठाउँको उचाई ६ सय ३५ मिटर रहेको छ । यो आयोजनाले निर्माण गर्न लागेको विजयपुर क्षेत्रको भन्दा करिब १० मिटर बढी उचाई हो । दुवै स्थानबाट नारायणपुर क्षेत्रलाई पानी वितरण गर्न सहज हुने भएकोले द्धन्द बढाउनुभन्दा जनप्रतिनिधिले ठोस निर्णय गर्नु उपयुक्त हुने उनको भनाई छ । ‘विजयपुर क्षेत्र सम्पदाकोरुपमा संरक्षण गर्नुपर्ने क्षेत्र हो, आयोजनाले साइट छनौट गर्ने बेलामा नै ध्यान पुर्याउनुपर्ने थियो । जे होस्, विकल्पमा ठाउँ छन्, द्धन्द बढाउनु भन्दा उचित निर्णय गरोस भन्ने चाहन्छु,’इञ्जिनियर सुब्बाले भने,‘फुस्रेमा बनिरहेको ट्रिटमेन्ट प्लान्टलाई सर्दु र खर्दुको इन्टेक एरियामा नै बनाएको भए पम्पिङ गरिरहनुपर्ने थिएन ।’ स्थलगत प्राविधिक अध्ययनमा विवाद समाधान समितिअन्र्तगत उपमहानगरका प्रतिनिधिहरुको भने उपस्थिति थिएन । समिति सदस्य एवं वडा १४ का अध्यक्ष भटराईले आफुहरुलाई जानकारी नै नगराएको कारण उपस्थित हुन नसकेको बताउछन् । ‘स्थलगत अध्ययनको लागि जानकारी गराए सहजीकरण गर्न आउछौं भनेका थियौं, तर मलाई खबर भएन,’उनले भने ।

.......................................................

                                    निःशुल्क जग्गा दिन तयार छुः राई

 धरान १३, फुस्रेस्थित स्वास्तिका गौरा मार्गका मदन राईले द्धन्द समाधान गर्न र विजयपुर क्षेत्रको संरक्षण गर्न रिजर्ब वेयरको लागि आवश्यक २ कट्ठा जग्गा निःशुल्क दिन तयार रहेको बताएका छन् ।
विकल्पको खोजीमा स्थलगत अध्ययन गर्न पुगेको प्राविधिकसहितको टोलीलाई आफ्नो जग्गा रिबर्ज वेयरको लागि उपयुक्त थलो बन्छ भने आवश्यक २ कट्ठा जग्गा निःशुल्क दिने बताएका हुन् । स्थलगत अध्ययनमा गएको ईञ्जिनियर सुब्बाले राईको जग्गा रिजर्ब वेयर बनाउन उचित हुने प्रतिक्रिया दिएका थिए । यो ठाउँको उचाई ६ सय ३५ मिटर रहेको छ । ‘मेरो श्रीमति पञ्चमायाको नाममा जग्गा छ, प्राविधिकरुपमा ठिक छ भने चाहिने जग्गा दिन्छुँ । विवाद नहोस, विजयपुर क्षेत्रको संरक्षण पनि होस भनेर यो निर्णय गरेको हँु,’मोवाइल सम्पर्कमा राईले भने,‘मलाई पैसा चाहिएन, मेरो छोरानातीले पछि थाह पाउने गरि सिलालेख राखिदिए पुग्छ ।’
जग्गा दिन तत्पर हुने राई खानेपानीका अनुभवी प्राविधिक पनि हुन । उनी २ बर्षअघिसम्म खानेपानी संस्थान धरानमा कार्यरत थिए । उनी अवकाश भइसके पनि संस्थानले बेला बेला उनलाई समस्या हुदा बोलाउने गरेको छ । ‘म अवकाश भइसकेको छुँ, तर संस्थानले काम पर्दा बोलाउछ, म जान्छु,’उनले भने । टोलीले सोही क्षेत्रमा विकल्पकोरुपमा अघि सारिएको पुर्ण राईको जग्गा पनि स्थलगत अध्ययन गरेको थियो । त्यो जग्गा भन्दा मदन राईको उपयुक्त भएको प्राविधिकले बताएका थिए ।
एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा धरानमा सञ्चालनमा रहेको खानेपानी आयोजनाले गत बर्ष पञ्चकन्या सिस्टमको लागि विजयपुर क्षेत्रमा १ सय १७ वटा रुखहरु काटेपछि विरोध शुरु भएको थियो । विजयपुर क्षेत्रलाई किरात समुदायले उभौली र उधौलीको अवसमार पुज्दै आएका छन् । विवाद चर्किएपछि विकल्प खोज्न प्राविधिक समिति गठन भएपनि विकल्प भनिएको स्थान उपयुक्त नभएको प्रतिवेदन आएपछि चार किरात संस्थाले १८ बुँदे सहमति गर्दै पानीटंकी बनाउन सहमति दिएको थियो । तर, लिम्बुवानजन्य पार्टीसहित पहिचान पक्षधर भनिएको संगठनहरुले सहमतिको विरोध जनाएको थियो । चैत ५ गते मेयर, उपमेयर आफ्ना कार्यकर्ताहरुसहित टंकी खन्न गएका थिए भने चैत ७ गते संघर्ष समिति पक्षले जेसिबि तोडफोड गरिदिएपछि झडपसमेत भएको थियो ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे