सिजन गुरुङ पक्राउ प्रकरण: जग्गा हडप्न जनप्रतिनिधिकै मिलेमतो


धरान,जेठ १८ । गोल्डेन चोक(तरहरा)मा ६६ बर्षीय तीर्थकुमारी गिरीको नाममा भएको करोडौं मुल्य बराबरको जग्गा हडप्ने प्रयासमा तरुण दलका सभापति सिजन गुरुङ र उनका युवाहरुसँग सोही सोही वडाका जनप्रतिनिधिको पनि मिलेमतो रहेको खुलेको छ ।
गुरुङले तत्कालीन साझा संस्थानको जग्गा बैंक लिलामीमार्फत लिएपछि शुरु भएको जग्गा विवाद टुंग्याउन अमिन ल्याएर नपाउदा वडा नं २० का अध्यक्ष मणी श्रेष्ठले मुचुल्कामा सही गर्न नमान्ने र मिल्न दबाब दिने गरेको पीडित परिवारको भनाई छ । जग्गा व्यापारमा समेत संलग्नता रहेका अध्यक्ष श्रेष्ठ र गुरुङ बीच एउटै राजनीतिक पार्टी भएर मात्र होइन, एकअर्काको सहयोगी र निकट सम्बन्ध छ । पीडामा परेका जनतालाई न्याय दिलाउनु पर्नेमा अध्यक्ष श्रेष्ठले उल्टै जग्गा हडप्न प्रयास गरिरहेकाहरुको पक्षमा उभिएर मिल्न दबाब दिएको पीडित गिरीले बताइन् । ‘सहयोग गर्यो भनौं भने अमिन ल्याएर नपाउदा मुचुल्कामा सही गर्न अध्यक्षले नै मानेन । नापी शाखाबाट धेरै पटक चिठी लिएर वडामा आए, मेरो जग्गालाई हो भनेर सहीछाप गरिदिएनन्,’पीडितले भनिन्,‘पश्चिमतिर मेरो ६० फुटको जग्गा हो, २५ फुटमा मिल भन्ने अध्यक्ष नै हो ।
गिरीले २०३६ सालमा साविक हासपोसा गाविस २ क को कित्ता नं ४११ मा १० धुर जग्गा किनेकी थिइन् । पञ्चायतकालमा स्थापना भएको साझा संस्थानको जग्गा बैंकबाट लिलामी प्रक्रियामा करिब ८ बर्षअघि गुरुङले किनेपछि गिरीसँगको विवाद शुरु भएको हो । गुरुङले आफ्नो जग्गामा जर्बजस्ती टहरा बनाएको र त्यसको भाडा उठाउदै खाइरहेको गिरी परिवारको आरोप छ । घर बनाउन चाहना पनि गिरी परिवारले आफ्नो १० धुर जग्गा हकभोक गर्न पाएका छैनन् । राजनीतिक संरक्षण पाएका गुरुङको तरहरा र इटहरी क्षेत्रमा श्वेत आतंक छ । उनको विरुद्ध कसैले उजुरी वा बोल्ने आट पनि गर्दैैनन् । अमिन ल्याएर नापी गर्न खोेज्दा गुरुङ समुहका मुख्य सहयोगीहरु तेञ्जिङ लामा(तामाङ), कालुराम राई केटाहरुसहित पुग्छन्, र हुलदंगा गरेर नापी गर्नै दिदैनन् । ‘नापी गर्दा तेञ्जिङ ग्याङ लिएर पुगिहाल्छन् । उनीहरुको योजना भनेको मलाई ५ धुर मात्र दिने र ५ धुर जग्गा खाइदिने हो, त्यसैले २५ फुटमा मिल कि मिल भन्छन्,’अपवादमा गुरुङविरुद्ध आवाज उठाएकी पीडित गिरी भन्छिन् ।
विवाद चर्किएपछि गुरुङले आफ्नो नामको जग्गा निकट व्यक्तिलाई नै बिक्री गरिसकेका छन् । स्थानीय अगुवा टिका वनका अनुसार कोही बेला दिपक गजमेर मैले किनेर बैंकमा राखेको भन्दै पुग्छन् भने कहिले कालुराम र कहिले तेञ्जिङ मेरो जग्गा भन्दै ग्याङ लिएर आइपुग्छन् । ‘भद्रभलाद्मी बसेर मिलाउदा नमिल्ने कुरा होइन, तर केटाहरु आएपछि मिल्ने कुरा हुदैन । मिल्ने पक्षमै जादैनन्,’वनले भने,‘तीर्थकुमारी पीडित नै हुन्, आफ्नो जग्गा हकभोग गर्न, घर बनाउन नपाउदा पीडित नै भइन्छ नि ।’ वनका अनुसार त्यसक्षेत्रमा कम्तीमा २५ लाख र बढीमा ३० लाख धुरको दरले जग्गा किनबेच हुन्छ । चल्तीको २५ लाखको दरमा हिसाब गर्दा गिरीको जग्गाको मोल २ करोड ५० लाख हुन्छ । गिरीको जग्गा करोडौंको भएकैले सिजन गुरुङ, उनको समुह र वडाअध्यक्षले धम्क्याएर, तर्साएर हडप्ने दाउ गरेका हुन् ।

जग्गा हडप्न अध्यक्ष श्रेष्ठले कतिसम्म चलाखी गरेका छन् भने इटहरी उपमहानगरपालिकाको न्यायिक समितिमा पीडित गिरीले उजुरी दिदा आफ्नो वडाको विवादलाई वडामै मिलाउछु भन्दै समय मागेका थिए । तर, उनले पीडितलाई न्याय दिलाउन भन्दा पनि गुरुङको पक्ष लिएर पीडित परिवारलाई मिल्न निरन्तर दबाब दिइरहे । ‘तीर्थकुमारी गिरीको निवेदन आएपछि सिजन गुरुङलाई पत्र काट्दा वडा २० का अध्यक्षले बढी चासो लिनुभयो । जसको नाममा जग्गै छैन, किन चिठी काटेको भन्नुभयो र मेरो वडाको विवाद हो, वडामा नै मेलमिलाप गराउछु भनेपछि वडामा नै मौखिमरुपमा मुद्दा पठायौं,’न्यायिक समिति संयोजक एवं उपमेयर लक्ष्मी गौतमले भनिन्,‘सिजन मेरो नजिकको मान्छे हो, म मिलाउछु भनेकै हो । मलाई कोसिस गर्दैछु भन्दै दिदीलाई हप्काउने, ह्यारेस गराउने कोसिस गरेको मलाई पनि चित्त बुझेन ।’
अध्यक्ष श्रेष्ठले भने आफुले विवाद मिलाउन प्रयास गरेको तर गिरी परिवारलाई जर्बजस्ती वा दबाब भने नदिएको दाबी गरे । विदेशमा रहेका गिरी परिवारका कान्छा छोराले नै ३ पटक फोन गरेर मिलाइदिनु भनेकोले अध्यक्षको हैसियतमा पहल गरेको उनको भनाई छ । ‘जग्गा मिलाउनलाई मिलेर बस भनको हो, सबै समाजले नै त्यही भन्या हो । म कसैसँग मिलेर केही गर्या छैन,’उनले भने,‘सिजनसँग मेरो केही आर्थिक लेनादेना, व्यावहार केही पनि छैन ।’ अध्यक्ष श्रेष्ठ कांग्रेस सुनसरी क्षेत्र नं २ का सभापति पनि हुन् । श्रेष्ठमार्फत नै सिजन राजनीतिमा छिरेका हुन् । उनलाई अध्यक्षमा जिताउन सिजनले मुख्य भुमिका खेलेका थिए । यसअघि श्रेष्ठ र गुरुङ दुवै बालिका वलात्कार प्रकरणलाई गुपचुपमा मिलापत्र गराएको घटनामा पनि सँगै मुछिएका थिए । बलात्कार जस्तो जघन्य अपराधलाई पैसामा मिलापत्र गराउन गुरुङले विचौलियाको भुमिका निर्वाह गरेका थिए भने श्रेष्ठले मिलापत्रमा साक्षी बसेर हस्ताक्षर गरेका थिए । यो प्रकरण सार्वजनिक भएपछि प्रहरीले सार्वजनिक अपराधमा मुद्दा दर्ता गर्दा उनीहरु फरार भएका थिए । पछि दुवै जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएर धरौटीमा रिहा भएका थिए । गएको शुक्रबार अमिन ल्याएर नापी भइरहदा केटाहरुसहित पुगेका गरुङले धाकधम्की दिएको र उनको साथमा गएकाले गिरीका छोरालाई कुटेपछि पक्राउ परेका थिए । उनको रिहाईको माग गर्दै नेपाली कांग्रेस आन्दोलनमा छ ।

                                           गुरुङलाई ७ दिनको म्याद थप


धाकधम्की र कुटपिटको आरोपमा पक्राउ परेका सिजन गुरुङलाई हिरासतमा राख्न ७ दिनको म्याद थप भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रहरीको माग दाबी अनुसार अनुसन्धान गर्नको लागि थप ७ दिनको म्याद दिएको हो । गुण्डागर्दी आरोपमा गएको शुक्रबार राती पक्राउ परेका गुरुङलाई शुरुमा ६ दिनको म्याद थप गरिएको थियो । उनीमाथि सार्वजनिक अपराधअन्र्तगत प्रहरीले मुद्दा दायर गरेको छ । ‘बिहिबार ७ दिनको म्याद थप भएको छ, सार्वजनिक अपराधमा अनुसन्धानको समय बढाएको हो,’इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले भने ।

Comments

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे