Posts

Showing posts from October, 2013

दलहरुलाई सुकुम्बासीको चनुावी अवधारणापत्र

Image
धरान । भुमिहिन सुकुम्बासीहरुको भोट फकाउन राजनीतिक दलहरु घरदैलो कार्यक्रम गरिरहदा सुकुम्बासीहरुले भने चुनाव अगावै र चुनाव पछि पुरा गर्नुपर्ने राष्टिय र स्थानीय मागसहितको चुनावी अवधारणा पत्र तयार पारेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाजको चुनावी अवधारणा निर्माण समितिले तयार पारेको २४ पेजको अवधारणा पत्र भोट माग्ने सबै राजनीतिक दलहरुलाई बुझाइसकेको समाजले जनाएको छ । अवधारणा पत्रमा दोस्रो संविधानसभाको निर्वाचन अगावै र निर्वाचन पछि पुरा गर्नुपर्ने राष्टिय तथा स्थानीय मागहरु अघि सारिएको छ । आफ्नो मागको बिषयमा तिहार लगत्तै सबै दलका उम्मेद्वारहरुलाई एक ठाँउमा उभ्याएर लिखित प्रतिवद्धता गराउने तयारी भइरहेको समाजका पूर्वाञ्चल क्षेत्रीय संयोजक तथा अवधारणा पत्र निर्माण समितिका संयोजक कुमार कार्कीले बताए । ‘भोट माग्दै आउने दल र उम्मेदवारलाई सुकुम्बासीहरुको अवधारणा बुझाइसकेका छौं, त्यसमा लिखित प्रतिवद्धता जनाउने र चुनाव अघि पुरा गर्न सकिने मागहरु कार्यान्वयनमा पहल नगरे त्यस्ता दललाई भोट हाल्दैनौं’–कार्कीले भने । अवधारणा पत्रमा चुनाव अगावै दलहरुले कुनै पनि बहानामा सुकुम्बासीलाई उठिबास नगर्ने भन

आचारसंहिता उल्लंघनमा मुख्य दल अघि, आयोग सक्रिय

Image
धरान । निर्वाचन आचारसंहिता विपरित सार्वजनिकस्थलहरुमा टाँगिएको ब्यानर र पर्चाहरुलाई हटाउन निर्वाचन आयोगले दलहरुलाई आग्रह गरेपनि अटेर गरेपछि आयोग आफैले हटाउन थालेको छ । आचारसंहिता उल्लंघन गर्दै दलहरुले जथाभावी पर्चा टाँस्ने र ब्यानर राख्न थालेपछि आयोगले सम्बन्धित दल तथा उम्मेदवारहरुलाई हटाउन आग्रह गरेपनि टेरेका थिएनन् । आयोगले निर्देशन दिएपछि मंगलबार प्रहरीले सुनसरी क्षेत्र नम्बर १ मा पर्ने धरानमा आचारसंहिता विपरीत दलहरुको पर्चा, ब्यानर हटाउन थालिसकेको छ । त्यसअघि, सोमबार प्रहरीले सनुसरी २ मा पर्ने इटहरी क्षेत्रबाट पनि पर्चा, ब्यानरहरु हटाएको थियो । विभिन्न दलहरुले आचारसंहिता विपरीतको माइकिङलाई पनि प्रहरीले प्रतिबन्ध लगाउन थालेको छ । ‘आयोगबाट कडा निर्देशन आएकोले निर्वाचन आचारसंहिता विपरीत टाँगिएको ब्यानर, पम्प्लेटलाई हटाउदैछौं’–इलाका प्रहरी कार्यालय, धरानका प्रहरी निरीक्षक मुकुन्द रिजालले भने । प्रहरी निरीक्षक रिजालका अनुसार मंगलबार तीनकुनेदेखि धरानको मुख्य बजार भानुचौक क्षेत्रदेखि जिरो प्वाइन्ट, चतरालाइन, बीपी प्रतिष्ठानअघि आचारसंहिता विपरीत राखिएको ब्यानर, पर्चा निकालिएको छ । ‘माइ

चुनावको मुखमा एमाले सचिवले पार्टी छोडे

Image
धरान । संविधानसभाको निर्वाचनको नजिकिदै गर्दा पार्टी निर्णय पद्दति एवं प्रक्रियाप्रति असन्तुष्टी जनाउदै एमाले जिल्ला कमिटि सचिव मोतिराज सुनुवारले साधारण सदस्यसमेत नरहने गरि पार्टी परित्याग गरेका छन् । चुनावको मुखमा सचिवको राजिनामाले सुनसरीमा एमालेभित्रको विवाद र असन्तुष्टी सतहमा आएको छ । यसले मंसिर ४ गतेको निर्वाचन परिणाममा नकरात्मक असर पार्ने पार्टीकै नेता, कार्यकर्ताहरुकै भनाई छ । ‘तीसौं बर्षदेखि एमाले पार्टीको सदस्यकोरुपमा मजदुर आन्दोलन, वर्गीय मुक्ति आन्दोलनमा सरिक भए’–सोमबार पत्रकार सम्मेलनमा भावुक हुदै सुनुवारले भने–‘तर, अहिले म यो पार्टी छोड्ने निर्णयमा पुगेको छँ, मेरा साथीभाई, शुभेच्छुकहरुले सँगै बसेर आन्दोलन अघि बढाउनुपर्छ भन्नुभयो, मैले त्यो आग्रह स्वीकार्न सकिन, सबैसँग माफी माग्न चाहन्छु ।’ तत्काल कुनै पार्टीमा प्रवेश नगर्ने बताएपनि उनले अन्य पार्टीबारे अध्ययन गरिरहेको र केही दिनपछि निर्णय गर्ने बताए । ‘म कुनै न कुनै राजनैतिक दलमा अवश्य आवद्ध हुन्छ, जहाँ रहेपनि शुभलाभमा नलागी जनताको आन्दोलन, मजदुर आन्दोलनमा लागिरन्छु’–उनले भने । निर्णय नगरेको भनेपनि उनले संघीय समाजवादी पार

याक्थुङ पालाम साँझमा राजेश पायल

Image
धरान । लिम्बू जातिको मौलिक पहिरन तागावा मेख्ली र ढाका टोपीमा चिटिक्क सजिएर गायक राजेश पायल राई कार्यक्रम हलभित्र प्रवेश गरेपछि लामो प्रतिक्षामा बसेका संगीतप्रेमीहरुको मुहारमा खुशी छायो । आदङ्बेसी आ सेवारो..भन्दै निर्धारित समयभन्दा अढाई घण्टा ढिलो स्टेजमा झुल्किएका चर्चित गायक राईले त्यसपछि भने आफ्ना फ्यानहरुलाई निराश हुने कुनै मौका नै दिएनन् । धरान १० स्थित सैनिक भवनमा आइतबार साँझ आयोजित याक्थुङ पालम साँझ ०७० मा गायक राईले फरक शैलीका गीत प्रस्तुत गर्दै स्रोताहरुको मन जिते । सासा ब्युटि पार्लरले आयोजना गरेको कार्यक्रममा गायक राईले लिम्बू भाषाको गीतबाट प्रस्तुती शुरु गरे । राई कुलमा जन्मिएर पनि लिम्बू भाषा र सँस्कृतिलाई माया गर्न पाउदा गर्व लागेको सुनाउदै उनले शुरुमा हाक्पारे ख्याली..बोलको गीतबाट गाउन शुरु गरे । त्यसपछि, उनले थेगेक..सेवारो.., चेक्थाके मेम्बारे..र आजुप्से आम्बी..बालेको लिम्बू भाषाको गीत गाए । चार वटा लिम्बू गीतको प्रस्तुती पछि उनले नेपाली भाषाको गीतहरुले सबैको मन जिते । उनले सर सर माया वरवर.., खास त केही छैन..,सागर सरि चोखो माया.., धरान धनकुटा भेडेटार..लगायत चर्चित ग

खास जोगाउन एमाले र एमाओवादीलाई चुनौती

Image
धरान । ०६४ को पहिलो संविधानसभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार मनोजकुमार मेन्याङ्बोले जित्ने सबैको अनुमान थियो । स्थानीय निर्वाचनमा जितेर एक पटक धरान नगरपालिकामा उपमेयर र मेयरसमेत भइसकेका उनी एमालेका वलिया उम्मेदवार मानिन्थे । तर, संविधानसभा निर्वाचनको मतपरिणाममा भने निर्वाचनअघि धेरैले नाम नसुनेका एमाओवादी उम्मेदवारले जित हासिल गर्दै सुनसरी १ मा एमालेको जग भत्काएको थियो । पहिलो संविधानसभा निर्वाचनमा कस्ले जित्ला भन्ने अनुमान लगाउने अवस्था रहेपनि नयाँ संविधानसभा निर्वाचन आउन एक महिना भन्दा कम समय बाँकी हँुदा भने त्यस्तो अवस्था छैन । मंसिर ४ गतेको संविधानसभा निर्वाचनमा कुन पार्टीको उम्मेदवारले बाजी मार्ला भनेर अहिलेसम्म कसैले अनुमान लगाउन सकेका छैनन् । सुनसरी १ मा यही पार्टीले जित्छ भन्ने अवस्था नरहेपनि अघिल्लो पटकको संविधानसभा निर्वाचनमा झै नेकपा(एमाले) र एकीकृत माओवादी आफ्नो उम्मेदवारलाई जिताउन कम्मर कसेर चुनावी दौडमा छ । सुनसरी १ मा अहिलेसम्म कुनै पनि निर्वाचन नजितेको नेपाली कांग्रेस पनि यसपाली वलियो अवस्थामा देखिएको छ । तर, पहिचानको मुद्दा उठाएर राजनैतिक र

बीपीमा वाल रोगको छुट्टै आकस्मिक कक्ष

Image
धरान । गुणस्तरीय एवं सहजरुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले बीपी कोइराला स्वास्थ्य विज्ञात प्रतिष्ठानले बुधबारदेखि बाल रोग विभागमा छुट्टै आकस्मिक कक्ष सञ्चालनमा ल्याएको छ । अत्याधुनिक उपकरणहरु जडित सुविधा सम्पन्न वाल रोग आकस्मिक कक्ष सञ्चालनमा आउनुलाई प्रतिष्ठानले स्वास्थ्य उपचारमा ठुलो उपलब्धी मानेको छ । राजधानीस्थित कान्ति वाल अस्पताल पछि सबैभन्दा सुविधा सम्पन्न र धेरै शैया भएको वाल रोगको आकस्मिक कक्ष बीपी प्रतिष्ठानमा भएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा.बलभन्द्रप्रसाद दासले बुधबार एक समारोहबीच बाल रोगको आकस्मिक कक्ष उद्घाटन गरेका थिए । प्रतिष्ठानका अस्पताल निर्देशक डा.अरबिन्द सिन्हाका अनुसार १६ शैयाको बाल रोग आकस्मिक कक्ष सञ्चालनमा आएको हो । यो आकस्मिक कक्षमा फोटो थेरापीसमेत गर्न सकिने ५ वटा वार्मर, इन्क्युबेटर, मल्टि च्यानल मनिटर, इसिजी, डि फ्रिक्यिुलेटर, सिरिञ्ज पम्प, पोर्टेवल अल्ट्रासाउण्डलगायत अत्यावश्यक उपकरणहरु पनि थपिएको निर्देशक सिन्हाले जानकारी दिए । ‘कान्ति वाल अस्पताल पछिको सबैभन्दा ठुलो र धेरै वेड भएको वाल रोग आकस्मिक कक्ष यही हो, स्वास्थ्य उपचार क्षेत्रम

धरानमा डेजी नेल आर्ट खुल्यो

Image
धरान । धरान १९ की कमला तामाङ आफ्नो हात र खुट्टाको नङलाई चिटिक्क पार्न इन्टरनेटको माध्यमबाट खोजी गरेको विभिन्न तरिकाहरु अपनाउथिन्, तर पनि उनलाई सन्तुष्टी मिलेको थिएन । उनै तेइस बर्षीय कमलाको हातको नङ मंगलबार आर्कषकरुपमा सजिएको थियो । चिटिक्क परेको नङ हेर्दै उनी निक्कै खुशी देखिइन् । ‘बल्ल मेरो इच्छा पुरा भयो, म पहिलादेखि नै हात,खुट्टाको नङलाई राम्रो बनाउन चाहन्थे’–मुस्काउदै कमलाले भनिन्–‘पहिला नेटमा हेरेर आफै बनाउथे, त्यो एक सातामा नै विलाईहाल्थ्यो ।’ उनको यो इच्छा सोमबारदेखि धरानमा सञ्चालनमा आएको डेजी नेल आर्ट तथा ट्रेनिङ सेन्टरले पुरा गरिदिएको हो । हात खुट्टाको नङलाई कलात्मक एवं सुन्दर पार्न कमला जस्ता किसोरी एवं युवतीहरु आकर्षित हुन थालेपछि धरान ९ कलेज रोडमा युवा व्यावसायी तरुना राईले सेन्टर सञ्चालनमा ल्याएकी हुन् । डेजी नेल आर्टमा नङ्लाई आर्कषक बनाउनुका साथै हातखुट्टा सफा गर्ने मेनिकेयर÷मेडिकेयर सेवा, युवतीहरुको लागि ट्याटु, मेहन्दी, परेला बनाउने सेवा पनि रहेको सञ्चालिका राईले बताइन् । ‘खासगरि टिनएजर्स नेल आर्ट गर्न आउछन्, पहिला पार्लर खोज्थे, अब नेलआर्ट गर्ने ठाउँ खोज्न थालेक

पूर्वाञ्चल प्रतिकमा टप ७ छनौट

Image
धरान । १८ बर्षमुनिका बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्ने उद्देश्यले सञ्चालन भइरहेको पूर्वाञ्चलव्यापी मेरिडियन ओभरसिज पूर्वाञ्चल प्रतिक–२ को फाइनल चरणको लागि प्रतिस्पर्धीहरु चयन भएका छन् । धरान १५ स्थित सदन सभाहलमा शनिबार सेमीफाइनलबाट फाइनल चरणको लागि टप ७ प्रतियोगीहरु छनौट भएका हुन् । विभिन्न जिल्लाका टप ११ मा छानिएका प्रतिस्पर्धीहरुमध्येबाट उत्कृष्ट ७ को छनौट गरिएको आयोजकले जनाएको छ । टप ७ का प्रतिस्पर्धीहरुबीच उपाधिको लागि पुष १३ गते धरान ८ स्थित सभागृहमा फाइनल भिडन्त हुने प्रतियोगिताका संयोजक गणेश बराइलीले जानकारी दिए । ‘निर्णायकको मत र भोटिङ मतको आधारमा टप ७ छनौट भएको छ, पुष १३ गते सभागृहमा फाइनल आयोजना हुन्छ’–संयोजक बराइलीले भने । टप ७ मा भोजपुरकी शिवा राई, निशान राई, धरानकी नियती पराजुली, संखुवासभाका परेश राई, सरोज लिंथेप, खोटाङकी मनमावी राई र झापाका यु एन तामाङ छनौट हुन सफल भएका छन् । सेमीफाइनलमा पहिलो चरणमा प्रतिस्पर्धीहरुले आफ्नै रोजाईको गीत गाएका थिए भने दोस्रो चरणमा फिल्मको गीत गाएका थिए । सेमीफाइनल अडिशनमा गायक एपि शेर्पा, गायक, संगीतका मदन राई(राईमन) र सञ्चारकर्मी

मिस्टर एण्ड मिस फोटोजेनिकको उपाधि श्रद्धा र सुरजलाई

Image
धरान । मिस्टर एण्ड मिस फोटोजेनिक धरान २०१३ को उपाधि श्रद्धा पौडेल र सुरज श्रेष्ठले जितेका छन् । धरानेक्रेज डटकमको आयोजनामा शुक्रबार धरान ८ स्थित सभागृहमा सम्पन्न फाइनलमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी स्टाफ नर्स पौडेल र विद्यार्थी श्रेष्ठले उपाधि जितेका हुन् । मिस्टर फोटोजेनिकको उपाधि जितेका सुरज नेशनल मल्टिपल कलेजमा कक्षा १२ मा अध्ययनरत छन् । उनीहरुले उपाधिसँगै ट्रफी हात परे । प्रतियोगिताकी मुख्य निर्णायक रहेकी मिस पूर्वाञ्चल नेहा बजाजले विजेताहरुको नाम घोषणा गरेकी थिइन् । प्रतियोगितामा वेष्ट ड्रेसको उपाधि कुन्नी लिम्बूले जितिन् भने वेष्ट स्माइलको उपाधि नदिरा श्रेष्ठले हात पारिन् । यस्तै, मिस ट्यालेण्टको उपाधि भने सरिता सिंह ठकुरीले हात पारिन् । विजेता प्रतियोगीहरुलाई इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी टेकबहादुर तामाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नविन अधिकारी, बीपी प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले पुरस्कार वितरण गरेका थिए । मिडिया तथा मोडलिङ क्षेत्रमा पाइला चाल्न चाहने युवायुवतीहरुको लागि धरानेक्रेजले फोटोज

एमाले माओवादी घरदैलोमा, कांग्रेस आन्तरिक भेटघाटमा

Image
धरान । ‘लौ है, भोट माग्दै आयौं है हजुरहरुको घरमा’–एक हुल एमाले नेता, कार्यकर्ताहरु धरान १७ को सुकुम्बासी क्षेत्र साउने बस्तीको एक घरमा पस्दै भने । घरबाट फुत्त बाहिर निस्किएकी महिलाले आक्रोश मिश्रित स्वरमा भनिन्–‘भोट हाल्दा के हुन्छ नि ?’ ‘संविधान बन्छ, नेपालको संविधान ।’–एक नेताले भने । ‘बन्छ संविधान ! पहिला पनि त्यसै भने, केही भएन’–ती महिलाले भनिन् । ‘यसपाली बन्छ बन्छ, तपाईलाई चाहि के चाहियो नि ?’–अर्का नेताले सोधे । ‘मलाई शान्ति चाहियो, अरु केही परेन । हाम्रो(सुकुम्बासी) अधिकार चाहियो’–जवाफमा ती महिलाले भनिन् । ‘यसपाली संविधान पनि बन्छ र शान्ति पनि छाउँछ’–उनलाई सम्झाउदै एमाले नेताले भने । यो संवाद दोस्रो संविधानसभाको निर्वाचनकोलागि चुनावी अभियानमा हिडेको एमाले नेता,कार्यकर्ता र धरान १७, साउने बस्तीकी संगीता श्रेष्ठबीच शुक्रबार मध्यान्हको हो । मंसिर ४ गते तोकिएको निर्वाचनमा मतदातालाई आकर्षित गर्न अहिले दलहरु विभिन्न तौरतरिका अपनाइरहेका छन् । त्यसमध्ये प्रभावकारी मानिएको घरदैलो अभियानमा राजनैतिक दलहरुले मतदाताहरुबाट यस्तै आक्रोशपुर्ण प्रश्नको जवाफ दिनुपरिरहेको छ । ‘हामी जनताक

सुनसरी र मोरङमा रगत अभाव

Image
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार राती शल्यक्रियाबाट बच्चा जन्माएकी टाँडी ४, मोरङकी २३ बर्षीय भीमा राईलाई ५ पिन्ट रगत चाहियो । चिकित्सकले तत्काल ‘एबि पोजेटिभ’ रगत जोहो गर्नु भनेपछि उनका आफन्त एवं छिमेकीहरु ब्लड बैंक पुगे । ब्लड बैंकबाट मात्रै २ पिन्ट रगत भेटियो । सबैतिर सम्पर्क र सोधीखोजी गर्दा पनि एबि पोजेटिभ रगत एवं दाता नभेटिएपछि भीमाका आफन्तहरुले गाउँले छिमेकीलाई गुर्हानु पर्यो । राती नै एम्बुलेन्समा हालेर थप ३ जना छिमेकी युवा टाँडीबाट रगत दिन धरान आइपुगे । ‘विराटनगरमा खोज्यौं, धरानमा चिनेजानेको सबैतिर भन्यौं तर एबि पोजेटिभ भेटिएन’–भीमाका छिमेकी लेनिन राईले भने–‘कतैबाट नभएपछि गाउँमा सम्पर्क गर्यौं, बल्ला फेला पर्यो, र तीन जना भाईलाई एम्बुलेन्सबाट ल्यायौं ।’ भीमाका आफन्तजनहरुले जस्तै अहिले बीपी प्रतिष्ठानमा उपचार गर्न आएका सर्वसाधारणहरुले रगतको जोहो गर्न सास्ती भोग्नु परिरहेको छ । चाडपर्व शुरु भएपछि सामाजिक संघसंस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गर्न छाडेपछि रक्त सञ्चार केन्द्र(ब्लड बैंक)मा रगत अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाले बीपी प्

डा.अग्रवाललाई कारबाहीको सहमतिपछि ताला खुल्यो

Image
धरान । विरामीलाई स्वास्थ्य परीक्षण गर्न बाहिर पठाउने सर्जरी विभाग प्रमुख डा. सि.एस.(चन्द्रशेखर) अग्रवाललाई छानबीन गरेर कारबाही गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यावस्थापनले प्रतिवद्धता जनाएपछि सर्जरी विभागमा लागेको ताला खुलेको छ । कर्मचारी कल्याण समाज र प्रतिष्ठान पदाधिकारीबीच शनिबार भएको वार्तामा व्यावस्थापनले समिति गठन गरेर छानबिन भइरहेको र प्रतिवेदनको आधारमा कारबाही गर्ने सहमति जनाएपछि समाजले सर्जरी विभागमा लगाएको ताला खुलेको हो । समाजले दुई पटक अनुगमन गर्दा डा.अग्रवालले विरामीलाई प्रतिष्ठान बाहिर जाँच गर्न पठाएको भेटिएपछि कारबाहीको माग गर्दै समाजले गत बुधबार सर्जरी विभागमा ताला लगाएको थियो । त्यसअघि, डा.अग्रवाललाई कारबाही गर्न अल्टिमेटम दिएपनि व्यावस्थापनले कारबाही नगरेको भन्दै समाजले उनको कार्यकक्षमा ताला लगाएको थियो । ‘व्यावस्थापनले एउटा समिति बनाएर छानबीन प्रक्रिया अघि बढाइसकेको रहेछ, त्यसैको आधारमा कारबाही गर्ने सहमति भयो’–कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङले भने–‘सहमति पछि सर्जरी विभागको ताला पनि खोल्यौं ।’ समाजले कारबाहीको अल्टिमेटम दिएलगत

बीपीको सर्जरी विभाग प्रमुखको कार्यकक्षमा ताला

Image
धरान । अस्पताल प्रशासनको निर्देशन अटेर गरेर विरामीलाई परीक्षण गर्न निजी क्लिनिकतिर पठाउने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान को सर्जरी विभाग प्रमुख सि.एस.अग्रवालको कार्यालयमा ताला लागेको छ । प्रतिष्ठानको कर्मचारी कल्याण समाजले बुधबार अग्रवालको कार्यालयसँगै उनले पेइङमा जाँच गर्ने कोठामा पनि ताला लगाउदै प्रवेश निषेध गरिएको जनाएको छ । यस्तै, डा.अग्रवाललाई कारबाहीस्वरुप समाजले दैनिक कार्यमा पनि प्रतिबन्ध लगाएको घोषणा गरेको छ । समाजका प्रतिनिधिहरु दन्तचिकित्सा शिक्षक कल्याण समाजको अध्यक्षसमेत रहेका डा.अग्रवालको कार्यकक्षमा ताला लगाउन पुग्दा उनी भने थिएनन् । उनी केही दिनदेखि विदा लिएर भारत गएको बुझिएको छ । समाजले दुई पटक अनुगमन गर्दा डा.अग्रवालले विरामीहरुलाई जाँच गर्न बाहिरका क्लिनिक एवं जाँच केन्द्रमा पठाएको भेटिएपछि समाजले असोज १५ गतेभित्र कारबाही गर्न अस्पताल प्रशासनलाई अल्टिमेटम दिएको थियो । अल्टिमेटमभित्र प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएपछि समाज आफैले कारबाहीमा उत्रन बाध्य भएको महासचिव वेदुकाकुमारी पुलामीले बताइन् । ‘कर्मचारी कल्याण समाज र प्रतिष्ठान प्रशासनले पटक पटक

कुम्भ मेला लगाउन टाइगर्स पीडितलाई धम्की दिएको गुनासो

Image
  धरान । मधेशी मुक्ति टाइगर्स नामको भुमिगत सशस्त्र समुहको ज्यादतीले विस्थापित भएर हाल बराहक्षेत्र १ चतरामा बस्दै आएका पीडितहरुलाई जग्गा खाली गर्न वालसन्तले धम्की दिएको गुनासो गरेका छन् । सुनसरी मोरङ सिचाई आयोजनाको जग्गामा विगत ६ बर्षदेखि बस्दै आएका विस्थापित परिवारलाई उक्त जग्गा खाली गराउन वालसन्त मोहनशरण देवाचार्यले धम्की दिएपछि पीडितहरु न्याय माग्दै भौतारिन थालेका छन् । टाइगर्सले अपहरण, लुटपाट, हत्यालगायतको ज्यादती गर्न थालेपछि उनीहरु ०६४ कार्तिकमा सुनसरीको हरिपुर १ बाट विस्थापित भएका थिए । धार्मिक एवं प्रशासनीक शक्ति र पहुँच बनाएका वालसन्तले आगामी चैतमा लगाउने भनिएको कुम्भ मेलाको लागि विस्थापितहरु बसेको सिचाईको जग्गा खाली गराउन खोजीरहेका छन् । वालसन्तबाट जग्गा खाली गर्ने उर्दी आएपछि विस्थापितहरु बुधबार धरान आएर पत्रकारहरुमाझ पीडा पोखेका थिए । ‘वालसन्त प्रहरीसहित आएर जग्गा खाली गराउनु, जहाँबाट आएको हो त्यतै जानु भनेर धम्की दिए’–द्धन्दपीडित संघर्ष समितिका अध्यक्ष कमल तामाङले भने–‘पहिला पनि भएको धनसम्पत्ति, घरबार सबै छोडेर हिड्नुपर्यो, अब यहाँबाट पनि कहाँ जाने भनेर सबैजना चिन्तित

युवा संघको कार्यकर्ता पक्राउले तनाव

Image
धरान । युवा संघका एक कार्यकर्ता पक्राउ परेको बिषयमा मंगलबार इलाका प्रहरी कार्यालयमा दिनभर एमाले नेता, कार्यकर्ताहरुको भीड लाग्यो । डाइस खेलाएको आरोपमा पक्राउ परेका वालकको बिषयमा बुझ्न पुगेका युवा संघका नगर उपाध्यक्ष कर्ण लिम्बूलाई प्रहरीले पक्राउ गरेपछि मंगलबार दिनभरजसो प्रहरी कार्यालय तनावपुर्ण रह्यो । विना कारण कार्यकर्ता पक्राउ गरेको भन्दै एमाले जिल्ला तहका नेता एवं कार्यकर्ताहरु प्रहरी कार्यालय पुगेका थिए । एमाले नेता, कार्याकर्ताहरुको भिड लागेपछि प्रहरीले मुख्य गेटबाट प्रवेशमा कडाई गरेको थियो । घटनाबारे जानकारी लिन पुगेको पत्रकारहरुलाईसमेत प्रहरीले मुलगेटबाट भित्र प्रवेश गर्न दिएन । प्रहरी कार्यालयभित्र नेता र प्रहरीबीच वार्ता भइरहदा मुलगेट बाहिर भने एमालेका स्थानीय नेता, कार्यकर्ताहरुले प्रहरीले ज्यादती गरेको भन्दै घेराउ गरेका थिए । प्रहरीले मुलगेट भित्र स्थानीय नेता, कार्यकर्ताहरुलाई प्रवेश गर्न नदिएकोमा आक्रोश पनि व्यक्त गरिरहेका थिए । डाइस खेलाएको घटनामा एक वालक पक्राउ परेको बिषयमा प्रहरी कार्यालय पुगेका संघका नगर उपाध्यक्ष लिम्बू र प्रहरी निरीक्षक मुकुन्द रिजालबीच बिहान

‘दर्शकको माया नै मेरोलागि अवार्ड’

Image
 धरान । गत शुक्रबार रिलिज भएको चलचित्र मौनकी नायिका नम्रता श्रेष्ठलाई फिल्म प्रर्वद्धनको लागि काठमाण्डौं जान हतारो थियो । हतारोको बीचमा पनि उनी मंंगलबार बिहान भानुचौकस्थित हंग्री आइ रेष्टो बारमा पुगिन् । त्यहाँ उनको प्रतिक्षामा तीन जना भाग्यमानी फ्यानहरु थिए । समयअभावको बीचमा पनि उनी आफ्ना फ्यानको माया पाउन र प्रत्यक्ष भलाकुसारी गर्न त्यहाँ पुगिन् । आफ्ना दर्शकबाट सही सल्लाह र सुझाव पाउने भएकोले हतारकोबीचमा पनि भेट गर्न पुगेको नायिका श्रेष्ठले बताइन् । ‘दर्शकले फिल्म हेरेका हुन्छन् र उहाँहरुसँग अन्र्तक्रिया हुदा राम्रो सल्लाह, सुझाव पाइन्छ, त्यसले कलाकारहरुलाई हौसला मिल्छ’–उनले भनिन्–‘प्रत्यक्ष कुराकानी हुदा उहाँहरुले इमान्दार भएर सल्लाह दिनुहुन्छ, दर्शकको माया नै मेरो लागि त्यो नै अवार्ड पाए सरह हो ।’ तीन जना फ्यानसँग भलाकुसारी र बिहानको खाना(लञ्ज) लिएपछि नायिका श्रेष्ठ मंगलबार नै काठमाण्डौं फर्किइन् । उनी भदौ २९ गतेदेखि चलचित्र नोभेम्बर रेनको छाँयांकनको लागि गृहनगर धरानमा थिइन् । फिल्म सुटिङको चटारोले धरान धेरै घुम्न नपाएपनि आफु जन्मिएको ठाउँमा सुटिङ गर्न पाउदा असाध्यै रमाइ

चित्रकलाको संगीतमय समापन

Image
 धरान । कोठाको भित्ताभरि प्रकृति जोगाउन आग्रहसहितको आधुनिक शैलीका चित्र टाँगिएका छन् । कलाकार(चित्रकार)हरुको जमघट भएको कोठामा चार जना कलाकारहरु मादल, बाँसुरी, गिटार बोकेर अघिल्तिर बसे, अनि मिठो धुन निकाल्न थाले । संगीतको मिठो धुन निकाल्ने संगीतकर्मीहरु सबै चित्रकलामा सिद्धहस्त कलाकारहरु नै थिए । धराने युवा कलाकार सजन थापा मगरको ग्रिन हर्ट नाम दिइएको तीन दिने चित्रकला प्रर्दशनी समापन अघि युवा कलाकारहरुले चित्रसँग संगीतलाई फ्युजन गराए । जलवायु परिवर्तन र त्यसबाट हुने असरबारे जनचेतना फैलाउन आयोजित चित्रकला प्रर्दशनीलाई नौलो र प्रयोगात्मक बनाउन संगीतसँग फ्युजन गरिएको कलाकार मगरले बताए । ‘समापनलाई औपचारिक नगरि प्रयोगात्मक कार्यक्रम गरौं भनेर संगीतिक प्रस्तुती दिने प्रयास गरेका हौं’–उनले भने । कलाकार सजनले अफ्रिकन बाजा जिम्बे र मादल बजाएका थिए भने जीवन पौडलेले बाँसुरीबाट मिठो धुन निकालेका थिए । यस्तै, कलाकरद्धय दीपराज लिम्बू र सुमन श्रेष्ठले गीतार बजाएका थिए । उनीहरुले मिठो नेपाली लोकधुन बजाएर सबैलाई मुग्ध बनाए । ‘सजनको चित्रहरु पृष्ठभुमि लाग्यो, र संगीतलाई फ्युजन गरेर प्रयोग गरौं न भन

कलरवले काव्यमय बनायो धरानलाई

Image
धरान । विरामी र चिकित्सकहरुको ओहोरदोहोर भइरहने धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार भने दिनैभरि कवि, साहित्यकारहरुको बाक्लो भीड थियो । कलरव धरानले आयोजना गरेको ‘एउटा अन्र्तदेशिय काव्य सम्मेलन’को कारण प्रतिष्ठानको अडोटरियम हलमा कवि,साहित्यकारहरुको जमघट थियो । कार्यक्रममा सहभागी हुन नेपालका चर्चित कवि, साहित्यकारसँगै छिमेकी मुलुक भारतबाट पनि नेपालीभाषी भारतीय साहित्यकारहरु भेला भएका थिए । काव्य सम्मेलनमा नेपाल र भारतका नेपालीभाषी कवि, साहित्यकारहरुले कविता मात्रै वाचन गरेनन्, उनीहरुबीच नेपाली कविताको भविष्यबारे गहन छलफल पनि भयो । मान्छे पाइदैन, मान्छेको यस्तो बस्तीमा हिजो आज यन्त्रआमाहरु घडी पाउँदैछन्....। वरिष्ठ कवि तुलसी दिवसले यो कविता पढेपछि शुरु भएको काव्य सम्मेलन आगतमा नेपाली कविताको बाटो बिषयक कार्यपत्रमाथि गहन बहस भयो । समालोचक महेश पौड्यालले कार्यपत्र प्रस्तुत गर्दै नेपाली काव्यलाई विश्व साहित्यको स्तरमा पुर्याउन नेपाली मौलिकपन हुनुपर्नेमा जोडदिएका थिए । कवितामा नेपाली कला,सँस्कृति,इतिहास, विम्ब, लोकसँस्कृतिलाई प्रयोग गर्दै पछिल्लो पुस्ता अघिबढेमा वि