मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

धरान,साउन १४ । न आफन्त, न चिनजानको व्यक्ति । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धनकुटा आहालेका २० बर्षीय जैसन राईको उपचारमा खर्च अभाव भएको थाह पाएपछि सहयोग जुटाउन धरानका ८ महिलाहरु ब्यानरसहित सडकमै आए ।
करिब तीन सातादेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत धनुकटा आहालेका १८ बर्षीय जैसन राईको उपचार खर्च थिएन । खर्च अभावले उपचारबाट बञ्चित हुनपर्ने अवस्था आएपछि धरानका महिलाहरुले सामाजिक सञ्जालमार्फत सहयोग जुटाउदै आएका थिए । त्यतिले पनि नपुगेपछि उनीहरु साउन १० गते ब्यानर लिएर सडकमा आउनु पर्यो । यसको नेतृत्व लिइन्, धरान १७ की चन्द्रकला राईले । उनको अभियानलाई धरान १८ की रिता राई, धरान १७ की रिमला राई, जीवनकला राई, अनु राई, धरान ८ की बिनिता बेघा, धरान १६ की मनिषा राई र १५ की सरस्वती साह आचार्यले साथ दिए । ‘मेरो भदैनीको मःम पसलमा काम गर्न आएको रहेछ । भदैनीले अस्पतालमा ब्लड चाहियो भनेर फोन गरेपछि पुगे, उसको हालत देखेपछि चुपलागेर बस्नै सकिन,’ चन्द्रकलाले भनिन्,‘मानवताको नाताले पनि फेसबुकमा पोष्ट गर्दै सहयोग जुटाउन थाले । औषधीमा खर्च ज्यादै हुने । पुग्दै नपुगेपछि यसरी ब्यानर लिएर सडकमै आयौं ।’
चिकित्सकहरुका अनुसार उनको शरीरमा रगतको कमी छ । सिकिस्त जैसनको १० दिनसम्म आइसियुमा उपचार भएपछि भर्खर वेडमा सरेका थिए । अहिले उपचार गराएपछि उनी घर फिरिसकेका छन् । धरानका महिलाहरुले सहयोग अभियान नचलाएको भए उनको उपचार सम्भव थिए । जैसनको स्वास्थ्य सुधार हुदैछ, तर, इन्फेक्सन बढेर उनको देब्रे हातको माझी औला काट्नु परेको छ ।
धनकुटाको आहाले घर भएका जैसन एक बर्षदेखि परिवारसँग सम्पर्क विहिन थिए । विभिन्न होटलमा काम गर्दै आएका उनी ३ महिनाअघि धरान ९ स्थित अनिता श्रेष्ठले चलाएको मःम पसलमा काम गर्न पुगेका थिए । अचानक उनको स्वास्थ्य बिग्रिएपछि बीपी प्रतिष्ठान लगिएको थियो । नाताले श्रेष्ठ चन्द्रकलाकी भदैनी हुन् । उनीमार्फत नै चन्द्रकलाले जैसनको अवस्थाबारे थाह पाएकी थिइन् । चन्द्रकलाले फेसबुकमा तस्बिरसहित सहयोगको अपिल गरेपछि मात्र उनको परिवारले थाह पाएका थिए ।
ब्यानर बोकेर सडकमा चन्दा सहयोग उठाउनु जो कोहीलाई सहज हुदैन । त्यसमाथि गृहणी महिलाहरुलाई त घरपरिवार सम्हाल्दै समय निकाल्नु पर्छ । तर, परोपकारी मन भएका महिलाहरुले अठोट गरेर छोडे । ‘चन्द्रकलाले राम्रो काम गरिरहेको छ, यसमा किन साथ नदिनेभनेर सहयोग जुटाउन निस्कियौं,’ अनु राईले भनिन्,‘कहिल्यै सडकमा माग्दै हिडेको थिएनौं, शुरुमा त अफ्ठ्यारो लाग्यो । चिनेको , नचिनेको सबैसँग २०, ५०, सय रुपैया संकलन गर्यांै ।’ कतिपयले सामाजिक सञ्जालबाट जैसनको सहयोग अभियान थाह पाइसकेका रहेछन् । ब्यानर हेर्ना साथ केही नभनी सहयोग गरेको रिता राईले बताइन् । टेम्पो स्टेण्डमा त चालकहरु आफैले पैसा कलेक्सन गरेर बुझाइदिए । ‘एक जना बेखर्ची भाईलाई सहयोग गरौं न भनेर चन्द्रकलालाई साथ दियौं, हाम्रो कामलाई सबैले मनपराइदिनु भयो, त्यसैमा सन्तुष्टी मिलेको छ,’ उनले भनिन् । ब्यानर बोकेर मात्र खाजाको भरमा दिनभरि हिडेर २० हजार २ सय ५० रुपैया संकलन गरेका थिए । त्यसपछि पनि उनीहरुले समय निकालेर निरन्तर सहयोग जुटाइरहेका छन् ।
जैसनका परिवारनका अनुसार औषधी उपचारमा ३ लाख हाराहारी खर्च भइसकेको छ । आइसियुमा राख्दा औषधीमा धेरै खर्च भएको थियो । औषधी नै दैनिक १५ हजारको हाराहारीमा लाग्थ्यो । मनकारी धराने महिलाहरुको साथ नपाएको भए जैसनको उपचार सम्भव थिएन । ‘उहाँहरु त हाम्रो लागि भगवान सरह भेटिनु भयो, हाम्रो परिवारले यत्रो खर्च गर्न सकिने थिएन,’जैसनका काका हरि राईले भने । बुबा हेमकुमार राई खेती किसानी गरेर परिवारको पेट पाल्छन् । निम्न आर्थिक अवस्था भएका उनले जसोतसो जुटाएर ३० हजार ल्याएका थिए । त्यो एकै दिनमा सकियो । ‘नानीहरुले सहयोग नगरेको भए यत्रो खर्च कसरी जुटाउन सक्नु?’उनले भने ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे