Posts

Showing posts from February, 2015

नेवार एकताको रक्तदानमा ५५८ पिन्ट रगत संकलन

Image
धरान । धरानलाई रक्तदाताहरुको शहर बनाउने उद्देश्यले शनिबार धरानको भानुचौकमा वृहत रक्तदान कार्यक्रम भएको छ । नेवार एकता समाजको तेस्रो बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदानमा ५ सय ५८ पिन्ट रगत संकलन भएको थियो । पूर्वको सबै जिल्लाबाट विरामी रिफर भएर आउने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभावले विरामी अकालमा मृत्युवरण गर्न नपरोस् भनेर वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ । कार्यक्रममा एक हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको थियो । ‘स्थापनाकालदेखि नै संस्थाले रक्तदान कार्यक्रम गर्दै आइरहेका छौं, धरानमा उपचार गराउन आउने विरामीहरुलाई रगत अभावले छटपटिनु नपरोस् भनेर यसपाली वृहतरुपमा गरेका हौं’–समाजकी कोषाध्यक्ष एवं कार्यक्रम संयोजक शिला बज्रचार्यले भनिन् । करिब तीन बर्षअघि धरानका नेवार जाति संगठित भएर यो संस्था गठन भएको हो । तर, समाजले नेवार जातिको लागि मात्रै नभएर आम समुदायको हितमा सामाजिक काम गर्ने उद्देश्यसमेत बोकेको अध्यक्ष राजेशमान श्रेष्ठले बताए । समाजले धरानलाई रक्तदाताको शहर बनाउने लक्ष्य लिएर हरेक बर्ष कार्यक्रम गर्दै आएको उनले बताए

बुढासुब्बा गोल्डकपमा आयोजक सेमीफाइनल प्रवेश

Image
धरान । १७ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप शनिबारदेखि धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शुरु भएको छ । विभिन्न स्कुलका विद्यार्थी, खेलाडीहरुको मार्चपाससहित भव्यरुपमा शुरु भएको प्रतियोगिताको उद्घाटन सुनसरी क्षेत्र नम्बर १ का सभासद कृष्णकुमार राईले गरेका थिए । फागनु २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजकले लिस्नु क्लब रुपन्देहीलाई ४–० गोलअन्तरले हराउदै सेमीफाइनल प्रवेश गरेको छ । अफ्रिकन खेलाडी सेड्रिक आबा, निराजन खड्का, प्रकाश बुढाथोकी र शशी राईले गोल गर्दै आयोजकलाई अन्तिम चारमा स्थान पक्का गराएका थिए । पहिलो हाफको १९ औं मिनेटमा सेड्रिक आबाले पहिलो गोल गरेका थिए भने हाफको १३ औं मिनेटमा निराजन खड्का, २९ औं मिनेटमा प्रकाश बुढाथोकी र ४१ औं मिनेटमा धरानको सिनियर टोलीमा डेब्यु गरेका शशी राईले गोल गरेका थिए । निलो जर्सीमा धरान र सेतो जर्सीमा लिस्नु क्लब मैदानमा उत्रिएको थियो । खेलअवधिभर खेलमाथि धरानको पकड रहेको थियो । ए भिडिजन क्लब र नाइजेरियन खेलाडीसहित मैदानमा उत्रिएपनि रुपन्देहीको लिग च्याम्पियन लिस्नुको प्रर्दशन कमजोर रह्यो

आजदेखि १७ औं बुढासुब्बा रेडबुल गोल्डकप, उद्घाटनमा आयोजक र लिस्नु भिड्दै

Image
धरान । मोफसलको प्रतिष्ठित बुढासुब्बा रेडबुल गोल्डकपको १७ औं सँस्करण आज शनिबारदेखि शुरु हुदैछ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबको टिम र रुपन्देहीको लिस्नु क्लब भिड्दैछन् । फागुन २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १७ औं सँस्करण आइपुग्दासम्म आयोजकले एक पटक पनि उपाधि जित्न सकेको छैन । गत सँस्करणमा उपाधि जित्ने लक्ष्यसहित राष्ट्रिय खेलाडीलाई मैदानमा उतारेको आयोजकको यात्रा सेमीफाइनलमा नै टुंगिएको थियो । यो पटक पनि उपाधि उचाल्ने लक्ष्यसहित आयोजक मैदानमा उत्रदैछ । प्रतिद्धन्दी लिस्नु क्लब रुपन्देहीको जिल्ला लिग च्याम्पियन भएपनि ठुलो प्रतियोगिताको अनुभव नभएको फाइदा आयोजकलाई हुनसक्छ । तर, जिल्ला च्याम्पियन भइसकेको र राजधानीको खेलाडीसहित मैदानमा उत्रने लिस्नुलाई कमजोर आँक्नु आयोजकको भुल हुनेछ । लामो इतिहास भएपनि राष्ट्रियस्तर(ठुलो) प्रतियोगितामा लिस्नुको यो पहिलो सहभागीता हो । लिस्नुसँग करिब डेढ महिनाअघि जिल्ला लिग च्याम्पियन बनेको हौसला छ भने ३ नाइजेरियन र राजधानीका ए डिभिजन क्लबका खेलाडी पनि छ । लिस्नुका टिम मेनेजर

कोशी र मेचीमा सिण्डिकेट कायमै, व्यावसायीकै निर्देशनमा बस तोडफोड

Image
धरान । काकडभिटटबाट यात्रु लिएर तेह्रथुम जादै गरेको एउटा बसलाई धरानस्थित कोशी अञ्चलका यातायात व्यावसायीहरुले तोडफोड गरेको छ । शुक्रबार बिहान करिब साढे १० बजे यात्रुलाई बसबाट ओर्लनसमेत नदिई मेची बस व्यावसायी संघको ना ४ ख ३६२७ नम्बरको बसलाई तोडफोड गरेको हो । कोशी अञ्चलका व्यावसायीहरुले मेचीका बसलाई पहाडी जिल्लाबाट सिधै सञ्चालन गर्न नपाउने भन्दै तोडफोड गरेका हुन् । हातमा रड, ढुंगा, इटा, झम्पललगायत हतियारसहित एक दर्जन बढीको संख्यामा आएको समुहले धरान १३, बेस क्याम नजिक बसलाई रोकेर जथाभावी आक्रमण गरेको प्रत्यक्षदर्शी यात्रु एवं चालकहरुले बताएका छन् । तोडफोडको क्रममा ढुंगा लागेर तेह्रथुम पिप्लेकी जानुका खत्रीको देब्रे घुडामा चोट लागेको छ । गाडीको सम्पुर्ण शिशा फुटेको छ भने रड, झम्पलले प्रहार गरेर बसको रेडिएटरलगायत महत्वपुर्ण पार्टपूर्जामा क्षति पुर्याएको छ । घाइते यात्रु खत्रीका अनुसार मोटरसाइकलमा आएकाहरुले गाडी रोक भन्दै यात्रुलाई झर्न समेत नदिई आक्रमण शुरु गरेका थिए । ‘गाडी रोक भनेपछि चालकले साइड लगाएको थियो, केही होला भनेर पख पख भन्दै झर्न खोज्दै थियौं । ड्याम्म डुम्म हानिहाले’–खत

होटल सेछमा मिनि संग्रहालय, बार्षिकोत्सवमा स्पिच कम्पिटिशन

Image
धरान । फागुन २१ गते तेस्रो बार्षिकोत्सव मनाउने तयारी गरिरहेको सेछ ट्राभलिङले पर्यटन प्रर्वद्धनमा सहयोग पुर्याउने उद्देश्यले मिस टुरिजमका सहभागीबीच स्पिच कम्पिटिशन आयोजना गर्ने भएको छ । पर्यटनको नाममा भइरहेको सुन्दरी प्रतियोगिताको सहभागीहरुबाट भविष्यमा पर्यटन प्रर्वद्धनमा योगदान पुग्नसक्ने प्रचुर सम्भावना रहेकोले उक्त कार्यक्रम गर्न लागेको जनाएको हो । बिहिबार साँझ पत्रकारहरुसँग भेटघाट कार्यक्रम गर्दै सेक्षले धरान ४ स्थित होटल सेक्षमा मिनि संग्रहालय पनि स्थापना गरेको जानकारी गराएको छ । हालससम्म संग्रहालयमा एक सय थरीका ऐतिहासिक, पुरातात्विक वस्तुहरु संकलन गरिसकेको सेक्ष सम्बद्ध पर्यटनकर्मी वासुदेव वरालले जानकारी दिए । ‘पर्यटनको नाममा भइरहेको सुन्दरी प्रतियोगिताका सहभागीहरुलाई पर्यटनबारे के कति जानकारी छ, उनीहरुको त्यही बौद्धिकता नाप्ने अवसर पनि हुन्छ । भविष्यमा पर्यटनकै क्षेत्रमा सक्रिय हुन प्रेरणा पनि मिल्नसक्छ’–वरालले भने–‘होटलमा मिनि संग्रहालय पनि बनाएका छौं, यसले पनि धरान आएका पर्यटकहरुलाई आर्कषित गर्छ भन्ने आशा लिएका छौं ।’ सेक्षका अनुसार मिनि संग्रहालयमा पृथ्वीनाराण शाहका प

जेनिथ् स्कुलमा स्वास्थय जाँच

Image
धरान । स्वास्थ्य जनचेतना कार्यक्रममा सबैको पहुँच भन्ने नारासहित शुक्रबार धरान १६ स्थित जेनिथ् बोर्डिङ्ग स्कुलमा विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाँच भएको छ । स्कुलले आफ्नो बार्षिक क्यालेण्डर अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाल रोग विभागसँग सहकार्य गरेर स्वास्थ्य शिविर गरेको जनाएको छ । शिविरमा डाक्टर ज्योति अग्रवाल, ओमर मान प्रधान , क्रान्तिकिरण बराल, मनोज कुमार चौधरी र मनिस शर्मालगायतले विद्यार्थीहरुको जाँच गरेका थिए । शिविरमा ४० प्रतिशत भन्दा बढिमा दाँत सम्बन्धि समस्या देखिएको थियो भने पेटको जुका ,ठेउला एव रुघाखोकि सम्बन्धि समस्याहरु पनि देखा परेको प्रिन्सिपल समुन जवेगुले जानकारी दिए । समस्या देखिएका विद्यार्थीहरुलाई थप उपचारको लागि प्रतिष्ठानस्थित बाल रोग विभागमा सिफारिश गरिएको छ । साथै, चिकित्सकहरुले अभिभावकलाई होमटिफिनमा जोडदिएका थिए भने उचित तरिकाले नियमित दात माझ्न, स्वास्थ्यकर खानामा ध्यान दिन पनि सुझाव दिएको डाक्टर ज्योति अग्रवालले बताइन् । यस्ता कार्यक्रमहरु अन्य विद्यालयहरुमा पनि आयोजना हुन सके भविष्यका कर्णाधारहरुको स्वास्थ्यबारे सचेत हुनसक्ने उन

शनिबारदेखि शुरु हुने बुढासुब्बा गोल्डकपको तयारी पुरा

Image
धरान । शनिबारदेखि शुरु हुने १७ औं बुढासुब्बा रेडबुल गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक धरान फुटबल क्लबले शुक्रबार प्रतियोगिताको अन्तिम पत्रकार सम्मेलन गरेर उद्घाटन समारोहको भव्य तयारीमा जुटेको जानकारी दिएको छ । बुढासुब्बा गोल्डकप धरान १७ स्थित एन्फा टेक्निकल खेल मैदानमा फागुन १६ देखि २३ गतेसम्म  सञ्चालन हुदैछ । प्रतियोगितालाई भव्यरुपमा सञ्चालन गर्न प्रचार प्रसारलाई तीब्रता दिइएको छ भने मैदान मर्मत, स्वागतद्धार, तुल ब्यानरलगायतको सम्पुर्ण काम सकिएको आयोजक क्लबले जनाएको छ । मैदानमा दर्शकलाई सहजताको लागि १२ वटा बाँसको प्याराफिट निर्माण गरिएको उपाध्यक्ष एवं मैदान व्यावस्थापन समितिका संयोजक धनप्रसाद राईले बताए । ‘प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको छ, छिटपुट केही बाँकी भए त्यसलाई पनि भोली(शुक्रबार) सक्छौं’–उनले भने । उनका अनुसार एउटा बाँसको प्याराफिटमा सय जना दर्शक अट्ने क्षमता रहेको छ । मैदानको पूर्वपटि २ हजार ५ सय क्षमताको पक्की प्याराफिट छ । उद्घाटनलाई भव्य बनाउन विभिन्न जातीय संघसंस्थाहरुको झाँकी र र्याली प्रर्दशन गरिनेछ भने विद्यार्थीहरुबाट मार्च पास

बीपीमा नवजात शिशु सम्बन्धी तीन दिने अन्र्तराष्ट्रिय सम्मेलन हुदै

Image
धरान । भर्खरै जन्मिएका नवजात शिशुको स्याहार एवं उपचार पद्दतीलाई अझ गुणस्तरीय बनाउन र स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गर्न फागुन तेस्रो साता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन दिने अन्र्तराष्ट्रियस्तरको सम्मेलन हुदैछ । नेपालमै पहिलो पटक हुन लागेको सम्मेलन प्रतिष्ठानको बालरोग विभागअन्र्तगतको नियोनेटोलोजी डिभिजनले आयोजना गरेको हो । फागुन २४, २५ र २६ गते हुने सम्मेलन अमेरिकास्थित द युनिभर्सिटी अफ टेनीसी हेल्थ साइन्स सेन्टरसँगको सहकार्यमा हुन लागेको प्रतिष्ठानले जनाएको छ । नियोनेटोलोजी भिडिजन प्रमुख डाक्टर रुपाराज भण्डारी सिंहका अनुसार अन्र्तराष्ट्रिय सम्मेलनमा टेनीसीबाट करिब १० जना बिशेषज्ञ चिकितसकको टिम सहभागी हुदैछ भने भारत, थाइल्याण्ड,नेपाललगायत मुलुकबाट २५ जनाको टोली रिसर्च पर्सनकोरुपमा सहाभागी हुनेछन् । सम्मेलनले नवजात शिशुको मृत्युदरलाई घटाउन जन्मिएलगत्तै शिशुलाई गर्नुपर्ने स्याहार, विश्वमा विकसित भएको उपचार विधिलगायतबारे कार्यशाला गोष्ठी, प्रस्तुती, अन्र्तक्रिया एवं प्यानल छलफल हुनेछ । ‘बाल मृत्युदर घटाउन केन्द्रीत हुदा नवजात शिशुलाई भने त्यति ख्लाल गरिएन, जस

बीपीमा स्वाइन फ्लुको बिशेष उपचार व्यवस्था

Image
धरान । छिमेकी मुलुक भारतमा स्वाइन फ्लु महामारीकोरुपमा फैलिएपछि यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्तकता अपनाउदै उपचारको बिशेष व्यवस्था गरेको छ । प्रतिष्ठानले आकस्मिक कक्षमा स्वाइन फ्लुको लक्षण देखिने विरामीको लागि छुट्टै डेस्क राखेको छ भने ट्रपिकल वार्डअन्र्तगतको भवनमा पनि ४ शैयाको वार्ड सञ्चालनमा ल्याएको छ । अहिलेसम्म भने स्वाइन फ्लुको लक्षण देखिने कोही पनि विरामी भने नआएको अस्पतालले जनाएको छ । ‘छिमेकी मुलुकमा प्रकोपकोरुपमा देखा परेकोले हामीले पनि उपचारको बिशेष व्यवस्था गरेका छौं’–अस्पताल निर्देशक डा.अरविन्द कुमार सिन्हाले भने–‘इर्मेजेन्सीमा नै छुट्टै डेस्क छ, त्यहाँ शंकास्पद देखिएका विरामीलाई आइसोलेसनमा राखिन्छ र लक्षण देखिएमा ट्रपिकल वार्डमा पनि लैजाने व्यवस्था छ ।’ शंकास्पद विरामीलाई ट्रपिकल वार्डमा व्यवस्था गरिएको छुट्टै कक्षमा हरदम एक जना सिनियर कन्सल्टेण्ट चिकित्सकको निगरानीमा उपचार हुनेछ । भारतसँगै नेपालमै पनि स्वाइन फ्लुका संक्रमित विरामी भेटिएपछि पूर्वको प्रमुख स्वास्थ्य संस्थानले सर्तकता अपनाएको हो । नेपालमा राजधानी र पोखरामा पनि स्वाइन् फ्लुको स

बुढासुब्बा गोल्डकपको खेलतालिका सार्वजनिक

Image
धरान । १७ औं बुढासुब्बा रेडबुल गोल्डकपको आयोजनाबारे टिकाटिप्पणी भइरहदा धरान फुटबल क्लबले भने सोमबार टाइसिट सार्वजनिक गर्दै प्रतियोगिता आयोजना निश्चित गरेको छ । क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै फागुन १६ देखि २३ गतेसम्मको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । दोस्रो पटक घोषित मिति र खेल तालिका अनुसार उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र रुपन्देहीको लिस्नु क्लबबीच हुनेछ । सात दिनसम्म सञ्चालन हुने प्रतियोगिता धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुनेछ । प्रतियोगितालाई सफल बनाउन उदघ्टनलाई भव्यरुपमा गरिने क्लबका अध्यक्ष एवं एन्फा केन्द्रीय उपाध्यक्ष किसोर राईले बताए । ‘यो टाइसिट नै फाइनल हो, अब फागुन १६ देखि २३ गतेसम्म बुढासुब्बा गोल्डकपको १७ औं सँस्करण निश्चितरुपम हुन्छ’–अध्यक्ष राईले भने–‘प्रतियोगितालाई भव्य र सफल बनाउन उद्घाटन भव्यरुपमा गछौं, फुटबलबाहेक अरु खेलहरुलाई प्रर्दशन गर्नेछौं ।’ सुनसरी क्षेत्र नम्बर १ का सभासद कृष्णकुमार राईबाट उद्घाटन हुने समारोहमा नेपाली तारा सिजन ३ का उत्कृष्ट तीनमा पर्न सफल इटहरीका कलाकार देवेश राईको सांगीतिक प्रस्तुती पनि रहने उनले खुल