ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे

धरान । धेरै यात्रुको सिट क्षमता भएको विमान एटिआर ४२ उडान र अवतरण गराउने गरी एयरपोर्ट बनाउन सम्भाव्यता अध्ययनको काम शुरु भएको छ । नागरिक उड्यान प्राधिकरणले सर्वेको लागि नियुक्ती गरेको रियलपाथ इञ्जिनियरीङ कन्सल्टेण्टले शुक्रबारदेखि धरान १७, डाँडाघोपास्थित प्रस्तावित जग्गामा सम्भाव्यताको लागि सर्वेको काम थालेको हो ।
कन्सल्टेण्टले खटाएको प्राविधिक टोलीले ड्रोनको प्रयोग गरेर धरान एयरपोर्टको सर्वे गरिरहेको छ । एयरपोर्टको सम्भाव्यता अध्ययनको लागि ५ जना प्राविधिक टोली धरान आएका छन् । जसमा सिभिल इञ्जिनियर उत्सव गौतम, इलेक्ट्रीकल इञ्जिनियर आशिष बोहोरा छन् भने अच्युतकुष्ण पाण्डे, प्रकाश सुवेदी र निरज पन्त जियोमेट्रिक इञ्जिनियर हुन् । कन्सल्टेण्ट कम्पनीले उनीहरुलाई सर्वेको प्रतिवेदन बुझाउन एक महिनाको समय दिएको छ ।
सिभिल इञ्जिनियर गौतमका अनुसार धरान उपमहानगरपालिकाले भनेवमोजिमको क्षेत्रमा ड्रोनबाट फोटो खिचिन्छ । त्यसबाट टोपोग्राफिक सर्वे बन्ने र म्यापिङ हुुने उनले बताए । ‘कस्तो भु वनौट छ, सम्भाव्यता छ छैन भन्ने थाह हुन्छ’–गौतमले भने–‘हाम्रो प्राविधिक टोलीले सर्वेको रिपोर्ट बुझाउछौं, त्यसको आधारमा विज्ञहरुको छुट्टै टोलीले एयरपोर्टको सम्भावना छ छैन भनेर निर्णय गर्छ ।’ जियोमेट्रिक इञ्जिनियर पाण्डेका अनुसार यसअघि म्यानुअल्ली(मान्छेको सहाराले) सर्वे गर्दा निश्चित प्वाइन्टको मात्रै तथ्यांक आउथ्यो भने समय पनि धेरै लाग्थ्यो । अहिले नयाँ प्रविधि ड्रोन प्रयोग गर्दा थोरै समयमा धेरै र विस्तृत तथ्यांक आउने उनले बताए । ‘ड्रोन नहुदा मान्छेले नै सर्वे गर्नुपथ्र्यो, यही काम २५, ३० दिन लाग्थ्यो । अहिले २, ३ दिनमा नै सकिन्छ’–पाण्डेले भने–‘हामीले एक महिनाभित्र प्राधिकरणलाई रिपोर्ट बुझाउछौं ।’
प्राविधिकहरुका अनुसार सर्वेमा ड्रोन क्यामेरा प्रयोग गर्दा डिजिटल एलिबेसन मोडल, डिजिटल सर्फेस मोडल र अर्थोफोटो तिनवटै तथ्यांक आउछ । यो सर्वेको रिपोर्टअनुसार धरानमा धेरै सिट क्षमताको विमान उडान र अवतरणको लागि एयरपोर्ट बनाउन सम्भव भए नभएको निक्यौल हुनेछ । करिब डेढ दशकदेखि धरान १७ डाँडाघोपास्थित धरान एयरपोर्ट निर्माणको प्रक्रिया अघि बढाएपनि धरानबासीहरुको सपना साकार भएको छैन । पछिल्लो समय सरकारले यहाँको एयरपोर्टको लागि दुई करोड बजेट विनियोजन गरेपछि भने नागरिक उड्यान प्राधिकारणले प्राथमिकता दिदै पुनःप्रक्रिया अघि बढाएको थियो । यसअघि ट्विनअटर विमान मात्र उडान र अवतरण गर्नसक्ने क्षमताको स्टल एयरपोर्ट निर्माण गर्न अध्ययन भएको थियो । अब भने एटिआर ४२ सम्मको विमान उडान र अवतरणको लागि एयरपोर्ट बनाउन प्राधिकरणले अध्ययन शुरु गरेको हो ।
यसअघिको सर्वेमा ७ सय ५० मिटर लम्बाई र २३ मिटर चौडाईको रनवे थियो । यसमा १६, १७ जना यात्रु बोक्ने क्षमताको ट्विनअटर विमान मात्र उडान र अवतरण हुनसक्छ । अब भने कम्तीमा ४२ जना यात्रु क्षमता भएको एटिआर ४२ विमान उडान र अवतरण गर्नसक्ने क्षमताको एयरपोर्ट बनाउन सर्वे भएको एयरपोर्टको लागि धरान उपमहानगरपालिकाका फोकल इञ्जिनियर देशकुमार राईले बताए । ‘सानो क्षमताको विमानको लागि त समस्या छैन, अहिले भविष्यको लागि पनि लक्षित गरेर ठुलो क्षमताको विमानको लागि सर्वे भएको हो’–उने भने । यसअघिको सर्वेबाट ट्विनअटरको लागि १९ विघा जग्गा आवश्यक भएको देखिएको थियो भने ठुलो जहाजको लागि कम्तीमा ४० विघा जमिन आवश्यक पर्नेछ । त्यसको लागि कम्तीमा १२ मिटर लम्बाई र ३० मिटर चौडाईको रनवे चाहिन्छ ।
धरान नगरपालिकाले २०६० सालदेखि नै सार्वजनिक निजी साझेदारी अवधारणाअन्र्तगत यति इन्कर्पोरेट प्रालिसँग मिलेर एयरपोर्ट बनाउने प्रक्रिया थालेको थियो । यसको लागि तत्कालीन नगरपालिकाको रोहबरमा धरान १७, डाँडाघोपाका स्थानीयले ६ महिनाभित्र एयरपोर्ट निर्माण कार्य शुरु नभए किनेकै भाउमा जग्गा फिर्ता गर्ने सर्तमा यतिलाई सस्तो मुल्यमा जग्गा बिक्री गरेका थिए । त्यहाँ यतिको ७ बिघा साढे ३ कट्टा साढे ५ धुर जग्गा छ । तर, सरकारले यतिलाई एयरपोर्ट बनाउन स्वीकृति दिएन । पछि नगरपालिका र नगरबासीको चर्को दबाबमा प्राधिकरण आफै धरानमा एयरपोर्ट बनाउन कस्सियो । डिटेल सर्वे भएपछि त्यसको आधारमा २०६९ बैशाख १७ गते जग्गा लगायत अन्य प्रावधानहरु पुरा गर्ने गरी विमानस्थल निर्माणको सैद्धान्तिक स्वीकृति प्रदान गर्ने मन्त्रीस्तरीय निर्णयसमेत भएको थियो ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै