बिपीको उपकुलपति हटाउन नेकपाको कसरत

धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति हटाउन सत्तारुढ पार्टी नेकपाको स्थानीयस्तरबाट लविङ शुरु भएको छ ।
  नेकपाको दुई तिहाई सरकार गठन भएदेखि नै कोपभाजनमा परेका उपकुलपतिलाई हटाउन पुनः नेकपाका जिल्ला र नगरस्तरीय नेताहरुले लविङ थालेका हुन् । उपकुलपति डा. राजकुमार रौनियारले पदाधिकारीलाई मिलाउन नसकेको र अस्पताल सेवालाई प्रभावकारी नबनेको भन्दै उनको विकल्प खोज्नुपर्ने नेकपाको निकष्र्ष छ । मंगलबार बिहान नेकपाका जिल्ला, नगरस्तरका नेताहरु प्रतिष्ठानमा डेलिगेशन गएको थियो । नेकपाका नेताहरुले नयाँ विभाग विस्तार गर्न रेक्टरले पत्र पठाउनुपर्नेमा अस्पताल निर्देशकले पठाएको भन्दै असन्तुष्टी जनाएका थिए भने लिफ्ट बिर्गेको, सुई र रुवालगायतको सामग्रीहरु पनि अभाव भएकोलगायत बिषयहरु उठाएका थिए । चारै जना पदाधिकारीसँग छलफल गर्ने भनेपनि रजिष्ट्रार तुलबहादुर श्रेष्ठ भने उपस्थित थिएनन् । उनी काम बिशेषले राजधानी गएको बताइएको छ ।
साविक एमोलका कार्यवाहक अध्यक्ष नारायण सुवेदीले भिसिले सुधार गर्न नसक्ने हो भने पद छोड्नुपर्ने पार्टीको निष्कर्ष भएको सुनाए । ‘भिसिले कि त पदाधिकारी मिलाएर लैजानुपर्छ, र प्रतिष्ठान सुधार्नुसक्नुपर्छ,’पार्टीको निष्कर्षबारे उनले भने,‘होइन भने पद छोडिदिनुपर्छ ।’ नेता सुवेदीका अनुसार साविक एमाले र साविक माओवादी नगर कमिटिले पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई पनि उपकुलपतिको विकल्प खोज्न लिखितरुपमा नै दिने तयारी छ । ‘हामी डेलिगेशन जाने टिम बनाउछौ, र पार्टी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री एवं कुलपति केपी शर्माओलीलाई पनि भेट्छौ,’उनले भने ।
साविक माओवादी केन्द्रका नेता चोत्लुङले आफुहरुले ४ जना पदाधिकारीहरुबाटै प्रतिष्ठानको काम कारबाहीबारे जानकारी लिइएको बताए । ‘चारै जनाले प्रष्ट भनिदिनुपर्छ । बेथिति सयौ छन्, पदाधिकारीबीच विवाद छ, त्यसले राम्रो परिणाम दिइराखेको छैन,’उनले भने,‘सिनेट पनि बस्न सकेको छैन, कार्यकारिणी समितिको पनि बैठक बसेको छैन । अस्पताल सेवाप्रति सर्वसाधारणहरुको दिनदिनै गुनासो सुन्नपरिरहेको छ ।’ नेताहरुले ४ सय बेडको एमसिएच भवन, २/२ सयको अंकोलोजी र कार्डियोलोजी भवन अलपत्र पारेको पनि उपकुलपति रौनियारमाथि आरोप लगाए ।

प्रतिष्ठानमा उपकुलपति डा. रौनियार र अस्पताल निर्देशक डा. गौरीशंकर साह एकतिर छन् भने रेक्टर डा.गुरु खनाल र रजिष्ट्रार तुलबहादुर श्रेष्ठ एकापटि छन् । उपकुलपति रौनियार गगन थापा स्वास्थ्यमन्त्री हुदा साविक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड प्रधानमन्त्री भएको बेला नियुक्ती पाएका हुन् । उनी कांग्रेस निकट मानिन्छन् । रेक्टर डा.खनाल र रजिष्ट्रार श्रेष्ठ नेकपानिकट हुन् । उपकुलपति रौनियारकै सिफारिशमा खनाल रेक्टरमा नियुक्ती पाएका हुन् । रजिष्ट्रार भने पुर्वउपकुलपति डा.बिपी दासको पालामा साविक एमाले कोटाबाट नियुक्ती पाएका हुन् । रेडियोलोजी विभागका पुर्र्वप्रमुख डा.रौनियार उपकुलपति नियुक्ती भएदेखि नै हटाउन प्रयत्नहरु भइरहेको छ । उनीमाथि एमआरआई मेशिन खरीदमा अनियमितताको आरोपदेखि पदाधिकारीहरु मिलाउन नसकेको, अस्पताल सेवा सुधार गर्न नसकेको जस्ता आरोप छ ।
उपकुलपति डा.रौनियारले भने आफु नियक्ती भएर आएपछिको अस्पताल सेवा विस्तार र सुधारको प्रयास गरिरहेको बताए । ‘जे जति समस्याहरु छन्, म आएर मात्र देखिएको होइन । मभन्दा पहिलाको उपकुलपति हुदा पनि थिए,’उनले भने,‘म नियुक्ती भएर आएपछि सुधार गर्न प्रयास गरिरहेको छुँ, अस्पताल सेवालाई विस्तार गर्न, प्रभावकारी बनाउन हामी लागि नै रहेका छौ । एमसिएच भवन मन्त्रीस्तरीय निर्णयले रोकिएको हो, फुकाउन सक्दो प्रयास गरेकै छुँ ।’ उनले पछिल्लो समय अतिविशिष्ट सेवा पनि विस्तार गरेको पनि बताए । प्रतिष्ठान स्थापना हुदा १ हजार विरामीलाई ओपिडी सेवा दिने लक्ष्य राखेको भन्दै उनले अहिले दैनिक ३ हजार आउने गरेको तर क्षमता विस्तार हुन नसक्दा समस्या भइरहेको पनि बताए । ‘म नहुदासम्म सबै ठिक थियो, म आएपछि सबै बिग्रियो भन्ने गलत मानसिकता भयो,’उनको जिकिर छ,‘सबै कुरा विस्तारै सुधार भइरहेकै छ, एकैपटक सबै ठिक गर्न त सकिदैन नि ।’
उपकुलपति डा. रौनियारलाई हटाउन यसअघि पनि थुप्रै प्रयास भएको थियो । राप्रपा नेपालबाट स्वास्थ्यमन्त्री बनेका दिपक बोहराले पनि उपकुलपति रौनियारलाई कारबाही गर्न कुलपति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सिफारिश गरेका थिए । तर, सरकार कामचालउ भइसकेको कारण उनी असफल भए । एमआरआई मेशिन खरीदमा पनि अनियमितता गरेको भन्दै प्रतिष्ठानकै पुर्व र वर्तमान पदाधिकारीहरु, कर्मचारीको एक खेमा पनि उनीविरुद्ध सक्रिय भएर लागेका थिए । पछिल्लो ४१ औं सिनेट बैठकले विगतको निर्णयअनुसार  एमसिएच भवन, कार्डियोलोजी, अंकोलोजी र एनएफआरएसको बिषयमा छानबिन गर्ने निर्णय गरेपछि पनि उक्त बिषयमा मुछेर उपकुलति रौनियारलाई हटाउन नेकपाका नेताहरुले पहल गरेपनि सफल भएनन् ।

..................................................................

                                              किन मिल्दैनन् पदाधिकारी ?


प्रतिष्ठानका उपकुलपति डा.रौनियार र रजिष्ट्रार श्रेष्ठबीच बोलचाल नै छैन । रेक्टर डा.खनाल र उपकुलपति रौनियारबीच पनि सम्बन्ध तिक्ततापुर्ण छ । चार महिनाभन्दा बढी समयदेखि कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन । प्रमुख पदाधिकारीबीचमा यो अवस्थाले प्रतिष्ठानको कामकार्यवाही प्रभावित हुदै आएको छ ।
उपकुलपतिमा डा.रौनियार नियुक्ती भएदेखि पदाधिकारीहरुबीचमा वेमेल शुरु भएको थियो । पुर्वउपकुलपति डा.बिपी दासले सिनेटको स्वीकृति भन्दा अत्यधिक बढी लागतको एमसिएच भवनको ठेक्का लगाएका थिए । यो ठेक्काको लागतस्टिमेट रजिष्ट्रार श्रेष्ठले पनि स्वीकृत गरेका थिए । कार्यकाल सकिन लाग्दा दासले ठेक्का लगाएर यसमा ठुलो घोटला गरेको आरोप लाग्दै आएको छ । दासकै पालामा एनएफआरएसको ठेक्का पनि मिलेमतोमा भएको थियो । एनएफआरएसको निर्णयमा कार्यकारिणी सदस्यकोरुपमा वर्तमान रेक्टर पनि संलग्न थिए ।
बोहरा स्वास्थ्य मन्त्री हुदा ४० औं सिनेट बैठकमा यी दुवै बिषयमा पनि छानबिन गर्ने निर्णय भयो । तर, छानबिन समिति संयोजक एवं तत्कालीन स्वास्थ्य सचिव बीचैमा अवकाश पाए भने सरकार पनि परिवर्तन भएपछि ओझेल पर्यो । तर, त्यही छानबिन समिति गठन हुदादेखि नै उपकुलपति रौनियार र रजिष्ट्रारबीचमा तिक्तता शुरु भएको मानिन्छ । ४१ आंै बैठकले पनि छानबिनलाई निरन्तरता दिने निर्णय गरेछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा समिति गठन भएको थियो । यो समितिको छानबिन प्रतिवेदन सार्वजनिक नहुदै स्वास्थ्यमन्त्रीको संयोजकत्वमा रजिष्ट्रार र रेक्टर सदस्य भएको ३ सदस्यीय छानबिन समिति गठन भयो । प्रधानमन्त्रीलाईसमेत झुक्याएर गठन भएको भनिएको यो समितिको कारणले पनि पदाधिकारीहरुबीचमा झन् ठुलो फाटो ल्याएको थियो ।
‘सिनेटले जुन जुन बिषयमा छानबिन गर्ने भनेको छ, त्यसैमा सहभागी भएको पदाधिकारी छानबिन समितिमा राखियो,’मंगलबार नेकपा नेताहरुसँग पनि उपकुलपति रौनियारले असन्तुष्टी जनाए । छानबिन समिति सदस्यसमेत रहेका रेक्टर डा.गुरु खनालले भने आफ्नो चाहनाले नभै प्रधानमन्त्रीबाट सदस्य बनाएपछि बाध्य भएर छानबिनको काम गर्नुपरेको प्रष्टीकरण दिए । ‘मैले छानबिन समितिमा बस्छु भनेको पनि होइन, एकैचोटी पत्र पाएपछि थाह भयो,’उनले भने,‘दिएको जिम्मेवारी इमान्दारिताका साथ पुरा गरेको छुँ ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे