त्यो बेलाको धान नाच सम्झेर..
धरान,पुष
स्थान: धरान १५ स्थित चुम्लुङ हिम । समय: आइतबार(पुष ८ गते) रातको करिब साढे ८ बजे । मौलिक पहिरनमा सजिएका लिम्बू महिला र पुरुषहरु एकअर्का हात समातेर गाइरहेका । त्यही पालामको भाका र लयअनुसार खुट्टाको चाल अघिपछि, दाँयाबाँया गर्दै सुस्तरी सुस्तरी नाचिरहेका । त्यो लयलाई पालाम भनिन्छ, र चाललाई धान नाच भनिन्छ ।
लिम्बू जातिको महान् चाड चासोक तङ्नाम(उधौली)को अवसरमा धरानमा आयोजित साँस्कृृतिक उत्सवमा हरेक साँझ देखिने दृष्य हो यो । कोही २ जना मात्र महिला र पुरुष हात समोतर पालाम गाउदै धान नाचिरहेका हुन्छन्, कोही ४, ५ जनाको अलग्गै समुह बनाएर चुम्लुङ हिम परिसरको एक छेउतिर नाचिरहेका हुन्छन् । अहिलेका युवा पुस्ता मुख्य स्टेजमा आयोजना भइरहेको आधुनिकशैलीको गीत र नृत्यमा रमाइरहदा अघिल्लो पुस्ताका लिम्बूहरु भने धान नाच र पालममा रमाइरहेका हुन्छन् ।
लिम्बू जातिमा अघिल्लो पुस्ताका सोल्टी, सोल्टिनीहरु मेलामा भेटिएर पालाम गाउदै धान नाच्ने सँस्कार, सँस्कृति बोकेर हुर्किएका थिए । समयसँगै मेला, हाटबजार विस्थापित हुदै गएपछि यस्ता सँस्कार, सँस्कृति पनि हराउदै गयो । पछिल्लो पुस्ताले धान नाच, पालामलाई आत्मसात गर्न सकेका छैनन् । धान नाच र पालम पुस्ताहस्तान्तरण हुन नसकेकोमा चिन्ता व्यक्त गर्छन्, चारमाया पालम पुस्तकका लेखक एवं धरान प्रज्ञा प्रतिष्ठानका संयोजक अम्बिका सम्बाहाम्फे । ‘खास गरी माओवादी द्धन्दकालमा मेला, हाटबजार लाग्न सकेन, र यो हाम्रो सँस्कृति हराउदै, विर्सदै गयो,’उनी भन्छन् ।
यता,केही बर्षदेखि धरानमा आयोजना हुने तासोक तङ्नाम साँस्कृतिक उत्सवमा भने अघिल्लो पुस्ताका सोल्टी, सोल्टिनीहरु भेट हुन्छन्, र आत्मियता साटासाट गर्दै साँझदेखि पालाम गाउदै धान नाच्न थालेका छन् । धान नाच लिम्बू जातिमा उहिल्यैदेखि चलिआएको परम्परा, सँस्कृति भएकोले चासोकमा संस्थागत गर्ने प्रयास भइरहेको चुम्लुङकी पुर्वकेन्द्रीय उपाध्यक्ष एवं वर्तमान सल्लाहकार दुर्गामाया लिम्बूले बताइन् । युवा पुस्तालाई धान नाच र पालामबारे जान्ने, बुझ्ने अवसर पनि हुने उनको भनाई छ । ‘धान नाच्नुअघि कति पुस्ता भयो भनेर साइनो केलाइन्छ, साइनो नलाग्ने भयो भने वा सोल्टी, सोल्टिनी भेट भएपछि लु नाचौ न त भनेर धान नाच्ने चलन हो,’उनले भनिन् ।
...............................................
यसरी नाचिन्थ्यो उहिले धान नाच
चुम्लुङका केन्द्रीय सल्लाहकार एवं बुद्धिजिवि गजेन्द्र इस्पोका अनुसार मेलामा चिरपरिचत को को सोल्टी, सोल्टिनीहरु आएका छन् भनेर घुमेर हेर्ने र भेट भएपछि सौहार्दता, आत्मियता आदानप्रदान हुन्थ्यो । साँझपखदेखि ती सोल्टी सोल्टिनीहरु हात समातेर लयमा गाउने, नाच्ने गर्थे । लिम्बूवान क्षेत्रमा यसरी नै तरुनी, तन्नेरी(सोल्टि सोल्टिनी)हरु रमाउने, रसरंग गर्ने चलन थियो । उनीहरु रातभरि नाच्ने र उज्यालो हुदा घर पुग्थे । ‘एक आपसको त्यो आत्मियता, घनिष्टता बढ्दै गएर मायापिरती र विवाह बन्धनमा पनि पुग्थ्यो,’उहिलेको र चासोकमा नाचिएको धान नाचबीच तुलना गर्दै इस्पोले भने,‘हिजो गाउँघरमा हामी त्यसरी रमाउथ्यौ, आज यहाँ पन त्यही परम्परा अघिल्लो पुस्ताले धान्दैछन् ।’
धान नाच्दासँगै गीतको भाका पनि सुस्तरी गाइन्छ । एकअर्काबीच आत्मियरुपमा मनको कुरा, इच्छाहरु रमाइलोरुपमा व्यक्त गरिन्छ । खासमा पालाम एकप्रकारको वार्तालाप हो, तर यो गीतको लयमा हुन्छ । एकले अर्कालाई रमाइलो र ठट्यौली पारामा अनुरोध गर्ने, प्रश्न गर्ने र उत्तर दिइने गरिन्छ । पाल्लामको खास अर्थ कुराको बाटो(थालनी) भन्ने अर्थ लाग्छ । पाल् भनेको बोली(कुरा) र लाम भनेको बाटो हो । ‘बोल्ने, भाषण गर्ने शैली जस्तै नै हुन्छ, तर तर्कपुर्णरुपमा शुरु गरिएको हुन्छ,’पालामबारे इस्पो भन्छन्,‘वार्तालाप नै हो, तर गीतको लयमा हुन्छ ।’
..........................................................
यसरी शुरु भयो धान नाच र पालम
धान नाच र पालामको उत्पत्ति, विकासबारे रोचक किंवदन्ती छ । बुढापाकाहरुबाट सुनिदै आएअनुसार उहिल्यै मंसिर लागेपछि कस्को घरमा धान माड्न जाने भनेर उर्दी हुन्थ्यो । अनि, सबै भेला भएर हात समातेर सबै वरीपरी घुम्दै खुटाले धान माडिन्थ्यो । त्यसबेला गोरुले दाई गर्ने चलन शुरुवात भइसकेको थिएन ।
मानिसले नै धान माड्ने क्रममा धान खान आउने चराचुरुङ्गी धपाउने भाकामा हा..हा..भन्दै धान टेक्दै, हल्लिदै गर्न थालियो । त्यही भाका विस्तारै गीत बन्यो । पछि शब्द चयन गर्दै गाउन थालियो भने धान माड्ने चलन धान नाचकोरुपमा विकास भएको चुम्लुङका केन्द्रीय सल्लाहकार इस्पो बताउँछन् । ‘धान माड्दा चराचुरुङ्गी धपाएको भाका निकाल्दै जादा गीतको भाका बन्यो । धान टेक्दै हल्लिदै गर्दा त्यही धान नाच भयो,’बुढापाकाबाट धान नाच र पालामबारे सुनेको किंवदन्तीबारे उनी भन्छन् ।
...........................................
पालाममा लुकेको दर्शन
‘चारमाया पालाम’ पुस्तकका लेखक अम्बिका सम्बाहाम्फे धान नाच र पालामलाई लिम्बू जातिले मनोरञ्जनको माध्यमकोरुपमा मात्र लिन नहुने धारणा राख्छन् । उनी पालमभित्र गहिरो दर्शन रहेको बताउँछन् । त्यसैले धान नाच र पालामलाई लोप हुन दिन नहुने उनी तर्क गर्छन् । सम्बाहाम्फेले पालामले व्यक्त गर्ने मायालाई चार किसिमले व्याख्या गरेका छन् । जसमा पहिलो माया बोलमाया हो । यो संसारी माया हो । युवायुवती नाच्दै, प्रश्नोत्तर गर्दै अन्ततः बिहे हुन्छ, मिलन हुन्छ । अर्को दिलमाया हो । यो जुनिमा नभएपनि अर्को जुनिमा भेटौ है भन्छन् ।
अर्को जिउमाया हुन्छ । यसमा युवायुवती नाचेर अन्तमा बिहे गर्छन् । सम्बाहाम्फेले व्याख्या गरेको महत्वपुर्ण फुलमाया हो । यसले पृथ्वीमा जन्मने र उम्रने २ खालको फुल हुने भन्छ । जन्मने फुल प्राणी हो भने उम्रने फुल वनस्पति हो । शुद्ध माया लगाउन युवायुवती भावनात्मकरुपमा आफुले रोजेको फुलमा परिवर्तन हुनछन्, र मिल्छन् । ‘चारै मायामा मिलन छ । मिलन किन भन्दा मिलन हुदा अनन्द हुन्छ, र आनन्द हुदा सृष्टी हुन्छ भन्ने दर्शन पालाममा छ । पञ्चतत्व, प्राणी, वनस्पती सबै जगत एकअर्कामा मायाले बेरिएको हुन्छ, यो चुडियो भने सबै ध्वस्त हुन्छ भन्ने दर्शन छ,’ सम्बाहाम्फेले भने,‘यो अरु दोहोरी गीत जस्तो होइन । एक घण्टा सोध्छ र दुई घण्टा उत्तर दिन्छ । त्यसभित्र अथाह दर्शन लुकेको हुन्छ । सिम्बोलिक कुराहरु धेरै छन् ।’
..................................................................................
सँस्कृति जोगाउने चिन्ता
अचेल धान नाच र पालामको भाका दुर्लभ हुदै गएको छ । यो सँस्कृतिलाई अहिलेका युवापुस्ताले आत्मसात गरेका छैनन् । रमाइलो एवं रसरंग गर्ने, सोल्टी सोल्टिनी(प्रेमी प्रेमिका)हरु भेट्ने माध्यम उहिलेजस्तो मेलापात, हाटबजारमा सिमित छैन । धान नाच र पालाम छोडेर आधुनिक पुस्ता भच्र्युअल संसारमा मस्त छ ।
मेला, हाटबजारको ठाउँलाई सिनेमा घर, पार्क र रेष्टुरेष्टहरुले लिइसकेको छ । यसले धान नाच र पालामलाई बिर्साउदै गएको इस्पो बताउँछन् । ‘यो धान नाच र पालाम गाउने सँस्कार अघिल्लो पुस्ताले पालेको हो । अब विस्तारै इतिहास र कथाहरुमा सीमित हुन्छ जस्तो देखियो,’इस्पो भन्छन् । इस्पो धान नाच र पालामलाई कलाकारिताको माध्यमबाट कलाकार, सँस्कृतिकर्मीहरुले समयसापेक्ष बनाउन सुझाव दिन्छन् ।
लेखक एवं सँस्कृतिकर्मी सम्बाहाम्फे लिम्बू सँस्कृतिको महत्वपुर्ण नाच भएकोले नयाँ पुस्तालाई बुझाउने, लय सिकाउने र साइनो नलाग्ने पुस्तालाई नाचबारे तालिम दिनुपर्ने बताउँछन् । ‘लोप हुन दिनहुदैन । युवापुस्तालाई धान नाच र पालामबारे बुझाउनुपर्छ, लय सिकाउनुपर्छ । पाँचथर, यासोकतिर सिकाउने प्रयास हुदैछ,’उनले भने ।
Comments
Post a Comment