धरानमा उपनिर्वाचन : कांग्रेसको विशाल आमसभा, प्रधानमन्त्रीलाई सच्याउन कांग्रेसलाई जिताउन आग्रह


धरान : प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी बन्दै गएको भन्दै उनलाई सच्याउन यही मंसिर १४ गतेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन नेताहरुले आह्वान गरेका छन् ।

धरान उपमहानगरपालिकाको मेयर पदको उपनिर्वाचन लक्षित मंगलबार धरानमा आयोजित आमसभामा कांग्रेस नेताहरुले मतदातासँग यस्तो आह्वान गरेका हुन् । नेताहरुले उपनिर्वाचनको हारजितले केन्द्रीय सत्ता परिर्वतन नभए पनि प्रधानमन्त्री र सरकारलाई गलत दिशामा अघि बढ्नबाट अंकुश लाग्ने उनीहरुले बताए । कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार आएपछि देशमा जनताले महंगी, भ्रष्टचार र कर वृद्धिको मार खेपिरहेकोले त्यसको जवाफ यो उपनिर्वाचनबाट दिन आग्रह गरे । ‘दुई बर्षमा महंगीले आकाश छोयो, भ्रष्टचार बढ्यो, कर वृद्धिले जनता आजित छन्,’उनले भने,‘उपभोक्ता समितिको नाममा ब्रह्मलुट भएको छ, यो सबै अन्त्य गर्न कांग्रेसको जित आवश्यक छ ।’


अर्को प्रसंगमा सभापति देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद कालापानी मुद्दामा आएर लम्पसारवादमा परिणत भएको पनि आरोप लगाए । उनले कालापानीलाई नेपाल र भारतको सिमाना मानेको र पानी पनि आधा आधा बढ्ने सहमति भएको उल्लेख गर्दै भने,‘भारतले अहिलेसम्म सुस्त, कालापानीलाई विवादस्पद भुमि मान्दै आएको थियो, उसले आफ्नो भुमि भनेको थिएन । तर, अहिले त नक्सा नै बनायो, यो सरकारले केही गर्न सकेको छैन । ओलीको राष्ट्रवाद लम्पसारवाद भइसक्यो ।’


देउवाले कालापानी, सुस्ता लगायत भुमि नेपालकै भएको दाबी गर्दै यो बिषयमा आफु निरन्तर बोल्ने पनि बताए । साथै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शाही आयोग जस्तो बनाउन खोजेर यो सरकारले ब्ल्याकमेल गरिरहेको बताए । उनले भने,‘अख्तियारलाई शाही आयोग जस्तो बनाएर मुद्दा हालिदिन्छु भन्दै ब्ल्याकमेल गरिरहेको छ । यो सबै कुराको विरोध गर्नुपर्छ ।’

कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्रीलाई सच्याउन अवसर मंसिर १४ को उपनिर्वाचन भएकोले कांग्रेसलाई जिताउन आग्रह गरे । ‘प्रधानमन्त्री ओली जीले २ बर्ष जे जे गर्छु भन्नु भएको थियो, अब खै के गर्यौं भनेर प्रश्न सोध्ने बेला भएको छ । उहाँ जुन शैलीमा हिड्न खोजिरहनु भएको छ, त्यो शैली वदल्न आवश्यक छ,’विशेष वक्ता नेता थापाले भने,‘यो उपनिर्वाचन प्रधानमन्त्रीलाई सच्याउने अवसर हो, प्रधानमन्त्री र सरकारलाई मैले गल्ति गर्दैछु भनेर सोच्न बाध्य पार्ने मौका हो ।’



नेता थापाले आगामी २ बर्षको लागि धरानमा कांग्रेस नेतृत्वको स्वाद लिन मतदाताहरुलाई आग्रह गरे । उनले वाग्लुङमा नेकपाले संघीयता नै खारेज गछौं भन्ने राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेर जनआन्दोलनको उपलब्धी संघीयता खारेज गर्ने दिशामा अघि बढेको आरोप पनि लगाए । उनले भने,‘७ प्रदेश खारेज हुन्छ, संघीयता टिक्दैन भन्ने जनमोर्चासँग घाँटी जोडेको छ । यो सरकार, नेकपा संघीयता खारेज गर्ने पक्षमा छ ।’

कांग्रेस केन्द्रीय सदस्य तथा धरानको उपनिर्वाचनका कमाण्डर महेश आचार्यले प्रधानमन्त्रीको पछिल्लो कदमहरुले देशलाई ठुलो दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यसलाई रोक्नको लागि पनि यो उपनिर्वाचनको परिणाम महत्वपुर्ण हुने बताए । उनले पनि नेपाली कांग्रेसलाई जिताउन आग्रह गर्दै सरकारलाई आफ्नो गल्ती महसुस गराउन मतदातासँग आह्वान गरे । ‘धरानको विकास र समृद्धि विगत २८ बर्षदेखि जहीको त्यही छ, दुई तिहाईको सरकार कुरा मात्र गर्ने काम नगर्ने भइरहेको छ,’उनले भने,‘यो उपनिर्वाचनले यो सरकारलाई झक्झकाउनु पर्छ । जनता जाग्नुपर्छ, जनता जागेपछि जस्तै किल्ला पनि ढल्छ ।’ सभामा नेताहरु विमलेन्द्र निधी, डा.रामशरण महत, भिष्मराज आङ्देङ्बे, नेतृ डिला संग्रौलालगायतले पनि बोलेका थिए ।
................................
 तिलक राईको प्रतिवद्धता,'नगरपालिकाभित्रको भ्रष्टचार पर्दाफास गर्छु' 



मंसिर १४ गतेको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार तिलक राईले आफु मेयरमा निवार्चित भएपछि धरान उपमहानगरपालिकाभित्रको भ्रष्टचारको पर्दाफास गर्ने प्रतिवद्धता जनाएका छन् । साथै,उनले मेयरको हैसियतमा आफुले पाउने कुनै पनि तलब, भत्ता तथा सेवा सुविधा नलिने पनि उद्घोष गरेका छन् ।

आज मंगलबार धरानको भानुचोकमा आयोजित विशाल आमसभामा बोल्दै उम्मेदवार राईले यस्तो प्रतिवद्धता र उद्घोष गरेका हुन् । उनले वर्तमान नेकपा नेतृत्वको जनप्रतिनिधि र केही भ्रष्ट कर्मचारीहरु मिलेर उपमहानगरमा व्यापक भ्रष्टचार भइरहेको र तिलक राईले जितेर आएपछि पर्दाफास हुने डरले अनेक हत्कण्डा मच्चाइरहेको पनि बताए । आफु निर्वाचित भएर गएपछि विगतको सबै भ्रष्ट कर्तुतहरुको पर्दाफास गरेरै छाड्ने उम्मेदवार राईको भनाई थियो ।



‘नगरपालिकामा बेथिती र विकृतिको चाङ छ । जनताले सेवा सुविधा पाएका छैनन्, विकास र समृद्धिको अनुभूति गर्न पाएको छैन, त्यसैले यसपाली धरानको भविष्य, विकास र समृद्धिको लागि परिवर्तनको पक्षमा कांग्रेसलाई भोट दिन आह्वान गर्न चाहन्छु,’उम्मेदवार राईले भने,‘नगरपालिकाभित्र कम्युनिष्ट नेता र केही भ्रष्ट कर्मचारीहरुको हालीमुहाली छ । बन्दकोठाभित्र ठुलो भ्रष्टचार छ, नीतिगतरुपमा भएको ती भ्रष्टचारको म गएपछि पर्दाफास गर्नेछु । तिलक राईले जितेर आउने निश्चित देखेर अहिले नगरपालिकाका भ्रष्ट कर्मचारीहरुको ओठतालु सुकेको उनले बताए । तर, इमान्दार कर्मचारीहरु भने आफुलाई स्वागत गर्न ब्यग्र प्रतिक्षामा बसिरहेको पनि उनले बताए ।

उम्मेदवार राईले धरानको खानेपानी, बसपार्क, एयरपोर्ट जस्ता महत्वपुर्ण आयोजनाहरुलाई नेकपा नेतृत्वको जनप्रतिनिधिले पुरा गर्नुको साटो तहसनहस परेको बताए । जनता खानेपानी नपाएर काकाकुल अवस्थामा हुदा खानेपानी आयोजनामा भने ५० औं करोड भ्रष्टचार भएको उनले दाबी गरे । ‘त्यो आयोजनामा व्यापक भ्रष्टचार भएको छ, त्यसको हिसाकिताब सार्वजनिक गर्न भनेर लिखितरुपमा माग गर्यौं, तर  सार्वजनिक गरेनन् । भोली बुधबार यही हुने आमसभामा कम्युनिष्ट साथीहरुले खर्चको हिसाब देखाओस्, नत्र १४ गते पछि मेयरको कुर्सीमा बसेर तिलक राई आफैले त्यो भ्रष्टचारको पर्दाफास गर्नेछ,’उनले भने ।


अढाई बर्षमा जनताले विकासको अलिकति पनि अनुभूति गर्न नपाए तर चुनाव लागेपछि केही दिनयता पत्रपत्रिकाहरुमा नेकपा नेतृत्वको उपमहानगरको विकासे काम पढ्न पाइरहेको भन्दै उनले कटाक्ष पनि गरे । ‘दुई अढाई बर्षमा विकास के भयो, अनुभूति भएन । तर अहिले अखबरको पानामा विकास पढ्न पाइदैछ, के कागजमा विकास गर्न हामीले पठाएको हो ?’उनले भने,‘धराने जनताले मंसिर १४ मा यसको जवाफ दिनेछ ।’ अवैज्ञानिक र अव्यवहारिक करले जनताको ढाड सेकेको भन्दै उम्मेदवार राईले आफुले जिते पछि कर घटाउने पनि उद्घोष गरे । साथै उनले आफुले मेयरमा जितेपछि तलब, भत्ता नलिने उद्घोष गर्दै सेवा सुविधा जनताकै लागि खर्चने घोषणा गरे । आमसभा अघि धरान १२ चतरालाइनबाट वृहत र्याली निस्केको थियो ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे