धरानमा नेकपाको विशाल जनसभामा प्रचण्डले भने,'कांग्रेस म्युजियममा राख्ने बस्तु नहोस्'(फोटोफिचर)


धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले अझै पनि जनतासामु झुट बोलिरहन नछाडे म्युजियममा राखिने बस्तु झै लोप भएर जाने चेतावानी दिएका छन् ।

बुधबार धरानको भानुचोकमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कांग्रेस नसच्चिए इतिहासमा त्यो पार्टी पनि थियो रे भन्ने अवस्था आउने कडा टिप्पणी गरेका हुन् । पछिल्लो समय नेपाली भुमि मिचिएको विवादबारे कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गरेको टिप्पणीबारे प्रसंग उठाउदै दाहालले सर्वदलीय बैठकमा धन्यवाद दिएर पोखरामा भने उल्टै सरकारलाई गाली गरेको बताए । ‘कांग्रेसले झुट पनि कति बोल्न सकेको ? जति झुट बोल्छ, उति हाम्रो भोट बढ्छ,’अध्यक्ष दाहालले भने,‘यसरी नै झुट बोलिरहने हो भने कांग्रेस इतिहासको वस्तु हुन बेर छैन । नेपाली कांग्रेस पार्टी थियो रे भन्ने अवस्था आउन बेर छैन ।’


अध्यक्ष दाहालले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, शान्ति प्रक्रिया, संविधानसभा र संविधान निर्माणको सहयात्री दल भएकोले कांग्रेसको हालत त्यस्तो होस् भन्ने आफुले नचाहेको पनि बताए । ‘हामी चाहन्छौ, कांग्रेस रचनात्मक प्रतिपक्ष होस्, अस्त्वि नामेट नहोस् तर भीरबाट झर्ने गोरुलाई काँध थाम्न सकिदैन । झुटो प्रचार गर्न छोडेर कांग्रेस जनताको मन जित्नतिर लागोस्, मेरो चिन्ता गर्न छोडेर आफ्नो चिन्ता गर्न थालोस्,’उनले भने ।

नेपालमा समावेशी, समानुपातिक निर्वाचन कम्युनिष्ट पार्टीबाट मात्र सम्भव भएको भन्दै उनले राष्ट्रपति, सभामुख र प्रधानन्यायाधिश महिला भइसकेको बताए । अब जनजाति प्रधानमन्त्री, दलित प्रधानमन्त्री, महिला प्रधानमन्त्री पनि कम्युनिष्ट पार्टीकै नेतृत्व र सिफारिशमा हुने अध्यक्ष दाहालले बताए । ‘अहिलेसम्म कम्युनिष्ट प्रधानमन्त्री मेरै प्रस्तावमा हुनुभएको छ, अब समावेशी मान्यता वमोजिम जनजाति प्रधानमन्त्री, मधेशी प्रधानमन्त्री, दलित प्रधानमन्त्री पनि बनाएरै छोड्छौं । केही समयभित्र समावेशिताको मान्यता वमोजिम सरकारको नेतृत्व हुन्छ,’दाहालले भने ।


अर्को प्रंसगमा अध्यक्ष दाहालले कम्युनिष्ट एकता हुन नदिन कांग्रेसले आफुलाई ५ बर्ष प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको पनि खुलासा गरे । तर, आफुले मुलुकको आवश्यकता र राष्ट्रिय एकताको आवश्यकता ठानेर नै पार्टी एकता गरेको खुलाए । ‘५ बर्ष प्रधानमन्त्री दिन्छौं, पार्टी एकता नगर्नुस् भनेर कांग्रेसले भनेकै हो । म आज कुरा खोल्छु । त्यसको लागि धन्यवाद पनि दिन्छु तर कांग्रेसको नियतप्रति आक्रोश व्यक्त गर्न चाहन्छु,’उनले भने,‘कम्युनिष्ट एक नहोस्, राष्ट्रियता एकता नहोस् भनेर त्यस्तो प्रस्ताव गरेको हो, नियतमा खोट थियो ।’

सोही कार्यक्रममा नेकपा स्थायी कमिटि सदस्य तथा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले पनि मुलुकमा धर्म निरपेक्षता, समावेशिता, संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गर्ने काम कम्युनिष्ट पार्टीबाट मात्र सम्भव भएको बताए । जनतालाई सर्वभौम, सवल बनाउने संविधान कम्युनिष्टकै पहलमा भएको भन्दै उनले ४ अंगमध्ये ३ अंगमा महिला प्रमुख भइसकेको र स्थानीय तहमा पनि ४० प्रतिशत महिला नेतृत्व सहभागिता भएको बताए ।

कांग्रेसले भ्रष्टचार बढेको भनेर गलत प्रचार गरिरहेको भन्दै उनले भ्रष्टचार बढेको नभै सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारीलाई कारबाही हुन चै शुरु भएको बताए । ‘नेकपाले भ्रष्टचारलाई सहदैन, नेकपा नेतृत्वको सरकारले पनि भ्रष्टचारीलाई छोड्दैन, सरकारले कारबाही हुन्छ भन्यो र अहिले धमाधम भ्रष्टचारी कारबाही हुन थालेको छ,’नेता नेम्बाङले भने,‘तर हाम्रा साथीहरु भ्रष्टचार बढ्यो भन्दैछन् । बढेको होइन, कारबाही चै शुरु भएको हो ।’

अर्का स्थायी कमिटी सदस्य तथा १ नं प्रदेश इञ्चार्ज भीम आचार्यले २०४६ सालको परिर्वतन पछि पटक पटक बहुमतको सरकार बनाए पनि मुलुकको विकास र समृद्धिको खाका कोर्न नसकेको बताए । उल्टै पञ्चायतकालमा स्थापना भएको उद्योग, कलकारखानाहरुलाई निजीकरणको नाममा धरासायी बनाएर जग्गा दलाल, माफियाको कब्जामा पुर्याएको बताए । अहिले नेकपा नेतृत्वको सरकारले विजुली, सडक, खानेपानी, सिचाईलगायत थुप्रै आयोजनाहरु शुरुवात गरेको पनि बताए । ‘धेरै पटक कांग्रेसले सरकार चलायो, कुनै आयोजना शुरु हुन सकेन । अहिले नेकपाको सरकारले धमाधम विकासका आयोजनाहरु शुरुवात गर्दैछ,’उनले भने ।


वक्ता नेताहरुले धरानको उपनिर्वाचनमा नेकपाका उम्मेदवार प्रकाश राईको जित भइसकेको उद्घोष गर्दै औपचरिक घोषणा हुन मात्र बाँकी रहेको पनि बताए । सभालाई प्रतिनिधिसभा सदस्य सांसद जयकुमार राई, प्रदेश सांसद उमिता बराइली, जिल्ला सचिव तथा निर्वाचन परिचालन मुल समिति संयोजक रमेश बस्नेत, जिल्ला सदस्य पदम इस्वोलगायतले पनि सम्बोधन गरेका थिए ।

म तारा सुब्बाकै निरन्तरता हुँः प्रकाश राई

धरानको मेयरमा नेकपाबाट उम्मेदवार रहेका प्रकाश राईले आफु मेयरमा निवार्चित भएपछि धरानबासी जनताको शिर निहुरिने कुनै पनि काम नगर्ने प्रतिवद्धता जनाएका छन् । चुनावी आमसभालाई सम्बोधन गर्दै उम्मेदवार राईले आफु पुर्णरुपमा धरानको विकास र जनताको सेवामा समर्पित हुने पनि उद्घोष गरे ।



धराने जनताले २०७४ को स्थानीयतह निर्वाचनबाट नेकपालाई ५ बर्षको म्याण्डेट दिएकोले अहिले आफ्नो उम्मेदवारी स्वर्गीय मेयर तारा सुब्बाकै निरन्तरता भएको पनि उम्मेदवार राईले बताए । स्वर्गीय मेयर सुब्बाकै पालामा पार्टीको घोषणापत्र अनुसार धरानको सुशासन, विकास र समृद्धिको योजना अघि बढेकोले आफु विजयी भएपछि त्यसलाई निरन्तरता दिदै पुरा पनि गर्ने प्रतिवद्धता जनाए । ‘२०७४ सालमा धरानका जनताले नेकपालाई ५ बर्षको म्याण्डेट दिएका हुन्, तर एक बर्ष कार्यकाल नबित्दै मेयर तारा सुब्बाको दुःखद निधन हुनपुग्यो,’उम्मेदवार राईले भने,‘म तारा सुब्बाकै निरन्तरता हुँ, उहाँले शुरु गर्नुभएको अधुरो काम र योजनालाई पुरा गर्नेछुँ । धरानका जनता र पार्टीको शिर निहुरिने कुनै पनि काम गर्ने छैन ।’



उम्मेदवार राईले धरान सबै भाषा, धर्म, जाति, सँस्कृतिको सहर भएको स्वमित्व ग्रहण गराउने साथै लक्षित वर्गलाई पनि समान अधिकारको प्रत्याभुति दिलाउने उनले बताए । संघ र प्रदेशमा पनि नेकपा नेतृत्वकै सरकार भएकोले विकासका ठुला योजनाहरु ल्याउन सहज हुने उनको भनाई थियो । धरानमा खेलग्राम निर्माण गर्ने, सर्दु र सेउती करिडोर निर्माण गर्ने, स्मार्ट बसपार्क बन्ने योजनालाई आफुले पुर्णता दिने बताए । यस्तै, अव्यवस्थित सुकुम्बासीहरुलाई व्यवस्थापन गरेर धरानलाई सुकुम्बासीरहित सहर बनाउने पनि उनले बताए । खानेपानी आयोजनालाई पुर्णता दिने साथै करको बिषयमा विज्ञहरुसँग पुनः राय, सुझाव लिने पनि उनले बताए ।






















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे