धरानको उपनिर्वाचन: धरानमा किन सत्ता पल्टियो ?


धरान: धरानको मेयरको लागि मंसिर १४ को उपनिर्वाचनको मतगणना शुरु भएदेखि नै सत्तासिन पार्टी नेकपाको लागि सुखद भएन ।

नेकपाले वडा नं ७ को अध्यक्ष त जोगायो, तर प्रमुख(मेयर) पदमा २ हजार ७ सय ९५ मतान्तरले विरासत गुमाउन पर्यो । नेकपाको यो हारसँगै अब धरान लालकिल्ला पनि रहेन । यहाँ पञ्चायतकाल र २०४६ सालको परिवर्तन पछिको हरेक चुनावमा कम्युनिष्टले जित्दै आएको थियो । कांग्रेसले पहिलो पटक धरानमा विजयीको झण्डा फहराउन सकेको हो । अघिल्लो पटकको स्थानीयतह निर्वाचनमा पराजित कांग्रेसका उम्मेदवार तिलक राईले दोस्रो पटकमा जित हासिल गरे ।

अघिल्लो स्थानीयतह निर्वाचन २०७४ मा तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएको थिएन । त्यसबेला एमाले एक्लैले मेयर, उपमेयरसहित १४ वडा जितेको थियो भने माओवादीले एउटा वडा जितेको थियो । अघिल्लो चुनावमा बहुमतले जितेर पकड बनाएको वडामा यसपाली नेकपाको जनमत कमजोर देखिएको छ ।
अघिल्लो चुनावमा नेकपाले जितेको वडाहरु १९, १६, १३, १२, ११, १०, ९, ८, ७ र ३ वडामा कांग्रेसले अग्रता लिएको थियो भने कम्युनिष्टको निर्णायक भोट भएको वडा नं १७ मा मात्र ४० र १५ मा २ सय ६८ मत मात्र नेकपाले बढी ल्यायो । दुई ठुला कम्युनिष्ट पार्टी एकीकरण भएपछिको उपनिर्वाचनको परिणाम नेकपाको लागि अनेपेक्षित थियो । अघिल्लो चुनावमा कांग्रेसले जितेको वडा नं ५ मा मात्र यसपाली नेकपाले लिड गर्यो ।



उपनिर्वाचन अघि नेपाली कांग्रेसले यसपटक ‘परिवर्तनको पक्षमा भोट’ भन्ने नारा प्रचारमा ल्याएको थियो । मतपरिणामले पनि धरानका जनताले परिवर्तनको पक्षमा अभिमत प्रकट गरेको देखिन्छ । तर, महेन्द्र बहुमुखी क्याम्पस धरानका राजनीतिकशास्त्रका सहप्रध्यापक डा.अमृतकुमार श्रेष्ठ भने धरानका जनताले परिवर्तन रोजेको नभै सत्तामा रहेका जनप्रतिनिधिहरुसँगको असन्तुष्टी र आक्रोशलाई आफ्नो मतमार्फत प्रकट गरेको बताउँछन् । ‘जनताले कांग्रेसको सरकार पनि देखेकै हुन् । त्यसैले यो मतपरिणाम सत्तामा बसेका जनप्रतिनिधिसँगको असन्तुष्टी र आक्रोशलाई जनताले मतमार्फत प्रकट गरेका हुन्,’श्रेष्ठले भने,‘यसले सत्ता पक्षप्रति जनता असन्तुष्ट रहेछन् भन्ने देखाउछ ।’

सहप्रध्यापक श्रेष्ठले भनेजस्तै धरान उपमहानगर झण्डै डेढ बर्ष नेतृत्व(मेयर)विहिन अवस्थामा रहदा धेरै आलोचनाको शिकार हुनु परेको थियो । अस्वभाविक करवृद्धि, जनप्रतिनिधिको घुमफिर मोह, अपारदर्शीता, निवार्चित भएपछि शुरु भएको नगर गौरवको आयोजनाहरु अलपत्र हुनु, जनतासँग राम्रो बोलीव्यवहार नगर्नुलगायतले जनप्रतिनिधि आलोचित थिए । जनप्रतिनिधिहरु कतिसम्म आलोचित थिए भने नेकपाको चुनावी घरदैलो कार्यक्रममा कार्यवाहक मेयर, वडाअध्यक्षहरुलाई सहभागी नगराउन दबाब परेको थियो ।
तर, धरानमा जनप्रतिनिधिप्रतिको वितृष्णा र असन्तुष्टी मात्र नेकपाको हारको कारण भने होइन ।


पार्टी एकीकरण प्रक्रिया ढिलाई हुँदा झण्डै २ बर्षसम्म नेकपा कमिटिविहिन अवस्थामा रहेको थियो । त्यसबेला नेकपाको पार्टी गतिविधिहरु लगभग शुन्य अवस्थामा रह्यो भने त्यही समयमा नेपाली कांग्रेसले देशव्यापी जागरण अभियान शुरु गरेर पार्टी, संगठन मजबुद गर्न केन्द्रीत भएको थियो । दुई चरणको जागरण अभियान गरेको कांग्रेसले धरानको उपनिर्वाचनलाई कति महत्व दिएको थियो भने निर्वाचनअघि केन्द्रीय तथा शीर्षस्थ नेताहरु दिनहुँ धरान आएका थिए । केन्द्रीय नेता महेश आचार्य जागरण अभियानको बेलादेखि नै धरानमा थिए । केन्द्रीय नेताहरुको उपस्थितिले गुट, उपगुटमा विभाजित कांग्रेसका स्थानीय नेताहरुमा एकतावद्ध बनायो ।
कांग्रेस एकताको भावनाले वलियो हुँदै गर्दा नेकपा भने भावनात्मकरुपमा एकीकरण हुनै सकेको थिएन ।

पुर्वएमाले र पुर्वमाओवादी खेमा मात्र होइन, उम्मेदवार चयन प्रक्रियामा पुर्वएमालेभित्र माधव नेपाल गुटबाट ओली गुटलाई निषेध गर्ने कार्यशैलीले पनि नेकपाभित्रको असन्तुष्टीलाई छताछुल्ल बनाएको थियो । नेकपा पार्टीको आन्तरिक विवादमा रुमल्लिरहदा कांग्रेस भने सर्वसम्मत उम्मेदवार चयन गरेर जनताको घरदैलोमा पुगिसकेको थियो । कम्युनिष्टको भोट बैंक मानिएको सुकुम्बासी बस्ती र न्युट्रल मतदातालाई आकषर्ण गर्न कांग्रेसका केन्द्रदेखि स्थानीय नेता, कार्यकर्ताहरुले यसपाली अत्यन्तै मेहनत गरे । त्यसको ठिक विपरीत नेकपा भने २०७४ सालको चुनावको नतिजा हिसाब गर्दै कम्तीमा ८ देखि १० हजार मतान्तरले जित्ने आत्मरतिमा रमाइरहे ।


नेकपाको हारमा केन्द्रीय सत्ता सहयात्री दल समाजवादी पार्टीको भुमिका पनि उल्लेखनीय छ । कांग्रेससँग घोषितरुपमा चुनावी तालमेल नगरेपनि समाजवादीको भोट कांग्रेसलाई गएको देखिन्छ । समाजवादीले धरानमा आफ्नो जनमत कति हो भन्ने थाह पाउन एक्लै उम्मेदवारी दिएको थियो । धरानमा समाजवादीको भोट कम्तीमा ४ हजार भएको अनुमान थियो । तर, मतपरिणाम अनुसार समाजवादीले मात्र ७ सय ५५ मत पाएको छ । समाजवादी भन्दा बढी मत कमजोर संगठन भएको संघीय लिम्बुवान मञ्चले १ हजार १ सय ३१ मत ल्यायो । कांग्रेसले खम्बुवान पार्टीसँग त घोषितरुपमा नै सहकार्य गरेको थियो । नेकपाका नेताहरुले यस्ता साना दल र समाजवादी पार्टीसँग कांग्रेसको गोप्य तालमेल हुनेतर्फ ध्यानै पुर्याउन सकेनन् ।

नेकपा जिल्ला कमिटि सचिव तथा उपनिर्वाचन परिचालन मुल समितिका संयोजक रमेश बस्नेत पार्टी एकीकरण प्रक्रिया ढिला हुँदा २ बर्षसम्म तल्लो तहमा कमिटिविहिन अवस्था हुनुले पनि चुनावी परिणाममा असर पुगेको स्वीकार गर्छन् । ‘२ बर्षसम्म पार्टी, संगठनमा भ्याकुम थियो, त्यसबेला कांग्रेसले खेल्ने अवसर पायो । हामी डेढ महिना अघि मात्र अभियानमा जुट्यौं,’उनले भने,‘चुनावी परिणामको समिक्षा गछौं, हारको कारण र कमीकमजोरीहरु खोतल्छौं र सच्चिएर अघि बढ्छौ ।’

नेपाल जस्तो तेस्रो मुलुकमा जनताको चाहना, आकांक्षाहरु अत्यधिक हुने र राज्यले चाडै पुरा गर्न नसक्ने हुँदा जनताको मत विपक्षतर्फ ढल्कने गरेको नेता बस्नेत बताउँछन् । ‘तेस्रो मुलुकमा राज्यप्रति अत्यधिक जनअपेक्षा हुन्छ, तर पुरा गर्न नसक्दा विपक्षीले पो गर्छ कि भन्ने भावना जाग्छ, र जनमत त्यसैअनुसार जान्छ,’उनले भने,‘अहिले धरानको परिणामले पनि त्यही देखाउछ ।’
.......................

                                            धरानमा कांग्रेसलाई ऐतिहासिक जित



लालकिल्ला भनिने धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका तिलक राईले ऐतिहासिक जित हासिल गरेको छ । उनले नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराउदै ऐतिहासिक जित दर्ता गराएका हुन् ।

पञ्चायत र २०४६ सालको परिवर्तन पछिका सबै निर्वाचनमा हार व्यवहोरेको कांग्रेसले यसपाली उपनिर्वाचनमा भने लालकिल्ला तोड्न सफल भयो । धरानमा नेकपाले वडा नं ७ को अध्यक्ष पनि गुमाएको छ । कांग्रेसबाट विजयी राईले २६ हजार ७ सय ९ मत पाए भने उनका निकटतम प्रतिद्धन्दी नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत पाए । मंसिर १४ को निर्वाचनमा कुल ५४ हजार ८ सय ४८ मत खसेको थियो । धरानमा ९२ हजार ८ सय ५३ मतदाता थिए ।

वडा नं ७ को अध्यक्षमा भने नेकपाका जीवनराज सुवेदी विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार सुवर्णमोहन पलिखेलाई मात्र १ मतले हराए । वडाअध्यक्षमा विजयी भएका सुवेदीले ६ सय २२ मत पाए भने उनका प्रत्यासी उम्मेदवार पलिखेले ६ सय २१ मत पाए । विजयी दुवै उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले सपथ ग्रहण गराएका छन् ।

मेयरमा विजयी तिलक राई अघिल्लो स्थानीयतह निर्वाचन २०७४ मा पनि उम्मेदवार थिए । त्यसबेला उनी तत्कालिन एमालेका उम्मेदवार तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतले हारेका थिए । त्यसबेला सुब्बाले २० हजार ९ सय ७५ मत पाएका थिए भने तिलक राईले १६ हजार १ सय २ मत पाएका थिए ।
................................................

                              सबैको मतले जितेको हो: तिलक राई


धरानको मेयर पदमा विजयी तिलक राईले धरानका जनताले मत दिएर आफुलाई जिताएको भन्दै सबैसँग मिलेर काम गर्ने प्रतिक्रिया दिएका छन् । मेयरमा विजयी भएपछि पत्रकारहरुसँग प्रतिक्रिया दिदै स्थानीयतहमा कोही पनि प्रतिपक्ष नहुने भन्दै सबैले मिलेर नै धरानको विकास र समृद्धिमा काम गर्ने बताए । उनले भने,‘मलाई धरानका जनताले जिताउनु भएको हो, यो जनताको जित हो । मैले कांग्रेसको मतले मात्र जितेको होइन ।’

उनले जनताको अभिलाषालाई सबैले मिलेर पुरा गर्ने बताए । धरानमा भएको विकृति, विसंगति रोक्ने र पारदर्शी भएर काम गर्ने बताए । ‘म आफु भ्रष्टचार गर्दिन,अरुलाई पनि गर्न दिन्न । शुन्यसहनसिलतामा काम गर्छु । विगतको भ्रष्टचारमा तुरुन्त एक्सनमा जान्छु, भएको कमीकमजोरीहरुलाई सुधार्छु,’उनले भने । उनले मेयरको तलब, भत्ता आफुले उपभोग नगर्ने र सामाजिक काममा खर्चिने प्रतिवद्धता पुनः दोहोर्याए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे