वीपी प्रतिष्ठान चेककाण्ड: एमबिबिएस विद्यार्थी र बैंकका कर्मचारी पक्राउ


 धरान,मंसिर २२: विना आधार र टिप्पणी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाताबाट चेकमार्फत ४ लाख ८० हजार रकम झिकिएको बिषयमा प्रहरीले प्रतिष्ठानकै विद्यार्थी र बैंकका कर्मचारी पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानले किर्ते गरेर चेक साटेको अभियोगमा प्रतिष्ठानकै एमबिबिएस अध्ययनरत दुई जना विद्यार्थी पक्राउ गरेको हो भने सिरहाको मिचैयास्थित सनराइज बैंकको शाखाका दुई कर्मचारी पनि पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रतिष्ठानको चेक साटेको अभियोगमा एमबिबिएस अध्ययनरत प्रभात कापडी र विश्वेश झा पक्राउ परेका छन् । यस्तै, सनराइज बैंकको मिचैया शाखाका कर्मचारी अजयकुमार कर्ण र देवराज तिम्ल्सेना पक्राउ परेका छन् । प्रतिष्ठानकै डा.रोशन यादव भने फरार छन् ।

डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार घटनामा हालसम्म प्रतिष्ठानमै एमबिबिएस अध्ययनरत ३ जना विद्यार्थी मुख्य दोषी देखिएका छन् । उनीहरुले लेखा शाखाको ड्रबाट करिब ६ महिनाअघि चेक चोरी गरेको वयान दिएका छन् । चेकमा अस्पताल निर्देशक डा.गौरीशंकर शाह र तत्कालिन लेखा प्रमुख दिनेशराज दाहालको हस्ताक्षर छ । गत भदौ १९ गतेको मितिमा काटिएको यो चेक विद्यार्थीहरुले भदौ २७ गते मिर्चैया शाखाबाट साटेका छन् । अस्पताल निर्देशक डा.साहले आफ्नो हस्ताक्षर किर्ते गरेको भन्दै विभिन्न निकायमा उजुरी दिइसकेका छन् ।

किर्ते अभियोगमा अनुसन्धान गरिरहेको प्रहरीले चेकमा भएको हस्ताक्षर स्टाम्प हानेको जस्तो देखिए पनि भेरिफाइ गरेकोले बैंकका २ कर्मचारी पक्राउ गरेको जनाएको छ । ‘अनुसन्धान गर्दा ३ जना मिलेर गरेको देखियो, पक्राउ परेका विद्यार्थीले चेक चोरेको वयान दिएका छन्,’डिएसपी न्यौपानेले भने,‘चेकमा भएको हस्ताक्षर हेर्दा स्टाम्प हानेको जस्तो देखिन्छ, त्यसलाई पनि भेरिफाइ गरेको छ ।’ चेकमा भएको हस्ताक्षर अस्पताल निर्देशक डा.साह र दाहालको वास्तविक भए नभएको जाँच गर्न प्रहरीले प्रयोगशाला पठाएको छ । साथमा दुवैको आधिकारिक हस्ताक्षर र पटक पटक पुनः हस्तक्षर गर्न लगाएर प्रहरीले प्रयोगशाला पठाएको छ । यो काण्डमा अब प्रहरीलाई प्रयोगशालाको रिपोर्टको प्रतिक्षा छ ।

प्रहरीले प्रतिष्ठानको लेखा शाखाका कर्मचारीहरुसँग पनि यो घटनाको बिषयमा पटक पटक वयान लिइसकेको छ भने सनराइज बैंकको धरानस्थित शाखाका कर्मचारीहरुलाई पनि अनुसन्धानको दायरामा राखेको छ । प्रतिष्ठानले असार ३१ गते नै बैंकको धरानस्थित शाखालाई पत्र पठाएर चेकमा अस्पताल निर्देशक डा.साह र पुर्व लेखा प्रमुख दाहालको हस्ताक्षर नचल्ने जानकारी गराएको थियो । साउन महिनादेखि चेकमा कार्यवाहक उपकुलपति डा.गुरु खनाल र लेखा प्रमुख रुपा सिंघाचीको हस्ताक्षर चल्नुपर्ने थियो । तर, बैंकको सिस्टममा यो कुरा अपडेट नगर्दा भदौ २७ मा चेक साटिएको भन्दै प्रहरीले सनराइज बैंकको धरान शाखाका केही कर्मचारीमाथि पनि छानबिन गरिरहेको छ । ‘ल्याबबाट के रिपोर्ट आउछ, प्रतिक्षामा छौं,’डिएसपी न्यौपानेले भने । उनका अनुसार विद्यार्थीहरुको कोठाबाट हस्ताक्षर भएको स्टाम्प वरामद भइसकेको छ ।


प्रतिष्ठानको चेक सुम्सेन थापाको नाममा साटिएको थियो । ती व्यक्ति काठमाण्डौंमा फिजियोथेरापिष्ट भएको खुलेको छ । विद्यार्थीहरुले उनको नागरिकताको फोटोकपी पेश गरेर चेक साटेका थिए । थापाले पनि आफु वीपी कहिल्यै नआएको र चेक साटिएको बारेमा आफुलाई थाह नभएको प्रहरीमा जानकारी दिइसकेका छन् । विद्यार्थीहरुले चेक चोरी गरेको वयान दिए पनि लेखा शाखाबाट सजिलै चेक चोरी गर्न सम्भव नहुने प्रतिष्ठानकै एक कर्मचारी बताउँछन् । ‘चेक जस्तो कुरा दराज वा ड्रमा सुरक्षित राखिएको हुन्छ, विद्यार्थीले सजिलै कसरी निकाल्न सक्छ ?’ती कर्मचारी भन्छन्,‘पहिला पनि यस्तो घटना भएको हो, मिलेमतो विना त सम्भवै हुन्न ।’ प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा. गुरु खनालले यो बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताउँछन् । उनले प्रतिष्ठानले आन्तरिक छानबिन पनि गरिरहेको बताए । ‘प्रहरीले नियम कानुनअनुसार कार्वाही गरिरहेकै छ, हामीले पनि आन्तरिकरुपमा छानबिन गरिरहेका छौं,’उनले भने ।

प्रतिष्ठानबाट विना आधार र टिप्पणी अनधिकृत व्यक्तिको नाममा चेक साटिएको यो पहिलो घटना भने होइन । यसअघि गएको बैशाखमा पनि तत्कालिन रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र लेखा प्रमुख रुपा सिंघाचीको हस्ताक्षर भएको ५ लाख ५० हजारको चेक काटिएको थियो । पर्वत जिल्ला घर भएका जीवन पौडेललाई किन त्यो रकम भुक्तानी दिइयो भन्ने केही खुल्न सकेको थिएन । यो बिषय आन्तरिक छानबिन भएपनि यथार्थ अहिलेसम्म बाहिर आएको छैन । केही समयपछि भने प्रतिष्ठानको खातामा ५ लाख ५० हजार रहस्यमय तरिकाले जम्मा भएको थियो । उक्त घटनाको सत्यतथ्य बाहिर नआउदै पुनः प्रतिष्ठानमा अर्को चेक काण्ड भएको हो ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे