दोस्रो टेष्ट ड्रिलमा पनि पानीको स्रोत भेटियो

धरान । एसियाली विकास बैंक(एडिबी)को ऋण तथा अनुदान सहयोगमा धरानमा शुरु भएको खानेपानी आयोजनाको लागि अर्को(दोस्रो) स्थानमा भएको टेष्ट ड्रिलिङमा पनि पर्याप्त पानीको स्रोत भेटिएको छ ।
धरानदेखि करिब ६ किलोमिटर दक्षिणमा अवस्थित कुमारखत सामुदायिक वनमा गरिएको टेष्ट ड्रिलिङमा यसअघि पहिलो टेष्ट ड्रिलिङमा भन्दा बढी पानीको स्रोत भेटिएको आयोजनाले जनाएको छ । यसअघि, गत फागुन दोस्रो साता पनि धरान १७, कुम्भीआहालमा टेष्ट ड्रिलिङ गर्दा पानीको स्रोत फेला परेको थियो । दुवै स्थानमा भएको टेष्ट ड्रिलले धरानको दक्षिणी क्षेत्रमा पानीको भुमिगत स्रोत पर्याप्त भएको पुष्टि भएकोले अब उत्पादनको लागि थप प्रक्रिया थालिने आयोजना प्रमुख एवं इञ्जिनियर राजु पोख्रेलले जानकारी दिए ।
‘दुवै ठाउँको टेष्ट ड्रिलिङबाट धरानमा भुमिगत पानीको स्रोत छ भन्ने पुर्णरुपमा पुष्टि भएको छ, अब नयाँ ठाउँमा टेष्ट गर्दैनौं । निर्माणको काम अघि बढाउन प्रक्रिया थाल्छौं’–पोख्रेलले भने । उनका अनुसार आयोजनाको डिजाइन तयार भइसकेकोले असार मसान्तसम्ममा नेपाल सरकार तथा दातृ निकाय एडिबिबाट स्वीकृत गराउने र अर्को आर्थिक बर्षमा ठेक्का प्रक्रियामा गएर आयोजनाको निर्माण कार्य शुरु हुनेछ । ठेक्का प्रक्रियामा गएपछि रिजर्ब वेयर, वेल, बस्टर पम्पलगायतको संरचनाहरु थपिनेछ । यस्तै, पुरानो पाइपलाइन मर्मत सम्भार एवं फेरिनेछ भने नयाँ विस्तार पनि हुनेछ । यस्तै, पानीको शुद्धिकरण गर्न ट्रिटमेन्ट प्लान्ट पनि स्थापना हुनेछ । 
आयोजनाका अनुसार कुमारखत वन क्षेत्रमा प्रारम्भिक चरणमा नै प्रतिसेकेण्ड २० लिटर पानी आएको छ । यो परिणामले मात्रै पनि प्रतिदिन १८ लाख लिटर पानी यहाँबाट उत्पादन हुन्छ । तर, आयोजनाले भने यहाँबाट प्रतिदिन ३० लाख लिटर पानी उत्पादन गर्ने लक्ष्य राखेको छ । यो ठाउँमा टेष्ट ड्रिलको लागि १६४ मिटर तलसम्म खनिएको थियो । त्यसमध्ये पनि जमिनको सतहको ७६ मिटर मुनिदेखि १४६ मिटरसम्म बीचको ३९ मिटर तलबाटमात्रै पानी निकालिएको आयोजना प्रमुख पोख्रेलको भनाई छ । उनका अनुसार ८ इञ्ची पाइप गाडिएको भएपनि हाल ४ इञ्चिी पाइपबाट पानी निस्एिको छ । यहाँको पानी परीक्षण गर्न आयोजनाले काठमाण्डौंस्थित केन्द्रीय प्रयोगशालामा पठाइसकेको छ भने धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा पनि जाँचको लागि नमुना पठाइने प्रमुख पोख्रेलले बताए । पहिलो टेष्ट ड्रिल भएको ठाउँको पानी जाँच पछि पिउन योग्य भएको पुष्टि भइसकेको छ । यसअघि, एडिबीको भुगोलविदको टोलीले साउण्ड टेष्ट गर्दा धरानको भुगोलमा पानी भएको तथ्य फेला परेपनि त्यसलाई पुष्टि गर्नुपर्ने चुनौती थियो ।
धरानको खानेपानी अभावको समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न सन् २०१७ सम्म काम सम्पन्न गर्ने लक्ष्य लिएर आयोजना शुरु भएको हो । खानेपानी योजनासहित शुरु भएको एकीकृत शहरी विकास आयोजनाको लागि एडिबिले २२ मिलियन डलर(करिब सवा २ अर्ब रुपैया) अनुदान तथा ऋण सहयोगमा गरेको छ । खानेपानी संस्थानमार्फत धरानमा खानेपानी वितरण हुदै आएकोमा एकीकृत शहरी विकास कार्यक्रमअन्तगत खानेपानी आयोजना शुरु भएपछि नेपाल सरकारले गत महिना धरान खानेपानी व्यवस्थापन बोर्ड पनि गठन गरिसकेको छ । बोर्ड गठनको प्रस्ताव स्वीकृत भएपछि अब खानेपानी संस्थानले धरानमा गर्दै आएको खानेपानीको आपूर्ति सम्बन्धी सम्पुर्ण काम वार्डमार्फत हुनेछ । संस्थानको सम्पुर्ण दायित्व तथा सम्पत्ति पनि सोही वोर्डको स्वामित्वमा आउनेछ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे