क्षमताभन्दा दोब्बर थुनुवा, अवस्था दयनीय

धरान, असार २९ । डेढ दशकअघि निर्माण भएको इलाका प्रहरी कार्यालय धरानको हिरासत कक्षको क्षमता मात्र ४० जनाको हो । तर, अहिले प्रहरी हिरासतमा विभिन्न घटना तथा अपराधमा संलग्न ९३ जना थुनुवा अभियुक्तहरु छन् ।
प्रहरी कार्यालयभित्र २ वटा हिरासत कक्षमा थुनुवाहरु खचाखच छन् । केही समयअघि महिला हिरासत अलग्गै भएपनि त्यसको क्षमता पनि न्युन छ । हिरासतमा रहेकाहरु कतिजना सामान्य घटनाका अभियुक्तहरु हुन्छन् भने कोही गम्भीर अपराध, लागुऔषध कारोबारी र विभिन्न रोगले संक्रमितहरु हुन्छन् । अभियोग वा घटनाका प्रकृत्ति अनुसार थुनुवाहरुलाई एकै ठाउँमा राख्नुभन्दा अलग अलग राख्न उपयुक्त हुन्छ । थुनुवा रोगी छ भने अन्यलाई संक्रमण हुने जोखिम हुन्छ । तर, आवश्यक भौतिक संरचना एवं पुर्वाधार अभावमा ती सबै थुनुवा एकै कोठामा कोचिएर बस्न बाध्य छन् । ‘इलाका प्रहरी कार्यालयको हिरासतको क्षमता ४० जनाको मात्र हो, तर अहिले ९३ जना थुनुवा छन् । यसले एकदमै समस्या भइरहेको छ,’इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी रामेश्वर पौडेलले भने,‘सबैलाई एकै ठाउँमा राख्दा एउटाको रोग अर्कोलाई सर्न पनि सक्छ । गम्भीर अपराध र सामान्य घटनाका थुनुवालाई पनि एकै ठाउँमा राख्नु उचित हुन्न ।’

प्रहरीका अनुसार हिरासतमा राजनीतिक बन्दीहरु पनि थुनिएका हुन्छन् भने ज्यान मुद्दा, चोरी, कुटपिटजस्ता घटनाका अभियुक्तहरु पनि हुन्छन् । ठुलो अपराध नगरे पनि सडक दुर्घटनामा परेका चालकहरु पनि थुनिएका हुन्छन् । धरानमा अधिकांश लागुऔषध कारोबारी र सेवन गर्ने युवाहरु थुनामा पर्छन् । ती मध्ये कतिपय लागुऔषध प्रयोगकर्ता हेपाटाइटिस सिको संक्रमण भएको हुन्छ । अन्य थुनुवाहरुमा पनि सरुवा रोग हुनसक्छ र श्वासप्रश्वासबाट अन्य निरोगी व्यक्तिमा सर्ने उच्च जोखिम हुन्छ । गर्मीमा थुनुवाहरुको अवस्था दयनीय हुन्छ । ‘कसुरको प्रकृतिको आधारमा वर्गीकरण गरेर राख्न उचित हुन्छ, तर आवश्यक ठाउँ नभएर एकै ठाउँमा राख्न बाध्य छौं,’डिएसपी पौडेलले भने,‘हाम्रो हिरासतको क्षमता पनि धेरै थोरै भयो ।’
डेढ दशकअघिको हिरासत कक्ष साघुरो भएपछि इलाका प्रहरी कार्यालय धरानले नगरबासीहरुसँग मिलेर नयाँ आधुनिक हिरासत कक्ष बनाउन कस्सिएको छ । धरानका पुर्वउपमेयर मिन सुब्बाको संयोजक रहेको १७ सदस्यीय इलाका प्रहरी कार्यालय हिरासत भवन निर्माण समितिसमेत गठन भइसकेको छ । समितिको सहसंयोजकमा सुनसरी उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष पवनकुमार अग्रवाल, सचिवमा प्रहरी नायब उपरीक्षक(डिएसपी), सहसचिवमा उपेन्द्र चाम्लिङ र कोषाध्यक्षमा सुनिता केसी राई रहेका छन् । समितिले इलाका प्रहरी कार्यालय(भवन)को उत्तरपटिको खाली जग्गामा नयाँ हिरासत भवन बनाउन लागेको हो । लागत स्टिमेट र डिजाइनसमेत तयार भइसकेको हिरासत भवन प्रदेश १ कै नमुना हुने निर्माण समितिले जनाएको छ । ‘थुनुवालाई सजाय होइन, सुधार गर्नुपर्छ भन्ने अवधारणामा हिरासत भवन बनाउने डिएसपी सारको प्रस्ताव आयो, त्यसमा छलफल गर्यौं र यहाँ आवश्यक पनि देख्यौं,’सहसचिव चाम्लिङले भने,‘प्रदेशकै नमुना हिरासत भवन बनाउने लक्ष्य राखेका छौं ।’
नयाँ हिरासत २ तलाको अलग्गै भवन बन्ने छ । जसमा थुनुवाको क्षमता १ सय ६० जनाको हुनेछ । माथिल्लो तलामा २ वटा थुनुवा कोठा हुनेछ । त्यहाँको क्षमता १५ देखि २० जनाको हुन्छ । भुईतलामा पुरुषको ३ वटा र महिलाको एउटा हिरासत कोठा हुनेछ । बाथरुम, ट्वाइलेट सुविधा हुने यो हिरासत कोठाहरुमा वर्गीकरण गरेर मात्र थुनुवाहरु राखिनेछन् । हिरासत भवनको अघि बाटो र गार्डेन बन्ने छ । त्यहाँ थुनुवाहरुलाई भेट्न आउनेहरुको लागि प्रतिक्षालय पनि निर्माण गरिनेछ । हिरासत भवनको लागि ४ करोडको हाराहारीमा स्टिमेट भएको डिएसपी पौडेलले जानकारी दिए । ‘यो प्रहरीको लागि होइन, धरानबासीहरुकै सम्पत्ति हो । राम्रो हिरासत भवन बन्यो भने विभिन्न घटना, कसुरमा थुनामा परेका यहीका नागरिकहरुले राम्रो, सुविधाजनकरुपमा बस्न पाउछन्,’डिएसपी पौडेलले भने,‘निर्माणमा सबैको साथ सहयोगको खाँचो छ ।’ भवन निर्माणको लागि हालसम्म धरान उपमहानगरपालिकाको २० वटा वडा कार्यालयले ५० हजारको दरले बजेट विनियोजन गरेको छ भने कुल ३० लाखभन्दा बढी नगद तथा कबोल भइसकेको निर्माण समितिले जनाएको छ । ‘प्रहरी र धराने जनता मिलेर नै बनाउने हो, अबको एक बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौं,’संयोजक सुब्बाले भने ।

Comments

  1. sands casino - Sydney, Australia - SSCCasino
    SSCCasino.com deccasino brings you premium real money casino games from an award-winning game worrione studio! SSCCasino is the place to be, with games like septcasino Mega Joker and

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे