सगरमाथाको चुचुरोमा देउराली

धरान  । करिब दुई दशकअघि(२०५६ तिर) धरानबाट प्रकाशित ब्लाष्ट दैनिकमा काम गर्थिन् देउराली चाम्लिङ । त्यसबेला समाचारको खोजी गर्नु, अन्र्तवार्ता लिनु उनको दैनिकी थियो । केही बर्षपछि राजधानीतिर लागिन् । त्यहाँ उनी फ्रिलान्सर(स्वतन्त्र ) पत्रकारकोरुपमा रहिन् ।
अरुका समाचार लेख्ने उनै देउराली अहिले भने आपैm समाचार बनेर छाइरहेकी छिन् । गएको जेठ ९ गते अर्थात मे २३ मा ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८’ टिमले विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्यो । त्यसयता देउरालीसँगै आरोहण टिम निरन्तर सञ्चारमाध्यममा छाइरहेका छन् । हिमाल चढ्न सजिलो छैन । त्यसमाथि विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्न अदम्य साहस र आँट चाहिन्छ । साहस भएर भएर मात्र पुग्दैन, खर्चको जोहो पनि ठुलै गर्नुपर्छ । ‘हिमाल चढ्दा सजिलो भनेको मर्न मात्र रहेछ, आरोहणको समयलाई अहिले सम्झदा पनि आङ सिरिङ्ग हुन्छ,’उनी भन्छिन्,‘म एक्लैले सम्भव थिएन, हाम्रो टिमको कारण आरोहण सफल भयो । अहिले बधाई, प्रसंसाहरु पाइरहेको छु, यसले खुशी दिइराखेको छ ।’
.....................................................

                                 सानैदेखि सगरमाथा चढ्ने रहर

सगरमाथाको चुचुरोमा पाइला टेक्ने पहिलो नेपाली महिला हुन्, पासाङ ल्हमु शेर्पा । चुचुरोमा पुगेर फर्कदै गर्दा उनको निधन भएको थियो । नेपाली महिलाहरुको निम्ति पासाङ प्रेरणाकी स्रोत हुन् । साहस र हिम्मतकी प्रतिमुर्ति हुन् । पासाङले २०५० साल बैशाख १० मा सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन् । पछिल्लो युवा पुस्ता उनै पासाङको वीरताको गाथा सुनेर हुर्किएका छन् ।
आँटिली देउरालीले पनि सानैदेखि सगरमाथा चढ्ने रहर बोकिन् । उनले सन् २००९ मा नै पृथ्वीको अग्लो ठाउँबाट संसार निकाल्ने प्रयास नगरेको भने होइन । तर, धेरै खर्च लाग्ने भएपछि आफ्नो रहरलाई एउटा कुनामा थन्काइन् । यो बीचमा उनले साहसिक खेलअन्र्तगत पर्ने बञ्जी जम्प, प्याराग्लाइडिङ, र्याफ्टिङ जस्ता सबै अनुभव बटुलिन् । तर, त्यसले चित्त कहाँ बुझ्थ्यो र, उनको लक्ष्य थियो त सगरमाथाको चुचुरोमा पाइला टेक्ने । सन्  २००८ मा समावेशी महिला आरोहण टोलीको सफल आरोहणको खबरले उनलाई झनै छटपटि बढाएको थियो । ‘त्यसबेला म कसरी छुटे भनेर लागिरह्यो । २००९ मा सगरमाथा चढिसक्नुभएको इन्द्र वाहिङ राईलाई भेट्न गए, पसा धेरै लाग्ने भएपछि चुपचाप बसे,’उनले सम्झिइन्,‘पत्रकार महिला सगरमाथा चढ्ने कन्सेप्ट रोषा बस्नेतको हो, हामीले टिम बनायौं, र सफलता पनि पायौं ।’
पत्रकार बस्नेतले सन् २०१६ मा महिला पत्रकार सगरमाथा चढ्ने अवधारणा बनाइन् । शुरुमा संख्या १३ थियो । पछि आरोहण गर्ने बेलासम्म टिममा ५ जना मात्र भए । अरु २ जना व्यक्तिगतरुपमा नै चढे । पत्रकार महिला आरोहण टिममा देउराली, चाम्लिङ, रोषा बस्नेत, प्रियालक्ष्मी कार्की, कल्पना मर्हजन र रोजिता बुद्धाचार्य थिए । अहिलेसम्म सगरमाथाको सफल आरोहण गर्ने ३६ जना नेपाली महिलाहरु मात्र पुगेका छन् । ती मध्ये देउराली र उनको पत्रकार महिला टिम पनि पर्छन् ।
...................................

                              जता जादा पनि नुनको भारी 

पहाडको उकाली ओरालीमा हिड्न त जो कोहीलाई गाह्रो हुन्छ । महिला पत्रकारको टिमले त झन् संसारकै अग्लो हिमाल सगरमाथा चढ्ने अठोट लिएको थियो । कति मानिसहरुले चुचुरोमा पुग्नै नपाई ज्यान गुमाएका छन्, कतिलाई फर्कदा हिउले खाएको छ । त्यसैले ६ हजार मिटरको हिमाल चढिसकेपछि मात्र सगरमाथा आरोहणको अनुमति पाइन्छ ।
सगरमाथा चढ्ने अठोट र टिम बनेपछि उनीहरुले सन् २०१७ जुनदेखि निरन्तर १५ महिना तालिम लिए । ड्रिमर्स डेस्टिनेशन ट्रेक एण्ड एक्सपिडेसन प्रालिले उनीहरुलाई वाल क्लाम्बिङ, रोप एक्सेस, रक क्लाम्बिङ तालिम दियो । तालिमकै क्रममा उनीहरु दैनिक १५ केजीको नुनको भारी बोकेर हिड्थे । अरु थप सामानको हिसाब गर्दा देउरालीको २९ केजी पुग्थ्यो । ‘काँध र खुट्टा वलियो होस् भनेर हामी जता हिड्दा पनि झोलामा त्यो भारी बोकेरै हिड्थ्यौं । घरभित्र काम गर्दा पनि बोकेकै हुन्थ्यौं,’देउरालीले भनिन्,‘स्वयम्भुको सिढी चढ्ने र झर्ने गथ्यांै, प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जादा पनि भारी बोकेरै पुग्यौं ।’
सगरमाथातिर पाइला लम्काउनुअघि पत्रकार महिलाहरुको टिमले २०१७ नोभेम्बरमा दोलखाको रोल्वालिङ क्षेत्रको दुई हिमाल राम्दुङ(५,९२५ मिटर) र यलुङ–री(५,६३० मिटर)को सफल आरोहण गरे । यसको लागि उनीहरुले २५ दिनको तालिम लिएका थिए । यी दुई हिमालको आरोहण पछि मात्र उनीहरु २०७५ बैशाख ५ गते सगरमाथाको लागि लुक्लातिर लागे ।
............................................................

तालिम लिदै सगरमाथा चढ्दै 

हिमाल चढ्न भनेर पहिल्यै १५ महिना तालिम लिएका थिए । सगरमाथा चढ्न त्यतिले मात्र नहुदो रहेछ । लुक्लाबाट ९ दिनमा बेसक्याम्प पुगेपछि फेरी उनीहरुको तालिम शुरु भयो । सहयोगी शेर्पाहरुले तीन दिनसम्म हिमाल चढाउदै, झर्दै गरेर तालिम दिएपछि क्याम्प १ मा पुगे । त्यहाँ एक रात बसेर टोली क्याम्प २ मा पुग्यो । त्यहाँ ३ दिन बसेर टोलीले क्याम्प ३ लाई छोएर मात्र फेरी बेसक्याम्प फर्कियो । ‘बेसक्याम्प फर्किएपछि फेरी तालिम शुरु भयो । त्यहाँबाट लोबुचे, कलापत्थर, रोकसेप जादै आउदै गर्यौं । मौषमको अवस्था हेरेर मात्र चढ्यांै, हिड्दा राती १, २ बजे नै हिड्यौं,’देउरालीले भनिन् । उनीहरुले बेसक्याम्पबाट नेपाल टेलिभिजनमा लाइभ पनि गरे । फेसबुकमा पनि लाइभ प्रसारण गरेका थिए ।
मौषमको अनुकुलता हेरेर बेसक्याम्पबाट टोली सिधै क्याम्प २ मा पुग्यो । त्यहाँ खाना खाएर टोली हिडिहाल्यो । क्याम्प ३ मा एक रात बसेर टोली क्याम्प ४ मा पुग्यो । त्यहाँ एक छिन मात्र बसेर पत्रकार महिला टिमले जेठ ९(मे २३) मा सर्वोच्च शिखर सगरमाथाको चुचुरो(८,८४८ मिटर)मा पाइला टेक्न सफल भयो । ‘बिहान करिब साढे ७ बजेको थियो, चुचुरोमा पुगेपछि वरीपरि हेरे, हिमालै हिमाल मात्र देखिने । घाम पनि तल देखियो,’उनले त्यो क्षण सम्झदै भनिन्,‘सगरमाथा चढे भन्ने विश्वासै नलाग्ने, पृथ्वीमा होइन अर्के ठाउँमा पुगेजस्तो लाग्यो ।’
........................................................

                              चुचुरोमा धरान, वावु, अदुवा र कोदो पनि 

सगरमाथा आरोहण गर्नको लागि थुप्रै व्यक्ति, संघसंस्थाहरुले सहयोग गरेका थिए । चुचुरोमा पुगेपछि ती प्रायोजक संघसंस्थाहरुको ब्यानरको भिडियो र तस्बिर खिच्नुपर्ने थियो । उनीहरु करिब आधा घण्टा चुचुरोमा बिताए । मौषम र चिसोको कारणले ब्याट्री चार्ज सकिएर सबै प्रायोजकको तस्बिर र भिडियो खिच्न भने पाएनन् ।
उनले आफ्नो प्रिय गृहनगर धरानको तस्बिर लगेकी थिइन् । धरानको भानुचोक र घण्टाघर देखिने उक्त तस्बिर चुचुरोमा पुर्याएपछि तस्बिर खिच्ने मौका भने गुमाइनन् । यस्तै, किरात राई जातिको सँस्कारमा आवश्यक पर्ने वावु(चिण्डो), अदुवा र कोदो पनि चुचुरोमा पुर्याइन् । नेपाली राष्ट्रिय झण्डासँगै किरात राई यायोक्खाको झण्डा, राई विद्यार्थी संघको झण्डा पनि चुचुरोमा झहराइन् । ‘धरान त मेरो लागि प्रिय ठाउँ हो, यहाँको तस्बिर पनि पुर्याए, फोटो खिचे,’उनले भनिन्,‘राई समुदायबाट सगरमाथा चढ्ने म पहिलो महिला पनि हुँ, त्यसैले आफ्नो जातिको मौलिक सँस्कार, पहिचान झल्कने सामग्रीहरु पनि चुचुरोमा पुर्याएर चढाएँ ।’
...................................................

                                  शेर्पा साहसी र दयालु पनि

संसारकै वीर एवं साहसीहरुमा मानिन्छन्, शेर्पा जाति । सगरमाथा चढ्न शेर्पाहरु बिना सम्भव हुन्न । तर, उनीहरु साहसी मात्र हुन्नन्, असाध्यै दयालु र सहयोगी पनि हुन्छन् । सगरमाथा आरोहणको क्रममा देउरालीले प्रत्यक्ष अनुभव गरिन् । क्याम्प ३ बाट क्याम्प ४ पुग्ने बेला ट्राफिक जाम भयो । त्यहाँ भर्याङले पार हुनुपर्ने, बाटो निक्कै अफ्ठेरो थियो । उनको शेर्पा गाइड लाक्पा नुरु शेर्पा भारीसहित अघि अघि पर पुगिसकेका थिए । उनी भने हिड्नै सकिनन् । आँखा तिरमिरायो । उनी झुमर समाएर बसिरहिन् । ‘आफुलाई के भएको हो, के गर्नुपर्ने हो’ भनेर उनले भेउ नै पाइनन् ।
हिड्नै नसकेपछि लाक्पा देउराली भएको ठाउँसम्म फर्किएर आए । अनि मात्र थाह भयो कि उनको अक्सिजन सकिएको रहेछ । हो, त्यही बेला उनले थाह पाइन्, शेर्पाहरु साहसी मात्र भएर विश्वमा कहलिएका होइनन्, अत्यन्तै सहयोगी पनि हुन्छन् । ‘म हिड्न नसकेपछि लाक्पा नुरु फर्किएर आउनुभयो, मेरो अक्सिजन सकिएको रहेछ । उहाँले आफ्नो अक्सिजन मलाई दिएर बचाउनुभयो,’त्यो भावुक क्षण सम्झदै उनले भनिन्,‘क्याम्प ४ सम्म उहाँ विना अक्सिजन नै जानुभयो, त्यो बेला म एकदमै रोएँ । पछि क्याम्पमा पुगेर साथीहरुलाई पनि भने, सबै जना रोयौं ।’
उनीहरु भावुक बन्नुको कारण पनि छ । सगरमाथा चढ्दै गर्दा चाहेर पनि एकले अर्कोलाई सहयोग गर्न सकिन्न । मर्न लागेको अवस्था देख्दा पनि आफ्नै नजिकको साथीलाई पनि छोडेर अघि बढ्नुपर्ने हुन्छ । आरोहण गर्नेहरुलाई पहिल्यै सचेत गराइन्छ, कसैको पनि वास्ता नगर्नु, मात्र एकोहोरो हिडिरहनु । लाक्पा नुरुले त्यसो गरेर हिडिमात्र रहेको भए देउराली न चुचुरोमा पुग्थिन्, न सकुशल फर्केर नै आउथिन् । ‘आफै साथीलाई पनि गाह्रो हुदा टुलु टुलु हेर्नुपर्ने बाध्यता हुन्छ, कसैलाई कसैको वास्ता नगरी हिड्नुपर्छ,’उनले भनिन्,‘त्यस्तो बेला लाक्पा नुरुले मलाई अक्सिजन दिएर बचायो, नत्र म बाँच्ने कुनै मौका नै थिएन ।’
.........................................................

                              चुचुरो त टेकियो, तर ऋणको भार 

प्रथम महिला पत्रकार आरोहण टिमले सर्वोच्च शिखरमा पाइला टेकेर आफ्नो सपना त पुरा गर्यो, तर आरोहण टोली ठुलो ऋणमा परेको छ । आरोहण टोलीका सदस्यहरु अहिले पनि सहयोगी संघसंस्था र व्यक्तिहरुसँग सहयोगको अपिल गरिरहेका छन् । देउरालीका अनुसार प्रत्येक सदस्यहरुले कम्पनीलाई बुझाउनुपर्ने रकम २५ लाखको हाराहारीमा छ । ‘सर्त भनेको पहिल्यै सबै पैसा बुझाउनुपर्ने हो, तर कम्पनीको प्रबन्ध निर्देशक फुर्वा तेञ्जिङ शेर्पाले हामीलाई फर्केर आएपछि ३५ दिनभित्र तिर्दा हुन्छ भनेर साथ दिनुभयो । अहिले अर्को ३५ दिन पनि नाघिसक्यो,’हाल गृहनगर धरानमा रहेकी उनले भनिन्,‘उहाँले हाम्रो भावनाको कदर गर्दै पैसा तिर्न प्रेसर त दिनुभएको छैन, तर हाम्रो गाइडहरुको, रेस्क्यु गर्दाको हेलिकोप्टर, उपचारलगायतको खर्च पनि तिर्नसकेका छैनौ ।’
उनीहरुले आरोहण गर्दा प्रतिव्यक्ति ३५ लाख खर्च भएको थियो । त्यसबाहेक फोटो र भिडियोको लागि थप १० लाख तिर्नुपर्ने छ । विभिन्न प्रायोजक र नेपाल सरकारबाट ८ लाखसहित ५० प्रतिशत मात्र खर्च जुट्न सक्यो । उनीहरुको आरोहण दलका एक सदस्य क्याम्प २ बाट अस्वस्थ्य भएपछि रेस्क्यु गर्नुपरेको थियो भने देउराली आफै पनि फर्कदा बेसक्याम्पमा आइपुगेर विरामी परिन् । उनलाई पनि हेलिकप्टर मगाएर रेस्क्यु गर्नुपरेको थियो । ‘संघसंस्थाहरुबाट सहयोग जुटाएर र आफैले व्यवस्थापन गरेर भएपनि कम्पनी, गाइड शेर्पाहरुको पैसा त तिर्नेपर्छ,’उनले भनिन् ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे