अदुवाको भाउ ओरालो, किसान चिन्तित


धरान । गत आर्थिक बर्षमा एकदशक यताकै उच्च मुल्य पाएर अदुवा खेती गर्न हौसिएका किसानहरु यो बर्ष भने निराश छन् । गत बर्ष झै अदुवाको मुल्य नपाउदा यतिबेला पूर्वका किसानहरु परिश्रम र लगानी डुब्ने चिन्तामा छन् । गत बर्ष किसानले अदुवाको भाउ प्रतिकेजी १ सय ६० रुपैयासम्म पाएका थिए । अदुवाको यो मुल्य एक दशक यताकै उच्च थियो । त्यही कारण अदुवा खेती बढाएका किसानहरु यो बर्ष भने मुल्य नपाउदा लगानी खेरजाला भनेर चिन्तित छन् ।
धरान १३ स्थित कृर्षि उपज बजारस्थलका अनुसार अहिले किसानले प्रतिकेजी २२ देखि २५ रुपैयासम्म मात्रै अदुवाको मुल्य पाइराखेका छन् । गत बर्ष भने यही(पुष) महिनामा किसानहरुले प्रतिकेजी ६० देखि ७० रुपैया मुल्य पाएका थिए । ‘पोहोर राम्रो भाउ पायौं, त्यसैले धेरैले अदुवा लगाए’–विष्णुपादुका ६(हाल धरान उपमहानगरपालिका २६)का किसान डम्बर तामाङले भने–‘यसपाली त अदुवाको भाउ नै छैन, व्यापारीहरुले किन्नै मानेका छैनन् । मेहनत र लगानी खेर जाने भो भनेर हामी चिन्तित छौं ।’
व्यापारीहरुका अनुसार अदुवाको मुल्य छिमेकी मुलुक भारतमा हुने माग र खपतमा निर्भर हुने भएकोले उतारचढाव हुनेगर्छ । भारतमा उत्पादन कम हुदा नेपालमा माग उच्च हुन्छ, जसले गर्दा किसानहरुले राम्रो भाउ पाउछन् । भारतमा पर्याप्त अदुवा उत्पादन हुदा नेपालमा माग नभएर किसानको लगानी जोखिममा पर्छ । यो बर्ष भारतमै प्रशस्त अदुवा उत्पादन भएकोले नेपालमा माग छैन । त्यही भएर कतिपय थोक व्यापारीहरुले अदुवामा लगानी गरेका छैनन् भने लगानी गर्नेहरुले पनि घाटा हुने भन्दै किसानलाई भाउ दिएका छैनन् । ‘यसपाली भारतको बैंगलोर र राचीतिर प्रशस्तै अदुवा उत्पादन भएकोले माग नै भएको छैन । भारत खपत नहुदा हाम्रो पनि लगानी डुब्ने डर छ, त्यसैले व्यापारीहरु पनि खरिद गर्न डराईरहेका छन्’–अदुवाका थोक व्यापारी दिलबहादुर राई भन्छन् ।
कृर्षि उपज बजारस्थलका अनुसार पूर्वी क्षेत्रमा उत्पादन अदुवाको कुल परिमाणमध्ये १० प्रतिशत मात्रै नेपालको स्थानीय बजारमा खपत हुन्छ । बाँकी सबै अदुवा भारत निर्यात हुनेगर्छ । तर, भारतमा खपत हुन पाएन भने नेपालको अदुवाले भाउ नै पाउदैन र किसानहरुको लगानी डुब्छ । सुनसरीको विष्णुपादुका, धनकुटाको प्रायः सबै क्षेत्र, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लामा धेरै अदुवा खेती हुनेगर्छ । उच्च मुल्य पाएको गत आर्थिक बर्षमा धरानस्थित कृर्षि उपजमा ५ हजार ६ सय ५० मेट्रिकटन बराबरको अदुवाको कारोबार भएको थियो । भारतका व्यापारीहरुले तेस्रो मुलक(खाडीतिर) पनि माग उच्च हुदा नेपालको अदुवा खरीद गरेर प्रशोधन गरि आफ्नो ब्राण्ड बनाएर निर्यात गर्ने गरेका छन् । ‘भारत माग नभएर निकासी हुन नपाउदा यहाँको अदुवा कुहिएर खेर जाने अवस्था बन्छ, अदुवा खेती गर्ने किसानहरुको लागि जुवा खेलेजस्तै भएको छ’–बजारस्थलका व्यावस्थापक लक्ष्मण भटराई भन्छन्–‘किसानको लगानी डुब्न नदिन सरकारले तेस्रो मुलुकमा बजार खोजेर निर्यात गर्ने वातावरण बनाइदिनुपर्छ वा नेपालमै अदुवाको प्रशोधन गरेर मसला, जाम, वासना छर्ने वस्तु(सेन्ट) जस्ता उत्पदान गर्ने उद्योग खोलिदिनुपर्छ ।’ ती व्यवस्था पनि गर्न नसके राज्यले किसानको न्युनतम लागत मुल्य पाउने गरि खरीद गर्ने व्यवस्था गरिनुपर्ने उनको भनाई छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे