नारायण गोपाल क्रस कन्ट्री विजेता(फोटोफिचर)


धरान । नेपाल नम्बर २ साइक्लिष्ट काठमाण्डौंका २९ बर्षीय नारायण गोपाल महर्जनले सो डाउन धरान २०१५ अन्र्तगतको मुख्य स्पर्धा क्रस कन्ट्री इलिट च्याम्पियनसिपको उपाधि जितेका छन् । आइतबार धरानको विजयपुर क्षेत्रमा सम्पन्न ५ ल्यापको ५.६ किलोमिटर दुरीको मुख्य स्पर्धा एक घण्टा ३७ मिनेट ६ सेकेण्डमा पुरा गर्दै मुख्य विधाका स्पर्धामा च्याम्पियन बने । चौथो ल्यापसम्म नेपालका नम्बर १ साइक्ष्टि अजय पण्डित क्षेत्रीसँग पछि परेका मर्हजनले अन्तिम ल्यापमा भने अग्रता लिदै रोमाञ्चक जित हात पारे । मर्हजन साइक्लिङमा नेपालका नम्बर २ खेलाडी हुन् । स्पर्धामा दोस्रो भएका पण्डितले भने उक्त दुरी १ घण्टा ३८ मिनेट ३९ सेकेण्डमा पार गरे । 
यसैगरि, एक घण्टा ३८ मिनेट ४३ सेकेण्डमा उक्त दुरी पार गर्दै बुद्धिबहादुर तामाङ तेस्रो भए भने २ घण्टा २ मिनेट ४ सेकेण्डमा दुरी पार गरेका राजन भण्डारी चौथो र २ घण्टा २ मिनेट ५ सेकेण्डमा दुरी पार गर्दै जेभी लिम्बु पाँचौ भए । विजेता नारायण गोपालले नगद ४० हजारसँगै मेडल र प्रमाणपत्र हात पारे भने दोस्रो भएका अजयले नगद २० हजार, मेडल र प्रमाणपत्रमा चित्त बुझाए । तेस्रो भएका बुद्धिबहादुरले नगद १० हजार, मेडल र प्रमाणपत्र थापे । यो स्पर्धामा ११ जना खेलाडीहरुले भाग लिएका थिए ।
च्याम्पियन बनेका मर्जनले सन् २०१५ मा राम्रो शुरुवात भएको प्रतिक्रिया दिदै आगामी प्रतियोगिताहरुको लागि हौसला मिलेको बताए । ‘चाडै नेशनल च्याम्पियनसिप र कुरिनटारमा पनि प्रतियोगिता हुदैछ, यो प्रतियोगितामा च्याम्पियन बन्दा थप हौसला मिलेको छ’–उनले भने । आफ्नो वामअप नपुग्दा तिन ल्यापसम्म पछि परेको उल्लेख गर्दै उनले चौथो ल्यापमा अजयलाई भेटेपछि भने जित्छु भन्ने आशा र जागर आएको बताए । यसअघि, सन् २०१२ मा धरानमै भएको एमटिबि जोन क्रस कन्ट्रीमा पनि नारायाण गोपालले अजयलाई पछि पार्दै च्याम्पियन बनेका थिए ।
यसैगरि, क्रस कन्ट्री खुल्ला विधातर्फ ३.५ किलोमिटर दुरी ३९ मिनेट ४३ सकेण्डमा दुरी पार गर्दै हेमराज केसी पहिलो भए भने ४० मिनेट ४५ सकेण्डमा पार गर्दै टप राई दोस्रो र ४३ मिनेट ४७ सेकेण्डमा उक्त दुरी पार गर्दै अनोज पराजुली तेस्रो भए । यो स्पर्धामा १९ जना खेलाडीहरु सहभागी थिए । महिलातर्फ भने ३.५ किलोमिटरको दुरी ३१ मिनेट ५० सेकेण्डमा पार गर्दै लक्ष्मी मगर पहिलो भइन् भने ३५ मिनेट ३७ सेकेण्डमा पार गर्दै निश्मा श्रेष्ठ दोस्रो र ४३ मिनेट ४ सेकेण्डमा दुरी पार गर्दै सारिया साटो बज्रचार्य तेस्रो बनिन् । जुनियरतर्फको स्पर्धामा भने ३.५ किलोमिटरको निर्धारित दुरी २७ मिनेट ४७ सेकेण्डमा पार गर्दै प्राचित थापा मगर पहिलो, २७ मिनेट ५१ सेकेण्डमा दुरी पार गर्दै जिग्मे तेञ्जिङ दोस्रो र २७ मिनेट ५१ सेकेण्डमा दुरी पार गर्दै किरण राई तेस्रो भए । 
खुल्ला, महिला र जुनियर स्पर्धाका विजेताहरुलाई भने मेडल, प्रमाणपत्र र विभिन्न उपहार दिइएको थियो । विजेताहरुलाई आयोजक समितिका संयोजक एवं ग्रिनह्विल्स धरानका प्रमुख हेम लिम्बू, प्रमुख अतिथि एवं कोशी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक ज्ञानबिक्रम शाह, रेस डाइरेक्टर श्याम लिम्बू, समाजसेवी इन्दीरा राना मगरलगायतले पुरस्कार वितरण गरेका थिए । पूर्वक्षेत्रमा साहसिक पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले ग्रिनह्विल्स धरान र नर्ली बाइकिङ कम्पनीको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालसँगै भुटान, बेलायतलगायतका खेलाडीहरुले पनि भाग लिएका थिए । शनिबार भएको डाउनहिल स्पर्धामा राजेश मगर च्याम्पियन बनेका थिए ।

















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे