भूपू भारतीय सैनिकले बीपीमा निःशुल्क उपचार सेवा पाउने


धरान । भारतीय सेनाका अवकाश प्राप्त(भूपू) सैनिक र तिनका आश्रित परिवारलाई भारत सरकारले नेपालमै निःशुल्क सम्पुर्ण उपचार सेवा उपलब्ध गराउने भएको छ । यसको लागि भारत सरकार र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सोमबार सम्झौता भएको छ ।
भारत सरकारले पूर्वक्षेत्रका भूपू भारतीय सेनालाई लक्षित गरेर बीपी प्रतिष्ठानसँग सम्झौता गरेको हो । यो सम्झौताको अवधि दुई बर्षको रहेको छ । यसलाई दुवै पक्षले नियमित पूनरावलोकन गर्दै अवधि थप्नेछन् । सम्झौता पत्रमा भारत सरकारकोतर्फबाट भारतीय दुतावासका सुरक्षा सल्लाहकार एवं कर्णेल मनराज सिंह मान र बीपीकोतर्फबाट उपकुलपति प्रा.डा.बलभद्रप्रसाद दासले हस्ताक्षर गरेका थिए । भारत सरकारले यसअघि पश्चिमका भूपू सैनिकलाई लक्षित गर्दै पोखरास्थित मणिपाल अस्पतालसँग पनि यस्तै सम्झौता गरिसकेको जनाएको छ । यी दुवै शहरमा भारतीय पेन्सन पेइङ कार्यालय पनि छ ।
सम्झौताअनुसार बीपी प्रतिष्ठानले भूपू सैनिक र तिनका परिवारजनलाई आवश्यक सम्पुर्ण बिशेषज्ञ सेवा उपलब्ध गराउनेछ । उपचार खर्च भने भारत सरकारले दिनेछ । भूपू भारतीय सैनिकहरुलाई भारत सरकारले उपलब्ध गराउदै आएको निःशुल्क उपचार सेवा पाउन यसअघि नेपालबाट भारत धाउनुपर्ने बाध्यता थियो । यो सेवा स्वदेशमै उपलब्ध हुदा भूपू सैनिकहरुलाई धेरै राहत मिल्ने अपेक्षा गरिएको छ । ‘भूपू भारतीय सेनाहरु भारतको अस्पताल धाइरहनु पदैन, त्यहाँ जे जस्तो सुविधा पाउनुहुन्थ्यो, ती सबै सेवा नेपालमै दिइनेछ’–कर्णेल एवं सुरक्षा सल्लाहकार मानले भने–‘हामीले राम्रो अस्पताल छानेका छौं, उहाँहरुले यही उच्चस्तरीय उपचार सेवा पाउनेमा ढुक्क छौं ।’
भारतीय दुतावासका अनुसार नेपालमा सवा लाखको संख्यामा भूपू भारतीय सैनिक र तिनका आश्रित परिवारहरु छन् । पूर्वमा मात्रै ३५ देखि ४० हजारको संख्यामा भूपू सैनिक रहेको अनुमान छ । ती सबैलाई इसिएचएस कार्ड वितरण गरिएको हुन्छ र उनीहरुले मात्रै निःशुल्क उपचार सेवा पाउछन् । साधारण रोगको उपचार आफ्नै पोलिक्लिनिकबाट दिइने र जटिल रोगको लागि रिफर गरेर अस्पताल पठाउने कर्णेल मानले बताए । आकस्मिक उपचार सेवाको लागि भने रिफर आवश्यक नपर्ने पनि उनले प्रष्ट्याए । भारत सरकारले छनौट गरेको बीपी प्रतिष्ठान र मणिपाल अस्पतालमा जहीको पनि भूपू सैनिक आएर उपचार गर्न पाउनेछन् ।
बीपी प्रतिष्ठानका उपकुलपति डा.दासले भूपू भारतीय सैनिकहरुलाई सन्तुष्ट हुने गरि गुणस्तरीय एवं बिशेषज्ञ उपचार सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रतिष्ठानमा न्युरो सर्जरी, कार्डियोलोजी, कार्डियोथेरापीजस्ता बिशेषज्ञ सेवा पनि शुरु भइसकेकोले उपचार सेवाप्रति ढुक्क रहन सर्वसाधारणमा आग्रह गरे । ‘यहाँ आउने विरामीमध्ये १.२ प्रतिशत मात्रै रिफर हुन्छन्, बाँकी ९८.८ प्रतिशतको यही राम्रो उपचार भएको छ’–उपलकुपति दासले भने–‘उहाँहरु(भारतीय दुताबास)ले विश्वास गरेर सम्झौता गर्नुभएकोछ, हामी कुनै कम्प्लेन नआउने गरि राम्रो उपचार सेवा दिन्छौं ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे