अवैध बैकिङ करोबार:धरानमा करिब ७ करोड करोबारको पासबुकसहित दम्पत्ति पक्राउ


धरान,फागुन ६ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)सहितको प्रहरी टोलीले आइतबार आइतबार मोरङ र सुनसरीमा अवैधरुपमा बैकिङ कारोबार गरिरहेको कम्पनी तथा सुनपसलमा एकसाथ छापा मारेको छ ।
अनुमति नलिईकन अवैधरुपमा वित्तिय एवं आर्थिक कारोबार गरिरहेको सुचनाको आधारमा अनुसन्धान गरिरहेको ब्युरोले आइतबार एक साथ विभिन्न स्थानमा छापा मारेको हो । टोलीले धरानको हलेसी गहना गृह र इन्भेस्टमेन्ट प्रालिका सञ्चालक दम्पत्तिलाई दिउँसो पक्राउ गरेको थियो भने इटहरीमा राती अबेरसम्म पनि अप्रेशन जारी थियो । मोरङको विराटनगरमा पनि छापा मारेको प्रहरी स्रोतले जनाएको छ । धरानबाहेक अन्यत्रको नाम भने खुलिसकेको छैन । ‘केही पक्राउ परेका छन्, अप्रेशन जारी छ । अहिल्यै केही बताउन सकिदैन,’इटहरीको अप्रेशनमा संलग्न एक प्रहरी अधिकृतले भने,‘सबैतिर अप्रेशन चलेकोले भोली मात्र भन्न सक्छौं ।’
धरानबाट भने प्रहरी टोलीले हलेसी इन्भेस्टमेन्ट र गहना गृहका सञ्चालक दम्पत्ति चन्द्र गजमेर र श्रीमति अनितालाई पक्राउ गरेको छ । दुवै इलाका प्रहरी कार्यालय धरानको हिरासतमा छन् । हलेसी गहना र इन्भेस्मेन्ट प्रालिको नाममा फरक फरक पासबुक बनाएर गजमेर दम्पत्तिले बित्तिय कारोबार गरिरहेको भेटिएपछि दुवैलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलका अनुसार उनीहरुको साथबाट करिब डेढ सय वटा पासबुक पनि वरामद भएको छ । ती पासबुकहरुमा करिब ७ करोडको हिसाबकिताब फेला परेको डिएसपी पौडेलले जानकारी दिए । ‘हिसाब गर्दा ६ करोड ९९ लाख कारोबार भएको भेट्यौं । एउटै पासबुकमा १५ लाखसम्मको हिसाब छ,’डिएसपी पौडेलले भने,‘यो अप्रेशन केन्द्रीय ब्युरो, प्रदेश ब्युरो र हाम्रो कार्यालयले संयुक्तरुपमा भएको हो ।’ पक्राउ परेका दम्पत्तिलाई बैंकिङ कसुर अन्र्तगत सोमबार म्याद थप गरि कारबाही प्रक्रिया अघि बढाउने डिएसपी पौडेलले बताए ।
ब्युरोसहितको संयुक्त प्रहरी टोलीले धरानमा छापा मारेको स्थान र नाम खुलेपनि इटहरी र मोरङमा भएको अप्रेशन तथा पक्राउ परेका व्यक्तिहरुबारे भने खुल्न सकेको छैन । इटहरीमा रातीसम्म अप्रेशन जारी रहेको र अनुसन्धानको क्रममा भएको भन्दै प्रहरीले थप खुलाउन सकेन । ती कम्पनीहरुको नाम पनि भेरिफाई हुन बाँकी रहेकोले अनुसन्धान पुर्ण भएपछि मात्र भन्न सकिने प्रदेश १ का प्रहरी प्रमुख एवं एआइजी पशुपति उपाध्यायले बताए । उनका अनुसार अवैधरुपमा आर्थिक कारोबार गरिरहेको शंका पाएर अनुसन्धान पश्चात प्रमाणको आधारमा प्रहरीले एकसाथ कारबाही प्रक्रिया अघि बढाएको हो । ‘आर्थिक, बित्तिय कारोबार गर्न अनुमति लिनुपर्छ । अनुमति नलिई बैंकले जस्तो कारोबार गरे अवैध हो । प्रमाण फेला परेपछि कारबाही शुरु भएको हो, यो अझै जारी रहन्छ,’उपाध्यायले भने,‘दर्ता भएको छैन, नाम जे पनि हुनसक्छ, अहिले अनुसन्धान भइरहेको छ । नाम भेरिफाइ गरेपछि भोली(सोमबार)सम्म सार्वजनिक हुन्छ ।’
केही समयअघि पनि धरानको सेन्च्युरी बैंक, नेपाल बैंक लिमिटेडमा थोरै सुन राखेर धेरै ऋण दिएको ठुलो आर्थिक घोटला भएको सार्वजनिक भएको थियो । नेपाल बैंकमा भएको घोटलाको अनुसन्धान गर्न पनि ब्युरोको टोली नै आएको थियो । त्यहीसमयदेखि सिआइबीले धरानसहित पुर्वमा भएको बित्तिय अपराधलाई सुक्ष्मढंगले अनुसन्धान गरिरहेको थियो ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे