खानेपानी आयोजना रिजर्ब वेयर विवाद: विजयपुर दरबार क्षेत्रमा पुरात्तत्वको चासो

धरान, माघ २६ । सेनकालीन विजयपुर दरबार क्षेत्रमा रुख फडानी गरेर खानेपानी आयोजनाले रिजर्ब वेयर निर्माण गर्दा पुरात्तात्विक क्षेत्र एवं सम्पदालाई क्षति पुग्ने भन्दै उठेको आवाजप्रति पुरात्तत्व विभागले पनि गम्भीर चासो देखाएको छ ।
संरक्षण गर्नुपर्ने पुरात्तात्विक महात्वको दरबार क्षेत्रमा पानीटंकी निर्माण गरिन लागेको भन्दै ध्यानाकर्षण पत्र पुगेपछि विभागले गम्भीर चासो देखाउदै क्षेत्रीय संग्रहालय प्रमुखलाई स्थलगत अध्ययन गर्न खटाएको छ । पुरात्तत्व विभागका उपसचिव सन्दिप खनालले पानीटंकीले पुरात्तात्विक दरबार क्षेत्रमा असर पर्छ भन्ने निवेदन आएकोले स्थलगत अध्ययन गर्न क्षेत्रीय संग्रहालय प्रमुखलाई खटाएको बताए । उनका अनुसार विजयपुर दरबार सम्पदा क्षेत्रमा पर्ने भएकोले पानीटंकी निर्माण हुदा संरचना बिग्रन्छ कि बिग्रदैन भनेर अध्ययन हुनेछ । ‘विजयपुर दरबार सम्पदा क्षेत्रमा समावेश छ । पानीटंकीको लागि खन्ने भनेको ठाउँ र दरबार क्षेत्रको दुरी कति छ, खन्दा संरचना बिर्गन्छ कि बिग्रदैन, यो सबै अध्ययन हुन्छ,’उनले भने,‘पानीटंकी संरक्षित क्षेत्रमा हो भने विभागसँग पनि स्वीकृति लिनुपर्छ ।’
विभागको निर्देशन अनुसार धनकुटास्थित क्षेत्रीय संग्रहालय प्रमुख चन्द्रप्रसाद अधिकारीले शुक्रबार विजयपुर दरबार क्षेत्रको स्थलगत अध्ययन गरेका थिए । उनले सेन्ट्री बस्ने भनिएको स्थान, पानीटंकी निर्माण गर्न रुख काटिएको ठाउँ, सेनकालीन ढुंगा, इटा, इनारलगायतको स्थलगत अध्ययन गरेका थिए । निर्देशन वमोजिम स्थलगत अध्ययन गरेर एक साताभित्र प्रतिवेदन विभाग पठाउने क्षेत्रीय प्रमुख अधिकारीले बताए । उनका अनुसार पानीटंकी बनाउदा पुरात्तात्विक महत्वका भग्नअवशेषहरु डगमगाउन सक्ने तथा नष्ट हुनसक्ने हुनाले विभागले गम्भीर चासो देखाएको हो । उत्खनन हुनुपर्ने ठाउँमा जथाभावी संरचनाहरु बनाउन नहुनेतर्फ विभाग सचेत रहेको पनि उनले बताए । ‘पुरात्तात्विक सम्पदाहरुको संरक्षणमा विभागको सधै चासो हुन्छ, विजयपुर दरबारबारे पनि निवेदन परेपछि स्थलगत अध्ययन गरेर ७ दिनभित्र प्रतिवेदन पठाउन मलाई निर्देशन आएको छ,’अधिकारीले भने,‘मैले यहाँको अवस्थाबारे प्रतिवेदन पठाउने हो, विभागबाट थप अध्ययन गर्न टोली आउन सक्छ वा मेरो प्रतिवेदनको आधारमा ठोस निर्णय गरेर अघि बढ्न पनि सक्छ ।’
विजयपुर दरबार क्षेत्रमा पानीटंकी निर्माण गरिन लागेको भन्दै किरात याक्थुङ चुम्लुङ, धरान नगर समितिले माघ २१ गते विभागमा ध्यानाकर्षण पत्र पठाएको थियो । सोही पत्रको आधारमा विभागले क्षेत्रीय प्रमुखलाई स्थलगत अध्ययनसहित एकसाताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो । एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा सञ्चालित खानेपानी आयोजनाको लागि रिजर्ब वेयर बनाउन गत बर्ष ७ कट्ठा क्षेत्रफलमा रुखहरु काटिएपछि विवाद शुरु भएको थियो । विभिन्न किरातजन्य संघसंस्थाहरुले ऐतिहासिक एवं पुरात्तात्विक क्षेत्रमा उत्खनन गरेर संरक्षण गर्नुपर्नेमा नष्ट गरिएको भन्दै सो स्थानमा टंकी नबनाउन आग्रह गर्दै आएका थिए । केही संस्था एवं किराती अगुवाहरुले टंकी निर्माण गर्नेसहित उपमहानगरपालिकासँग १८ बुँदे सहमति गरेपनि विवाद सुल्झिएको छैन । आदिबासी जनजाति महासंघ अध्यक्ष एवं चुम्लुङ अध्यक्ष सुवास हुक्पा चोङवाङको संयोजकत्वमा विजयपुर दरबार परिसर संघर्ष समिति गठन गरेर सहमतिको चर्को विरोध भइरहेको छ ।
संयोजक चोङवाङ आफुहरुले खानेपानी र विकासको विरोध गरेको नभई पुरात्तात्विक सम्पदालाई विनाश हुने गरि काम नगर्न आग्रह गरिएको बताउछन् । विजयपुर दरबार क्षेत्रको सिमांकन, उत्खनन गरेर संरक्षण गर्नसके धरानको लागि महत्वपुर्ण पुरात्तात्विक, ऐतिहासिक तथा साँस्कृतिक पर्यटकीयस्थल बन्ने उनको भनाई छ । ‘कुनै जाती विशेषको मात्र विजयपुर दरबार होइन, समग्र धरानबासीको र राज्यको सम्पदा हो, यसको संरक्षण गरौं भन्ने हाम्रो उद्देश्य हो,’उनले भने । संघर्ष समितिका सदस्य देव सुुब्बाले पनि विजयपुर दरबार क्षेत्रको ऐतिहासिक, धार्मिक र साँस्कृतिक पक्षलाई समेट्दै गुरुयोजना बनाएर राज्य वा पुरात्तत्व विभागले स्वामित्व ग्रहण गर्नुपर्ने बताउछन् । उनले भने,‘पानीटंकीको विकल्प खोजी गरौं, विकासको नाममा सम्पदा नष्ट हुने काम नगरौं । यो माटो मुनि थुप्रै इतिहास दबिएको छ, त्यसको उत्खनन गरौं ।’ विजयपुर गढी सेनकालीन समयको राजधानीकोरुपमा स्थापित भएको मानिन्छ । यहाँ अहिले पनि सेनकालीन विशाल ढुंगा, इटाहरु भेटिन्छन् । अपराधीहरुलाई दण्ड दिन खनिएको इनार पनि अझै देख्न पाइन्छ । तर, संरक्षणको अभावमा ती ढुंगाहरु स्थानीयले घर निर्माणमा प्रयोग गरेका छन् ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे