खानेपानीको रिजर्ब वेयर विवाद: सकियो उत्खनन,भेटिएन पुरात्तात्विक वस्तु


धरान, फागुन ५ । पुरात्तात्विक महत्वको क्षेत्र भन्दै विवाद शुरु भएको धरान १४ स्थित खानेपानी आयोजनाको रिजर्ब वेयर(पानीटंकी) निर्माणस्थलमा पुरात्तत्व विभागको परीक्षण उत्खनन कार्य(ट्रायल ट्रेञ्च) सकिएको छ ।
दुई वटा ट्रेञ्च बनाएर तीन दिनदेखि जारी उत्खनन करिब २ फिट गहिराईसम्म पुग्दा पनि पुरात्तात्विक वस्तु, साँस्कृतिक एवं मानवीय क्रियाकलापको अवयवहरु भएको निसान वा अवयव नभेटिए पछि थप गहिराइमा उत्खनन नगर्ने निर्णय गरिएको विभागले जनाएको छ । ‘हामीले २ वटा ट्रेञ्च बनाएर २ मिटरभन्दा गहिराईसम्म पुग्यौं, २ वटा लेयर पायौं, एउटा अर्थ लेयर र त्यो मुनिको लेयर रातो माटो मात्र छ,’विभागको स्मारक संरक्षण शाखा प्रमुख सन्दीप खनालले भने,‘कुनै पनि पुरात्तात्विक वस्तु, साँस्कृतिक वा मानवीय क्रियाकपालपको निसान,अंश भेटिएन । यसको मतलव अब जति तल खन्दा पनि केही भेटिदैन भन्ने हो,त्यसैले उत्खननलाई रोक्यौं ।’
पानीटंकी बनाउन दिने कि नदिने विवाद चर्किदै गएपछि संघर्ष समिति र उपमहानगरपालिका दुवैले पुरात्तत्व विभागलाई गुहारेका थिए । विभागले भने पानीटंकी बनाउने भनिएको ठाउँमा बिहिबारदेखि पुरात्तात्विक वस्तु भए नभएको पत्ता लगाउन उत्खनन थालेको थियो । संघर्ष समितिले भने यो उत्खननप्रति नै असहमति राख्दै आएको छ । संघर्ष समितिले ध्यानाकर्षण पत्र पठाएपछि विभागले गत साता क्षेत्रीय संग्रहालय प्रमुखलाई स्थलगत अध्ययन गरी रिपार्ट पेश गर्न निर्देशन दिएको थियो । क्षेत्रीय प्रमुख चन्द्रप्रसाद अधिकारीले सो स्थान पुरात्तात्विक भए नभएको अथवा पुरात्तात्विक वस्तु नष्ट हुने नहुनेबारे उत्खनन गर्नुपर्ने सुझाएपछि विभागले २ जनालाई तत्कालको लागि उत्खननमा पठाएको थियो ।
विभागबाट स्मारक संरक्षण शाखा प्रमुख खनाल र पुरात्तत्व शाखाका अधिकृत विष्णु पाठक उत्खनन गर्न धरान आएका थिए । खनालका अनुसार उत्खनन कार्य सकिएकोले अब चाडै प्रतिवेदन बनाएर उपमहानगरपालिकालाई विभागले पठाउने छ । त्यसको आधारमा स्थानीय सरकार, सरोकारवाला र स्थानीयले थप निर्णय गरेर अघि बढ्न उपयुक्त हुने उनको सुझाव छ । ‘उत्खननमा जे देखियो, त्यो प्रतिवेदन बनाएर उपमहानगरपालिकालाई पठाउछांै । यसको मतलव विभागले टंकी बनाउन अनुमति दियो भन्ने होइन । टंकीको विवादलाई स्थानीयस्तरमा सहमतिबाटै सुल्झिन्छ भन्ने आशा छ,’उनले भने ।
विभागले उत्खनन गरेको स्थान खानेपानी आयोजनाले ६ लाख लिटर क्षमताको रिजर्ब वेयर बनाउन रुखहरु फाडेको स्थानमा हो । यो पञ्चकन्या मन्दिरबाट करिब ४ सय २० मिटर उत्तरमा पर्छ । पुरात्तात्विक वस्तुहरु भए नष्ट नहोस् भन्ने उद्देश्यले उत्खनन गर्दा पुरात्तात्विक, साँस्कृतिक कुनै पनि संकेतहरु फेला नपरेको पुरात्तत्व अधिकृत पाठकले बताए । उनले भने,‘सामान्यतः ३० देखि ४० सेन्टिमिटर वा १ मिटरसम्म खन्दा एउटा पुस्ताको अवशेष वा गतिविधिहरुको संकेत मिल्छ, यहाँ २ मिटरसम्म खन्दा पनि माटो मात्र भेटियो ।’ यद्यपी उनले भविष्यमा गुरुयोजना बनाएर विजयपुरको संरक्षण गर्ने, अध्ययनको कार्यक्रम राखेर इतिहासलाई लिपिवद्ध गर्ने र पर्यटन विकासको अवधारणा अघि बढाउनुपर्ने बताए । यसमा विभाग र स्थानीय सरकार, सरोकारवाला संघसस्थाहरुबीच सहकार्य हुन जरुरी रहेको उनले बताए ।
स्थानीय सरकार प्रमुख एवं धरानका मेयर तारा सुब्बाले विभागबा प्रतिवेदन आएपछि कार्यपालिका वैठक बसेर थप निर्णय लिइने बताए । साथै, प्रतिवेदनबारे राजनीतिक दलहरुलाई पनि जानकारी गराएर काम सुरु गर्ने उनले बताए । चारकिरात संस्थासँगको सहमतिअनुसार पानीटंकी बनाउदा किराती सँस्कृति झल्कने संरचना बनाउने र बाँकी ५ कट्ठा क्षेत्रमा पनि किराती संस्थाहरुलाई उपभोग गर्न दिने मेयर सुब्बाको भनाई छ । उनले भने,‘१८ बुँदे सहमतिलाई पालना गछौं, टंकी बनाएर त्यतिकै छोड्दैनौं, दरबार क्षेत्रको संरक्षण, विकासमा बजेट विनियोजन गरेर काम गछौं ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे