बाम पकड क्षेत्रमा फोरम नेता राईको उम्मेदवारी,एमालेको मत तान्ने दाउ

धरान,कार्तिक २४ । लोकतान्त्रिक गठबन्धनको नाममा आफ्नै पार्टीका पुर्व केन्द्रीय उपाध्यक्ष अशोककुमार राईसँग चुनावी मैदानमा उत्रिनु परेपनि बाम गठबन्धनबाट एमालेका उम्मेद्वार जयकुमार राईलाई भने अनौठो लागेको छैन । उनी यसलाई निरन्तरको राजनीतिक यात्रामा स्वाभाविक संयोग मात्र ठान्छन् । तर, सुनसरी क्षेत्र नं १ का मतदाताहरु भने एमालेका पुर्वनेतासँगको उनको चुनावी भिडन्तलाई रोचकरुपमा लिइरहेका छन् ।
मंसिर २१ गते हुने प्रतिनिधि निर्वाचनको लागि लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा संघीय समाजवादी फोरमका वरिष्ठ नेता राई उम्मेद्वार छन् । एमाले गढमा कांग्रेससँगको तालमेलमा एमालेकै पुर्व हेभिवेट नेता उम्मेदवार बनेपछि यो क्षेत्रमा राजनीतिक पारो ह्वात्तै बढेको छ । तर, उनलाई आफु पाहुना उम्मेदवार नभएको आरोपलाई चिर्नु पर्नेछ । उनका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार कार्यकर्ता र मतदातामाझ भिजेका नेता हुन् । विगतमा त्रिपक्षत्रीय भिडन्त हुदै आएको सुनसरी १ मा यसपटक बाम र लोकतान्त्रिक गठबन्धनबीचमा चुनावी प्रतिस्पर्धा हुदैछ । फोरम उम्मेदवारलाई कांग्रेसको साथ छ भने एमालेका उम्मेदवार एमाले–माओवादीको बाम गठबन्धनका साझा उम्मेदवार छन् । चुनावी दौडमा अन्य दलका उम्मेदवार भएपनि गठबन्धनको चुनावी चर्चाअघि ओझेल छन् ।
दुवै उम्मेदवारबीच विगतको राजनीतिक सम्बन्ध मात्र जोडिएको होइन, नातेदार पनि हुन् । नाताले अशोक राई जयकुमारको दाजु पर्छन् । विगतमा दुवै बीचको राजनीतिक केमेष्ट्री कस्तो थियो भने एमाले फुटेर माले बन्दा अशोक राईहरुसँगै जयकुमार पनि माले बनेका थिए । पार्टी एकता हुँदा उनीहरु सँगै एमाले फर्किएका थिए । बाम गठबन्धनका उम्मेदवार राई एमाले सचिवालय सदस्य तथा धरान सहइञ्चार्ज हुन् । बहुदल स्थापनापछिका सबै चुनावमा एमाले र एउटा(पहिलो संविधानसभा)मा माओवादी विजयी भएको निर्वाचन क्षेत्र हो, सुनसरी १ । त्यसैले वाम गठबन्धनकै साझा उम्मेदवार भइसकेपछि जयकुमारलाई जित पाउन धेरै कठिन नहुने विश्लेषण भइरहेको छ । तर, राजनीतिकरुपमा विगतमा आफु एमाले हुनुको चुनावी लाभ लिन चाहन्छन्, अशोक राई ।
फोरम उम्मेदवार राईको विगतमा राजनीतिक कर्मथलो हो, धरान । कलेज अध्ययनसँगै पञ्चायत विरोधी आन्दोलन र संगठन निर्माणमा पनि अहंम भुमिका खेलेका थिए । आफैले संगठित गरेको, राजनीतिमा लिएर हिडेको एमाले नेता, कार्यकर्ताहरुको सहयोग र सदभाव पाउने उनको अपेक्षा छ । ‘यहाँ एमालेलाई सशक्त बनाउने मान्छेहरुमध्ये म पनि हुँ । मैले संगठित गरेका, राजनीतिमा लिएर हिडेका धेरै साथीहरु एमालेमा क्रियासिल हुनुहुन्छ, उहाँहरुको सहयोग र सदभाव हुन्छ,’उम्मेदवार राईले भने,‘एमालेको तरल मतदाताहरु धेरै छ, जोसँग मेरो व्यक्तिगत चिनजानी, नातागोता र सम्पर्क सम्बन्ध छ, र उहाँहरुले सहानुभूति, सदभावको हिसाबले हेरिरहनुभएको छ । राजनीतिमा लागेको ४ दशक बढी मेरो अनुभवलाई मतदाताहरुले सदुपयोग गर्न चाहिरहनुभएको छ ।’
फोरम उम्मेदवार राईले कांग्रेसको मत पाउने ढुक्का भएपनि कांग्रेसीहरुको मन जित्नु उनको लागि त्यो चुनौती हुनेछ । सुनसरी १(बिशेष धरान) मा कांग्रेसीहरुभित्रै चर्को बेमेल छ । विगतमा आफ्नै पार्टीको उम्मेद्वारलाई हराउने कांग्रेसीहरु गठबन्धनको नाममा ‘पाहुना उम्मेदवार’लाई भोट हाल्न नसकिने बताउने गरेका छन् । खोटाङ गृहजिल्ला भएका नेता राई २०४८ र ०५१ सालमा एमालेबाट खोटाङ जिल्लाबाट संसदमा निवार्चित भएका थिए । २०६४ मा भने उदयपुरबाट पराजित भए । २०६९ मा संघीय समाजवादी पार्टी खोलेका उनी २०७० मा भने समानुपातिकतर्फबाट सभासद बनेका थिए । उनले २०७१ जेठ ३२ गते उपेन्द्र यादवको मधेशी जनाधिकर फोरमसँग पार्टी एकता गरी संघीय समाजवादी फोरममा वरिष्ठ नेता बने ।
बाम गठबन्धनका उम्मेदवार राई पनि शुरुदेखि आफ्नै ठाउँमा राजनीति गरेर जनताको दुःख, सुखमा साथ दिएकोले मतदाताले आफुलाई भोट दिनेमा उनी बताउछन् । एमाले(बाम) पाकड क्षेत्र पनि भएकोले आफु जित्नेमा उनी ढुक्क छन् । ‘मेरो प्रतिस्पर्धी सम्मानित व्यक्ति हुनुहुन्छ, उहाँसँग चुनाव लड्नुपर्ला भनेर सोचेको थिइन । तर,हामी व्यक्ति लडेको होइ सिंगो पार्टी र हाम्रो एजेण्डाहरु लडेको हो,’बाम उम्मेदवार राईले भने,‘म शुरुदेखि यही ठाउँमा काम गरिरहेको छु, जनताको दुःख सुखमा साथै छु । बाम पडक क्षेत्र पनि हो र एमालेले संविधान निर्माणदेखि यो क्षेत्रमा जनताको पक्षमा, विकास र पुर्वाधारमा काम गरेकोले पनि मतदाताले जिताउनेमा ढुक्क छुँ ।’
क्षेत्र नं १ मा धरान उपमहानगरपालिकाको सबै २० वडा, बराह नगरपालिकाको १ देखि ५ वडा र रामधुनी भाषी नगरपालिको ६ र ७ वडा गाभिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ कुल १ लाख २२ हजार ६ सय ९१ मतदाता छन् । गएको स्थानीय निर्वाचनको मतपरिणाम हेर्ने हो भने यो क्षेत्रमा एमालेको ३० हजार, कांग्रेसको २४ हजार, माओवादी केन्द्रको १५ हजार र समाजवादी फोरमको ५ हजार हाराहारीमा मत रहेको छ । निर्वाचन क्षेत्र १(क)मा बाम गठबन्धनबाट एमालेकै प्रदिप भण्डारी र १(ख)मा एमाले नेता भिम आचार्य प्रदेश सभा सदस्यमा उम्मेदवार छन् । यस्तै, लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र न(क)मा कांग्रेसका किसोर राई र १(ख)मा बुद्धि कटवाल प्रदेशसभा सदस्यमा उम्मेद्वार छन् । क्षेत्र नं १(क)मा ६१ हजार ७ सय ५५ र १(ख)मा ६० हजार ९ सय ३६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
...........................................

                        प्रदेश राजधानीदेखि व्यापार केन्द्र बनाउने एजेण्डा

 लोकतान्त्रिक र बाम गठबन्धनका दुवै उम्मेदवारहरुले क्षेत्र नं १ लाई प्रदेश राजधानी बनाउन पहल गर्नेदेखि गुमेको व्यापारिक केन्द्रको खास फर्काउने, पर्यटन विकास र प्रर्वद्धन, भौतिक पुर्वाधारलाई जोडदिने चुनावी एजेण्डा अघि सारेका छन् । फोरम उम्मेदवार राईले आफु भ्रष्टचार नियन्त्रणमा प्रभावकारी भुमिका खेल्ने, मुलुकको विकासमा जलस्रोत, जमिन र जंगल, खानी, पर्यटन र मानव संसाधनको विकासलाई जोडदिएर नीतिक बनाउन सक्रिय भुमिका खेल्ने बताए । ‘यो क्षेत्रलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन, पर्यटन विकास गर्न र व्यापारीक केन्द्र बनाउन भुमिका खेल्नेछु,’उनले भने ।
बाम गठबन्धनका उम्मेदवार राई पनि स्थानीय सरकारसँग समन्वय गरेर पर्यटन विकास गर्ने र प्रदेश नं १ को राजधानी बनाउन भुमिका खेल्ने बताए । हावापानी, तराई र हिमाली जनतालाई उपयुक्त, यातायात एवं सडक सञ्जालले गर्दा सबै जिल्लाका जनतालाई सहज हुने भएकोले क्षेत्र नं १ प्रदेश राजधानी बनाउन ठिक हुने उनले बताए । ‘स्थानीय सरकारसँग सहकार्य गरेर एयरपोर्ट निर्माण र बसपार्क अघि बढाउने, खेलकुद विकासमा पुर्वाधार बनाउन पहल गर्ने, क्षेत्र १ मा गाभिएको गाविसलाई पुल र सडकले जोडन मेरो ध्यान केन्द्रीत हुनेछ, पुल बनाएर धरानसँग जोड्दा फेरी व्यापार गुल्जार हुन्छ,’उनले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे