लोकतान्त्रिक गठबन्धनको प्रतिवद्धता पत्र, भ्रष्टचारमुक्त सरकार र प्रदेशको राजधानी बनाउने पहल


धरान,कार्तिक २६ । लोकतान्त्रिक गठबन्धनमा रहेका सुनसरी निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा र प्रदेशसभामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालका प्रत्यक्षतर्फका उम्मेदवारहरुले आफ्नो संयुक्त प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । आइतबार सुनसरी उद्योग वाणिज्य संघमा संयुक्त पत्रकार सम्मेलन गर्दै भ्रष्टचारमुक्त, पारदर्शी, जनमुखी, विकास र सुशासनयुक्त केन्द्रीय र प्रादेशिक सरकार स्थापना गर्ने लक्ष्यसहितको प्रतिवद्धता पत्र लोकतान्त्रिक गठबन्धनले सार्वजनिक गरेको हो ।
सुनसरी क्षेत्र नं १ मा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभामा फोरमका वरिष्ठ नेता अशोक राई उम्मेदवार छन् भने प्रदेशसभा(क)मा कांग्रेसका किसोर राई र ख मा बुद्धिबहादुर कटवाल उम्मेद्वार छन् । संयुक्त प्रतिवद्धता पत्रमा भौतिक पुर्वाधार विकास, भौगोलिक वनावट र पर्यावरणीय दृष्टिकोणले धरान उपमहानगरसहितको क्षेत्र नं १ प्रादेशिक राजधानी बन्न उपयुक्त भएकोले प्रादेशिक राजधानी बनाउन पहल गर्ने कुरालाई प्राथमिकताका साथ राखिएको छ । यस्तै, सुकुम्बासीलाई सम्मानजनक धरानबासी बनाउन स्थानीय तहमा दर्ता भएको लागत रेकर्ड अनुसार स्थायी लालपुर्जा वितरण गर्ने र अत्याधुनिक डिजाइनसहितको सुविधा सम्पन्न बस्ती योजना कार्यान्वयनमा ल्याउने पनि उम्मेदवारहरुले जनाएका छन् ।
धरानलाई पर्यटकीय नगरीकोरुपमा विकास गर्न विजयपुर, बराहक्षेत्र, पाँचकन्या तथा विष्णुपादुका क्षेत्रको वृहत्तर विकास परियोजना तयार गरी धार्मिकस्थल पुर्वाधार प्राधिकरण बनाउने र भेडेटा, विष्णुपादुका, बराहक्षेत्रमा केबुलकार योजना ल्याउने पनि गठबन्धनको प्रतिवद्धता पत्रमा उल्लेख छ । विगत लामो समयदेखि पहल भइरहेको एयरपोर्ट निर्माण र सञ्चालन योजनालाई यथाशिघ्र सञ्चालनमा ल्याउने, बसपार्कलाई व्यवस्थित गरि आधुनिक, सुविधासम्पन्न एवं उदाहरणीय बसपार्क निर्माणको योजना कार्यान्वयनमा ल्याउने, ऐतिहासिक विजयपुरगढीको संरक्षण र प्रर्वद्धन गरेर निर्माणाधिन संग्रहालयलाई चाडे सम्पन्न गरेर विजयपुर दरबार क्षेत्रलाई जीवन्त संग्रहालयकोरुपमा विकास गर्ने पनि प्रतिवद्धतामा उल्लेख छ । खेल क्षेत्रको विकासको लागि खेलकुद एकेडेमी निर्माण गर्ने, खेल र खेलाडीमैत्री नीति ल्याउने, कला र साहित्य विकासको लागि प्रादेशिक प्रज्ञा प्रतिष्ठान निर्माण गर्ने, जनसहभागितामा विष्णुपादुका, भरौल, बक्लौरी र पञ्चकन्या क्षेत्रमा बिशेष कृर्षि योजना सञ्चालन गर्ने, युवालाई प्रोत्साहन दिई उद्यमशीलता र स्वरोजगारको प्रर्वद्धन गर्न युवा उद्यम चुनौती कोष स्थापना गर्ने पनि प्रतिवद्धता जनाइएको छ ।
प्रतिनिधि सभाका उम्मेदवार फोरमका नेता राईले आफुहरुले प्रतिवद्धता जनाएको कामहरु सतप्रतिशत कार्यान्वयन गर्ने बताए । एमाले र माओवादी केन्द्रबीच सत्ता, कुर्सीलाई केन्द्रमा राखेर बाम गठबन्धन गरेको आरोप लगाउदै उनले संविधानमा रहेको संघीयता, गणतन्त्र, लोकतन्त्र र समावेशीताको रक्षा गर्न लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको बताए । अढाई दशकसम्म क्षेत्र नं १ का जनताले एमालेलाई विश्वास सुम्पिए पनि कुनै उल्लेखनीय काम गर्न नसकेको बताउदै नेता राईले भने,‘यो क्षेत्रमा एमालेले अवसर पाउदा पनि केही काम गर्न सकेको छैन, अब मतदाताले विकल्प खोजेका छन्, र यो चुनावबाट मतदाताको आकांक्षा, सपना साकार हुनेछ ।’
प्रदेश सभा (क)मा कांग्रेसका उम्मेदवार रहेका किसोर राईले धरान र क्षेत्र नं १ मा जनताले पटक पटक भोट हालेर जिताएपनि नेतृत्वको सधै खडेरी महसुस गर्नुपरेको बताए । मतदाताको विकास, समृद्धि र एकताको भावनालाई जोडेर केन्द्रीय नेतृत्व गर्न विगतका जनप्रतिनिधिहरु असफल भएको भन्दै त्यसलाई यसपालीको लोकतान्त्रिक गठबन्धनले पुरा गर्ने उनको दाबी थियो । ‘यो क्षेत्रमा जुझारु, क्रियासिल र समपर्ण गर्ने नेतृत्वको खाँचो छ । विकास, समृद्धि र एकतावद्ध भएर पहल गर्ने नेतृत्व कहिल्यै पाउन सकिएन, त्यो नेतृत्वको कमी हामीले पुरा गछौं भनेर उम्मेदवारी दिएका हांै,’राईले भने । प्रदेशसभा(ख)का उम्मेदवार बुद्धिबहादुर कटवालले पनि सचेत मतदाताहरुले यसपाली राष्ट्रिय व्यक्तिवसहितको लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई जिताएर इतिहास रच्ने आशा व्यक्त गरे ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे