सुनसरी १ मा बाम गठबन्धनको घरदैलो शुरु, कांग्रेस-फोरम नमुना मतपत्र पर्खर्दै(फोटोफिचर)

धरान,कार्तिक २७ । गत असार १४ गतेको स्थानीय चुनावअघि एकअर्कालाई कटाक्ष गर्दै धरानका एमाले र माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु चुनावी प्रचारप्रसारमा हिड्थे । २०६४ र २०७० सालको दुवै संविधानसभा निर्वाचनमा पनि यस्तै तित्ततापुर्ण सम्बन्ध थियो । यस्तो लाग्थ्यो, यी दुई पार्टीमा कहिल्यै मेल हुदैन ।
सोमबार भने धरान उपमहानगरको वडा नं १५ मा विगतका एकअर्काको कटु व्यावहार र तित्ततापुर्ण सम्बन्ध बिर्सेर दुवै पार्टीका नेता, कार्यकर्ताहरु सँगै थिए । मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै एमाले र माओवादी केन्द्रबीच बाम गठबन्धन भएपछि नेपालको राजनीतिमा हलचल मच्चिएको छ । त्यसको प्रभावले विगतमा एकअर्काको कटु आलोचक गर्ने नेता, कार्यकर्ताहरुमा मित्रता गासिएको छ । मंसिर २१ को चुनावलाई लक्षित गरेर सोमबारदेखि एमाले र माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु सँगै भोट माग्दै घरदैलो अभियानमा निस्किएका छन् । एमाले र माओवादीका नेता, कार्यकर्ताहरु सँगै भोट माग्न आउदा मतदाताहरुले आश्चर्यसमेत मानेका छन् ।
धरान उपमहानगरपालिकासहित बराह नगरपालिकाको वडा १,२,३,४,५ र रामधुनी भाषी नगरपालिकाको वडा ६ र ७ सुनसरी निर्वाचन क्षेत्र नं १ मा पर्छ । यो क्षेत्रमा प्रतिनिधि र प्रदेशसभामा प्रत्यक्षतर्फ माओवादी केन्द्रको कसैको पनि उम्मेदवारी छैन । त्यसैले यो क्षेत्रमा प्रत्यक्षतर्फ माओवादीका नेता, कार्यकर्ताहरु एमालेको चुनाव चिह्नमा भोट हाल्न भन्दै मतदाताहरुलाई आग्रह गरिरहेका छन् । प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेदवार जयकुमार राई, प्रदेशसभा(क)मा प्रदिप भण्डारी र ख मा भिम आचार्य एमाले नेताहरु हुन् । ‘कसैलाई पनि भ्रम नहोस, जकुमार राई, प्रदिप भण्डारी एमालेको पनि उम्मेदवार हो, र माओवादीको पनि उम्मेदवार हो । उहाँहरु साझा उम्मेदवार हो । उहाँहरुको जित एमालेको जित हो, र माओवादीको पनि जित हो,’संयुक्त निर्वाचन परिचालन कार्यालय र घरदैलो अभियान उद्घाटनमा माओवादी नेता अइन्द्रबिक्रम बेघाले भने,‘प्रत्यक्षमा एमालेलाई भोट हाल्न लगाउने हो, समानुपातिकमा आआफ्नै चुनाव चिह्नमा भोट हाल्नुपर्छ ।’
मतदाताहरुको घरमा भोट माग्दै उम्मेदवारहरु हिड्न थालेपछिछ चुनावी रौनक शुरु भएको नेता, कार्यकर्ता र मतदाताहरुको भनाई छ । निर्वाचन मिति नजिकिदै गर्दा पनि धरान(निर्वाचन क्षेत्र १)मा चुनावी महौल नतातिएको चर्चा थियो । ‘पहिला झगडा गर्दै हिड्थे, अहिले मिलेका छन् । पार्टी, नेताहरु सधै यसरी नै मिलेर देश बनाउनुपर्छ,’धरान १५, कञ्चनलाइनकी गोमा खड्काले भनिन् । भोट माग्दै घरघरमा पुगेका प्रदेश सभा(क)का उम्मेदवार प्रदिप भण्डारीले उम्मेदवारहरु घरदैलोमा पुग्दा मतदाताहरु पनि उत्साहित भएको बताए । ‘बाम गठबन्धनले बहुमत ल्याएपछि ठोस नीति, कार्यक्रम लागु गर्न र दिगो विकाश, शान्ति हुन्छ,’मतदाताहरुलाई उनले भने ।
..........................................................

                                          कांग्रेस–फोरम मतपत्रसहित जाने

लोकतान्त्रिक गठबन्धनअन्र्तगको नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालले भने अझै घरदैलो अभियान शुरु गर्न सकेको छैन । नमुना मतपत्र आइ नपुगेको भन्दै दुवै पार्टीले घरदैलो शुरु नगरेको हो । आइतबार संयुक्त पत्रकार सम्मेलन गरेर प्रतिवद्धता पत्र सार्वजनिक गरेका लोकतान्त्रिक गठबन्धनले सोमबारदेखि घरदैलो गर्ने बताएको थियो । ‘नमुना पत्र आइपुगेन, त्यसैले तत्काललाई घरदैलो कार्यक्रम रोकेका छौं, तर हामीले सांगठनिक अन्य कामहरु भने गरि नै राखेका छौं,’गठबन्धनका सदस्य सचिव सुजेन्द्र तामाङले भने,‘समिति विस्तार, संयुक्त कार्यालय स्थापना, व्यक्तिगत र कार्यकर्ता भेटघाट भने जारी नै छ ।’
सुनसरी निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेस र समाजवादी फोरमबीच चुनावी तालमेल छ । यहाँ प्रतिनिधि सभा सदस्यमा कांग्रेसले फोरमका वरिष्ठ नेता अशोक राईलाई समर्थन गरेको छ भने प्रदेश सभा(क)मा कांग्रेसका उम्मेदवार किसोर राई र ख मा कांग्रेसका उम्मेवार बुद्धिबहादुर कटवाललाई फोरमले समर्थन जनाएको छ । ‘घरदैलोमा जादा मतदाताहरुलाई पनि सुसुचित हुने गरी नमुना मतपत्र सँगै लिएर जाने हाम्रो योजना हो, घरदैलोसँगै मतदाता शिक्षा पनि सँगै लिएर जान्छौं,’तामाङले भने,‘यसले मतपत्र धेरै बदर हुनबाट पनि जोगिन्छ । ढिलै काम गरौं, तर परिपक्क तयारी भएर गरौं भन्ने हो ।’










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे