धरानकै मतदाता भन्छन्,‘उपमहानगरबासी हुन सकेनौं’

धरान,मंसिर १० । साविक पाँचकन्या गाविस धरानमा गाभिएर उपमहानगरपालिकाको ४,५ र ६ वडामा विभाजन भएको छ । यी तीन वटामध्ये वडा नं ४ सबैभन्दा दुर्गम एवं विकड वडामा पर्छ । सेउती खोला पुर्व उत्तरमा रहेको यो वडाका अधिकतर भुभाग पहाडी क्षेत्रमा पर्छ । त्यसैले यो ठाउँका बासिन्दाहरुको एउटै माग छ, पक्की सडक र यातायातको सुविधा ।
गाविस धरानमा गाभिएर उपमहानगरपालिका भएको पनि ४ बर्ष बितिसक्यो, तर अझै पनि यो क्षेत्रका बासिन्दाले शहर अथवा उपमहानगरबासी भएको अनुभूति गर्न नपाएको गुनासो गर्छन् । २०४६ साल यता देशमा धेरै राजनीतिक उतारचढाव र परिवर्तनहरु भएपनि दुर्गम यो क्षेत्रको अवस्थामा धेरै परितर्वन आउन सकेको छैन । विकट यो क्षेत्रमा दानावारी, हर्दिया,ढाडे, शिवजट्टा कालीमाटी, पत्राङबारीजस्ता गाउँ वस्ती छन् । चुनावअघि विभिन्न आश्वासन दिदै भोट माग्न आउने नेताहरु पछि भने हत्तपत्त गाउँमा पाइला नटेक्ने भन्दै गाउँलेहरु निराश देखिन्छन् । ‘सोचे जस्तो हाम्रो गाउँको विकास हुन सकेको छैन । यो क्षेत्रमा मुख्य गरी सडकको आवश्यकता छ । कृर्षि उत्पादनलाई शहरमा पुर्याएर बिक्री गर्न पाउदा आर्थिक उन्नति हुन्थ्यो,’धरान ४,शिवजट्ट कालीमाटीका प्रेमलाल राई भन्छन्,‘४ बर्षभइसक्यो हामी उपमहानगरबासी भएको, तर तल्लो पानबारी क्षेत्रमा जस्तो यता विकास हुन सकेन ।’
वडा ४ मा पर्ने माथिल्लो भेग भन्दा वडा ५ केही र वडा ६ सुगम क्षेत्रमा पर्छ । यी वडाका देउराली, ठिंगाबारी, पानबारी क्षेत्रमा सडक, पुल, खानेपानी, सिचाई, सञ्चार, शिक्षालगायत विकासका कामहरु बढी केन्द्रीत छन् । यी दुवै वडा पनि साविक पाँचकन्या गाविसअन्र्तगतकै हुन् । माथिल्लो भेगका जनताहरु आफुहरुलाई नेताहरुले नै उपेक्षित गरेको गुनासो गर्छन् । राईले थप्दै भने,‘भोट माग्न आउदा गछौं भन्छन्,तर तल्लो भेगले मौकामा विकास जति पेलेर लैजान्छ, हामी सधै उपेक्षित भयौं ।’ हुन त कन्यापोखरी, ढाडे, तेलनपुर हुदै दानबारी, हर्दिया, पत्राङबारी हुदै धरान जोड्ने बाटो कतै स्तरोन्नती हुदैछ भने कतै निर्माणाधिन अवस्थामा छ । धरान बजारदेखि हर्दिया, दानबारी क्षेत्रको बाटोमा अहिले एउटा मात्र भएपनि ढुवानीको गाडी चल्छ । तर, कच्ची बाटोमा एउटा मात्र गाडी चल्दा गाउँले किसानहरु ज्यादै समस्यामा पर्ने गरेको स्थानीय बताउँछन् । ‘हामीलाई विकास ल्याउने मान्छो चाहियो । सडक राम्रो भयो भने गाडी धेरै चल्थ्यो, र उब्जनी भएको तरकारी शहरतिर छिटो छिटो लैजान पाउथ्यौं,’स्थानीय टंकबहादुर राई भन्छन्,‘पानी हुदा उब्जनी धेरै हुन्छ, अनि त गाउँको विकास आफै हुन्थ्यो ।’
सुनसरी निर्वाचन क्षेत्र नं १ मा पर्ने यो विकट पहाडी क्षेत्रमा बाटोको ट्रयाक खुलेपनि स्तरोन्नती र कालोपत्रे सडक स्थानीयको प्रमुख माग छन् । यस्तै, ठाउँ ठाउँको वस्तीमा खानेपानी पनि प्रमुख चुनावी माग छ । विद्यालयको भौतिक पुर्वाधार निर्माण, पर्यटकीय सम्भावना बोकेको क्षेत्रहरुको प्रर्वद्धन एवं प्रचार गरेर केन्द्र बनाउनुपर्ने पनि स्थानीयहरुको भनाई छ । कृर्षि र पर्यटन केन्द्रको प्रचुर सम्भावना भएकोले त्यसतर्फ ध्यान दिनुपर्ने स्थानीयहरुको भनाई छ । यो क्षेत्रमा शिवजट्टा, गढी थुम्की मन्दिर जस्तो ऐतिहासिक धार्मिक ठाउँ छ भने धरानसँगै तराईको मनोरम दृष्यावलोकन गर्न सकिने सुन्दर ठाउँ दानाबारी पनि छ । मंसिर २१ गतेको संविधानसभा र प्रदेशसभा निर्वाचन नजिकिएकोले बाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु भोट माग्दै यो क्षेत्रमा पुगिसकेका छन् भने स्थानीयको माग वमोजिम आश्वासन पनि दिइसकेका छन् । प्रतिनिधिसभाका बाम उम्मेदवार जयकुमार राई र प्रदेशसभा १(क)का उम्मेदवार प्रदिप भण्डारी साथै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अशोक राई र प्रदेशसभा १(क)का उम्मेदवार किसोर राई पनि यो पहाडी क्षेत्रमा पुगिसकेका छन् ।
यो क्षेत्रमा हरेकपटक बामपन्थीहरुले जित्दै आएको हो । सधै एमाले र बामपन्थीहरुले जित्दै आएको क्षेत्र भएकोले विकास हुन नसकेको भन्दै कांग्रेस, समाजवादी फोरमको गठबन्धनले भोट तान्ने प्रयास गरिरहेको छ । एमाले र माओवादीको बाम गठबन्धन भने कहिल्यै पनि बहुमतको स्थायी सरकार नहुदा दिगोरुपमा विकासको काम गर्न नसकेकोले नै यसाली बहुमत ल्याउन संयुक्त बाम गठबन्धन बनेर आएकोले जिताउन भन्दै मतदातासम्म पुगिरहेको छ । यसअघिका एमाले सांसद र सभासदकै पहलमा बाटोको ट्रयाक खोलिएको र धरानदेखि कन्यापोखरीसम्म जोड्न पहल भइरहेको, खानेपानी व्यवस्थापन गरिएको उम्मेदवार जयकुमार राई बताउछन् । सुनसरी क्षेत्र नं १ मा २०४८ सालमा एमालेबाट मनमोहन अधिकारी, २०५१ मा लिला श्रेष्ठ सुब्बा, २०५६ मा कुन्ता शर्माले जितिन् भने २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन एमाओवादीबाट किरण राईले जिते । पुनः २०७० को संविधानसभा निर्वाचनमा एमालेका कृष्णकुमार राईले पनि यही क्षेत्रमा जिते । स्थानीय तह निर्वाचनमा पनि एमालेले सधै जित्दै आएको ठाउँ हो ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे