पर्यटनले फेरिएको गाउँ नाम्जे

धरान,मंसिर १० । करिब पाँच बर्षअघिसम्म भेडेटार ७, नाम्जे(हाल सागुरीगढी गाउपालिका)की मतिमाया मगरको परिवारलाई बेलाबखत छरछिमेकसँग ऋण लिनुपर्ने बाध्यता थियो । छरछिमेकको अवस्था पनि उस्तै । आर्थिक समस्या आइपर्दा उनीहरु एकआपसमा भर पर्थे ।
आफ्नै बारीमा त प्रशस्तै तरकारी उब्जाउ हुन्थ्यो, तर ती हरियो सब्जी एव तरकारीलाई बिक्री गर्न धरान बजार पुर्याउनुपथ्र्यो । बिक्रीबाट आएको आम्दानीले घर खर्च चलाउन हम्मे पथ्र्यो । अहिलेको अवस्था बेग्लै छ । मतिमाया र उनका छरछिमेकीलाई पहिला जस्तो आर्थिक संकट छैन । घरपरिवार चलाउन पनि उनीहरुले विगतमा जस्तो ऋण खोजी हिड्नु पर्दैन । उनको घरमा दिनहँु जसो पाहुना आउँछन् । पाहुना आउदा त उनीहरु औधी खुशी हुन्छन् । पाहुनाको स्वागत सत्कार गर्दैमा उनीहरुलाई फुर्सद हुन्न ।
घरमा आएका नौला पाहुना मतिमाया र छरछिमेकको लागि आम्दानीको स्रोत हुन् । त्यसैले उनीहरु ह्ृदय खोलेर ती पाहुनाहरुको स्वागत गर्छन् । उनको बारीमा उत्पादन भएको अधिकांश तरकारी र फलफुल पनि बोटमै बिक्री हुन्छ । पहिला जस्तो धरान पुर्याउन पर्दैन । पाहुनालाई के खुवाउदा खुशी हुन्छन्, उनी त्यसप्रति सचेत हुन्छिन् । पाहुना रातमा बस्ने हुन् कि होइनन्, बस्दा कति जना बस्छन्, यी कुराहरुमा उनको चासो हुन्छ । खासमा मतिमायाले घरमा होम स्टे(घरबास) सञ्चालन गरेकी छिन् । होम स्टेकै कारण उनको आर्थिक अवस्थामा यस्तो सुधार आएको हो । ‘आम्दानी राम्रै छ, पहिला जस्तो घरखर्च चलाउन ऋणपान गर्नुपरेको छैन’–खुशी हुदै उनले भनिन्–‘होम स्टे शुरु गरेपछि धेरै सजिलो भएको हो । पाहुनाहरु आएर बारीमा नै तरकारी किनेर लैजानुहुन्छ ।’
पुर्वको चर्चित पर्यटकीयस्थल भेडेटारभन्दा करिब ४ किलोमिटर दुरीमा रहेर पनि नाम्जे गाउँ लामो समयसम्म पर्यटकहरुको आँखामा पर्न सकेको थिएन । तर, २०६८ सालमा अमेरिकी समाचार संस्था सिएनएले पुग्नैपर्ने विश्वको १२ औं गन्तव्यको सुचीमा राखेपछि भने नाम्जे गाउँ नेपालमा मात्र होइन, विश्वभर चर्चित भयो । सिएनएनले थुम्की डाँडास्थित अनौठोको आत्माबस्ने घर, हरदम चिसो वातावरण, अग्र्यानिक खेती र होम स्टेबारे चर्चा गरेको थियो । जसले गर्दा नाम्जे गाउँ पर्यटकहरुको नजरमा पर्यो, र देश विदेशबाट पर्यटकहरु नाम्जे गाउँमा आउन थाले । त्यसपछि मात्र स्थानीयले पर्यटन र होम स्टेको महत्व बुझेको होम स्टे व्यवस्थापन समितिका अध्यक्ष अनिल राना मगर बताउँछन् । ‘०६८ सालसम्म हामीलाई होम स्टेबारे केही थाह थिएन, सिएनएनले प्रचार गरेपछि मात्र पर्यटकहरु खोज्दै आए । अनिमात्र हामीले शुरु ग¥यौं’–अध्यक्ष राना मगर भन्छन्–‘यसले हाम्रो जिविकोपार्जनमा धेरै सहयोग पुगेको छ । पर्यटक पाहुनाहरु आएर बस्नुहुन्छ, र हाम्रो खेतबारीबाट नै ताजा तरकारी, फुलफुल किनेर लैजानुहुन्छ ।’
भेडेटार बजारदेखि ४ किलोमिटर पुर्वमा अवस्थित छ नाम्जे । सय भन्दा बढी घरधुरी मध्ये ७ नम्बर वडाका ३२ घरधुरीले पञ्चकन्या कृषक समुह बनाएका थिए । समुहको अगुवाईमा यहाँ अग्र्यानिक खेती हुन्छ । त्यसमध्ये ०६९ सालमा १९ घरमा होम स्टेको अभ्यास भएको थियो । अहिले करिब १७ घरमा नियमित होम स्टे सञ्चालनमा छ । पर्यटकहरु घरमा बस्छन् । जे पाक्छ, त्यही खान्छन् । बसेको र खाएको पैसा तिर्छन् । त्यति मात्र होइन, बारीको हरियो तरकारी र फलफुल किनेर पनि लैजान्छन् । स्थानीयका अनुसार होम स्टे शुरु गरेपछि बर्षमा सरदर एकदेखि डेढ लाख रुपैया चोखो नाफा हुन्छ । ‘साग, सब्जी, फलफुल बेच्न पनि पहिला धरान पुग्नुपथ्र्यो, अचेल पाहुनाहरुले घरघरैबाट किनेर लगिदिनुहुन्छ’–पुर्व गाविस अध्यक्षसमेत रहेका मगरले भने–‘घरमै बसिबसि आम्दानी भएको छ ।’ उनका अनुसार ५० प्रतिशत बढी उत्पादन पर्यटकहरुले नै किनेर लैजान्छन् ।
पर्यटकहरुले खानासँग लोकल कुखुराको सुप पनि पाउछन् । यसको मुल्य अन्य होटलमा भन्दा सस्तो छ । बास बस्दा पनि होटलमा जस्तो महंगो पर्दैन । मौषम अनुसारको फलफुल र भुटेको मकै, भटमास, गुन्द्रुकको अचार यहाँ पर्यटकलाई दिइने खाजा हो । पाहुनाले अर्डर गरेअनुसार सिस्नु, ढेडो पनि बन्छ । उनीहरु बाडिचुडी पाहुना घरमा राख्छन् । शनिबार छुट्टि हुने भएकोले प्रायःजसो शुक्रबार नाम्जेमा पर्यटकहरुको घुइचो हुन्छ । शुक्रबारको रात यहाँ बस्ने ठाउँ नै पाउन गाह्रो हुन्छ । कुल पर्यटकहरुमध्ये ५ प्रतिशत मात्र विदेशी पर्यटक आउछन् । धरान, इटहरीसँगै गर्मी ठाउँ विराटनगरतिरबाट धेरै पाहुना आउने गरेका छन् ।

                   चेतनास्तरमा पनि सुधार

गाउँमा पर्यटकहरु भित्रिन थालेपछि नाम्जेको आर्थिक अवस्थामा मात्र सुधार भएको छैन, चेतनास्तरमा पनि धेरै सुधार भएको छ । पर्यटकहरु आउन थालेपछि गाउँलेहरुले आफ्नो घरआगन सफा र चिटिक्क पार्छन् । बाटो सफा भएको छ, आँगनमा फुलबारीले सजिएको छ । बाथरुम र ट्वाइलेटको प्रबन्ध गरेका छन् । गाउँलेहरुमा पर्यटनमैत्री व्यावहारको विकास भएको छ ।
मन्त्रालयका उच्च अधिकारीहरुदेखि एनजिओ, आइएनजिओका प्रमुख, व्यापारी, व्यावसायी, नेताहरु सबै आएर बसिसकेका छन् । जसले गर्दा गाउँलेहरुमा धेरै ज्ञान पनि वृद्धि भएको छ । हरेक किसिमका पाहुना आउदा पनि गाउँलेहरुले नयाँ नयाँ आइडिया र योजनाहरुबारे खुराक पाउछन् । ‘पाहुनाहरुले हरेक किसिकमा आइडिया दिनुहुन्छ, नयाँ ज्ञानहरु पाउछौं’–अध्यक्ष मगरले भने–‘विकास पुर्वाधार, सरसफाई, मेलमिलाप र योजनाहरुबारे धेरै जानकारी पाइराखेका छांैं ।’
........................................

                  नाम्जेको बिशेषता

नाम्जेमा पुर्वेली मगर जातिको बाहुल्यता छ । हुर्रा नाच पुर्वेली मगरहरुको मात्र मौलिक सँस्कृति हो । होम स्टेमा बसेपछि हुर्रा नाच पनि सशुल्क हेर्न पाइन्छ । कृषक समुहको ३२ घरपरिवारले हुर्रा नाचेर पर्यटक, पाहुनालाई मनोरञ्जन दिलाउनछन् । यसवापतको दक्षिणा दिनुपर्छ । यो समुहले नै राख्ने गरेको छ । मौलिक मगर पहिरनमा युवायुवतीहरु हात समातेर गोलाकार भई हुर्रा हा..हा..को तालमा नाच्दा पर्यटकहरु पनि चुपलागेर बस्न सक्दैनन् । उनीहरु पनि कलाकारहरुसँगै नाच्छन् ।
नाम्जेको अर्को बिशेषता भनेको यहाँको प्रकृति, हावापानी हो । भेडेटारमा जस्तै यहाँ पनि हरदम चिसो मौषम हुन्छ । बादलुले लुकामारी खेलिरहन्छ । नाम्जेको अर्को आर्कषण भनेको आत्माघर हो । ढुंगैढुंगाको अनौठो संरचनामा बनेको छ, आत्मा बस्ने घर । अमेरिकी आर्किटेकहरुले निर्माण गरिदिएका हुन् । थुम्की डाँडामा रहेका मगर जातिका पुर्खाहरुको १ सय १३ वटा चिहान भत्काउदा निस्केको ढुंगाले बनेको पुर्खाहरुको स्मृतिस्थल नै आत्माबस्ने घर हो । अमेरिकीहरुले यो संरचना १२ दिन लगाएर बनाएका थिए । थुम्की डाँडाबाट आकाश खुलेको समयमा बिहान समगरमाथा, मकालु, कञ्चनजंघा हिमाल र तराईको मनोरम दृष्यहरुको अवलोकन गर्न सकिन्छ । साँझमा सुर्यास्तको दृष्यले पनि पर्यटकहरुको मन लोभ्याउछ ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे