पुष पहिलो साता पुष्प प्रर्दशनी

धरान,मंसिर १० । पुष्प व्यावसायको प्रर्वद्धन गर्ने उद्देश्यले आगामी पुष पहिलो सातादेखि धरानमा ५ दिने दोस्रो पुष्प प्रर्दशनी आयोजना हुने भएको छ ।
फ्लोरीकल्चर एशोसिएशन नेपालको सुनसरी शाखाले आइतबार पत्रकार सम्मेलन गर्दै पुष ७ देखि ११ गतेसम्म पुष्प प्रर्दशनी गर्ने जानकारी दिएको हो । अहिलेसम्म गत बर्ष आयोजना भएको धरान १२ स्थित अमान बजार प्रर्दशनीस्थल हुने भनिएपनि पछि स्थान अभाव भएमा अन्यत्र सार्न सकिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । एशोसिएशनका जिल्ला सचिव प्रेमप्रसाद पराजुलीले गत बर्षभन्दा यस बर्ष व्यवस्थित र भव्यढंगले प्रर्दशनी आयोजना हुनेछ । गत बर्ष फागुन २३, २४ र २५ गते भएको प्रर्दशनीमा ४० लाख बढीको करोबार भएको थियो । ‘गत बर्ष अफ सिजन थियो, तर पनि त्यतिको कारोबार हुदा हामी ज्यादै उत्साहित भयौं,’सचिव पराजुलीले भने,‘यसपाली अझ व्यवस्थितढंगले आयोजना गछौं, र भव्य गछौं ।’
आयोजकका अनुसार गत बर्ष १८ पुष्प व्यावसायीका २१ वटा स्टल राखिएको थियो । यसपाली ३० भन्दा बढी स्टल प्रर्दशनीस्थलमा हुने आयोजक संस्थाले जनाएको छ । ती स्टलहरुमा विभिन्न सय भन्दा बढी प्रजातिका फुलहरु प्रर्दशनी एवं बिक्रीमा राखिने अध्यक्ष खगेन्द्र पोखरेलले जानकारी दिए । ‘प्रर्दशनीमा फुलहरु मात्र हुदैन, पुष्पप्रेमीहरुलाई आवश्यक पर्ने मलखाद, औजार र बीऊबीजन पनि राख्छौं । आवश्यक परामर्शको लागि परामर्श केन्द्र पनि हुन्छ,’अध्यक्ष पराजुलीले भने । आयोजकले यसपाली १ करोड भन्दा बढीको कारोबार गर्ने लक्ष्य लिएको छ । फुलको सिजन भएकोले पनि यो लक्ष्य पुरा हुने आयोजकको दाबी गछ । गत बर्ष अफ सिजनमा आयोजना गर्दा पनि धरानका पुष्पप्रेमीहरु प्रर्दशनीस्थलमा ओइरिएका थिए भने ४० लाख बढीको कारोबार हुन सकेको थियो ।
प्रर्दशनीमा सुनसरी, धनकुटा, तेह्रथुम, इलाम, भोजपुर,झापा, मोरङलगायत विभिन्न जिल्लाका व्यावसायीहरु सहभागी हुनेछन् । प्रर्दशनीमा अर्किड, ब्रम्हलिड, देन्थस, मेरीगोल्ड, गजनीया, साल्भिया, लिलियम, बगमबेली, क्यामेलियालगायत विभिन्न सय बढी प्रजातिका फुलहरुले अवलोकनकर्ताहरुाई आकर्षित गर्नेछ । ‘फुल हेर्न आउछन्, हेरेपछि मन पर्छ र किनेर घरमा रोप्छन् । पुष्प मेला, प्रर्दशनीले ग्राहक, व्यावसायीहरुलाई ज्ञान पनि दिलाउछ । हामीलाई उत्साह पनि दिन्छ,’सचिव पराजुलीले भने । प्रर्दशनीमा सकेसम्म सर्वसाधारणहरुलाई सुलभ मुल्यमा उपलब्ध गराउन प्रयास गर्ने आयोजकले जनाएको छ । प्रर्दशनीमा कम्तीमा १० रुपैयादेखि ३ लाखसम्म पर्ने फुलहरु राखिने बताइएको छ ।
प्रर्दशनीमा कुल ८ लाख ५५ हजार खर्च लाग्ने अनुमान गरिएको छ । प्रर्दशनीमा सहभागी व्यावसायीहरुको उत्कृष्ट स्टललाई नगदसहित पुरस्कृत पनि गरिने आयोजकले जनाएको छ । गत बर्ष मोरंगको दिपेश नर्सरी प्रथम, झापाको महादेव नर्सरी दोस्रो र धरान नर्सरी तेस्रो भएको थियो । फुल सौन्दर्यको लागि मात्र नभई सामान्य लगानीबाट व्यावसायी बन्न सकिने, कलात्मक सिपको विकास, बोटविरुवा तथा वातावरणप्रति प्रेम भावना र पर्यटन प्रर्वद्धनमा पनि टेवा पुग्ने एशोसिएशनको भनाई छ । एशोसिएशनले खाली स्थान, पार्क, सार्वजनिकस्थल, सडक किनारका साथै विष्णुपादुका तथा पाँचकन्या क्षेत्रमा पुष्प उत्पादन केन्द्रको विकास गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे