विष्णुपादुकाबासी भन्छन्,‘सर्दुमा पुल, पक्की सडक र टावर चाहियो’


धरान,मंसिर १० । प्रविधिको तीब्र विकासले गाउँ गाउँमा सहज सञ्चार सुविधा पुगिसके पनि धरान उपमहानगरको वडा नं  २०(साविक विष्णुपादुका गाविस)मा भने मोवाइलको नेटवर्क राम्रो लाग्दैन । मोवाइलमा कुराकानी हुदाहुदै सम्पर्क विच्छेद भइरहन्छ ।
त्यतिमात्र कहाँ हो र, प्रदेश नं १ को दुई मध्ये एक आधुनिक उपमहानगर धरानको वडा भएरपनि साविक विष्णुपादुकामा सय मिटर पनि पक्की सडक हुन सकेको छैन । ग्रामिण सडकमा बर्खामा ढुवानीको साधन गुड्न सक्दैन । बषौंदेखि सर्दु खोलामा पक्की पुलको चाहना राखेपनि स्थानीयबासी अझै पनि बर्खायाममा बाढीमा हेलिदै जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । पक्की सडक, सर्दुमा पुल र सञ्चार(टेलिफोन टावर) विष्णुपादुकाबासीको प्रमुख समस्या हो । गाउँमा खानेपानी, स्वास्थ्य, सुरक्षा, शिक्षाका समस्याहरु पनि नभएको होइन । तर, प्रत्येक निर्वाचनमा स्थानीयहरु सडक, पुल र सञ्चारलाई नै प्रमुख एजेण्डा(माग)कोरुपमा उठाउछन् । यद्यपी, उनीहरुको विकासका यी माग भने अझै पुरा हुन सकेको छैन । निर्वाचनअघि भने उम्मेदवारहरु स्थानीयबासीलाई आश्वासन भने बाडिनै रहेका हुन्छन् ।
धरान २०, भालढुंगा गाउँका युवा दिवस बलाखाम राई गाउँघरमा धेरै समस्याहरु भएपनि पुल, सडक र सञ्चार गाउँलेको मुख्य आवश्यकता भएको बताउँछन् । निर्वाचन अघि विकासका अन्य एजेण्डाहरु भन्दा यी तीन एजेण्डा नै गाउँलेको प्राथमिकतामा पर्ने उनको भनाई छ । ‘ठुलो समस्या सर्दुमा पुल नहुनु हो । बाटोको ट्रयाक खुलेको छ, तर पक्की छैन स्तरोन्नती हुनुपर्छ । टेलिफोनको टावर नहुदा सञ्चार सम्पर्कबाट टाढा हुनुपरेको छ,’उनी भन्छन्,‘पहिला जस्तै अहिले पनि हाम्रो यही मुख्य माग हुन्छ ।’ विष्णुपादुका तीन बर्षअघिसम्म अलग्गै गाविसकोरुपमा थियो । धरानमा गाभिएर उपमहानगरपालिका भएपछि वडाबासीहरुले आफ्ना समस्या र आवश्यकताहरु धेरै पुरा हुने आशा गरेका थिए । तर, गाविस हुदा र उपमहानगर हुदामा उनीहरुले कुनै अन्तर पाएका छैनन् । पहिलाको गाविस अहिले धरानको एउटा वडा(२०)मा परिणत भएको छ ।
पुर्वगाविस अध्यक्षसमेत रहेका हाल वडा २० का अध्यक्ष मणिराम राई सुगम जिल्लाको दुर्गम र पिछडिएको क्षेत्रकोरुपमा विष्णुपादुका रहेको बताउछन् । पर्यटकीय विकासको प्रचुर सम्भावना रहेर पनि पुल, सडक, यातायात, सञ्चारजस्ता असुविधाले उपमहानगर भएको महसुस हुन सकेको उनी स्वीकार गर्छन् । ‘लामो समयपछि जनप्रतिनिधि आएका छौं, स्थानीय सरकार बनेकोछ र आफ्नै प्रदेशमा सरकार बनेपछि अब पक्कै हाम्रो आवश्यकताहरु पुरा हुन्छ भन्ने आशा बोकेका छौं,’अध्यक्ष राईले भने,‘उम्मेदवारहरु पनि हाम्रो मागलाई पुरा गर्ने आश्वासन दिइरहेका छन् ।’
सुनसरीको निर्वाचन क्षेत्र नं १ मा पर्ने यो क्षेत्रबाट २०६४ र २०७० को संविधानसभा निर्वाचनमा लगातार एमालेका प्रभावशाली नेता भिम आचार्य निर्वाचित भएका थिए । एमाले केन्द्रीय सचिव तथा प्रदेश नं १ संयोजक रहेका आचार्य अहिले मुख्य मन्त्री बन्ने लक्ष्य लिएर प्रदेशसभा(ख)को उम्मेदवार छन् । उनका प्रतिद्धन्दी उम्मेदवारले भने जितेर गएपछि आचार्यले आप्mनो क्षेत्र र मतदातालाई बिर्सेको आरोप लगाउने गरेको छ । ‘उहाँले २ पटक जित्नुभयो, तर आफ्नो क्षेत्रको लागि केही पनि गर्नुभएको छैन, यो क्षेत्रका जनताले राम्ररी बुझेका छन्, र यसपाली विवेक पुर्याएर भोट दिनेछन्,’आचार्यको प्रतिद्धन्दी रहेका लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा(ख)का उम्मेदवार बुद्धिबहादुर कटवालले भने ।
आचार्य भने संविधान निर्माण गर्नुपर्ने मुख्य कार्यभार र राजनीतिक अस्थिरता, सरकार परिवर्तन भइरहने कारणले जनअपेक्षाअनुसार काम हुन नसकेको बताउछन् । तरपनि, आफुले चुनाव जित्नुअघि र पछि सडक पुर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतमा आफ्नो क्षेत्रमा धेरै कामहरु भएको उनको दाबी छ । ‘संविधान लेखन मुख्य जिम्मेवारी भएर पनि आप्mनो क्षेत्रको विकासमा ध्यान नदिएको होइन । बाटो, खानेपानी, भौतिक पुर्वाधार, विष्णुपादुका मन्दिर व्यवस्थापन, विजुलीमा बर्षेनी बजेट ल्याएको थिएँ । सरकार फेरिएको फेरिएकै हुदा पनि समस्या भयो । अब संविधान आइसकेकोले प्रदेश, केन्द्रमा स्थिर सरकार बनेपछि जनताले चाहेको विकास हुन्छ,’आचार्यले भने । बाम गठबन्धनबाट क्षेत्र नं १ का उम्मेदवार जयकुमार राईलाई लिएर उनी विष्णुपादुकामा पुनः भोट माग्दै पुगिसकेका छन् । विष्णुपादुकाबासीहरुले उम्मेदवारसँग सधै झैं सर्दुमा पुल, सडक स्तरोन्नती, टावर, खानेपानीलगायत विकासे माग नै गरेका थिए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे