दृष्टिविहिन पढ्ने विद्यालयमा राजनीति, शिक्षक/ शिक्षिकाको आन्दोलन, नेवि संघको ताला, विद्यार्थीहरु भने आक्रोशित

धरान,साउन २५ । दृष्टिविहिन विद्यार्थीहरु पढ्ने धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा प्रअ अवकाश हुने समय नजिकिएपछि राजनैतिक हस्तक्षेप एवं चलखेल बढेको छ । त्यही कार्यरत ६ जना शिक्षक एवं शिक्षिकाले प्रअको राजिनामा माग गर्दै पढाउन छोडेको घटना अन्ततः राजनीतिकरण हुन पुगेको छ ।
आन्दोलन शिक्षकहरुको माग पुरा नभएको भन्दै मंगलबार विदाको समय पारेर कांग्रेसको भातृसंगठन नेवि संघ क्षेत्रीय समितिले विद्यालयको प्रशासन र लेखा फाँटमा तालाबन्दी गरेको छ । आन्दोलनरत शिक्षकहरुको नेतृत्वमा ताला लगाउन आएको थाह पाएपछि दृष्टिविहिन विद्यार्थीहरुले विरोध गर्दै नाराबाजी गरेका थिए । पढाउन छोडेर राजनीति गरेको र विद्यालयमा बाहिरी हस्तक्षेप निम्त्याएर शैक्षिक वातावरण विगारेको भन्दै आन्दोलनरत शिक्षक, शिक्षिकाहरुप्रति विद्यार्थीहरु आक्रोशित छन् । यसअघि पनि आन्दोलनरत शिक्षक, शिक्षिकाहरुले ताला लगाएर धर्नामा बस्ने प्रयास गरेपनि विद्यार्थीहरुकै विरोधको कारण रोकिएको थियो । मंगलबार भने विदाको समयमा नेविसंघका कार्यकर्ताहरुले बिहान करिब ११ बजेतिर ताला लगाएको हो ।
प्रअ केशरी थापाले विभेद एवं अन्याय गरेको, विगतको सहमति कार्यान्वयन नगरेकोलगायत आरोप लगाउदै २ जना करारसहित ६ शिक्षक, शिक्षिकाहरु आन्दोलनमा छन् । साउन १० गते विद्यालयमा हाजिर गरेर हिडेका ती शिक्षक,शिक्षिकाहरु त्यसपछि पढाउन नआएको विद्यालय प्रशासनले जनाएको छ । प्रअ थापा मंसिर १७ गतेदेखि अवकाश हुनेछिन् । आन्दोलन गर्नेहरुमा करार शिक्षकद्धय प्रकाश कार्की र तुलसी तिम्सिना हुन् भने अन्यमा सुशिला थापा, डोल्मा योञ्जन, विद्या शाक्य र सीता कार्की छन् । करार शिक्षक कार्की पार्टटाइम शिक्षककोरुपमा प्रवेश पाएका थिए भने तिम्सिना परीक्षणकालमा रहेका शिक्षक हुन् । करार शिक्षक कार्कीलाई प्रक्रिया पुर्याएर नियुक्ती गर्ने प्रयास थालेपछि विवाद शुरु भएको थियो । उनकै नेतृत्वमा शिक्षक, शिक्षिका आन्दोलनमा छन् । उनी नेपाली कांग्रेस समर्थित शिक्षक हुन् । आन्दोलनरत शिक्षक, शिक्षिकाहरु जिल्ला शिक्षा कार्यालय र धरान उपमहानगरपालिकामा पनि धर्नामा बसेपनि माग पुरा नभए पछि राजनीतिक दलहरुसँग लविङ गरेका थिए ।
पुर्वमा यो एक मात्र दृृष्टिविहिन विद्यार्थी पढ्ने विद्यालय हो । भौतिक पुर्वाधार र शैक्षिक गुणस्तरले गर्दा यो विद्यालयलाई नेपालकै नमुना बिषेश विद्यालयकोरुपमा मानिन्छ । कक्षा १० मा अध्ययनरत विद्यार्थी मिङ्मा भोटेले विदाको समयमा बाहिरका मान्छेहरु ल्याएर जर्बजस्ती ताला लगाएको भन्दै आक्रोश पोखे । आफुहरुले ताला लगाउन नपाउने भनेर विरोध गर्दा फोटो र भिडियो खिचेर पनि लगेको उनले बताए । ‘हाम्रो शिक्षक, शिक्षिकाहरु पढाउन आउनुहुन्न, अहिले बाहिरका मान्छे ल्याएर जर्बजस्ती ताला लगाए,’ भोटेले भने,‘विद्यालयको आन्तरिक मामलामा बाहिरका मान्छे किन ल्याइयो ? सरमिसले नै हाम्रो स्कुलमा राजनीति घुसाए ।’ कक्षा १० का अर्का छात्र अमरदिप राईले पनि कक्षामा ढिलो आउने, फोनमा मात्र कुरा गर्ने शिक्षक, शिक्षिकाहरु आन्दोलन गरेर आफुहरुको पढाई र भविष्यमाथि खेलवाड गरेको भन्दै आक्रोश पोखे ।
नेवि संघले भने विद्यालयमा पठनपाठनको वातावरण नभएकोले गर्दा विद्यार्थीहरुको हकहितको लागि तालाबन्दी गरेको दाबी गरेको छ । संघका केन्द्रीय सदस्य सागर प्रसाईले प्रअ थापाले विद्यालयलाई राजनीतिको थलो बनाएको आरोप लगाउदै विद्याथी पढ्ने वातावरणको माग गर्दै ताला लगाएको बताए । ‘शिक्षकहरु आन्दोलनमा उत्रनुपर्ने वातावरण प्रशासनले बनायो, र पठनपाठनको वातावरण पनि छैन,’उनले भने,‘हामीले राजनीतिक हस्तक्षेप गरेका होइनौं, विद्यार्थीहरुकै हकहितको लागि हो । प्रअले नै विद्यार्थी, शिक्षकहरुमा गुटबन्दी गरेको हो ।’ जेठ २३ गते भएको शिक्षक, प्रशासनबीचको सहमति कार्यान्वयन हुनुपर्ने उनले बताए ।
आन्दोलनको नेतृत्व गरेका करार शिक्षक प्रकाश कार्कीले भने नेवि संघले तालाबन्दी गर्दा आफुहरु खुशी भएको प्रतिक्रिया दिए । जिल्ला शिक्षा, उपमहानगरपालिकामा न्याय माग गर्न जादा पनि सुनुवाई नभएको गुनासो गर्दै उनले भने,‘नेवि संघले ताला लगायो, हामी त खुशी छौं । अब चाडो समाधान होला ।’ नेविसंघलाई ताला लगाउन नउक्साएको जिकिर गरेपनि तालाबन्दी हुदा भने आफुहरु विद्यालयमा उपस्थित भएको उनले बताए । आफुहरुको कारण नभई प्रअ थापाको कारणले नै यो अवस्था सृर्जना भएको उनको भनाई थियो ।
 प्रअ थापा भने करार शिक्षक कार्की २०७० सालदेखि पार्टटाइम शिक्षककोरुपमा कार्यरत रहेको र रिक्त दरबन्दीमा प्रक्रिया पुर्याएर नियुक्ती प्रक्रिया अघि बढाउदा जुनियर शिक्षक भएर प्रअ बन्न नपाउने भएपछि अनेक आरोप लगाउदै आन्दोलन गर्न थालेको बताउँछिन् । तत्कालीन दृष्टिविहिन शिक्षक सानुमान ताम्राकारलाई विद्यालयले अवकाश दिएपछि कार्कीले पार्टटाइमकोरुपमा पढाउन थालेका थिए । शिक्षक ताम्राकार अवकाशविरुद्ध अदालत गएका थिए । अदालतले २०७३ मा फैसला गरेर उपदान दिनुपर्ने भएपछि उनको रिक्त दरबन्दीमा विद्यालयले पदपुर्तिको प्रक्रिया अघि बढाएको थियो । त्यसबाट असन्तुष्ट बनेका शिक्षक कार्की बिशेष विद्यालयमा त्यस्तो प्रक्रिया नभएको भन्दै विरोधमा उत्रिएका थिए । जबकी उनीभन्दा अघिका २ शिक्षक भुपाल खवास र तुलसी तिम्सिनालाई रिक्त दरबन्दीमा नयाँ प्रक्रियाबाट नै नियुक्ती गरिएको थियो । नयाँ प्रक्रियाबाट नियुक्ती गर्दा उनीहरुभन्दा जुनियर हुने र मंसिरमा खाली हुने प्रअ पद गुम्ने भएकोले कार्की विरोधमा उत्रिएको प्रशासनको भनाई छ । ‘विद्यालयले उहाँहरुलाई नपढाउ भनेको होइन, आफै कक्षा छोडेर गएपछि आएका छैनन् । आज विदाको दिन एक्कासी नेवि संघसँग आएर ताला लगाए,’ प्रअ थापाले भने,‘पहिला पनि विभिन्न जिल्लाबाट भुपु विद्यार्थी, संस्थाको मान्छेहरु ल्याएका थिए, तर यहीका विद्यार्थीहरुले नै विरोध गरेका थिए ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे