‘घरेलु तथा साना उद्योग विकासको मेरुदण्ड’

धरान,साउन २२ । घरेलु तथा साना उद्योगहरुका समस्या समाधानको लागि सरकारलाई समयअनुकुल नीति तथा व्यावहार परिमार्जन गर्न र आफ्नै संस्थागत संरचना परिवर्तनको खाका तयार गर्न देशभरका घरेलु तथा साना उद्योगीको नेतृत्वकर्ताहरु धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित पर्यटकीय गाउँ नाम्जेमा भेला भएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ र केन्द्रीय महिला उद्यमी समितिको चौथो संयुक्त विस्तारित बैठकमा घरेलु तथा साना उद्योगहरुलाई पनि समयअनुकुल नयाँ प्रविधिमैत्री बनाउने, बित्तिय संस्थामा पहुँच पुर्याउने तथा स्वदेशी उत्पादनको बजार सृर्जना गर्ने लगायत बिषयमा वृहत छलफल हुने बताइएको छ । दुई दिने बैठक सकेर महासंघले सोमबार इटहरीमा पत्रकार सम्मेलन गरेर घोषणा पत्रसमेत जारी गर्नेछ । महासंघका अध्यक्ष श्याम प्रसाद गिरीका अनुसार विस्तारित बैठकले घरेलु तथा साना उद्योगहरुको विकास एवं संर्वद्धनको लागि परिवर्तित समय र मुलुकको संरचनाअनुसार ठोस नीति बनाउन सुझावसमेत दिनेछ । ‘घरेलु तथा साना उद्योगहरुबाट मात्र देशको विकास सम्भव छ, दक्षिण कोरिया, ताइवान, जापानको चमत्कारिक विकास यस्तै घरेलु तथा साना उद्योगहरुबाट नै भएको हो,’ अध्यक्ष गिरीले भने,‘नेपालमा पनि देश विकासको मेरुदण्ड लघु घरेलु तथा साना उद्योगहरु नै हुन्छन् । योजना आयोगले कार्यक्रमलाई प्राथमिकता दिएपनि राज्यबाट जति लगानी हुनुपर्ने हो, भएकै छैन ।’
नेपालका लघु घरेलु तथा साना उद्योगहरु समयअनुकुल प्रविधि प्रयोगमा पछि परेको कारण अपेक्षित प्रतिफल पाउन नसकेको र नयाँ पुस्ता आकर्षित हुन पनि नसकेको अध्यक्ष गिरीको टिप्पणी थियो । प्रविधिमा पहुँच बढाएर घरेलु तथा साना उद्योगहरु पुस्ताहस्तान्तरण गर्नुपर्ने ठुलो चुनौती रहेको पनि उनले औल्याए । भुकम्प र भारतको नाकाबन्दी हुँदा मुलुकलाई आत्मनिर्भर बनाउने हल्ला चलेपनि अहिले भने त्यसतर्फ कसैबाट कदम नचालिएकोमा पनि उनले गुनासो पोखे । ‘आत्मनिर्भर बन्ने कुरा फेरी सेलाएको छ र मुलुक पहिलेकै अवस्थामा छ । जबसम्म हाम्रो उत्पादन हामीले उपभोग गर्ने भनेर सरकारले लिड गर्दैन, तबसम्म आत्मनिर्भर हुन सकिदैन,’उनले थपे,‘सरकार आफै उपभोक्ता हो, स्वदेशी बस्तु उपभोग निर्देशिका बनाउन त बनायौं, तर कार्यान्वयन भएन, बजार सृर्जना पनि भएन । अब हामी पनि सरकारलाई चाहिने समान उत्पादन गर्ने दिशामा अघि बढ्छौं ।’
अध्यक्ष गिरीका अनुसार कृर्षि, पर्यटनमा आधारित लघु उद्योगहरुको लागि सरकारले ठुलो बजेट छुट्याउने गरेपनि लक्षित वर्गले भने लाभ लिन नपाएको धारणा राखे । जसले गर्दा कृर्षिलाई आधुनिकीकरण गरेर उत्पादन एवं व्यावसायीमुखी बनाउन नसकिएको उनको भनाई थियो । राज्यले ५० लाखको कार्यक्रम राखेपनि ४५ लाख त प्रशासनिक , तलबभत्ता खर्चमा सकिने गरेको उनले बताए । ‘कर्जा प्रवाहमा पनि क बर्गका बैंकहरु काठमाण्डौंमा केन्द्रीत छन् र लघु घरेलु तथा साना उद्योगहरुले धेरै नै बित्तिय समस्या व्यहोर्नुपरिरहेको छ,’ अध्यक्ष गिरीले भने,‘यसमा पहुँच पुर्याउन बास्केट फण्डको व्यवस्था गरेर स्थानीयतस्रबाट नै कर्जा प्रवाहको व्यवस्था मिलाउन आवश्यक छ ।’
महासंघको सुनसरी शाखाको व्यवस्थापनमा आयोजित बैठकमा ७ प्रदेशका नेतृत्वकर्ताहरु सहभागी भएको बताइएको छ । सुनसरी अध्यक्ष राजेन्द्रकेशरी घिमिरेका अनुसार करिब सयको हाराहारीमा बैठकमा सहभागी छन् । नेपालको अर्थतन्त्रमा ६० प्रतिशत योगदान रहेको लघु घरेलु तथा साना उद्योगहरुको महासंघ र औद्योगिक नीतिलाई समयअनुकुल परिमार्जन गर्न बैठक केन्द्रीत हुने उनले बताए । ‘थोरै पुजीमा शुरु भएको लघु घरेलु उद्योगहरुलाई नयाँ प्रविधि किन्नसक्ने अवस्था पनि हुदैन,तर प्रविधि नभई पनि भएको छैन । यसको लागि सरकारबाट के कस्तो साथ सहयोग चाहिन्छ, बैठकमा छलफल हुन्छ, र त्यसैअनुरुप धारणा पनि तय गछौं,’ उनले भने । महासंघका अनुसार नेपालका ३ लाख बढी घरेलु तथा साना उद्योगहरु दर्ता छन् । ती मध्ये करिब २ लाखको हाराहारीमा मात्र सञ्चालनमा रहेको अनुमान छ ।
महासंघको पहलमा नेपालमा औद्योगिक नीति २०६७ लागु भएको थियो भने २०७३ मंसिरमा मात्र औद्योगिक ऐन २०७३ जारी भएको थियो । यहाँ ५ लाखसम्म स्थीर पुँजी भएको, ९ जनासम्म कामदार भएको र २० हर्ज बराबर विद्युत खपत हुने उद्योग लघु उद्योगकोरुपमा मानिन्छ । यसको दर्ता निःशुल्क हुन्छ । यस्तै, परम्परागतरुपमा चलेको र १० हर्ज बराबर विद्युत खपत गर्ने उद्योग घरेलु उद्योगअन्र्तगत पर्छन् भने १ हजारदेखि ५ करोडसम्म लगानी भएको उद्योग साना उद्योगअन्र्तगत पर्दछन् । बैठकमा केन्द्रीय अध्यक्ष, महासचिवबाट सम्बोधन हुनुका साथ महासचिव, प्रदेश अध्यक्ष, प्रदेश महिला समिति सभापति, क्षेत्रगत उपाध्यक्ष, महासंघका कोषाध्यक्ष, महिलाउ उद्यमी समितिकी कोषाध्यक्षबाट सांगठनिक प्रतिवेदन, प्रगति विवरण एवं आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे