बिचौलियाले हरियो तरकारी महंगियो

धरान,साउन ३१ । तराई डुबानमा परेको र पहाडी क्षेत्रमा ग्रामिण सडकहरु पहिरोले अवरोध पुगेको मौकामा बजारमा हरियो तरकारीको भाउ उच्च भएको छ । भाउ आकासिए पनि हरियो तरकारी उत्पादक(किसान)लाई भने ज्यादै कम मुल्य मात्र हात लागेको पाइएको छ ।
कोशी पहाडी क्षेत्रमा हरियो तरकारीको पकेट क्षेत्रका किसानले पाएको मुल्य भन्दा तीन गुण बढी मुल्यमा धरान, इटहरी, विराटनगरलगायत शहर बजारमा खुद्रामा तरकारी बिक्री भइरहेको छ । किसानदेखि खुद्रा व्यापारी हुदै उपभोक्तासम्म तरकारी पुग्दा धेरै एजेण्ट(बिचौलिया)हरुमा किनबेच र कमिशनको चक्करले तरकारीको भाउ उच्च हुन पुगेको हो । धरान १३ स्थित थोक कृर्षि उपज बजारस्थलका अनुसार बर्षा पछि अहिलेसम्मकै उच्च दरमा थोक मुल्यमा हरियो तरकारी बिक्री भइरहेको छ । पहाडी क्षेत्रबाट आएको तरकारी व्यापारीहरुबीच हारालुछ चल्ने गरेको छ ।
धरानको थोक कृर्षि बजारका अनुसार एक साताअघिसम्म ५०/६० रुपैया प्रतिकिलो बिक्री भइरहेको टमाटर बुधबार थोकमा १ सय रुपैया प्रतिकिलो बिक्री भयो । कोशी राजमार्गको धरान भेडेटार सडकखण्डको निसानेमा पहिरोले सडक भत्काएर आवागमन अवरुद्ध हुदा थोक मुल्य नै १ सय २५ सम्म पुगेको बजारस्थलका व्यावस्थापक लक्ष्मण भटराईले बताए । यो तरकारी मुल्यको इतिहासमा अहिलेसम्मकै उच्च भाउ हो । उनका अनुसार विगतमा नाकाबन्दी, बाढी पहिरोलगायत विपत्तिको बेलामा पनि ८० रुपैया भन्दा बढी थोक मुल्य भएको थिएन । बर्षाअघि प्रतिकिलो ४० /५० मा बिक्री भइरहेको फुलकोबीको थोक मुल्य १ सय रुपैया पुगेको छ भने भाउ नै नपाएको बन्दाकोबी पनि प्रतिकिलो २० रुपैयामा थोकमा बिक्री भइरहेको छ । प्रतिकिलो ३०/४० मा बिक्री हुदै गरेको सिबिको भाउ ८०/१ सय, प्रतिकिलो ८० रुपैयाको सिम्ला १ सय २०, प्रतिकिलो ३०/४० को हरियो खुर्सानीको भाउ १ सय १०/१ सय२० पुगेको छ भने धनिया मुठाको ४० रुपैया, डौठे निगुरो प्रतिकिलो ८० रुपैयासम्म पुगेको छ । ‘थोक मुल्य नै अचाक्ली बढेको छ भने खुद्रामा त झन् कति भाउ पुगेको होला ? गरिब, निमुखा जनताले हरियो तरकारी किनेर खाने अवस्था नै भएन,’ व्यावस्थापक भटराईले भने ।
बजारमा हरियो तरकारीको भाउ उच्च दरमा पुगेपनि उत्पादक किसानले भने न्युन मुल्य मात्र पाएका छन् । तरकारीको पकेट क्षेत्र धनकुटाको सिधुवा कृर्षि भण्डारका संस्थापक मृगेन्द्र गुरुङका अनुसार टमटरको सरदर मुल्य प्रतिकिलो ४५, फुलकोबीको ३५, डौठे निगुरो २०, सिम्ला ६० रुपैयामा किसानले बिक्री गरिरहेका छन् । तर, यही तरकारीहरु खुद्रमा भने दोब्बर, तेब्बर मुल्यमा उपभोक्ताहरुले खरीद गर्नुपरिरहेको छ । ‘अहिले तरकारीको माग नै उच्च भएको छ, माग वमोजिम आपुर्ति नहुदा पनि भाउ अत्यधिक बढेको हो,’ गुरुङले भने,‘तर, बिचौलिया, एजेण्टहरुको कारणले पनि बजार भाउ नियन्त्रण बाहिर गएको हो, यसलाई काबुमा राख्ने संयन्त्र वा सरकारी पहलकदमी नै छैन । किसानले भाउ पाउदैनन्, उपभोक्ता सधै चर्को मारमा पर्छन् ।’
बजारस्थलका अनुसार आफ्नो बारीमा उत्पादन भएको तरकारी सिधै थोक बजारसम्म ल्याउने ५ प्रतिशत मात्र किसानहरु छन् । संकलक हुदै एजेण्ड(बिचौलिया)बाट थोक बजारसम्म ८० प्रतिशत उत्पादन आउने गर्छन् भने १५ प्रतिशत मात्र उत्पादन कृर्षि सहकारी र समुहहरुले सिधै थोक बजारमा ल्याउछन् । किसानको उत्पादन सिधै थोक बजार र खुद्रामा नपुगेको कारणले बजार भाउ नियन्त्रणबाहिर हुन पुगेको हो । अधिकांश उत्पादन किसानबाट स्थानीय संकलकले संकलन गर्छन् । स्थानीय संकलकले कमिशन लिएर बिचौलिया(एजेण्ट)लाई बिक्री गर्छन् । बिचौलियाले धरानका थोक व्यापारीलाई निश्चित कमिशन लिएर बिक्री गर्छन् । थोक व्यापारीबाट धरानका खुद्रा व्यापारी हुदै उपभोक्ताले महंगोमा खरीद गर्छन् । तर, धरानबाहिरका अन्य शहरहरुमा भने पुनः एजेण्ट(बीचौलिया)बाट नै हरियो तरकारी पुग्छ । पहाडी क्षेत्रको हरियो तरकारी धरान हुदै इटहरी, विराटनगर, इनरुवा, दमक, उर्लाबारीदेखि सिरहा, सप्तरी र जनकपुरसम्म पुग्छ । यातायात बन्द, बाढी पहिरोको मौकामा त बिचौलियाहरुले झनै फाइदा उठाउने गरेको छ । ‘जबसम्म बीचमा एजेण्टहरुले चलखेल गर्ने श्रृंखला ब्रेक हुदैन र किसान, संकलक, सहकारी वा समुहबाट सिधै थोक बजारसम्म तरकारी आउने वातावरण बन्दैन, तबसम्म बजार मुल्य नियन्त्रण बाहिर नै रहन्छ,’ बजारस्थलका व्यवस्थापक भटराईले भने ।
तरकारीका थोक व्यापारी शिवचन्द्र चौधरी भने ९० प्रतिशत तरकारी पहाडी क्षेत्रबाट आउने र बाढी पहिरोले ठाउँ ठाउँमा बाटो बिग्रेकोले ढुवानी खर्च बढेर भाउ पनि बढेको दाबी गर्छन् । बजारको अवस्था हेरेर पनि भाउ बढ्ने गरेको उनको भनाई छ । ‘अहिले बर्षाले गर्दा भाउ बढेको हो । हाम्रो सिधै किसानसँग सम्पर्क हुदैन, व्यापारीबाट नै खरीद गर्ने हो,’उनले भने । कृर्षि उपज बजारस्थलका अनुसार दैनिक १ सय २५ देखि १ सय ५० मेट्रिक टन हरियो तरकारी पहाडी जिल्लाबाट आउनु पर्ने हो । तर, अहिले ४० देखि ५० मेट्रिक टन मात्र तरकारी झरीरहेको छ ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे