नेचुरल बडिबिल्डिङमा ४ स्वर्ण विजेतालाई सम्मान

धरान,साउन २२ । थाइल्याण्डमा सम्पन्न आइसिएन वल्र्ड एमेच्योर नेचुरल बडिबिल्डिङ प्रतियोगितामा नेपाललाई ४ वटा स्वर्ण पदक दिलाउन सफल धरानका खेलाडी मिलनचन्द्र राई गृहनगरमा सम्मानित भएका छन् । धरान १८ बुद्धचोकस्थित एनिटाइम फिटनेश धरानले स्थापनाको ६ महिना पुरा भएको अवसर पारेर किर्तिमानी खेलाडी राईलाई सम्मान गरेको हो ।
गत जुन २४ र २५ मा थाइल्याण्डको फुकेटमा आयोजित अन्र्तराष्ट्रिय प्रतियोगितामा उनले चार वटा क्याटोगोरीमा स्वर्ण जितेका थिए । पहिलो अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुनेक्रममा उनले मेन्स नोभिस फिजिक, मेन्स ओपन अल फिजिक, मेन्स ओभरअल फिजिक र प्रो मेन्स फिजिक क्याटोगोरीमा स्वर्ण जितेका थिए । अन्र्तराष्ट्रिय बडिबिल्डिङ(शारीरिक सुगठन) प्रतियोगितामा नेपाली खेलाडीले एकैपटक चार स्वर्ण पदक जितेको यो नै पहिलो हो ।
ओभरअल फिजिकका स्वर्ण जित्दै प्रो क्वालिफाइरमा भिड्ने अवसर पाएका राईले त्यसमा पनि पहिलो हुदै स्वर्ण जितेका थिए । उनले त्यस क्वाटोगोरीमा यसअघिका प्रो विजेतालाई हराउदै प्रो कार्ड र ५ सय डलर पनि हात पारे । अब उनले नेचुरल बडिबिल्डिङको जुनसुकै प्रतियोगितामा पनि सिधै प्रो.क्याटोगोरीमा भिड्न पाउनेछन् । यो क्याटोगोरीमा मात्र नगद पुरस्कार हुन्छ । उनी आगामी अक्टोबर १३ देखि १५ सम्म अस्ट्रेलियामा हुने प्रो च्याम्पियनसिप र अक्टोबर २८ देखि २९ मा इन्डोनेसियामा हुने नटलम्पिया वल्र्ड वेष्ट नेचुरल प्रतियोगिताको तयारीमा छन् । ‘आफ्नै ठाउँमा सम्मान पाए, र साथीहरुसँग खुशी साट्ने मौका पाए, धेरै खुशी छुँ,’ सम्मान पछि राईले भने ।
एनिटाइमका सञ्चालकहरुले राईलाई खादा ओढाउनुका साथै मायाको चिनो पनि प्रदान गरेका थिए । सञ्चालकमध्येका उत्तम कार्कीले नेपालको लागि एकैपटक ४ वटा गोल्ड मेडल जित्ने पहिलो खेलाडी भएकोले सम्मान गरिएको बताए । ‘अन्र्तराष्ट्रिय प्रतियोगितामा एकैपटक ४ वटा गोल्ड मेडल जिते, अहिलेसम्म यस्तो भएको थिएन । मिलन भाईले नेपालकै गौरव बढाएको छ, र यो हामी सबैको गर्वको कुरा हो,’ सम्मान गर्नुको कारणबारे उनले भने ।
एनिटाइमले ६ महिना पुरा भएको अवसरमा भव्य केक काट्नुका साथै मोष्ट इम्प्रुभमेन्ट अवार्ड पनि प्रदान गरेको थियो । उक्त अवार्ड पाउनेहरुमा जुम्बा र जिम गर्ने संमीक्षा गजमेर र जुम्बाकी संगीता प्रधान छन् । समीक्षाले ५ महिनाको अवधिमा २५ केजी तौल घटेको बताएकी छिन् । पाँच महिनाअघि १ सय ५ केजी तौल भएकोमा अहिले उनको ८० केजी मात्र छ । यस्तै, ४ महिनामा जुम्बा गरेर संगीताले १० केजी तौल घटाएर ५७ केजीमा झारेकी छिन् । दुवैलाई एनिटाइमले एक महिनाको शुल्क छुट दिने घोषणा पनि गरेको छ । यस्तै, सहयोगी एवं बडिबिल्डर पारस भुजेल र विजय तामाङलाई पनि एनिटाइमले मायाको चिनो प्रदान गरेको थियो । सञ्चालक खत्रीका अनुसार प्रत्येक ६ महिनामा यस्तै कार्यक्रम गरेर इम्प्रुभ गर्ने प्रशिक्षार्थीहरुलाई पुरस्कृत गरिनेछ । एनिटाइम फिटनेश ६ महिनाअघि उत्तम खत्री, विजय सुब्बा, फिरोज थलङ, प्रकाश राई र मनोज राई मिलेर सञ्चालनमा ल्याएका थिए । यहाँ जिम, जुम्बा, कार्डियो र स्टिमको सुविधा छ ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे