फोटो खिचाउन मतदाताहरुमा आकर्षण

धरान,साउन २४ । वि.स.१९९० साल साउनमा भोजपुर छिनामखुमा भोटीमाया सुनुवारको जन्म भएयता नेपालमा थुप्रैपटक निर्वाचन भयो । तर, उनले एक पटक पनि भोट हालेकी छैनन् । २०५६ सालदेखि धरानमा बस्न थालेकी उनी त्यसयता पनि २ पटक संविधानसभा र भर्खरै स्थानीय तहको चुनाव भयो । त्यसमा पनि उनले भोट हालिनन् ।
तिनै ८४ बर्षीय भोटीमाया मंगलबार भने धरानको वडा नं १५ स्थित वडा कार्यालयमा मतदाता परिचय पत्र बनाउन फोटो खिचाउदै थिइन् । उनले भनिन्,‘अहिलेसम्म भोट हालेको छैन, भोटलिष्ट नै थिएन । अब मर्ने बेला के बनाउनु भनेको, सबैले कर गरेर आए ।’ उनीजस्तै छरछिमेक र नेताहरुले कर गरेपछि फोटो खिच्न आएकी ६८ बर्षीय मनलक्ष्मी राईलाई त भोटलिष्ट हुन्छ भन्ने पनि थाह थिएन् । भोट हाल्न कहाँ जानुपर्छ, के गर्नुपर्छ भन्नेबारे बेखबर उनी अहिले भने वृद्ध भत्ता थाप्नेजति फोटो खिच्नुपर्छ भन्ने सुनेर आएको बताइन् । ‘मलाई त भोटलिष्ट भन्ने पनि थाह थिएन, के बनाउनुपर्ने, कहाँ जानुपर्ने के थाह ?’ फोटो खिचिसकेपछि उनले भनिन्,‘भत्ता थाप्नेजति भोट हाल्नुपर्छ भन्ने सुने । छरछिमेकले पनि भनेपछि आएँ ।’
धरानका भोटीमाया र धनलक्ष्मी प्रतिनिधि पात्र मात्र हुन् । गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनले मतदाताहरुमा चुनावप्रतिको चासो र आकर्षण ह्वात्तै बढाएको छ । जसले गर्दा अहिले मतदाता नामावलीमा नाम छुटेकाहरुलाई अद्यावधिक गर्ने क्रममा धरानमा परिचय पत्रको लागि फोटो खिचाउन मतदाताहरुको घुइचो छ । यसअघिका दुई संविधानसभा निर्वाचन अघि पनि मतदाता नामावली संकलन र अद्यावधिक कार्य भएको थियो । त्यसबेला न्युन संख्यामा मात्र फोटो खिचाउन मतदाताहरु आउथे । ‘पहिला त वडामा फोटो खिचाउने मतदाताहरु नै हुदैनथे, फाट्ट फुट्ट मात्र आउथे,’ निर्वाचन कार्यालय सुनसरीका प्रवक्ता शान्तिबहादुर अधिकारीले भने,‘यसपाली चै तत्कालै स्थानीय तहको चुनाव सकिएकोले मतदातामा आकर्षण बढेर हो । कतिलाई आफुले भनेजस्तो प्रतिनिधि चुन्न नपाएको भएर पनि हुनसक्छ ।’
आयोगले जिल्लामा साउन १ गतेदेखि छुटेका मतदाताहरुको नामावली संकलन शुरु गरेको थियो । जिल्लामा थाम्नै नसक्ने गरी मतदाताहरु धुइरिएपछि स्थानीय तहमा नै संकलन कार्य खटाइएको थियो । साउन १६ गतेदेखि धरानमा शुरु भएको संकलन कार्यमा अत्यधिक मतदाताहरु आएपछि जनशक्तिले थेग्न सकेन । धरानमा मात्र २ जना संकलक आयोगबाट आएका थिए । मतदाताहरुको घुइचो लागेपछि धरान उपमहानगरपालिकाले थप २ जना संकलक खटाएर नामावली संकलन कार्य अघि बढाइरहेको छ । तरपनि मतदाताहरुको घुइचो थेगिनसक्नु छ । सभागृहमा २ जना संकलक छन् भने र २ जना संकलन विभिन्न वडामा खटिएका छन् । वडामा छुटेका मतदाताहरु पुनः सभागृह पुगेर फोटो खिचाउन सक्छन् । ‘पहिला दिनभरिमा डेढ सय जति हुन्थ्यो, त्यही भएर जिल्लामा मात्र राखेको थियो । तर त्यहाँ मान्छेहरु घुइरिएपछि स्थानीय तहमा नै संकलन गर्ने भनियो,’ संकलक शिव चाम्लिङले भने,‘भर्खर चुनाव भएर नै होला, यतिका मान्छेहरु फोटो खिचाउन आएका छन् ।’

अव्यवस्थित नामावली संकलन, अन्य जिल्लाका धेरै

संकलकहरुका अनुसार फोटो खिचाउन अन्य जिल्लाको नागरिकता भएका मतदाताहरु अत्यधिक आएका छन् । जसले गर्दा भिड हुनुका साथै विवरण भर्न नै धेरै समय लागेको हो । धरानमा पहाडी जिल्लाबाट आएर बसोबास गर्नेहरुको संख्या अत्यधिक छ । ती मतदाताहरु फोटो खिचाउन आएकाले गर्दा यस्तो भिड बढेको संकलक हेमा थलङले बताइन् । ‘अन्य जिल्लाको नागरिकता भएकाहरु धेरै फोटो खिचाउन आएका छन् । पहिलाको गाविस मर्ज भएर नयाँ स्थानीय तह बनेको छ, त्यसले गर्दा विवरण भर्न सर्ज गर्नुपर्दा धेरै ढिलाई भएको हो,’ उनले भनिन्,‘कतिले पहाडतिर खिचेका थिए होला, कतिको त नयाँ पनि होला ।’
फोटा खिचाउन लाइनमा बसेका तदाताहरु भने आयोगको लापरवाही र अव्यवस्थापनले गर्दा धेरै सास्ती खेप्नु परेको भन्दै आक्रोश व्यक्त गर्छन् । एक सातादेखि फोटो खिचाउन दौडधुप गरेका बिएनसि राई भन्छन्,‘पहिला त फरम नै पाउन सकिएन, बल्ल बल्ल पाए । तर फारम कसरी भर्ने भनेर बुझाउने, भिड व्यवस्थापन गर्ने मान्छे नै छैन । हेल्प डेस्क नहुदा हामीलाई धेरै गाह्रो भयो ।’ जनशक्ति पर्याप्त नखटाएर जनतालाई दुःख दिएको भन्दै उनले आक्रोश पनि पोखे ।
धरानको वडा नं १५ का अध्यक्ष नरेश इवारम भने पुर्वका विभिन्न जिल्लाबाट आएर बसोबास गरेपनि बसाई सराई कागज नभएकाहरु अत्यधिक संख्यामा मतदाता नामावलीमा छुटेको बताउँछन् । अहिले तिनै मतदाताहरुको भीड धरानमा भएको उनले बताए । ‘धेरै संख्यामा सुकुम्बासीहरु छन्, भाडामा बसेकाहरु छन् । यसपाली हामीले नै बसोबासको प्रमाणपत्र दिने व्यवस्था गरेपछि यस्तो भिड बढेको हो,’ अध्यक्ष इवारमले भने,‘भर्खरको चुनावले पनि फोटो खिच्नुपर्ने भयो भनेर ज्ञान भयो । अर्को कुरा, पेन्सन, वैदेशिक रोजगारीमा जादा, र अफिसियल्ली पनि सपोर्टिङ डकुमेन्टकोरुपमा मतदाता परिचय पत्र खोज्ने भएकोले भिड भएको हो ।’
निर्वाचन कार्यालयका प्रवक्ता शान्ति अधिकारी २ जिल्लामा फोटो खिचाएको भए आयोगले त्यसमध्ये कुनै एउटा ठाउँको मात्र कायम गरिदिने बताउँछन् । अर्को ठाउँमा खिचिसकेको भए फेरि खिच्न नपर्ने, मात्र ठाउँ सारि गर्दा हुने उनले बताए । त्यसको लागि कार्यालयमा आएर सजिलै सार्न सकिने उनले बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे