सर्दुमा पुल बनाउन मन्त्रालयमा डेलिगेशन

धरान,साउन २२ । धरानको पश्चिमी सर्दु खोलामा बषौंदेखि पुल नहुुदा बर्खा समयमा सर्वसाधारण जनताले सास्ती भोग्नु परेको भन्दै केन्द्रीय योजनामा पारेर पुल निर्माणको पहल गर्न वडा नं १७ का अध्यक्ष सुर्यकुमार भटराई(मनोज) राजधानी गएका छन् ।
वडा कार्यालयका कर्मचारी प्रेम उप्रेतीसहित राजधानी पुगेका अध्यक्ष भटराईले उता रहेका स्थानीय नेताहरुलाई साथमा लिएर वाणिज्य मन्त्रालयमा आइतबार वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्मालाई भेटेका थिए । मन्त्री विश्वकर्मालाई सर्दुबाट बर्षेनी जनताले पाइरहेको सास्तीबारे अवज्ञत गराउनुका साथै पुल निर्माणको लागि पहल गर्न टोलीले आग्रह गरेका थिए । सोमबार पुनः वाणिज्य मन्त्री विश्वकर्मासहितको टोली भौतिक योजना मन्त्री वीरबहादुर बलायरलाई भेट्न जाने समयतालिका निश्चित भएको वडाअध्यक्ष भटराईले जानकारी दिए । उनका अनुसार वाणिज्य मन्त्री विश्वकर्माले धरान–चतरा सडकखण्डमा पर्ने सर्दुमा पुल निर्माणको लागि सक्दो पहल र सहयोग गर्ने वचत दिएका थिए । मन्त्री विश्वकर्माकै पहलमा भौतिक योजनामन्त्रीसँग भेटवार्ताको समय मिलेको हो । दुवै मन्त्री नेपाली कांग्रेसका हुन् भने वाणिज्य मन्त्री विश्वकर्माको गृहनगर धरान हो ।
‘राजधानीमा धरानका अरु नेताहरु पनि भेट्यौं, र उहाँहरुसँगै वाणिज्य मन्त्रीलाई भेटेर समस्या अवज्ञत गरायौं । भोली सोमबार फेरी वाणिज्य मन्त्रीसँगै हामी भौतिक योजनामन्त्रीलाई भेट्न जादैछौं,’ राजधानीबाट मोवाइल सम्पर्कमा अध्यक्ष भटराईले भने,‘पुलको सर्वेको लागि आवश्यक बजेट बिनियोजन गराउन हामी सक्दो प्रयत्न गछौं ।’ यसको लागि समाजसेवी मातृका प्रसाद भटराईसँग पनि छलफल भएको र उनले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले खुलाए । धरानको पानवारी घर भएका भटराईको पहलमा सेउतीमा पुल निर्माण हुनुका साथै धरानमा थुप्रै योजनामा केन्द्रीय बजेट परेको थियो ।
अध्यक्ष भटराईसँगै सर्दुमा पुल निर्माणको पहल गर्न आइतबार नेपाली कांग्रेसका पुर्व धरान सभापति किसोर राई, माओवादी केन्द्रका नेता अइन्द्रबिक्रम बेघा पनि वाणिज्य मन्त्री विश्वकर्मालाई भेट्न पुगेका थिए । सोमबार मन्त्री विश्वकर्मासहित यो टोली भौतिक योजना मन्त्रीलाई भेट्न जानेछ । पछिल्लो समय धरान–चतरा सडकखण्ड पर्ने सर्दुमा पुल बनाउन माटो परीक्षण भइसकेको बताइएको छ । तर, सर्वे भने भएको छैन । यस्तै, धरानदेखि भञ्ज्याङ विष्णुपादुकातर्फ जाने बाटोमा पर्ने सर्दुमा पनि पुल बनाउन डिपिआर तयार भइसकेको बताइएको छ । तर, त्यहाँ पुल निर्माणको लागि केन्द्रीय योजनामा समावेश भई बजेट विनियोजन हुनुपर्छ । धरानको आन्तरिक स्रोतबाट पुल निर्माण सम्भव छैन ।
धरानकै पुर्वी क्षेत्रमा रहेको सेउतीमा लगातार ३ वटा पक्की पुल तयार हुने क्रममा रहेपनि पश्चिम क्षेत्रको सर्दुमा भने एउटा पनि पुल बनेको छैन । जसले गर्दा बर्खायाममा धरान चतरा सडकखण्ड, धरानको मंगलबारे हुदै विष्णुपादुकाको भञ्ज्याङ जाने सडकखण्डमा यातायात ठप्प हुन्छ भने सर्वसाधारणहरु ज्यान जोखिममा राखेर खोला तर्न बाध्य छन् । कोही लामो बाटो घुमेर इटहरी हुदै यात्रा गर्न बाध्य हुन्छन् । धरान–चतरा बाटो बराह नगरपालिका क्षेत्रका बासिन्दाको लागि मात्र होइन, कोशीका नयाँ पुल हुदै उदयपुर, राजधानी जानको लागि पनि उपयोग हुने रुट हो । सर्दु खोला पारी पनि धरानको वडा १७ को भाग पर्छ । त्यस क्षेत्रका जनताहरु शिक्षा, स्वास्थ्य, व्यापारलगायतको लागि धरान आउने गर्छन । यस्तै, बराहक्षेत्र, विष्णुपादुका, रामधुनी, प्राचीन हरिद्धार चतराजस्ता धार्मिक महत्वका पर्यटकीयस्थल पुग्न पनि तीर्थालुहरुलाई धेरै समस्या हुने गरेको छ । चुनावको समयमा नेताहरुले पुल बनाउने भाषण र आश्वासन दिएपनि सर्दुमा हालसम्म एउटा पनि पक्की पुल बन्न सकेको छैन । राजनीतिकर्मीहरुका अनुसार ०४६ सालदेखि अहिलेसम्म स्थानीय जनताले सर्दुखोलामा पक्की पुलको माग निरन्तर गरिरहे पनि पहुँच नपुग्दा सुनुवाई भएको छैन ।




Comments

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे