कहिले बन्ला सर्दुमा पुल !?(फोटोफिचर)

धरान,साउन २० । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक महिनाको बच्चालाई जाँच गराएर बराह नगरपालिका ७, देवीघाटका मनोज गजमेर र उनकी श्रीमति सुनिता शुक्रबार दिउँसो घर फर्कदै थिए ।
उनीहरु चढेको बस धरान १७ स्थित सर्दु खोला किनारमा पुगेपछि रोकियो । त्यसबेला बर्षात भइरहेकोले सर्दुमा भिषण बाढी थियो । बस अघि जान सकेन । यात्रुहरुलाई त्यही ओरालेर फर्कियो । बिहान ११ बजे गाडी चढेर घर हिडेका गजमेर दम्पत्ति दिउँसो करिब २ बज्दासम्म सर्दु खोला किनारमा थिए । केही यात्रु जोखिम मोलेर खोला पार गर्दै वारी आउन नसकेको बसमा चढेर गन्तव्यतिर लागे । तर, गजमेर दम्पपित्तले सानो बच्चासहित बाढीमा हेलिएर पार गर्ने हिम्मत गरेनन् । उनीहरु जस्तै अरु थुप्रै सर्वसाधारण एवं यात्रुहरु सर्दु वारी र पारी अलपत्र परेका थिए । ‘सर्दु किनारमा उभिएको ३ घण्टा हुनलाग्यो । यताबाट बस पारी जान सकेन, उताको पनि नआइ उतैबाट फर्कियो,’ निराश मुद्रामा मनोजले भने,‘यो खोलामा कहिले पुल बन्ने हो ? यसरी त जनताले सधै दुःख पाइरहने भयो ।’
यो पीडा गजमेर दम्पत्तिको मात्र होइन । धरान–चतरा सडकखण्डमा ओहारदोहोर गर्ने दैनिक सर्वसाधारणले बर्षातको बेला भोग्नु परिरहेको पीडा हो । धरान–चतरा सडकखण्डमा पर्ने सर्दु खोलामा अहिलेसम्म पुल निर्माण नहुदा बर्षायाममा यसरी नै सर्वसाधारणहरुले सास्ती भोग्नु परिरहेको छ । स्थानीय एवं प्रभावित क्षेत्रका बासिन्दाहरुले बषौंदेखि पुल निर्माणको माग गरिरहे पनि सरोकारवाला सरकारी निकायहरुले जनताको समस्याप्रति चासो देखाएका छैनन् । जसले गर्दा बषौंदेखि यो सडकखण्डमा सर्वसाधारणहरुले जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् । ‘बाढीले गर्दा गाडी चल्दैन, धरान आउ जाउ गर्नै पर्ने मानिसहरु ज्यानको खतरा मोलेर हिड्नुपर्छ,’ नानीसँगै बाढीमा हेलिएर पटनालीबाट धरानतिर आएकी रुबी राईले भनिन्,‘कहाँ कहाँ पुग्नुपर्ने काम हुन्छ, बाढीले रोकिन्छ । यहाँ पुल हामीलाई कति समस्या छ ।’ यात्रुबाहक बस रोकिएपनि साना गाडी र मोटरसाइकल जोखिम मोलेर पार गरेका थिए ।
हरेक बर्ष बर्षायाम शुरु भएपछि धरानको पश्चिम बराह नगरपालिका(साविक बराहक्षेत्र, भरौल, महेन्द्रनगर)सँग सहज यातायात सम्पर्क टुट्ने गर्छ । चतरा हुदै कोशी ब्यारेजको विकल्पमा बनेको कोशी पुल हुदै उदयपुर पनि जान पनि यही बाटो प्रयोग हुन्छ । तर, बर्षातमा भने यो सडकमा यातायात ठप्प हुन्छ । सर्दु खोला पारी पनि धरानको वडा १७ को भाग पर्छ । त्यस क्षेत्रका जनताहरु शिक्षा, स्वास्थ्य, व्यापारलगायतको लागि धरान आउने गर्छन । चुनावको समयमा नेताहरुले पुल बनाउने भाषण र आश्वासन दिएपनि सर्दुमा हालसम्म एउटा पनि पक्की पुल बन्न सकेको छैन । बराहक्षेत्र, विष्णुपादुका जस्ता प्रसिद्ध धार्मिकस्थल पुग्नलाई पनि खोलाले निक्कै सताउने गरेको छ । साउनमा बोलबम मेला भर्न आउने तीर्थालुहरुलाई चतराबाट पानी ल्याएर आउन सर्दु बाधा बन्ने गरेको छ । धेरैपटक बर्षायाममा सवारी साधान र मानिसहरुलाई नै बगाउने गरेको स्थानीयहरु बताउँछन् ।
धरानको वडा १७ का अध्यक्ष मनोज भटराई सर्दुमा पुल नहुदा जनताले धेरै सास्ती भोग्नु परिहेको र पुल बनाउन केन्द्रीय योजनामा पार्न पहल गरिने बताए । ‘यसपाली धरान चतरा बाटोमा र विष्णुपादुका जाने बाटोमा २ वटा पुल बनाउन पहल गछौं, यो २ ठाउँमा पुल अतिआवश्यक छ,’अध्यक्ष भटराईले भने,‘नगरको बजेटबाट सम्भव छैन, केन्द्रीय बजेटमा पार्न पहल गछौं, यसको लागि काठमाण्डौं जाने तयारीमा छौं ।’ स्थानीय तह निर्वाचनको बेला सर्दुमा पक्की पुल बनाउने एजेण्डा राखेकोले अबको ५ बर्षभित्र जसरी पनि पुल बनाउन पहल गर्ने उनले बताए ।
पछिल्लो समय धरान चतरा सडकमा पुल बनाउन माटो परीक्षण भइसकेको बताइएको छ भने साविक विष्णुपादुकातर्फ जाने बाटोमा पुल बनाउन डिपिआर तयार भइसकेको छ । तर, पुल निर्माणको लागि केन्द्रीय योजनामा पर्नुपर्ने हुन्छ । राजनीतिकर्मीहरुका अनुसार ०४६ सालदेखि अहिलेसम्म स्थानीय जनताले सर्दुखोलामा पक्की पुलको माग निरन्तर गरिरहे पनि पहुँच नपुग्दा सुनुवाई भएको छैन । धरान र साविक पाँचकन्या गाविस बीचको सेउती खोलामा करिब ८ किलोमिटर क्षेत्रभित्र २ वटा पक्की पुल बनिसक्यो । अझै २ वटा पक्की पुल निर्माणाधिन अवस्थामा छ । एउटा बाहेक अन्य पुलहरु केन्द्रीय बजेटबाटै बनेको हो । तर, धरानभित्रकै सर्दु खोलामा भने पक्की पुल बनाउन कसैको ध्यान पुगेको छैन । विगतमा साविक गाउँ परिषद(विष्णुपादुका)बाट हरेक बर्ष प्राथमिकतामा राखेर सर्दु खोलामा पुलको माग भएर गएपनि कतैबाट सुनुवाई नभएको स्थानीयको भनाई छ । यही क्षेत्रबाट चुनाव जितेका एमाले नेता भिम आचार्य मन्त्री हुदा पनि उनको क्षेत्रका जनतालाई राहत पुग्ने गरि सर्दुमा पुल बन्न सकेन ।







Comments

  1. कस्तो पुल बनाउनु हो अनि तेत्रो मान्छेको अब exictment बन्द गर्दिने??त्या कति जानाले enjoy गरिराका छन??

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे