बिषादीको विकल्प, तरकारी बालीमा किरालाई ‘पासो’

धरान । तरकारी वालीमा किरा लाग्न नदिने भन्दै किसानहरुले बिषादीको अत्यधिक प्रयोग गर्छन् । यसले किराबाट हुने नोक्सानीबाट तरकारी वालीलाई त जोगाउछ, तर उपभोक्ताको स्वास्थ्य र वातावरणमा पनि गम्भीर असर पुग्छ । उपभोक्ताको स्वास्थ्यप्रति नेपालका किसानहरु सजग छैनन् ।
तरकारीमा बिषादीको प्रयोगलाई प्रतिबन्ध लगाउनुपर्ने आवाज उठिरहदा विकल्पमा के गर्ने भनेर नेपाल सरकार र उपभोक्ता अधिकारवादीहरु पनि किसानहरुलाई ठोस उपाय बताउन सकिरहेका छैनन् । तर, धरानका एक किसानले भने घरेलु विधिबाट बिषादीको विकल्पमा ‘किरालाई पासो’ थापेर नियन्त्रण गरिरहेका छन् । अग्र्यानिक खेतीबाट धरान ४ स्थित वसन्तटारलाई नमुना अग्र्यानिक गाउँको परिचय दिलाएका युवा कृषक कृष्ण राईले बिषादीको विकल्पमा घरेलु विधि पासो थापेका हुन् । उनले आफ्नो ४२ कट्ठा जमिनको खेतीमा रासायनिक मल मत्र होइन, बिषादीलाई पनि निषेध गरेका छन् । साथै, गाउँमा पनि बिषादी प्रयोग हुन नदिन किरालाई पासो थाप्ने विधि अभ्यास गराउन जुटेका छन् ।
कृषक राईका अनुसार रातो रंग किराहरुलाई पटक्कै मन पर्दैन, र यो रंग देख्दा किराहरु भाग्छन् । तर, पहेलो रंग जुनसुकै किराहरुलाई असाध्यै मनपर्ने कलर(रंग) हो । किराहरुलाई आकर्षित गर्न उनले आप्mनो बारीमा पहेलो रंग भएको प्लेटहरु झुण्डाएका छन् । पहेलो रंग देखेपछि किराहरु त्यसमा आकर्षित हुन्छन् । जब किराहरु प्लेटमा आएर बस्छन्, त्यही टाँसिएर मर्छन् । ‘पहलो प्लेटमा सरस्युँको तेल हालेको छुँ, किराहरु उडेर आउछन् र पासोमा पर्छ । त्यही टाँसिएर विस्तारै मर्छन्,’युवा कृषक राईले भने,‘अरुले तरकारी बालीमा बिषादी हाल्छन्, मैले भने यही घरेलु विधिलाई अभ्यास गरेको छुँ ।’ उनले शुरु गरेको यो पासो विधिलाई गाउँका अन्य किसानहरुले पनि अभ्यास गरेका छन् । जसले वसन्तटार गाउँलाई अग्र्यानिकसँगै बिषादीमुक्त गाउँ बनाउने बाटोमा हिडाएको छ । यो गाउँका १ सय ५० घरमध्ये ५५ घरपरिवारले व्यावसायिक खेती गरेका छन् । सबैले अग्र्यानिक खेती मात्र गर्छन् ।
कृषक राईका अनुसार किरालाई पासो थाप्न प्रयोग हुने प्लेट खेर फालेको एक्स रेबाट आफैले तयार गरिएको हो । एक्स रेको त्यही प्लेटमा पहेलो रंग लेपन गरिएको हो । उनले पहेलो प्लेटमा पासो थाप्न सरस्युँको तेल वा तोरीको तेल प्रयोग गर्ने गरेका छन् । सरस्युँ वा तोरीको तेल बाहेक मह, गम वा बोटबिरुवाको चोपलाई पकाएर लिसो बनेपछि त्यसलाई पनि पासोकोरुपमा प्रयोग गर्न सकिन्छ । ‘बिषादीको विकल्पमा यो धेरै नै सजिलो र कम खर्चिलो उपाय हो, तर नेपालको किसानहरुसम्म यो विधि पुग्नै सकेको छैन । ज्यादै थोरै शिक्षित अनि जानकारहरुले मात्र अभ्यास गरेका छन्,’वसन्तटारस्थित सोताङ अग्र्यानिक एग्रिकल्चर रिसर्च सेन्टरका प्रोपाइटर राईले भने,‘यो विधिबाट बिषादी किन्न लाग्ने खर्च बचेको छ, स्वास्थ्यमा र वातावरणमा पनि असर पर्दैन ।’ पासो थाप्दा पहेलो प्लेटलाई देखिने गरी उज्यालो भएको ठाउँमा राख्नुपर्छ । एक कट्ठामा ४ वटा स्थानमा प्लेट मिलाएर राखे पुग्छ । प्लेटमा एक पटक तेल लगाए पछि एक महिनासम्म पुग्छ । वसन्तटारका किसान राईले त यो विधिलाई हरियो तरकारीमा मात्र होइन, च्याउ खेतीमा पनि प्रयोग गरेका छन् । उनले च्याउको सिलिण्डर बनाउने प्लाष्टिकमै तेल दलेका छन् । जसमा भुसुना आएर टासिन्छ, र मर्छ ।
किरालाई पासो थाप्ने अर्को प्रविधि पनि छ, फेरोमेन ट्रयाप । एउटा बक्सभित्र वासनादार ट्याब्लेट हुन्छ, जसलाई बेक्टेसेरा कम्पोजिट लुर भनिन्छ । यो ट्याब्लेट वा लिक्युड(तरल)मा पनि हुन्छ । यो विधि काक्रा, फर्सी, करेला, घिरौलालगायत बर्खे लहरे बालीको सिजनमा उपयोगी हुन्छ । त्यसबेला तरकारीको फुल फुल्न थालेपछि फुड फ्लाई भन्ने किरा आउछ, र फलमा अंश छोड्छ । त्यो अंश लार्भा बन्छ र फललाई कुहाई दिन्छ । फेरोमेन ट्रयापमा भएको ट्याब्लेट वा तरल औषधीले वयस्क पोथीको वासना फाल्छ, र भाले किरालाई आकर्षित गर्छ । बक्सको सानो प्वालबााट किरा भित्र पस्छ, र त्यही मर्छ । यसरी सबै भाले किरा आकर्षित हुदै बक्सभित्र पसेर मरेपछि पोथीले मात्र प्रजनन गर्न सक्दैन । ‘पोथीको पनि लाइफ सर्कल सकिन्छ, त्यो क्षेत्रमा किराको संख्या न्युन हुन्छ र फल राम्रो हुन्छ,’किसान राईले भने ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे