स्वास्थ्यको लागि पदयात्रा


धरान, असोज १७ । शनिबार बिहानै एक हुल धरानेहरु सिंहदेवी चोकमा भेला हुन्छन् । ती मध्ये अगुवाहरुले अब कहाँ जाने भनेर पहिल्यै निधो गरेका हुन्छन् । भेला भएकाहरुबीचमा उक्त गन्तब्यबारे सल्लाह हुन्छ, र ठिक ६ बजे उनीहरु गन्तव्यतर्फ हिड्छन् ।
शनिबार सार्वजनिक विदा हुने भएकोले सबै नै फुसर्दिला हुन्छन् । त्यही फुर्सदको समयलाई सदुपयोग गर्दै धरानमा स्वास्थ्यको लागि पदयात्रा अभियान शुरु भएको छ । स्वास्थ्य र मनोरञ्जन दुवै हिसाबले लाभदायी हुने भएकोले पछिल्लो समय धरानेहरुमा पदयात्राप्रति आकर्षण बढ्दै गइरहेको छ । कोही साथीभाई मिलेर पदयात्रामा जान्छन्, कोही संस्थागत अभियानमा सरिक हुन्छन् । केही संख्यामा हरेक शनिबार सिंहदेवी चोकबाट शुरु भएको स्वास्थ्यको लागि पदयात्रा(वाकिङ फर हेल्थ)अभियानले पनि पछिल्लो समय व्यापकता पाउदै गएको छ ।
स्वच्छ धरान, स्वस्थ धरान नारा दिएर सेवक अभियान नामको सामाजिक तथा स्वयंसेवी संस्थाले यो पदयात्रा अभियान शुरु गरेको हो । गत भदौ अन्तिम साता(३१ गते)बाट पदयात्राको औपचारिक शुरुवात भएपनि सेवक अभियानले विगत ११ हप्ता अघिदेखि नै ट्रयालकोरुपमा धरान आसपासको विभिन्न ५१ वटा गन्तव्यमा पदयात्रा गरिसकेको थियो । ‘ट्रयालकोरुपमा ११ हप्तादेखि नै पदयात्रा गरिरहेका थियौं, हामीले धरान आसपासको ५१ वटा रुट तयार गरेका छौं,’सेवक अभियानका अध्यक्ष राजिव हलवाईले भने,‘हामी प्रत्येक साता वाक फर हेल्थमा जान्छौं ।’ अचेल अभियन्ताहरुले धरानेहरुलाई तिनै रुट र गन्तव्यमा हरेक शनिबार पदयात्रामा लैजाने गर्छन् । ती रुटमा बालबालिका, युवा, पाका, वृद्धहरु सबै उमेरको लािग उपयुक्त भएकोले प्रायः सबै सहभागी हुन्छन् ।
पदयात्रामा निरन्तर हिड्ने र पसिना चुहाउने मात्र हुदैन । पदयात्री प्राकृतिसँग रमाउछन्, नयाँ पुराना साथी भेटिन्छन्, र रमाइलो, ज्ञानगुनका कुरा गर्दै गफिदै हिड्छन् । तर, यो पदयात्राको अरु पदयात्राभन्दा भन्दा बिषेश महत्व छ । पदयात्रीहरुले बेला बेला सबैजना जोडले गलल हाँस्छन् । पदयात्रीहरु यसलाई लाफिङ थेरापी भन्ने गरेका छन् । खुलेर हाँस्दा शरीरलाई नै फाइदा पुग्ने मनोचिकित्सकहरुको भनाई छ ।
प्रत्येक साता पदयात्रामा स्वास्थ्य, पोषण, पर्यटन र वातावरणसँग सम्बन्धित विज्ञ एक जना विज्ञ पनि गएका हुन्छन् । पदयात्राको क्रममा बीचमा एक पटक एप्पल ब्रेक हुने गरेको छ । पदयात्रीहरुले एप्पल(स्याऊ) र पानी आफैले बोकेका हुन्छन् । ब्रेक हुदा पदयात्रीहरु स्याउ खान्छन् भने यात्रामा सहभागी विज्ञले आफ्नो विज्ञता अथवा ज्ञान, अनुभवबारे १० मिनेट कुरा राख्छन् । पदयात्रीहरु विज्ञलाई स्वागत गर्न वा धन्यवाद दिन ताली पड्काउदैनन्, त्यसको वदलामा गलल हाँस्ने चलन छ । ‘पदयात्रामा सकभर जंग फुड खान दिदैनौं, एप्पल र पानी मात्र बोक्छौं,’अभियन्ता हलवाई भन्छन् ।
यो पदयात्रामा धरान उपमहानगरपालिकाका प्रमुख प्रमुख तारा सुब्बा, उपप्रमुख मञ्जु भण्डारी सुवेदी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर एवं हाडजोर्नी बिशेषज्ञ डा.बिक्रम श्रेष्ठ, मितेरी बैंकका सिइओ तुलसीप्रसाद वस्ती, समाजसेवी एवं रेडक्रसका केन्द्रीय सदस्य बासुदेव गौतम, पर्यटनकर्मी वासुदेव वराललगायत लब्ध प्रतिष्ठित व्यक्तिहरु पनि सहभागी भइसकेका छन् । बीपी प्रतिष्ठानका रेक्टर एवं हाडजोर्नी बिशेषज्ञ डा.श्रेष्ठका अनुसार हिडडुल एवं कसरतले हड्डी र मांसपेशी वलियो हुन्छ । तसर्थ, दैनिकरुपमा कम्तीमा आधा घण्टा दौडनु वा हिडनुपर्ने उनको सुझाव छ । ‘दिनमा कम्तीमा आधा घण्टा हिड्नु स्वास्थ्यकोलागि एकदम राम्रो हो, तर हिड्दा मुटुको चाल बढ्नुपर्छ र पसिना आउनुपर्छ,’उनको सुझाव छ ।
स्वास्थ्यको लागि पदयात्रामा सहभागी भइसकेका धरानका प्रमुख तारा सुब्बा र उपप्रमुख मञ्जु भण्डारी सुवेदीको विचारमा पदयात्राले स्वास्थ्यलाई मात्र नभई पर्यटन प्रर्वद्धन एवं विकासमा पनि फाइदा पुग्छ । धरान घुम्न आउने पर्यटकहरुलाई आसपासको रमणीय गन्तव्यहरुमा पदयात्रामा लैजाने अवधारणालाई प्रर्वद्धन तथा विकास गर्न स्थानीय सरकारले सक्दो सहयोग गर्ने दुवैको भनाई छ । ‘म पहिलो पटक पदयात्रा गएकी थिएँ, एकदम रमाइलो भयो । यसले स्वास्थ्यलाई पनि फाइदा पुग्छ, र पर्यटकीय सम्भाव्यता बोकेको ठाउँ पनि देखियो,’उपप्रमुख भण्डारीले भनिन्,‘स्वास्थ्य जीवन र पर्यटनसँग जोडेर पदयात्रालाई विकास गर्नुपर्छ ।’











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे