खानेपानी आयोजनाको लागत १ अर्ब ४८ करोडबाट बढेर १ अर्ब ७० करोड पुग्यो

धरान,कार्तिक १ । सरोकारवाला पक्षसँग परामर्श नगरी विजयपुर दरबार क्षेत्रको वन फडानी गरेको भनि विवादमा फसेको धरान खानेपानी आयोजनाको कुल लागत वृद्धि भएको छ ।
विवादको कारण तोकिएको समयावधिमा सम्पन्न हुन नसकेको आयोजनाको लागत १ अर्ब ४८ करोडबाट बढेर १ अर्ब ७० करोड पुगेको आयोजना कार्यान्वयन इकाईले जनाएको छ । आयोजनाको लागत बढेपनि एसियाली विकास बैंकको २२ मिलियन डलर बजेट सिलिङ भित्र नै भएकोले लगानी जुटाउन भने समस्या हुनेछैन । तर, आयोजनाको लागत बृद्धि भएपछि धरान उपमहानगरपालिकाको १५ प्रतिशत सहभागीताको खर्च पनि स्वतः वृद्धि हुदै जानेछ । म्याचिङ फण्डअन्र्तगत आयोजनाको लागि १५ प्रतिशत खर्च जुटाउन उपमहानगरपालिकालाई हम्मे छ । यसअघि म्याचिङ फण्डको लागि उपमहानगरपालिकोले सुकुम्बासी घरपरिवारलाई धारा जडान गर्ने भन्दै खानेपानी व्यवस्थापन बोर्डले संकलन गरेको रकम ऋण लिएर चलाउनु परेको थियो । अब उपमहानगरपालिकाले आयोजनाको लागि २५ करोड बढी बजेट लगानी गर्नुपर्नेछ ।
आयोजना प्रमुख एवं इञ्जिनियर राजु पोख्रेलका अनुसार लागत बढ्नुमा आयोजना ढिलाई हुनु मात्र प्रमुख कारण भने होइन । सन् २०१२ मा आयोजनाको सर्वे हुदाको समय भन्दा अहिले धेरै सडक पक्की भइसकेको छ । ती पक्की भएको सडकको दुवैतिर पाइप राखेर पुनः पिच गर्नुपर्दा लागत बृद्धि भएको हो भने ५ बर्षमा धेरै नयाँ बाटोहरु खोलिएकोले पनि आयोजनाको लागत बढेको हो । साथै, जिडाइनको बेला पिच काटिएको ठाउँमा मात्र पिच गर्ने उल्लेख भएपनि उपमहानगरपालिकाले २० फिटभन्दा सानो पक्की सडकको दुवैतर्फ पाइप काटिएमा पुरा सडक नै पिच गर्ने निर्णय गरिएकोले पनि आयोजनाको लागत वृद्धि भएको प्रमुख पोख्रलले जानकारी दिए ।
‘रि भेरिएशन हुदा आयोजनाको लागत १ अर्ब ७० करोड पुगेको छ, अहिलेसम्म एडिबिको २२ मिलियन डलर बजेटको सिलिङ भित्रै छौं,’आयोजना प्रमुख पोख्रेलले भने,‘तर, आयोजना जति ढिला हुदै गयो, खर्च अझै बढ्दै जान्छ । उपमहानगरको सहभागिताको लागत पनि बढ्छ र ठेकेदारले पनि पहिलाको बजेटमा काम गर्दिन भन्नसक्छ ।’ विवाद चाडै समाधान नभए आयोजनाको समय लम्बिदै जाने, लागत अझै बढ्ने र धरानबासीले आयोजनाको खानेपानी पनि चाडै उपभोग गर्न नपाउने उनले बताए ।
एसियाली बिकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा एकीकृत शहरी विकास परियोजनाअन्र्तगत धरान खानेपानी आयोजना सन् २०१५ जलाईदेखि शुरु भएको थियो । खर्च लागतको हिसाबले यो नेपालकै दोस्रो ठुलो खानेपानी आयोजना हो । १५ जुलाई २०१७ सम्म म्याद भएको आयोजनाले विजयपुर सिस्टमको लागि मन्त्रीपरिषदबाट स्वीकृत लिएर विजयपुरगढीमा ७ कट्ठा क्षेत्रफलमा रिजर्ब वेयर बनाउन १ सय १७ वटा रुख काटेको थियो । किरात समुदायले पुज्दै आएको ऐतिहासिक गढीको रुखहरु काट्नु पुर्व एडिबिको सेफ गार्ड नीतिअनुसार पुर्वपरामर्श र स्वीकृती नलिएको भन्दै चार किराती समुदाय एवं संस्थाले विरोध जनाएपछि त्यसक्षेत्रको काम फागुन अन्तिम सातादेखि ठप्प छ । गत साता धरान आएको एडिबिको मिशन टोलीले पनि आफ्नो नीति अनुसार परामर्श र स्वीकृति नलिएकोमा गल्ती भएको स्वीकार गरिसकेको छ । आयोजनाको म्याद ९ महिना थपिएर ३ महिना समय बितिसक्यो । तर, अझै विवाद समाधान हुन सकेको छैन । भुमिगत स्रोतको पानी साविक धरानको १९ वडाका बासिन्दालाई चौबिसै घण्टा उपलब्ध गराउने भन्दै एबिडिको ऋण तथा अनुुदानमा आयोजना धरान ल्याइएको थियो ।
......................................................

विकल्प अध्ययन गर्न प्राविधिक टोली

विजयपुरगढीको रुखहरु काटिएपछि उत्पन्न विवादलाई समाधान गर्न असन्तुष्ट एवं सरोकारवाला पक्ष चार किरात र आयोजनाको संयुक्त प्राविधिक टोली गठन भएको छ ।
यसअघि, उपमहानगरपालिकाले चार किरातको वार्ता टोलीसमक्ष प्रस्तुत गरेको प्रस्ताव वमोजिम विजयपुर सिस्टमको रिजर्ब वेयर निर्माणस्थलको उचित विकल्प खोजी गर्न दुवै पक्षको प्राविधिक टोली गठन भएको हो । टोलीले चार किरातको वार्ता टोलीले प्रस्ताव गरेको विकल्पको पनि फिल्ड भिजिट गरिसकेको छ भने तिहार पछि सर्वे पनि गर्ने जनाएको छ । ‘हाम्रो तर्फबाट २ जना प्राविधिक पठाएका छौं, प्राविधिक टोलीले विकल्प दिएको फिल्डमा गएर पनि हेरिसकेको छ,’ वार्ता समिति सदस्य कमल तिगेलाले भने,‘प्राविधिकरुपमा सर्वेको काम गर्न बाँकी छ ।’
वार्ता टोलीको तर्फबाट दुर्गाधन राई र अनिल श्रेष्ठ प्राविधिक टोलीमा छन् भने आयोजनाबाट आयोजना प्रमुख राजु पोख्रेल र परामर्शदाता कम्पनी बिडिएका टिम लिडर मुरारीलाल चौधरी छन् । स्थलगत अध्ययन पछि वार्ता टोलीका प्राविधिकहरुले आवश्यक डकुमेन्टहरु अध्ययनको लागि लगेको आयोजना प्रमुख पोख्रेलले बताए । ‘हाम्रो संयुक्त टिमले फिल्ड हेरयौं, उहाँहरुले आयोजनाको डकुमेन्टहरु अध्ययन गर्न लैजानुभएको छ । तिहार पछि सर्वेको काम पनि गछौं,’पोख्रेलले भने ।
चार किरातकोतर्फबाट गठित वार्ता समितिले विजयपुर सिस्टमको लागि रिजर्ब वेयर निर्माणस्थलको लागि पञ्चकन्या मन्दिर छेऊमा रहेको पुरानो पानीटंकी भएको ठाउँ र शिवधारा सामुदायिक वनको अधिनमा रहेको जग्गालाई विकल्पकोरुपमा अघि सरेको छ । प्राविधिक टोलीले ती दुवै विकल्प र दरबार क्षेत्रको रुख काटिएको स्थानको पनि फिल्ड अध्ययन गरेको हो । उपमहानगरले भने समस्या समाधान गर्न रुख काटिएको ७ कट्ठामध्ये २ कट्ठामा मात्र रिजर्ब वेयर बनाउने र बाँकी खाली जग्गा आदिबासी जनजातिको साँस्कृतिक स्थल निर्माण गर्न दिने, दरबार क्षेत्रमा विजयनारायणको सालिक र दरबारको संरचना निर्माण गर्ने, गढीडाँडाका सुकुम्बासीलाई ससम्मान स्थानान्तरण गरेर त्यहाँ बुद्धिकण रायको सालिक र दरबारको संरचना निर्माण गर्नेलगायत प्रस्ताव गरेको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे