धरानको होटल ११ बजेसम्म खुल्ने, प्रहरीको व्यावहारले निरुत्साहित गरेको गुनासो


धरान,असोज २७ । धरानलाई पर्यटकीय हब बनाउने उद्देश्यले रात्रीकालीन व्यावसायलाई प्रर्वद्धन गर्न राती ११ बजेसम्म होटल व्यावसाय खुल्न दिइने भएको छ । व्यावसायीहरुले चौबिसै घण्टा व्यावसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेपछि प्रहरी प्रशासनले थप आवश्यक सुरक्षा मापदण्ड पुरा गरेमा मध्यराती १२ बजेसम्म भने अनुमति दिन सकिने प्रष्ट्याएको छ । तर, यसको लागि व्यावसायीहरु आफैले निर्णय गरेर र तोकिएको सम्पुर्ण सुरक्षा मापदण्ड पुरा गर्नुपर्ने प्रहरी प्रशासनले सर्त अघि सारेको छ ।
सुनसरी उद्योग वाणिज्य संघले रात्रीकालीन व्यावसायसँगै शान्ति सुरक्षा बिषयमा आयोजित अन्र्तक्रिया कार्यक्रममा प्रहरी प्रशासनबाट यस्तो धारणा आएको हो । ‘होटल व्यावसायी, उद्योग वाणिज्य संघले कतिबजेसम्म आवश्यक छ, त्यो निर्णय गरेर आएपछि उपमहानगरपालिका, प्रहरी र प्रशासनले आवश्यक छलफल गर्छ र तोकिएको सुरक्षा मापदण्डभित्र रही निर्णय हुन्छ,’इलाका प्रशासन कार्यालय धरानका निमित्त प्रमुख जयराम श्रेष्ठले भने,‘त्यो व्यावस्था नभएसम्मको लागि भने पहिला जे छ, त्यसैले निरन्तरता पाउछेन ।’ गएको स्थानीय तह निर्वाचनको बेला १० बजेसम्म सिमित गरिएको धरानको रात्रीकालिन होटल व्यावसाय दशैंपछि प्रहरीले ११ बजेसम्म सञ्चालन गर्न अनुमति दिएको छ ।
तर, यो समय सिमाले गर्दा प्रहरीले जर्बजस्ती बन्द गराउने, व्यावसायीहरुलाई दुव्र्यवहार र अपराधीलाई जस्तै गरी पक्राउ गर्ने घटना बढ्दा व्यावसाय चौपट भएको भन्दै व्यावसायीहरुले चौबिसै घण्टा व्यावसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका थिए । ‘पहिला व्यावसायीहरु आफैले कुन क्षेत्रमा कति बजेसम्म व्यावसाय खुला हुन आवश्यक छ, त्यो आफैले निर्णय गर्ने र प्रहरी प्रशासनले तोकिएको सुरक्षा मापदण्ड पुरा गरेपछि खुला गर्ने समझदारी हो,’सुनसरी उद्योग वाणिज्य महासंघका महासचिव शिवराज श्रेष्ठले भने,‘हामीले अपनाउनुपर्ने सुरक्षा मापदण्ड वा सर्तलाई हामी पनि स्वीकारेर पुरा पनि गछौं, कम्तीमा राती १२ बजेसम्म धरानलाई रात्रीकालिन व्यावसाय खुला हुनुपर्छ ।’ नयाँ समय तोक्नको लागि भने चाडै उपमहानगरपालिकामा उवा संघ, होटल व्यावसायी, प्रहरी र प्रशासनबीच पुनः वैठक गरिने पनि होटल एशोसिएशन अफ धरानले जनाएको छ ।
अन्र्तक्रियामा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रामेश्वर पौडेलले आफु एक्लैले चौबिसै घण्टा बजर खुला गराउन नसक्ने प्रष्ट्याउदै शान्ति सुरक्षाको बिषयमा कुनै पनि हालतमा सम्झौता नगर्ने अडान राखे । तर, सुरक्षा मापदण्ड पुरा गरेको खण्डमा भने प्रहरीले चौबिसै घण्टा व्यावसाय खुला गर्न दिने पनि उनले प्रष्ट्याए । ‘छरछिमेकले राती सुत्न सकिन भन्ने गुनासो आउनुभएन । तपाईको होटल, रेष्टुरेष्टमा ध्वनी प्रदुषण हुनु भएन । होटलभित्र सिसिटिभी हुनुपर्छ र कुनै घटना भएमा दोषी चाडै पहिचान गर्न सकियोस,’डिएसपी पौडेलले सुरक्षा सर्तबारे व्यावसायीहरुलाई प्रष्ट पार्दै भने,‘पार्किङको व्यवस्था हुनुपर्छ । क्याबिन हुनुभएन, खुला र पारिवारिक वातावरणमा बस्ने हुनुपर्छ । सुरक्षा गार्डको व्यवस्था र जिम्मेवारी पनि हुनुपर्छ, घटना हुदा थाहै भएन, चिन्दिन भन्नु भएन, यति भयो भने चौबिसै घण्टा खोल्न पनि तयार छुँ ।’
उपमहानगरका प्रमुख तारा सुब्बाले धरानलाई पर्यटन केन्द्रकोरुपमा विकास गर्ने योजनाअनुसार शान्ति सुरक्षालाई पनि ध्यान दिदै स्वतन्त्ररुपमा व्यापार व्यावसाय सञ्चालन गर्न पाउने अधिकारप्रति गम्भीर रहेको बताए । उनले पनि आवश्यक मापदण्ड बनाएर सुरक्षालाई असर नपर्ने गरी चौबिसै घण्टा व्यावसाय खुला राख्न सबै पक्षबीच आवश्यक परामर्श जारी राख्ने बताए ।
.............................................................................

प्रहरीको व्यावहारले निरुत्साहित गरेको गुनासो 

 होटल व्यावसायीहरुले धरानलाई पर्यटकीय हब बनाउन रात्रीकालीन व्यावसाय आवश्यक भएपनि प्रहरीको व्यवहारले निरुत्साहित बनाएको गुनासो गरेका छन् । एक साताअघि मात्र ११ बजेसम्म होटल खोल्न पाउने समय तोकेको प्रहरीले ५ मिनेट मात्र बन्द गर्न ढिलाई गर्दा पनि दुव्र्यवहार, हप्कीदप्की र पक्राउ गरेर थुनामा राखेको व्यावसायीहरुले गुनासो गरे । साथै, राती बाटोमा हिडिरहेका र सडक पेटीमा बसेका सर्वसाधारणलाई पनि कुटपिट गरेको भन्दै वक्ताहरुले प्रहरीको निन्दा गरेका थिए । ‘कैले १० बजे, कैले ११ बजे बन्द गर्नुपर्ने कारण के हो ? धरान असुरक्षित हो कि, गुण्डाहरुको शहर भएर हो कि ? पाहुनाहरु हुदा ५, १० मिनेट ढिलो हुदा प्रहरीले अपराधीलाई झैं हतकडी लगाएर लैजान्छ । यस्तो ठाउँमा कसरी स्टार होटल खुल्छ ? पर्यटक कसरी घुम्न आउछ ?’ पर्यटनकर्मी एवं होटल सेक्ष इनका सञ्चालक वासुदेव वरालले भने,‘धरानलाई पर्यटनको हब बनाउने हो भने शान्ति सुरक्षा दिएर भएपनि रात्रीकालीन व्यावसाय खोल्न दिनुपर्छ, नत्र धरान ट्रान्जिट पोइन्टमा मात्र सिमित हुन्छ, पर्यटकहरुको गन्तव्य हुदैन ।’
प्रहरीलाई साच्चैको मुस्कानसहितको प्रहरी हुन सुझाव दिदै व्यावसायी बरालले उद्योग वाणिज्य संघले पनि व्यावसायीहरुको समस्याप्रति चासो देखाउनुपर्ने बताए । धरान १६, लेखनाथचोकस्थित होटल लिङबारीका सञ्चालक दिपक लिम्बूले नातेदारहरुले खाना खाइसकेर विल मात्र तिर्न बाकीरहेको बेला प्रहरीले आफुलाई पक्राउ गरेर लगेको र भोलिपल्ट मेडिकल चेक गराउने नाममा अपराधीलाई झै हतकडी लगाएर लगेको भन्दै गुनासो पोखे । ‘मात्र ५ मिनेट पर्खिदिनुस भन्दा पनि प्रहरीले मानेन, भोलीपल्ट ड्रग केसमा परेको जस्तै गरी हतकडी लगाएर लगियो । मेरो मानहानी भयो कि भएन ? म स्वदेशमा नै व्यावसाय गरेर खाउ भनेर बसेको मान्छेलाई यस्तो घटनाले निराश बनायो,’उनले भने ।
पुतलीलाइनस्थित मालिङ्गो रेष्टो एण्ड बारका राजदिप राईले पनि विदेशमा जानुको साटो व्यावसाय गरेर सयौंलाई रोजगारीसमेत दिएको खुलाउदै प्रहरीहरुले कर्मचारी, पाहुनाकै अघि मानमर्दन हुने गरी दुव्र्यवहार गरेको बताए । प्रहरी हाम्रो साथी भन्ने नारालाई सार्थक बनाउन सुझाव दिदै उनले भने,‘स्वदेशमै रोजगारको बाटो रोज्नु, स्वलम्बी हुन खोज्नु के हाम्रो गल्ती हो ?’ हङकङको होटल छोडेर आफ्नै ठाउँमा केही गरौंभन्ने सोच लिएर रुफ टप रेष्टुरेष्ट खोलेका कुलदिप राईले दिउसै सिभिलमा आएर प्रहरीले सर्च गर्ने गरेको गुनासो गरे । प्रहरीकै डरले स्टाफ साँझ ७ बजे नै घर जान खोज्ने भन्दै उनले लगानी डुब्ने काम नगर्न प्रहरी प्रशासनलाई आग्रह गरे । होटल व्यावसायीहरुको गुनासो सुनेपछि डिएसपी पौडेलले आन्तरिक सुद्धिकरण र मातहत प्रहरीको आचरण, व्यावहारमा सुधार गर्ने प्रतिवद्धता जनाए । प्रहरीले १ रुपैया पनि नलिने भन्दै उनले कसैले पैसा मागेमा, धम्की दिएमा जानकारी पाए तत्काल कारबाही गर्ने पनि बताए । ‘पहिला जे भयो, अब हुने छैन । म भर्खर आएकोले व्यावहार सुधार्न लाग्छौं । प्रहरीले १ रुपैया पनि लिदैन, मेरो स्टाफले माग्यो भने, धम्की दियो वा खायो भने खबर गर्नुस्, कारबाही गर्छु,’डिएसपी पौडेलले भने ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे