बाल मनोरञ्जन भन्दै लक्की सेभेन र हाउजी, अनुगमन टोलीद्धारा बन्द गर्न निर्देशन

धरान,असोज ३१ । बालबालिकाकाले लागि साँस्कृतिक एवं मनोरञ्जनात्मक खेल गर्ने भन्दै आयोजना भएको कार्यक्रममा स्वीकृति नलिई लक्की सेभेन र हाउजी खेलाइएको भन्दै धरान उपमहानगरपालिकाको अनुगमन समितिले तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
उप प्रमुख एवं अनुगमन समितिकी संयोजक मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा सोमबार धरान १५ स्थित होटल इजी राइडरमा आकस्मिक अनुगमनमा पुगेको टोलीले अनुमति नलिएको जुवाजन्य खेलहरु पनि खेलाइएको पाएपछि तत्काल बन्द गर्न निर्देशन दिएको हो । होटल इजी राइडरले जिल्ला प्रशासनबाट बालबालिकाको लागि साँस्कृतिक तथा मनोरञ्जनात्मक खेलहरु आयोजना गर्ने स्वीकृति लिएको थियो । प्रशासनले स्वीकृति लिएपछि उपमहानगरपालिकाले मनोरञ्जन कर लिएर बाल साँस्कृतिक तथा मनोरञ्जन खेल आयोजना गर्न होटललाई अनुमति दिएको थियो । तर, आयोजकले भने मेला भन्दै माइकिङ गरेको थियो भने जुवाजन्य खेलहरु खेलाइएको भन्दै उपमहानगरपालिकामा गुनासो परेको थियो ।
उपप्रमुख भण्डारीको नेतृत्वमा पुगेको अनुगमन टोलीले बालबालिकाहरुको मनोरञ्जनका लागि खेलहरु राखिएको भएपनि स्वीकृति नलिइएको ७ वटा लक्की सेभेन, रिङ हान्ने र हाउजी पनि राखिएको भेटेको थियो । यी सबै दाउ हान्ने खेलहरु भएकोले जुवा ऐनअनुसार प्रतिबन्धित छन् । ‘उहाँहरुले मेला लागेको भन्दै माइकिङ गरिरहनु भएको रहेछ, हामीले धरानमा मेला लगाउन अनुमति दिएकै छैनांै,’उपप्रमुख भण्डारीले भनिन्,‘बालमैत्री साँस्कृतिक तथा मनोरञ्जनको लागि मात्र प्रशासनले अनुमति दिएको हो, तर त्यहाँ लक्की सेभेन, हाउजी पनि खेलाइएको रहेछ, त्यसलाई तत्काल बन्द गर्न निर्देशन दिएका छौं ।’
विगतमा दशैं तिहारको समयमा धरानको पब्लिक उच्चमाविमा मेला आयोजना गर्ने होडबाजी चल्थ्यो । मनग्ये कमाउ हुने भएकोले विभिन्न संघसंस्था एवं युवाहरु मेलाको लागि उपमहानगरमा निवेदन दिने र कुनै एउटा संस्थाको नाममा सहमति जनाएर लाखौं रुपैया लिने प्रवृत्ति बढेको थियो । मेलाकै लागि विभिन्न राजनीतिक दलका युवा समुहहरुबीच दुश्मनी र मित्रता पनि हुन्थ्यो । विकृति असाध्यै बढेपछि प्रशासन र उपमहानगरले केही बर्षदेखि मेला लगाउन अनुमति दिएको थिएन । यो बर्ष पनि पब्लिकमा मेला लगाउने प्रयास भएपनि उपमहागनरले अनुमति दिएन । तर, दशंै पछि साँस्कृतिक तथा बाल मनोरञ्जनको नाममा अनुमति लिएर इजी राइडरमा मेला लगाउन प्रशासन, उपमहानगरले अनुमति दिएकोप्रति सर्वत्र आशंका र चर्चा बढेको थियो ।
सोही अनुमगन टोलीले इजी राइडरको किचनमा अनुगमन गर्दा सफासुग्घर पाएपनि फ्रिजमा मासु र अन्य तरकारीहरु एकै ठाउँमा राखिएको भेटेपछि अलग्गै राख्न निर्देशन दिएको थियो । खाद्य प्राविधिकसमेत सम्मिलित अनुगमन टोलीले धरान १६ स्थित सात्विक फुड प्रालिमा पनि अनुगमन गरेको थियो । उद्योगले आफ्नो उत्पादनको नमुना जाँच गर्न बाहिर लैजाने गरेको पाएपछि आफ्नै ल्याब स्थापना गर्न सुझाव दिएको थियो भने नष्ट गर्नुपर्ने सामग्रीहरुलाई पनि तत्काल नष्ट गर्न निर्देशन दिएको थियो । गएको दशैं अघि नियमितरुपमा बजार अनुगमन गर्न उपप्रमुख भण्डारीको संयोजकत्वमा सरोकारवालाहरु सम्मिलित अनुगमन समिति गठन भएको थियो ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे