२० हजार घुससहित इलाका प्रशासनका ३ कर्मचारी पक्राउ

धरान,कार्तिक ६ । सेवाग्राहीसँग नगद घुस लिएको प्रमाणसहित इलाका प्रशासन कार्यालय धरानका तीन जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । आयोगको इटहरीस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले तीन जना नायब सुब्बाहरु हर्कराज राई, युवराज पोख्रेल र मोहन सुवेदीलाई सेवाग्राहीबाट घुस लिएको नगदसहित सोमबार पक्राउ गरेको हो ।
उनीहरुले बराह नगरपालिका २, रेल्वे लाइनका एक सेवाग्राहीसँग बार्गेनिंग गरेर नगद २० हजार घुस लिएका थिए । कर्मचारीहरु पक्राउ परेपछि पीडित सेवाग्राहीमा डर एवं तनाव भएकाले अख्तियारले नाम सार्वजनिक नगरेको जनाएको छ । अख्तियारका अनुसार ती सेवाग्राहीको नागरिकतामा जन्ममिति फरक परेको थियो । उनी त्यही जन्ममिति सच्याउन आएपछि नागरिकता प्रतिलिपि फाँटका नायब सुब्बा राईले खर्च लाग्ने भन्दै शुरुमा बार्गेनिग गरेका थिए । खर्च लाग्ने भन्दै प्रशासनका कर्मचारीले निरन्तर काम अड्काएपछि ती सेवाग्रही आइतबार आफ्नो छिमेकी उद्धवप्रसाद घिमिरेसँग गुनासो गर्न पुगेका थिए । तिनै घिमिरेको सहयोगमा पीडित युवा सोमबार अख्तियारसम्म पुगेपछि ३ जना कर्मचारी पक्राउ परेको थियो ।
पीडितहरु सम्पर्कमा आएपछि अख्तियारबाट डिएसपी मुकुन्द रिजालको नेतृत्वमा टोली सोमबार करिब अढाई बजेतिर इलाका प्रशासन आएको थियो । योजनाअनुसार छिमेकी घिमिरेले ती पीडित युवालाई २० हजार दिए । त्यसबेलासम्म प्रशासनका कर्मचारीले पहिला पैसा दिएमात्र काम गरिदिने भन्दै ती सेवाग्राहीको काम रोकेको थियो । घुस(पैसा) लिने बेला नागरिकता प्रतिलिपि फाँटका राईले ती सेवाग्राहीलाई आफ्नो कार्यकक्षभन्दा अलग्गै कोठामा लगेर पैसा बुझेका थिए । सेवाग्राहीले पैसा बुझाइसकेको इशारा पाएपछि अख्तियारको टोली कार्यालयमा प्रवेश गरेर चेकजाँच गर्दा उनीसँग पैसा भने फेला परेन । तर, कडाईका साथ केरकार र सोधपुछ गरेपछि भने घुस लिएको पोल लामो समय लुक्न सकेन । ‘निक्कै समय केरकार गरेपछि मात्र पोल खुल्यो, हर्कराज राईले पैसा लिएर युवराज पोख्रेललाई राख्न दिइसकेका रहेछन्, उनले पनि अर्का मोहन सुवेदीलाई बुझाइसकेका रहेछन्,’पीडितका छिमेकी घिमिरेले भने,‘नागरिकता बनाउन त त्यत्रो खर्च लाग्दैन, यो त जन्ममिति सच्याएर प्रतिलिपि झिक्न आएको हो, तर पैसा दे अनिमात्र काम गर्दिन्छु भन्दै रोकेको थियो ।’
डिएसपी रिजालका अनुसार एक सेवाग्राही आफ्नो नागरिकतामा १ महिना फरक परेकोे जन्ममिति सच्याउन आउदा कर्मचारीले घुस मागेको गुनासो लिएर आएका थिए । गुनासोको आधारमा सोमबार टोली धरान आएर रंगेहात पक्राउ गरेको उनको भनाई छ । ‘एक सेवाग्राही नागरिकताको जन्ममिति सच्याउन आएका रहेछन्, यो त सेवाग्राहीको कानुनसम्मत अधिकार हो । तर, कर्मचारीले पहिला पैसा देउ भन्दै बार्गेनिङ गरिराखेको रहेछ,’डिएसपी रिजालले भने,‘पटक पटक बार्गेनिङ गरेपछि पीडितहरु हाम्रो सम्पर्कमा आउनुभयो र ३ जना कर्मचारीलाई रंगेहात घुस लिएर रकमसहित पक्राउ गर्न सफल भयौं ।’ उनका अनुसार सेवाग्राहीसँग घुसकोरुपमा लिएको पैसा नायब सुब्बा राईबाट पोख्रेल हुदै अन्तिममा सुवेदीले लिएर राखेका थिए । पैसा फेला परेपछि अख्तियारको टोलीले रेड ह्याण्ड टेष्ट गर्दा तीनै जनाले पैसा समातेको पनि पुष्टि भएको थियो । पक्राउ परेका तीनै जनालाई मंगलबार नै आयोगको टंगालस्थित केन्द्रीय कार्यालयमा थप अनुसन्धान र मुद्दा प्रक्रियाको लागि पठाइने पनि डिएसपी रिजालले जानकारी दिए ।
धरान १३ स्थित इलाका प्रशासन कार्यालय धरानमा नागरिकता बनाउन वा प्रतिलिपि झिक्न आउने सेवाग्राहीबाट विभिन्न बहानामा घुस लिने गरेको चर्चा भएपनि प्रमाणसहित कोही पक्राउ भने परेका थिएनन् । प्रशासनमा सेटिङमा नै सेवाग्राहीबाट रकम असुल हुने टिकाटिप्पणी पनि हुने गरेको छ । प्रशासनका शाखा अधिकृत जयराम श्रेष्ठले भने मातहतका कर्मचारीहरुलाई आफु र कार्यालय प्रमुखसमेतले गलत कार्य नगर्न निर्देशन गर्दा गर्दै पनि यो घटना हुन पुगेको भन्दै दुःख प्रकट गरे । उनका अनुसार अख्तियारले पक्राउ गरेपछि तीनै जना नायब सुब्बा स्वतः निलम्बनमा पनि परेका छन् । ‘सेवाग्राही कार्यालय प्रमुख वा म कहाँ पनि गुनासो लिएर आएको भए काम भइहाल्थ्यो, यस्तो हुन पाउदैनथ्यो,’उनले भने,‘तल नै सेटिङमा भएको रहेछ, यो केस १ र २ नम्बर कोठासम्म पुग्दै पुगेन ।’




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे